विधा परिचय / पाठशाला - गजल लेखनविधि



गजल लेखनबिधि ( खण्ड क )

गजल सिद्धान्त र विवेचना
गजल (अङ्ग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा गजल, उर्दू भाषामा غزل) प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको “काव्य” विधा हो । 
गजल भनेको घढीमा ३ शेर देखि बढीमा जतिसुकै शेरमा ( गजलको सुन्दरताको लागी ५ शेर सम्म राम्रो ) हुने उर्दु र फारसी कविताको एक प्रकार हो ।
यसका सबै शेर एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ । पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छ, जसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ । गजलको संग्रहलाई दीवान भनिन्छ ।
गजल भनेको प्रेमसम्बन्धी वा रागात्मक, पुरानो, लयात्मक कविताको एक प्रकार हो, जसमा सीमित श्लोक, उही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ ।
गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो ।
गजलको शेरमागीत र कवितामा जस्तो कपोलकल्पना गरिँदैन । यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ ।
गजल भनेको रदिफ + काफिया + बहर (अर्को नामहरू: बह्र, मीटर, लय, या मात्रिक-क्रम) हो ।
गजल, गीत र कविता एउटै होईन । गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो । गजलको आफ्नै परिधी वा संरचना हुन्छ ।
एउटा नेपाली गजल
मन्दिर मस्जीत सबैतिर देखे रक्तटाटाहरु लासहरुले सजीएका बुद्ध हिड्ने बाटाहरु
बारुदको बर्सात छ ओत लाग्ने ठाउ छैन धमिराले खाईसके धुरी खम्बा भाटाहरु
माथी पुग्ने सबै जना मोजमस्तीमै मग्न छन खान नपाई मरेकाछन सोझा सिधा लाटाहरु
राजतन्त्रको अन्त्य हुदा रमाएका ति अनूहार नियालेर हेर तिमी आशूका ति टाटाहरु
मन कत्ति रमाएथ्यो गणतन्त्र आयो भन्दा आज अहीले चर्कदैछ र्हिदयका पाटाहरु
नेपाली गजलको इतिहास
नेपाली गजलको इतिहास यस प्रकार छ ।
वि.सं. १९४१–२००२ विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए ।
वि.सं.२००३–२०३५ मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए ।
भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल
आदि प्रतिभाहरू देखिन्छन् ।
यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन ।
वि.सं.२०३६–२०५०
वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ ।
ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ ।
वि.सं. २०५० – हालसम्म
गजलकारहरू मनु ब्राजाकी, डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन् ।
यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०), मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४), बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४), वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२), राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२), श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०), कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१), कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८), मुन पौडेल – गजलोत्सव (२०५३), गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८), माधव वियोगी –गुम्सिएका भावहरू (२०५८), ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८), पुष्पलता कलमका डोवहरू,- सन्तोश काफ्ले "स्पन्दन" ,२०६४-स्पन्दन, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) रहेका छन् ।
गजलको प्रकार
गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ ।
विषयवस्तुको आधारमा
रदीफको आधारमा
विषयवस्तुको आधारमा :- विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन् ।
मुसलसल गजल :- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ ।
गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ ।
रदीफको आधारमा :- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।
मुरद्दफ गजल: जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ।
गैरमुरद्दफ गजल: जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ।
गजलको संरचना
गीत, गजल र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो । गजलको आफ्नै परिधी वा संरचना हुन्छ ।
मिसरा
गजलको हरफलाई मिसरा भनिन्छ ।
शेर,
गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ । हरेक शेर आफैमा एउटा स्वतन्त्र कविता हुन्छ । शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ । उलाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ ।
(उला + सानी = शेर)
मिठो प्यार पाएँ   [मिसरा-ए-उला]
काखमा रमाएँ ।   [मिसरा-ए-सानी]
-   गोर्खे साइँलो
शाहे वैत
गजलको सबैभन्दा राम्रो शेरलाई "शाहे वैत" वा "बैत-उल-गजल" वा "हुस्न-ए-गजल" भनिन्छ ।
शेरको प्रकार
शेरको विषयवस्तुको आधारमा, शेरलाई २ भागमा बाँढिएको छ।
मुसलसल गजल :- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन् ।
गैरमुसलसल गजल :- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् ।
मतला
गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ । मतलाको आधारमा रदिफ, काफिया र बहर छुट्याईन्छ । र, यस्को पालना पुरै गजलमा गरिन्छ । यसका दुईटै मिसरामा काफिया र रदीफ हुन्छ ।
या रदीफविहीन गजल हो भने दुईटै मिसरामा काफियाको मात्र प्रयोग भएको हुन्छ।
हुस्ने मतला वा मतला-ए-सानी
यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ ।
काफिया
स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ । यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ ।
पूर्ण काफिया
पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि ।
एक पुर्ण काफियामा लेखिएको गजल
गजल
नेपाल मै बङ्गुर पाल बिदेस नआउ साथी ।
बरु खरकै छाना हाल बिदेस नआउ साथी ।
पसिनाले अरुको देस सिचाइ गर्नु भन्दा ।
घरमै दुख गर्न थाल बिदेस नआउ साथी ।
आफ्नै घोर्‍यान कोठेबारी भित्रै पैसा फल्छ ।
साग सब्जी फलाउ दाल बिदेस नआउ साथी ।
साहु सित बिदेस जाने ऋण खोज्न छाडी ।
खोरियाको ढुङ्गा फाल बिदेस नआउ साथी ।
धनी हुने सपना देख्दै बिदेस आए पनि ।
बिना पैसा बित्छ साल बिदेस न आउ साथी ।
दिपेन्द्र "अश्रुमाली"
आंशिक वा शब्दांश काफिया
शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रूपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ । जस्तैः कहानी, सिरानी, निशानी, जवानी, जिन्दगानी, तानी आदिमा आनी आंशिक वा शब्दांश काफिया हुन्छ । [कहानी = क + ह + आ + नी, सिरानी = सि + र + आ + नी, जवानी = ज + व + आ ‌+ नी, तानी = त + आ + नी]
हम काफिया
काफियाको साथमा जोडिएर आउने शव्दलाई “हम काफिया” भनिन्छ।
उदाहरण:
“वनाउने” र “विसाउने”
व + न + आ + उ + ने, वि + स + आ + उ + ने
“आउने” शव्दलाई "आंशिक काफिया" भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छन् ।
एक अक्षरे काफिया
शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि ।
रदीफ
काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ। रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन। यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको हुन्छ।
हमरदीफ
कुनै कुनै गजलमा भएका दोहोरिएका रदीफहरूलाई हमरदीफ भन्ने चलन छ ।
जस्तै:
सुकेपछि मनको घाउको, खाटो अलि अलि ।
याद आयो तिम्रो घरको, बाटो अलि अलि ।
माथिका 'अलि अलि'मा दोहोरिएका रदीफ छन् तिनलाई नै हमरदीफ भनिन्छ ।
एकल रदीफ
शेरमा एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ भनिन्छ ।
बहुल रदीफ
शेरमा एकभन्दा बढी शब्दहरू प्रयोग भएमा "बहुल रदीफ" भनिन्छ ।
मक्ता
गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ ।
तखल्लुस
मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।
इ सानै उमेर्देखि मन हर्न लागे   [मतलाको मिसरा-ए-उला]
यिनै सुन्दरीले जुलुम् गर्न लागे।   [मतलाको मिसरा-ए-सानी]
कहाँ सम्म आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे।
अघि पर्न सक्दीन मैले हरिका   [मक्ताको मिसरा-ए-उला]
नजर्देखि "मोती" पनि र्झन लागे।   [मक्ताको मिसरा-ए-सानी]   [तखल्लुस   "मोती"]
-   मोतिराम भट्ट
बहर
कुनै नियममा बाँधिएका शेरहरूको "वजन"लाई बह्र वा बहर भनिन्छ । नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ । संस्कृत काव्य परम्परामा छन्द भने झैं फारसी गजल परम्परामा "बहर" भनिन्छ । यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ । केही "पिङ्गला छन्द"हरू शास्त्रीय बहर सँग मिल्न जान्छन । त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ ।
उदाहरण:
मुरब्बा मक्बूज (छन्द प्रमाणिका)
सूत्र:।ऽ।ऽ।ऽ।ऽ, (१२ १२ १२ १२)
(एक अक्षरे काफिया, हुश्ने मतला)
कथा भयो कसो गरूँ ?
ब्यथा भयो कसो गरूँ ? <--- मतला।
कुरा भयो कसो गरूँ ?
छुरा भयो कसो गरूँ ? <--- हुश्ने मतला।
कता कता कतै कतै
नशा भयो कसो गरूँ ?
खुशी थियो झिनो झिनो
दशा भयो कसो गरूँ ?
यहां:
एउटा मात्रै काफिया भएकोले "एकल काफिया", र एक अक्षर मात्रै काफिया भएकोले "एक अक्षरे काफिया"।
कथा = क+थ+आ, ब्यथा = ब्य+थ+आ, कुरा = कु+र+आ, छुरा = छु+र+आ आदी।
३ वटा रदिफ "भयो कसो गरूँ" भएकोले "बहुल रदिफ / धेरै रदिफ"।
मात्रा गणना:
क(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको पहिलो हरफ]
ब्य(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको दोस्रो हरफ] (*"ब्यथा"को "ब्य" लाई (१) मान्ने गजलकारहरूबाट सर्व सहमत।)
एउटा शेर, २४ मात्रा (वजन)।
मिटर:
अङ्ग्रेजी मिटर: (daDUM, daDUM, daDUM, daDUM) x २
नेपाली मिटर: (लघुगुरू, लघुगुरू, लघुगुरू, लघुगुरू) x २
‍केहि बहर वा छन्दको प्रकार
मतलाको आधारमा बहर छुट्याईन्छ ।
बहर भनेको छन्द हो र, छन्द भनेको लय हो ।
बहर (बह्र)को आधार भनेको "अरकान" ("रुक्‍न"को बहुवचन) हो । अरकान भनेको मात्रिक क्रमको समूह हो । गजलको शास्त्रिय मान्यता भनेको, कुनै न कुनै छन्दमा बाँधिनु हो । संस्कृत छन्दमा अनेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरू भए झै इस्लामिक काव्यशास्त्रमा वर्णमात्रामा आधारित अनेक इस्लामिक शास्त्रिय बहरहरू छन् ।
छन्द वा बहरका केही प्रकार र उदाहरणहरू:
संस्कृत छन्द (पिङ्गल):अनुष्टुप छन्द, विद्युन्माला छन्द, इन्द्रवज्रा छन्द, उपेन्द्रवज्रा छन्द आदि ।
इस्लामिक बहर: मुफरद बहर, मुरक्कब बहर, मुजाहिफ बहर आदि ।
नेपाली छन्द: सवाई, लोक छन्द आदि ।
नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन् । नेपाली बहरको लागि तल हेर्नु होला ।
तर जुल गजल
अक्षरको एकरूपता पनि नमिलेको र शास्त्रीय बहर पनि नमिलेको तर भावका दृस्टीले चोटिला गजल ।
नेपाली बहर
केवल आक्षेरिक एकरूपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ। मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरू हुन्छन ।  नेपाली बहरमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन ।
उदाहरण:
६ अक्षर:-
मिठो प्यार पाएँ     [मि-ठो  प्या-र  पा-एँ  =  ६]
काखमा रमाएँ ।     [का-ख-मा  र-मा-एँ  =  ६]  -  गोर्खे साइँलो
७ अक्षर:-
प्यासमा पानी पायौ [प्या-स-मा  पा-नी  पा-यौ  =  ७]
साथमा माया लायौ।     [सा-थ-मा  मा-या  ला-यौ  =  ७]  -  गोर्खे साइँलो
१६ अक्षर:-
समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी     [स-मे-ना-मा  बो-की  ल्या-यौ  भ-एँ  प्या-रा  घर-की  रा-नी  =  १६]
तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी।     [ति-मी  हुँ-दा  ता-तो  प्या-ला  भ-एँ  आ-फैँ  पा-नी  पा-नी  =  १६]  -  गोर्खे साइँलो
नेपाली लोक छन्द
नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्।[१६] नेपाली लोक छन्दमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन
जस्तै:
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
[सानो ‍छ = ३, खेत = २, सानो छ = ३, बारी = २, सानै छ = ३ जहान = ३] = १६
[नगरी = ३, काम = २, पुग्दैन = ३, खान = २, साँझ र = ३ बिहान = ३] = १६
केहि नेपाली लोक छन्दहरू:
असारे– झ्याउरे (३+२+३+२+३+३=१६):
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
सवाई(४+४+४+२ =१४)
समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै
सेलो(२+२+३=७)
पैले बाज्या पालामा
रूप्या गन्थे डालामा
मारूनी( ४+३+३ = १०)
मेरो माया आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर
बालौरी(४+२ = ६ वा ४+३=७)
ताराबाजी लै लै
मामा आए घोडा
सानी सानी छोरी छ
काली ह्वैन गोरी छ
घाँसे(काठे भाका) (१८ देखि २१ अक्षर)
आजै र म त घाँस काट्न गएँ टिकी त खस्यो पातमा
बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा,
झ्याउरे ( १९ देखि २० अक्षर )
गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए
बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए,
मात्रिक बहर
अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा मात्रा बराबर हुन्छ । र, लघु गुरूको क्रम समान हुँदैन ।
मात्रिक छन्‍द
उदाहरण:
लघु मात्रालाई १ गनिन्छ ।
गुरू ‍मात्रालाई २ गनिन्छ ।
१ मात्रा हुने (लघु)
अ, इ, उ, ऋ
क, कि, कु, कृ
अँ, हँ (चन्द्र बिन्दु हुने वर्ण) जस्तै: अँसुवर
त्य (संयुक्त व्यंजन हुने वर्ण)। जस्तै: नित्य
मात्रा हुने (गुरू)
आ, ई, ऊ, ए, ऐ, ओ, औ
१७ मात्राको मिसरा:-
२४ मात्राको मिसरा:-
लय (शास्त्रीय छन्द, बहर, लोकलय, उच्चार्य सममात्रिक लय र आक्षरिक लय) मा नेपाली गजललेखन
लय परिचय :- लय भन्नाले कुनै कुरा पढ्दा या उच्चारण गर्दा उत्पन्न हुने स्वाभाविक प्रवाह हो । कुनै कुरा सललल बगेर कतै पनि अप्ठ्यारो नमानी पढ्न या उच्चारण गर्न सकिन्छ भने त्यहाँ स्वाभाविक रूपमा लय उत्पन्न हुन्छ । कुनै पनि पाठको यति विश्राम र गति पढ्दा उत्पन्न हुने स्वाभाविक प्रवाह को उचित संयोजनबाट लय उत्पन्न हुन्छ । लय उत्पन्न हुने विभिन्न कारण हुन सक्छन् । शब्दचयन, लेखनकला, अनुप्रासयोजना, अक्षररमात्राको एकरूपता आदिले पाठमा लय उत्पन्न गराउने गर्दछन् । यस लेखमा अक्षररमात्राको एकरूपताबाट कसरी लय उत्पन्न हुन्छ ? भन्ने बारेमा उल्लेख गर्दै नेपाली गजलमा लयको प्रयोग र परम्पराबारे केही चर्चा गरिएको छ ।
गजल मूलतः गेय विधा हो । गजल गेय विधा हुनुको अर्थमा यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिदैन । लयलाई बुझाउने धेरै शब्दहरू छन् । बहर, छन्द, लय, मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरू हुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमाचाहि गजल आवद्ध हुनै पर्दछ । गजलको उत्पत्तिताका पाठ्य या श्रव्य विधाका रूपमा लोकप्रियता कमाएको गजल आधुनिक वर्तमानमा गेय विधाका रूपमा सुपरिचित छ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवा सय वर्ष बितिसक्दा पनि चित्त बुझ्दो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरूले । यसका साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्त्वपूर्ण पक्ष हो भन्न सकिन्छ । यसको उदाहरणका रूपमा अहिले पनि आधुनिक सुगम सङ्गीतकै शैलीमा गजललाई सङ्गीत गर्ने र गाउने प्रवृत्तिलाई लिन सकिन्छ । कतिपय सञ्चारमाध्यमले अझै पनि राग अलापेर गाइएका गीतहरूलाई गजल भनेर बजाउँदै पनि आएका छन् । गजल गेय विधा हो, तर यसको मतलब गजल गीत होइन, न त यो कविता नै हो । गजलको आफ्नै छुट्टै संरचना हुन्छ, गजललेखनको प्रविधि हुन्छ । गजल गायनको पनि आफ्नै विशिष्ट प्रकारको शैली हुन्छ । यो कुरालाई नबुझेर हो या बुझ्ने कोसिस नै नगरेर नेपालका सङ्गीतकर्मी, गायकहरूले गजलका नाममा गजलइतर रचना गाइरहेका पाइन्छ ।
त्यसो त गजललेखकमा पनि पर्याप्त सजगता अझै पाइदैन । रदिफ र काफिया मिलाएर लेख्ने सिकारुहरू एकातिर छन् भने रदिफ र काफियासमेत छुट्याउन नजान्नेहरू पनि गजल नामका सिर्जना लेखेर गजल भनेर गवाउदै छन् । यो हरेक सचेत गजलर्सजक, सङ्गीतकर्मी र गायकले बुझ्नुपर्ने कुरा हो । यसप्रति अबका दिनमा सबैले सचेत हुनै पर्दछ । यहाँ गजलमा लय वा छन्दविधानको कुरा गर्दा गायनको यो सर्न्दर्भ जोडिन पुगेको हो ।
गजलमा लय अनिवार्य छ तर बहर या छन्दमा लेख्दा मात्र गजल लयात्मक अथवा गेयात्मक हुन सक्छ भन्ने सोच भने ज्यादै अतिवादी सोच हो । बहर या छन्दमा लेखिएका गजल स्वाभाविक रूपमै लयबद्ध हुन्छन् तर स्वतन्त्र लयमा लेखिएका गजल पनि कम सशक्त भने हुँदैनन् । गजलमा लयविधानको कुरा गर्दा लय निर्माण र प्रयोगको शिल्पबारे केही चर्चा गर्नु उपयुक्त होला ।
गजल गेय विधा भएका कारण यो लयबद्ध हुनै पर्छ, चाहे छन्द (बहर या सममात्रा जेसुकै लयविधानलाई अ“गाले पनि । छन्द या बहरमा लेख्नु आफैँमा सिर्जना लयबद्ध हुनु हो पछिल्लो खण्डमा यसबारे बिस्तृत चर्चा गरिएको छ । तर, सबै गजल छन्द या बहरमा नै लेखिनुपर्छ भन्ने आग्रह भ्रामक र अतिसयोक्तिपूर्ण हो । यसको मतलब जे पायो त्यही ढङ्गमा, केवल भावपूर्ण प्रभावकारी बनाउने नाउँमा कुनै पङ्क्ति १९ मात्राको र कुनै १४ मात्राको बनाउनु भन्नेचाहिँ कदापि होइन । शास्त्रीय बहर या छन्दमा लेख्न नसक्ने या नरुचाउनेले पनि गजल लेख्दा निश्चित लयचाहिँ अवलम्बन गर्नै पर्छ । समान मात्राद्वारा निर्मित यस्तो लयलाई सममात्रिक लय पनि भन्ने गरिन्छ । यहाँ पनि के स्पष्ट हुनु जरुरी छ भने कसैकसैले सममात्रिक लयमा गजल लेख्न खोजेका छन् तर सममात्राका आधार अक्षर सङ्ख्या (वर्ण) लाई मान्ने गरिएको पाइन्छ । यो किसिमको लय सममात्रिक लय होइन । सममात्रिक लय वर्णको उच्चारण या उच्चार्य वर्णसँग सम्बन्धित हुन्छ ।
जस्तो,
क) कूपमन्डुक जमातमा के खोज्छौ भाइ परिचय ?
थुन्न त्र्रिा पहिचान पिँजडा हुन्छन् सहरमा ।                                                          -प्रभाती किरण, विचारका भग्नावशेष
ख) मनहरूमा सूर्यकिरण र्छर्नुपर्ने थियो,
अँध्याराका उचाइहरू होच्याएर आएँ । -जीत कार्की
उल्लिखित प्रथम सेरका दुवै पङ्क्तिमा सोह्र मात्रा छन् । अक्षर सङ्ख्यालाई हेर्ने हो भने प्रथम पङ्क्तिमा अठार अक्षर र दोस्रो पङ्क्तिमा सत्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ,
कूपमण्डुक्र/ जमातमा /के खोज्छौ भाइ/ परिचय ?
थुन्न तिम्रा/ पहिचान् पिँ/ जडा हुन्छन्/ सहरमा ।
यस्तै दोस्रो सेरमा पहिलो पङ्क्तिमा सोह्र अक्षर र दोस्रो पङ्क्तिमा पन्ध्र अक्षर रहेका छन् । तर,
उच्चारण गर्दा यस्तो हुन्छ,
मन्हरूमा/सूर्यकिरण्/ र्छर्नुपर्ने/ थियो,
अँध्याराका/ उचाइहरू/ होच्याएर/ आएँ ।
सममात्रिक लयमा गजल लेख्नका निम्ति एउटा छूट के छ भने स्वर स्वर वर्ण (इ, ई, उ, ऊ, ए र ऐ) को उच्चारण मात्राको आवश्यकताअनुसार गर्न सकिन्छ । माथि उल्लिखित प्रथम सेरको पहिलो पङ्क्तिमा रहेको 'भाई' शब्दलाई दुई मात्रा अथवा एक मात्रा दुवै रूपमा प्रयोग गर्न सकिन्छ । प्रस्तुत सेरमा एक मात्राका रूपमा भाई शब्दको प्रयोग भएको छ । त्यस्तै दोस्रो सेरको दोस्रो पङ्क्तिमा रहेको उचाइहरूमा पाँच अक्षर भए पनि इलाई त्योभन्दा अघिको वर्णसँग जोडेर उच्चारण गरिन्छ यसकारण उचाइहरूलाई चार मात्रा मात्र मान्न सकिन्छ । यर्सथ प्रस्तुत दोस्रो सेर चौध मात्रामा लेखिएको छ भन्न सकिन्छ ।
समग्रमा, गजलमा गेय पक्ष वा छन्दोबद्धता या लयात्मकता ज्यादै महत्त्वपूर्ण मानिन्छ । बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर (सममात्रामा) भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।
लयका विभिन्न प्रकार छन् । गीत, कविता, गजल, हाइकु, ताङ्काजस्ता साहित्यका अनेक विधामा अनेक किसिमका लयको प्रयोग भएको हुन्छ । गजलमा विशेषतः कविता या गीतमा प्रयोग गरिने लयको प्रयोग गर्न सकिन्छ । गजल मूलतः शास्त्रीय विधा भएकोले यसका आफ्नै विधि-विधानहरू छन् । गायनका हिसाबले गीतसँग र भावका हिसाबले कवितासँग निकट रहेको गजल विधा शिल्पगत हिसाबले अलि भिन्न देखिन्छ । गजलको प्रस्तुति शैली अन्य विधाको प्रस्तुति शैलीभन्दा फरक भएको कारण पनि गजल अन्य विधाभन्दा भिन्न लाग्छ ।
नेपाली गजलको सुरुआतताका युवाकवि मोतीराम भट्ट र उनको साहित्यिक समूह मोतीमण्डलीका स्रष्टाहरूले बहरबद्ध गजल नै लेखेका पाइन्छ । उर्दू, हिन्दीको प्रभावका कारण मोतीराम भट्टले गजललाई हिन्दीबाट नेपालीमा प्रवेश गराउँदै उर्दू, फारसी बहरको सिको गर्दै बहरबद्ध गजल नै सिर्जना गरेका हुन् ।
उपेन्द्रबहादुर जिगरपछि नेपाली गजललेखनमा सुस्तता आएपछि झन्डै ३०/३५ वर्षम्म गजललेखन शून्यप्रायः भयो । बिक्रमको तीसको दशकको अन्त्यतिरदेखि नेपाली गजललेखनको पुनर्जागरण भयो । पुनर्जागरण त भयो तर गजलको महत्त्वपूर्ण तत्त्व बहर (लय) को भने पुनर्जागरण हुन सकेन । यस समयमा भाव पक्षलाई प्राथमिकता दिएर गजल लेख्न थालियो । लय पक्ष ओझेल पर्यो ।
बिक्रमको ४० को दशकको सुरुआततिरदेखि मनु ब्राजाकी, ललिजन रावल, रवि प्राञ्जलजस्ता लयमा सचेत गजलकारहरूको आगमन भएपछि भने नेपाली गजलमा लयको बारेमा व्यापक बहस हुन थाल्यो । ५० को दशकसम्म आइपुग्दा धेरै गजलकारमा लयप्रतिको सचेतता आइसकेको पाइन्छ ।
लयको विषयमा बहस व्यापक मात्रामा भए पनि बहरको बारेमा बहस हुन नसकिरहेको सर्न्दर्भमा ५० को दशकबाटै डा. घनश्याम न्यौपाने 'परिश्रमी'ले गजलमै विद्यावारिधि गरेर गजलको शास्त्रीयता (विशेषगरी बहर) को बारेमा बहस सुरु गरे । ६० को दशकको सुरुआतसम्म आइपुग्दा देवी नेपाल, सनतकुमार वस्ती आदिले आफ्ना लेख र मन्तव्यमा गजलमा बहरको बारेमा व्यापक चर्चा गर्न थाले ।
गजल गेय विधा हो । गजल गाइनुपर्छ भन्ने मान्यता राखिँदै आएको छ । यर्सथ गजलमा लय अनिवार्य तत्त्व हो । लयविहीन सिर्जना गजल नभएर कविता, गीत वा कुनै भावना हुन सक्छ तर गजल हुँदैन । यस लेखमा नेपाली गजलमा प्रयोग भएका शास्त्रीय लय (पिङ्गल छन्द), बहर (फारसी छन्द), लोक लय (लोक छन्द) तथा स्वनिर्मित सममात्रिक र आक्षरिक लय गरी पाँच प्रकारका लयको प्रयोगबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
शास्त्रीय छन्दमा गजललेखनछन्द परिचय :- छन्द भन्नाले वर्णको एकरूपता हो अथवा ह्रस्व र दीर्घको पालना सबै पङ्क्तिमा समानरूपमा भएमा सिर्जना छन्दोबद्ध हुन्छ । वर्णको एकरूपताले लय सिर्जना गर्दछ । यर्सथ छन्दोबद्ध सिर्जना लयबद्ध हुन्छन् । छन्द पनि वाणिर्क र मात्रिक तथा लोकछन्द गरी तीन प्रकारका मानिन्छन् । यस लेखमा तीनमध्ये दुई प्रकार, वाणिर्क र लोकछन्दको बारेमा मात्र चर्चा गरिएको छ, किनभने यी दुई प्रकारका छन्दको प्रयोग नेपाली गजलमा अधिक हुने गरेको छ । मात्रिक छन्दको प्रयोग भने नेपाली गजलमा देखिँदैन तर स्वनिर्मित सममात्रिक लय ( वर्णको उच्चारणमा आधारित लय ) र समआक्षरिक लयको प्रयोग भने अत्यन्तै धेरै मात्रामा भएको पाइन्छ । यी लयको बारेमा पनि यस लेखमा बिस्तृत चर्चा गरिएको छ ।
शास्त्रीय छन्द (पिङ्गल छन्द) मा पनि फारसी बहरमा जस्तै विभिन्न सूत्रहरू हुन्छन् । फारसी बहरमा रुक्न/अर्कान भनेजस्तै शास्त्रीय छन्दमा गणहरू हुन्छन् । शास्त्रीय छन्दमा पनि फारसी बहरमा जस्तै आठ प्रकारका गणहरू छन् ।
यमाताराजभानस
यी आठओटा गण र तिनका सङ्केतलाई यसरी बुझ्न सकिन्छ :-
गण               सङ्केत             उदाहरण
य                 यमाता १२२         मलाई
म                 मातारा २२२         आफ्नैले
त                 ताराज २२१         काटेर
र                 राजभा २१२         मार्दछन्
ज                 जभान १२१         भनेर
भ                 भानस २११         सोच्दछु
न                 नसल १११          अब त
स                 सलगा ११२          कसरी
यसपछि दुइओटा लघु र गुरु छन् ।
ल                 लघु १              म
गु                 गुरु २              यो
यसबाट 'य' गण भन्नाले 'य' पछिका तीन अक्षरबाट निर्माण हुने गण बुझिन्छ । 'य' पछिका 'मा' र 'ता' लाई'य'सँग जोड्दा हुने 'यमाता' (१२२) नै 'य' गण हो । अथवा एउटा ह्रस्व र दुइटा ददीर्घ हुने गण 'य' गण हो । यसरी नै 'म' गण भन्नाले 'म' पछिका दुइ अक्षर जोड्दा बन्ने 'मातारा' (२२२) भन्ने बुझिन्छ । यसै गरी 'त'गण भनेको 'ताराज' (२२१), 'र' गण भनेको 'राजभा' (२१२), 'ज' गण भनेको 'जभान' (१२१), 'भ' गण भनेको'भानस' (२११), 'न' गण भनेको 'नसल' (१११), 'स' गण भनेको 'सलगा' (११२) र 'ल' भनेको लघु (ह्रस्व) र 'गु'भनेको गुरु (दीर्घ) भन्ने बुझिन्छ ।यिनै आठओटा गणबाट विभिन्न छन्दको निर्माण हुन्छ । यी गणबाट निर्माण भएका पिङ्गल छन्द पनि फारसी बहरझैँ कति सङ्ख्यामा छन् भन्ने यकिन छैन ।
नेपाली साहित्यमा प्रयोग भएका पिङ्गल छन्दको सङ्ख्या तीन सयको हाराहारी हुनसक्ने अनुमान छ । गणको फेरबदलबाट नयाँ छन्द निर्माण हुने भएकोले पनि छन्दको सङ्ख्या यकिन हुन नसकेको हो ।
पिङ्गल छन्दमा लेख्दा पनि बहरमा जस्तै ह्रस्व/दीर्घ, यति र गतिको नियमलाई होसियारीपूर्वक पालना गर्नुपर्दछ । नेपाली कवितामा पिङ्गल छन्दको प्रयोग पहिल्यैदेखि भए पनि गजलमा भने फारसी बहरसँग मिल्ने पिङ्गल छन्दको मात्र प्रयोग हुँदै आएको थियो । तर पछिल्लो समयमा नेपाली गजलकारहरूले पिङ्गल छन्द, जुन गजलमा प्रयोग भइरहेका थिएनन्, ती छन्दको पनि गजलमा सफलतापूर्वक प्रयोग गरेका छन् । भुजङ्गप्रयात, स्रग्विणी, दिक्पाल, विधाता, तोटक, इन्द्रबज्रा, पञ्चचामरजस्ता फारसी र संस्कृत साहित्यमा मिल्ने छन्दका अतिरिक्त मन्दाक्रान्ता, शिखरिणी, शार्दूलबीक्रीडितजस्ता लामा छन्दका साथै २१ अक्षर भएको स्रग्धरा छन्दको समेत नेपाली गजलकारले प्रयोग गरिसकेका छन् ।
नेपाली गजलकारले प्रयोग गरेका केही पिङ्गल छन्दहरू यसप्रकार छन् :-
द्रुतबिलम्बित
नभभर सूत्र हुने १२ अक्षरको यो छन्दमा छ अक्षरमा मध्यविश्राम हुने गर्छ । नसल (१११) ±भानस (२११) ± भानस (२११)±राजभा (२१२) यो छन्दको सूत्र हो । यो छन्दमा लेखिएका गजलका सेरहरूः
अघि विलक्षण धुर्त थियौ तिमीअब त मुर्खतिरै दरियौ तिमी । - खोलाघरे साहिँलो
स्रग्धरा
२१ अक्षर हुने लामो पिङ्गल छन्द स्रग्धरामा समेत नेपाली गजलकारले गजल लेखेका छन् । मरभनययय अथवा मातारा±राजभा±भानस±नसल±यमाता±यमाता±यमाता सूत्र हुने यो छन्दको सात अक्षर र चौध अक्षरमा विश्राम हुन्छ ।  यो छन्दमा लेखिएको एउटा सेर :
नौलो मुस्कान छछ्र्यौ मुसुमुसु यसको सार के हुन्छ नानू ?साथीका कान फुक्छ्यौ खुसुखुसु यसको सार के हुन्छ नानू ? - खोलाघरे साहिँलो
भुजङ्गी
भुजङ्गी छन्द छोटो छन्दअर्न्तर्गत पर्दछ । भुजङ्गप्रयातमा भन्दा एक अक्षर कम हुने यो छन्दमा पनि नेपाली गजलकारले गजल सिर्जना गरिरहेका छन् । यययलगु वा यमाता यमाता यमाता लघु गुरु सूत्र हुने बहरे मुतकारिब मुसम्मन् महजूफसँग मिल्ने यो छन्दमा ११ अक्षर हुन्छन् भने छ अक्षरमा मध्यविश्राम पर्छ । फारसी बहरमा यसको सूत्र हुन्छ : फऊलुन्±फऊलुन्±फऊलुन्±मफा । भुजङ्गी छन्दमा लेखिएका केही सेर :-
तिमीले मनैमा सरायौ भनेछु साथै म त्रि्रो डरायौ भने । - खनाल मेघनाथ 'बन्धु'
इन्द्रबज्रा
नेपाली पद्यकवितामा अत्यधिक प्रयोग हुने छन्द इन्द्रबज्रामा पनि गजल लेखिएका छन् । ततजगुगु अथवा ताराज±ताराज±जभान±गुरु±गुरु गरी ११ अक्षर हुने यो छन्दको पाँच अक्षरमा मध्यविश्राम पर्छ । फारसी बहरमा सूत्र हुने मुसम्मन अखरब मक्बुज अवतरसँग मिल्ने यो छन्दमा लेखिएका केही गजलका सेर :
र्सवश्व सुम्पेर दिएँ त के भोपीडा सबै आज लिएँ त के भो - शैलेन्द्र अधिकारी
द्रुता
१० अक्षर हुने तथा पाँच अक्षरमा मध्यविश्राम हुने छोटो पिङ्गल छन्द द्रुता पनि नेपाली गजलकारको प्रिय छन्द बनेको छ । यो छन्दको सूत्र हुन्छ- रयजगु । राजभा±यमाता±जभान±गुरु मिलेर द्रुता छन्द बन्दछ । यो छन्दमा लेखिएका केही सेर :
साँझ मान्दिनन् लाज चाँदनी
मुस्कुराउँछिन् आज चाँदनी । -केशवराज आमोदी, गजलमाला
इन्दिरा
इन्दिरा छन्द पनि नेपाली गजलकारले आफ्ना गजलमा प्रयोग गर्दै आएका छन् । नररलगु अथवा नसल±राजभा±राजभा±लगु±गुरु सूत्र हुने ११ अक्षरको यो छन्दको मध्यविश्राम छ अक्षरमा हुने गर्छ ।
पर हुँदा सधैँ आउ भन्दछ्यौनजिक आउँदा जाउ भन्दछ्यौ । -  गङ्गानाथ कोइराला
लामा पिङ्गल छन्दहरू शिखरिणी, शार्दूलबीक्रीडित, मन्दाक्रान्ता, अनुष्टुप छन्दमा पनि नेपाली गजलकारले गजल सिर्जना गरेका छन् ।

क्रमशः....


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

मुक्तक बारे टिप्पणी / रुपेश आचार्य अन्जान - 2017-05-17

मुक्तक आँफै मा एउटा स्वतन्त्र बिधा हो । नेपाली साहित्य मा हर कसैलाई मन पर्ने या चित्त बुझ्ने विधा को रुप मा मुक्तक लाई लिन सकिन्छ । 

गजल लेखनबिधि ( खण्ड ख ) - 2017-02-06

गजल सिद्धान्त र विवेचना
शिखरिणी
शिखरिणी छन्दको सूत्र हुन्छ- यमनसभलगु । यमाता±मातारा±नसल±सलगा±भानस±लगु±गुरु सूत्र हुने १७ अक्षरको शिखरिणी छन्दमा छ अक्षर र बाह्र अक्षरमा विश्राम हुन्छ । शिखरिणी छन्दमा लेखिएका केही सेर : हजारौँ मान्छेको किन सहरमा दुख्छ सपना व्यथाको ज्वालाले किन दिनदिनै सुक्छ सपना - सुरेश सुवेदी

गजल लेखनबिधि ( खण्ड ग ) - 2017-02-06

गजल सिद्धान्त र विवेचना
उल्लिखित भेदका अतिरिक्त रमलका अन्य केही भेदहरू पनि नेपाली गजलकारले प्रयोग गरिरहेका पाइन्छ ।
फाइलातुन्±फाइलातुन्±फाइलुन् सूत्रमा आधारित बहरे रमल मुसद्दस महजुफको प्रयोग पनि केही नेपाली गजलकारले गरिरहेका छन् ।  

गजल लेखनबिधि ( खण्ड क ) - 2017-02-05

गजल सिद्धान्त र विवेचना
गजल (अङ्ग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा गजल, उर्दू भाषामा غزل) प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको “काव्य” विधा हो । 
गजल भनेको घढीमा ३ शेर देखि बढीमा जतिसुकै शेरमा ( गजलको सुन्दरताको लागी ५ शेर सम्म राम्रो ) हुने उर्दु र फारसी कविताको एक प्रकार हो ।

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360251 Times Visited.

Powered by: Exclusively Solution
Top
Content