कविता - गद्य कविता



गद्य कविता : खोला

खोला सधैँ उँधैउँधो
खोला सधैँ फालैफाल
कति कति तरेर गए जानेहरु
कति कति तारेर लगे लानेहरुले



साँघुबाट

फट्केबाट

जँघारबाट

खोला सधैँ छाँगैछाँगा

खोला सधैँ भीरैभीर

फालैफाल

उँधैउँधो

भलैभल

बाढी नै बाढी

पहिरै पहिरो

खोला त मान्छे भइसकेछ


जङ्गलमा पनि गीत गाउँछन् मान्छेहरु

बस्तीमा पनि गीत गाउँछन् मान्छेहरु

खोलाको पूर्वस्मृति

खोलाको मायालु सम्झना

उही गीत–

खोला बग्यो सलल

जीवन बग्यो सलल

खोला त मान्छे भइसकेछ


कति दर्द छ मान्छेमा

मृत्यु बरु सहज छ

मृत्यु बरु स्विकार्य छ

मृत्यु बरु सुन्दर छ 

गहिरो गहिरो दहमा डुबेर

कुन फ्रायडले तरेन खोला ?

जो कुनै मान्छेले देख्ने पाहाको मनोविज्ञान होस्

कुन माक्र्सले तारेन खोला ?

जो कुनै मान्छेले माछा र गड्यौलाको वर्ग विभाजन गरोस् 

कुन फाउस्ट

कुन सिसिफस

कुन इडिपस

कुन कृष्ण

कुन कामायनी

कुन लैलामजनु

वा कुन मुनामदन

अहो ! यी प्रिय/अप्रिय खोलाहरु

कसले तरेनन् होला र ?


सर्पहरुको आक्रमणको सम्पूर्णता

चेपागाँडाहरुको प्रयत्नको सम्पूर्णता

गँगटाहरुको प्रतिरक्षाको सम्पूर्णता

भुर्राहरुको विचलनको सम्पूर्णता

माछाहरुको लाचारीको सम्पूर्णता

कसले पो दुवाली मारेनन् ? 

कसले पो दुःख पाएनन् र ?


कस्तरी झरेनन् तन्नेरी छाँगाहरु 

कस्तरी गहिरिएनन् तरुनी दहहरु

बैंसमा 

कसले पारेन झरनामा घाम 

र कसले कोरेन र इन्द्रेणी केश ?

अहा ! उवेलाको त्यो मीठो प्रीति

कसले भुल्न सक्ला र ?

सधैँ सधैँ

निरन्तर निरन्तर 

खोला त मान्छे भइसकेछ


कति कति खेतहरु भरिए होलान्

कसले खनेन होला र कुलो ?

कति कति प्यासहरु मेटिए होलान्

कसले पिएन होला र पानी ?

अनन्त दुर्गमा पुग्नेजस्तो

कसले कल्पना गरेन होला समुद्रको ?

को हिाडेन होला र नागबेली यात्रा ?

सप्पै भोग्नु

सप्पै अनुभव

को अपूरो होला ?

निरुत्तर निरुत्तर

खोला त मान्छे भइसकेछ


कुन कुन राज्यको सिमाना कोरेन ?

कुन कुन राजाको श्रीपेच खोसेन ?

कथामा– कुन आमाले काटिनन् र देब्रे स्तन ?

खोला देश

खोला कानुन 

खोला जनता

खोला नेता

ब्रम्हलुट

भ्रष्टाचार

घुसखोरी

गुण्डागर्दी

सधैँ त्रासदी

खोला त मान्छे भइसकेछ


खोलाको बैंस तर निर्विवाद छ

खोलाको जँघार तर तरिनसक्नु छ

खोला जन्म

खोला मृत्यु

खोला अध्यात्म

खोला विज्ञान

खोला लौकिक

खोला भौतिक

खोला स्त्री

खोला पुरुष

खोलाको वाद तर गतिमा छ

खोलाको संवाद तर क्षतिमा छ

सधैँ छोटे महाराज

उँधैउँधो

फालैफाल

भीरैभीर

छाँगैछाँगा

भलैभल

बाढी नै बाढी 

कठै !

खोला हेरेर बस्दाबस्दा

मान्छे पो खोला भइसकेछ ।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गद्य कविता : खोला - राजन मुकारुङ्ग , 2018-01-07

खोला सधैँ उँधैउँधो
खोला सधैँ फालैफाल
कति कति तरेर गए जानेहरु
कति कति तारेर लगे लानेहरुले
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329274 Times Visited.

Powered by: Exclusively Solution
Top
Content