कथा - कथा



कथा : व्यथित सुस्केराहरु

जब सुनेका कुरा भोग्ने दिनहरु मेरो सामुन्ने आई पुग्यो । वर्षाैं देखी मनमा जरा गाडेर बसेको विश्वास धरमराउन थाल्यो । धमिराले जरा खोक्रो पारेको रुख जस्तै । मेरो श्रीमानले सामाजिक प्रतिष्ठासँगै करोडौंको सम्पति आफ्नै बुतामा कमाउनु भएको । वहाँको मृत्यु पश्चात् छुट्टिदाँ दुई छोराहरु र मेरो भागमा पचासौं लाखको सम्पति परेको छ । छोरीहरुलाई पनि मन नदुख्ने गरि दिएका छौं ।

म जीवनको उत्तराद्धमा पुगेकी महिला । पश्चिम क्षितिजमा अस्ताउन लागेको घाम जस्तै । एक्लै बसेर छोरा बुहारीलाई समाजमा नराम्रो बनाउन मनले मानेन । एकजनासँग त बस्नै पर्यो नि !

तर कत्रो आपत् मलाई ! छोराहरु मेरो मायाले भन्दा पनि मेरो भागमा परेको सम्पत्तिको जोड,घटाउ,गुणा,भागा गर्दै मलाई पाल्न हानाथाप गर्दैछन् ।

“म जेठो छोरो ! म कसरी आमालाई छोड्न सक्छु । वहाँलाई आफु सगँ राखिंन भने बुवाको आत्माले पनि मलाई धिकार्छ । आमा मसँगै बस्नु हुन्छ ।" जेठोको कुराले सधैं तुवाँलो लाग्ने जेठीले पनि घामको किरण सापटी मागेर मुहारमा पोत्दै लोग्नेको कुरामा सही थाप्दैछ ।

कान्छो पनि मनमा शब्दजाल बुन्दै होला । एक्कासी कान्छाको मुहारको तुवाँलो चिरिएर एक झिल्को घामले चिहाए जस्तो झिलिक्क उज्यालो नाच्यो ।


“होईन दाइ ! आमा त मसँग नै बस्नुहुन्छ । मेरोमा जति सुविस्ता आमालाई तपाईँसँग बस्दा हुँदैन । भाउजू दिन भरि सामाजिक सघं संस्थामा कुद्नु हुन्छ । यिनी घरमै बसेर घर व्यवहार गर्दछिन ।” कान्छाले शाब्दीक पासा थाप्यो ।

“भाउजू कुदे पनि घर व्यवहारको व्यवस्था मिलाएर कुद्छे । त्यसै अलपत्र पारेर कुद्दिन बुझिस् !” जेठो रिसायो । जेठीले देवरलाई आँखा तरि ।

“जे भन्नुस् ! दिनभरि घरमा बसेर सिहारे जस्तो कहाँ हुन्छ र ?” कान्छो अड्डि कस्छ आफ्नो कुरामा ।

मेरा छोराबुहारी मुहारभरि लालच पोतेर एक अर्कामा दोषारोण गरि रहन्छन् । बिना निष्कर्ष । मैले एउटा निर्णय गर्नै पर्ने भयो अन्तत ।

“तिमीहरु चुप लाग एकछिन । बुवाको मृत्यु पछि पनि सबैजना सगोलमा नै रहे मलाई शान्ति हुन्थ्यो । तर त्यसो हुन सकेन छुट्टियौ । चित्त बुझाउनै पर्यो । मेरो निम्ती दुवै बराबर । कसैको मन दुखाउन चाहन्न । म छ छ महिना गरि दुवैकोमा बस्छु ।” मेरो निर्णयले खुशी त भएनन् । तर पनि चित्त बुझाए । आमाको सम्पत्ति आधा आधा भाग लाग्ने जो भयो । 

म पहिला जेठोसँग बँसे । मंसिर देखि चैतसम्म । छोराबुहारीले राम्रो गरे पनि मन दुःखि रह्यो । जुन घर संसारमा मैले वर्षौं रानी बनेर एकछत्र राज गरेकी थिएं । अहिले कुबेलाको पाहुना जस्तै पाएँ आफुलाई । के गर्नु ! संसारको रित ! उदाउँदो बेलाको सूर्यलाई देवता भनेर पुजे जस्तो नहुदों रहेछ अस्ताउँदो बेलाको सूर्य ।

म बैशाख देखि कान्छासँग बस्न थालें कार्तिकसम्म । यस बिच थुप्रै चाँडहरु,तिज,दशै,तिहार आदि परे । सबै सकेर फेरि जेठाकोमा गएँ । वल्लो घरको नरे पल्लो घरमा सरे उखानको चरितार्थ भएको छ । आज मैले बाँच्ने जीवनमा ।

“दिदी ! तपाईँहरुलाई कति आनन्द । हामीसँग आमा बस्दा सबै चाँडपर्व पर्छ । पाहुनापात,ईष्टमित्र,आफन्त सबै ओईरिने त्यही बेला । झन् आमाजू र भान्जाभान्जीको लामो बसाई त कुरा गरि साध्य छैन । कहाँ सक्नु हामीले मात्र । जिउनी त बराबर चिरेर लिनु हुन्छ नि पछि । म त सक्दिन यसरी ।”

मैले नसुन्दा हुने । दुर्भाग्यले सुनें कान्छीको गुनासो । जेठी केही बोलिन । सायद कान्छीको कुरामा वास्तविकताको आभाष पाएर होला। भित्र कतै कुनै कुनामा केहीले घोंचे जस्तो चिमोटे जस्तो ! बिना धुँवा घुर्मैलो मन । पिरो भएर दुखि रह्यो ।

त्यो रात मलाई निन्द्रा परेन राम्रोसँग । हामीले पनि सासु ससुरा बाँचुन्जेल पालेका । तर कहिले दिक्क मानेनौं । अहिलेका पुस्ता के भएका ? कर्तव्य र दायित्व त बुझ्न र सम्झनै नचाहने । किन कसैमाथि बोझ बन्नु ? अब एकजनासँग एक वर्ष नै बस्नुपर्ला । मनमा फेरि आफु पालिनुको निर्णय लिएं एक पटक ।


”दुई वर्ष भयो छ छ महिना बाँडिएर बसेकी । सबै चाँडपर्व कान्छाकोमा बस्दा नै पर्ने । उसलाई अलि गाह्रो भो लगातार व्यवहार धान्न । अब एक एक वर्ष बस्छु । यसो गरेमा व्यवहारको भार दुबैजनालाई पर्छ ।” एकदिन सबैलाई राखेर घोषणा गरें ।

मेरो यो अभिव्यक्तिले कान्छी पारिलो घाम जस्तै उजेली भई भने,जेठी तुवाँलो लागे जस्तै अँध्यारिई । छोराहरु मुहारमा केही नझल्काई निर्विकार रहे ।

मलाई समयसँगै विविध रोगहरुले च्याप्दै ल्यायो । डाक्टर र उपचार बढि नै चाहिदैं आयो । उसो त छोरा बुहारीले कुनै दिग्दारी नदेखाई उपचार गराई रहेका थिए । मेरो मनको दोष हो की छोराहरुको मुखको दोष । थाहा पाउन सकिन । एकदिन मलाई निक्कै बिसन्चो भयो । म ढल्कि रहेको ठाउँमा दुवै छोराको उपस्थिति थियो । म उनीहरुतिर पिठंयू पार्काएर सुतेकी थिएँ । कान्छाले दुईतिन पटक बोलायो । म बोलिंन । उनीहरुले म निदाएको सम्झे होलान् ।


“भाइ ! आमा निदाउनु भएछ । आईज बाहिर । तँसगँ एउटा जरुरी कुरा गर्नु छ ।” बरन्डा मेरै कोठाबाट निस्कनु पर्ने नजिकै छ । मैले निदाएकै बहानामा कुरा सुन्न चाहें ।

“हेर कान्छा ! आमा हामीसँग एक एक वर्ष बस्नुहुन्छ । चाडँपर्व र व्यवहारिक तालमेल त बराबरी भयो । तर वहाँको वृद्धावस्था र उपचार ? अस्ति तेरोमा बस्दा त्यति बीरामी हुनु भएन । साधारण मात्रै हो ! त्यसैले तेरो खर्च पनि साधारण नै भयो । अहिले मेरोमा आउनु भए पछि कति धेरै बिरामी हुनु भएको छ । जात्रा भएको छ मेरो ! ठूलो रोग । महङ्गो उपचार । पोशिलो खान्की । पैसा त खोलासरी बगाउनु परेको छ । यस्तो हुदाँ त ठहरै भइन्छ नि !” जेठोको कुराले मन घरघरी च्यातिएको छ सिउनै गाह्रो हुने गरी ।


“अनि के भन्न खोज्नु भएको दाई । पुरै र खुलस्त कुरा गर्नु न ।”कान्छाको शुष्क स्वर ठोकियो कानमा ।

"पाउने भन्दा बढि

खर्च गर्नु पर्यो भने त के अर्थ रह्यो र झन्झट व्योहोरेको ? अब पन्ध्र बिस हजारभन्दा माथिको उपचार गर्नु पर्यो भने बराबरी भाग लगाउने । आखिर आमाको शेखापछि सम्पत्ति पनि त बराबर खाने हो नी ।”

राम......राम.........!! मैले के सुन्नु परेको यस्तो ? आमाभन्दा सम्पति ठूलो भएको छ आज मेरो छोराहरुलाई । एक दाना अन्न,एक गोली औषधी र एकसरो कपडाको हिसाब लाउँछन् उनीहरु । आफ्नो कमाईमा होईन् । बाबुले छोडेको सम्पत्तिमा पाल्न पनि ! यो मेरो कत्रो गाईजात्रा । उनीहरुले चुसेर फितलो भएको छाती चसक्क नमिठोसँग चस्कन्छ ।

मैले छोराहरुको बामे सराई, ताते हिंडाई र तोतेबोलीमा वात्सल्यले सरोवर भई सजाएको सपनाहरु सबै भ्रम रहेछन् । उनीहरुको फराकिलो छाती र दरिलो काँधमा गरेको भरोसा मित्थ्या रहेछन् । उनीहरुको सुकुमार मुहारमा मलाई निश्वार्थ मायाले निहार्ने आँखा खोजेको धिक्कार रहेछ ।

यदि मेरो लाखौंको सम्पत्ति नहुँदो हो त मलाई आमा भनेर चिन्दैन्थे होला । कुनै काम नलाग्ने रद्धि बस्तु नै पो ठान्थे कि कतै ? कि मलाई पनि ती अन्तरे बाजेलाई जस्तै मागेर खान छोडि दिन्थे ? जिउ नै सिरिङ्ग हुन्छ । बुरुरु काँडा उम्रन्छ पाखुराभरि । नानाभाँतिको कल्पनाले गर्दा मन नमिठोसँग निमोठियो । व्यथित मनस्थिति माथि पर्दा लगाउन र वेदनाले व्याप्त मुहारमा खुशी पोत्न कहिले जानिनं मैले । ह्रदय धरधरी रुवाएर ओंठले मुस्कुराउने क्षमता मैलें पटक्कै राख्न सकेकी छैन ।

खुईया........!! व्याकुलताले भरिएको व्यथित सुस्केरा मेरो ओंठको बाटो भएर हिंड्यो । असमय नै क्षिण हुन लागेको मेरो आशा र अपेक्षामाथि भंगालो बनि आँशु बग्न थाल्यो । जसलाई मरुभूमिको रुप लिएर सिरानी आफ्नो छातिभित्र समेट्दैछ । मन धमिलो हुदाँ त निलो आकाशमा मदहोष फैलिएका चन्द्र किरण पनि फिक्का लाग्दो रहेछ ।

छोराहरु आफु खुशी फैसला गरेर एकातिर लागे । म आफैंभित्र एउटा मार्मिक कथा बनि सकेकी ! निरिह जीवन भोग्न बाध्य एक लाचार वृद्धा । सम्झन बाध्य भएँ । ती दुई गरिब वृद्धाहरुलाई । जसको केही सम्पत्ति छैन र छोरा पनि छैनन् र पनि सन्तोष पूर्ण जीवन बिताई रहेकाछन् ।

वृद्धावस्थामा सुख र सन्तोषपूर्ण बाँच्नुमा सम्पत्तिको भन्दा सन्तानमा निहित दायित्वबोध र कर्तव्यबोधको ठूलो भूमिका हुँदो रहेछ । के गर्नु आफ्नो त कर्मै खोटो रहेछ । पुन मेरो सुस्केरा रोक्दा रोक्दै फुत्कन्छ ओठंबाट..............!!



बालग्राम चोक, इटहरी

९८६२०६२१९९


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

कथा : व्यथित सुस्केराहरु - रीता ताम्राकार, 2018-01-27

जब सुनेका कुरा भोग्ने दिनहरु मेरो सामुन्ने आई पुग्यो । वर्षाैं देखी मनमा जरा गाडेर बसेको विश्वास धरमराउन थाल्यो । धमिराले जरा खोक्रो पारेको रुख जस्तै । मेरो श्रीमानले सामाजिक प्रतिष्ठासँगै करोडौंको सम्पति आफ्नै बुतामा कमाउनु भएको । वहाँको मृत्यु पश्चात् छुट्टिदाँ दुई छोराहरु र मेरो भागमा पचासौं लाखको सम्पति परेको छ । छोरीहरुलाई पनि मन नदुख्ने गरि दिएका छौं ।

कथा : कुञ्जला - रीता ताम्राकार, 2018-01-13

उ त्यो भालुको दाम पाँच सयदेखि एक हजारसम्म । चोकमा बस्ने केटाहरूमध्ये एउटाले कौतूहलता रोप्यो । तैँले कसरी थाहा पाइस ? अर्को उत्सुक भयो जान्न । थाहा भैहाल्छ नि कुन ठूलो कुरा हो र ? गजक्क पर्यो अघिल्लो केटो ।

कविता : तिमी - रीता ताम्राकार , 2018-01-08

थोत्रो टिनको बट्टामा
हाम्रो जीवन थापी हिंड्ने तिमी
पाप्रा पाप्रामा रंग टुक्रिएको
थाङने झोलामा
हाम्रो जीवन बोकि हिंड्ने तिमी ।

कथा : अलिखित कथाको एक पात्र - रीता ताम्राकार, 2018-01-02

राम राम हजुर, मास्तिर हाम्रो चोकमा यसो टाउको ओताउने छहारी र बस्नलाई एकदुई वटा बेन्ची बनाउन पाए घामपानीमा बटुवालाई सुविस्ता हुने थियो ।

कथा : अस्तित्व तृष्णा - रीता ताम्राकार, 2017-10-08

भर्खरै अगाडिको घरबाट नारिएर निस्केका एक युगल जोडीलाई देखेर आज उसले अभावमा उन्मुक्तताको के अर्थ र ?भनेर आफूलाई सन्तुष्टि दिन सकिन । ती जोडीका स्वतन्त्र बाँच्ने ढङ्ग । व्यवहार उन्मुक्क्तता । उनीहरूको ओठको निस्फिक्री मुस्कान । यी सबै आफ्नो महल जस्तो भव्य घरमा काम विशेषले तलमाथि यताउता गर्दा, उसले चाहेर पनि नचाहेर पनि निहार्ने गर्थी । 

कथा : सपनाको समुद्र / रीता ताम्राकार - रीता ताम्राकार, 2017-09-03

कस्तो संयोग कस्तो भावुकता अनि कस्तो संवेदनशील मन । उहाँको उदारताले मेरो मनमा उहा प्रति अवर्णनीय अनुराग उम्रियो । अतुल्य र असीम । जीवनका यति लामा शीतकालीन दिनहरूमा फेरि यस्तो पारिलो घाम लाग्नेछ भनी सोच्न मैले सोचेकी पनि थिइन । 

कथा : तुषारापात / रीता ताम्राकार - रीता ताम्राकार, 2017-09-01

पारिलो घामले उसको छाला डढाइसक्ता पनि उसलाई न्यानोपनाको आभाससम्म भएको छैन। उसको अगाडि फुलिरहेको सुन्दर फूलको सौन्दर्यले उसलाई अलिकति पनि छुन सकेको छैन। उसलाई केहि पनि राम्रो लागिरहेको छैन। 

कथा: वाफिलो मौनता / रीता ताम्राकार - रीता ताम्राकार, 2017-08-29

भिन्न मत जुधेर घरमा शितयुद्ध चलेको पनि निक्कै दिन भै सक्यो । दुवै पक्षबाट च्यापएिको म बबुरो । भारत र चिनबाट च्यापिएको आफ्नै देशको प्रतिबिम्व बनेको छु । 
अगुल्ठोले झटारो हानेको कुकुर बिजुली चम्कदा पनि तर्सन्छ भने जस्तै भएकी छे । मेरी जोई अचेल । छोराछोरीको ईच्छा आंकाक्षा माथि भारतले नेपालमा नाकाबन्दी लाए जस्तै बन्धन लगाई रहन्छे ऊ । 

व्यक्तित्व: रीता ताम्राकार - रीता ताम्राकार, 2017-05-10

साहित्य जीवन, जगत, समय को छाँया र देखिएका, भोगिएका, अनुभूति गरिएका यर्थाथ हरुलाई शाब्दिक शिल्प द्धारा अभिव्यक्त गरिने माध्यम हो र साहित्य ले समाज मा चेतना, सकारात्मक सोंच, भावनाका संवेगहरु सम्प्रेषण गरेर विद्यमान विकृति र विसंगती लाई हटाई समाज परिर्वर्तन गर्न मा ठूलो भुमिका निर्वाह गरेको हुन्छ । -समाज सेवि एवं साहित्यकार रीता ताम्राकार ।

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329286 Times Visited.

Powered by: Exclusively Solution
Top
Content