कथा - कथा



कथा : अलिखित कथाको एक पात्र

राम राम हजुर, मास्तिर हाम्रो चोकमा यसो टाउको ओताउने छहारी र बस्नलाई एकदुई वटा बेन्ची बनाउन पाए घामपानीमा बटुवालाई सुविस्ता हुने थियो ।

राम राम बाजेले आज एकाबिहानै, म चियाको चुस्कीसँग अखबारका समाचारहरू पिइरहेका बेला आएर भुईंमा टुक्रुक्क बसेर यस्तो प्रस्ताव राखे । म तर्सें उनका कुराले । किनकि बितेका तीस बत्तीस वर्षको उनीसँगको चिनाजान र सङ्गतमा कुनै दिन पनि उनले सामाजिक चिन्तन बोकेका यस्ता कुरा गरेका थिएनन् । न त उनले यस्ता कुरा मसँग गर्लान् भन्ने मैले कल्पना नै गरेको थिएँ ।।

उनको कुराको जवाफ नै नदिई फेरि एकपल्ट गहिरिएर नियालेँ उनलाई । बुढ्यौलीले गाँजिसकेको शरीर । मुहारभरि सङ्घर्षका रेखाहरू छरिएका छन् छरपस्ट । हातगोडा जीवन नामको महायज्ञका लागि चरुको सामान जुटाउने क्रममा थकित देखिन्छन् । कपाल काईँयो र तेल साबुनको अभावमा आफूसँग आफैं रुखिएका छन् । लुगा च्यातिएका ठाउँमा विभिन्न रङका कपडाहरू टाँसिएर हिप्पीले लगाउने जस्ता भएका छन् । एउटा परिपक्व गरिबी आफ्नो बहादुरीपना देखाएर हाँसिरहेछ । 

“हजुर ! मैले गल्ती कुरा पो बेसाएँ कि ?” उनी मेरो एकोहोरो हेराइले डराए सायद ! डर लुकाउन हो कि ङिच्च हाँसे ।

म फेरि झस्केँ । आज मलाई किन किन तीसबत्तीस वर्षदेखि सुन्दै आएको उनको स्वर र लवज उनको जस्तो पटक्कै लागेन । उनको बोली नितान्त नौलो, कहिले नसुनेको जस्तो लाग्यो । अझै गहिरो दृष्टिले नियालेँ उनका आँखामा । एउटा सङ्कल्प, एउटा विश्वास र एउटा निर्णय बोकेका दृढ आँखाका नानीहरू मलाई नै ताकिरहेछन् कुनै प्रतिक्रियाको पर्खाइमा । म गला खकार्छु । 

“राम राम ! मैले तिम्रो कुरा राम्ररी बुझिन । अझ स्पष्ट पार त । अनि म केही बोलौंला त्यस बारेमा । बसन सजिलोसँग । ए ... मैना एउटा पिरा दे दे राम रामलाई ।” सायद मैले जीवनमा पहिलो पटक राम रामप्रति यति मानवीय भाव राखेर बोलेँ होला । त्यसैले आफ्नो शब्दले आफैंलाई खिज्याए जस्तो पनि भइरहेछ मलाई ।

“पर्दैन हजुर पिरा ।” पिरा नपर्खी ऊ बस्यो, थोत्रोबाट पनि दुई तह खस्किएको चप्पल फुकालेर भुइँमा पलेँटि कस्दै । 

“ हजुर ! जब म यो ठाउँमा आएँ , त्यस बेलादेखि नै मेरो मनमा एउटा अभाव तेर्सिएको थियो । त्यै क्या त अगि हजुरसँग बेसाएको कुरा । मन लागेर के गर्नु आफू परियो गरिब मोरो ! दुई चार पैसा गर्दै यति लामो समयसम्म जम्मा गर्दा गर्दा आठहजार जति बनाएको छु । अनि त्यसै कामका लागि भनेर बारीमा बाँस लगाएको छु । काठका लागि एकदुई बोट जामुन र सिसौ पनि लगाएको छु । त्यो अब चिरान गर्न लायक भइसक्यो । त्यसैले हजुरमाथि आशा राख्दै बिन्ती गर्न आएको । त्यति कामका लागि मलाई हजुरको साथ सहयोग चाहियो, नाइ “ मर्जी नहोस् है हजुर ।” निक्कै दयनीय बने उनी । गहिरिएर फेरि उनलाई हेरें ।

मलाई लाग्यो म चिर निद्रामा छु , मलाई उनका हरेक शब्दहरूले बिउँझिन झकझकाई रह्यो । म विस्मित आँखामा भरेर उनलाई अचम्मसँग नियालिरहेछु । उनी मेरो नजरमा कृष्णले अर्जुनलाई विराट रूप देखाए जस्तै अग्लिदै अग्लिदै गइरहेछन् र म उनको अगाडि सानो अझ सानो बन्दै गइरहेछु । 

मभित्र एउटा सम्झना झुल्कयो झिलिक्क । भानुभक्त र घाँसीको । के यो घाँसीको पुनर्जन्म लिएको उसको दोस्रो अवतार हो ? तर म त भानुभक्त परिन । भानुभक्तले जस्तो कुनै श्लोक बनाएर काव्यकृतिमा म उनको महानतासँग आफ्नो तुच्छताको तुलनात्मक वर्णन गर्न पनि सक्दिन । 

रामरामको एकदमै नौलो रूप आज म सम्मुख उघ्रिएको छ सुनौलो किरण लिएर । मैले कहाँ सोच्न सकेको थिएँ र बच्चादेखि वृद्धसम्मको हेपाइ र खिसीलाई गास बनाएर खाने मान्छे । सम्भ्रान्त कहलिनेहरूको तिरस्कार र अपहेलनालाई अमृतसरह पिउने मान्छे । हरक्षण, हरपल आफू गौण बनेर अरूलाई उच्च पार्ने मान्छेभित्र यति अग्लो उच्चता लुकेको छ भनेर हिलोभित्र कमल देखेँ उनलाई, बगरको ढुङ्गाहरू बीच चम्कने हीरा । निष्पट अँध्यारो चिर्ने एक मुस्लो उज्यालो । अनि देखेँ आज स्वार्थको साम्राज्यमा एउटा निस्वार्थ व्यक्ति । 

“हजुर ! खै केही मर्जी भएन त । ठूलो आश लिएर आएको हजुर म त ।” उनी मेरो मौनतामा छट्पटाए, निसास्सिए । मलाई यस्तै लाग्यो । 

“राम राम ! तिमीले निक्कै राम्रो कुरा गर्यौ । ठीक छ तिम्रो इच्छालाई मूर्त रूप दिन म तिमीलाई सक्दो सहयोग गर्नेछु । तिमी ढुक्क होऊ ।” मनमा ऊप्रति विशेष भावना जन्माउँदै बचन दिएँ उनलाई । 

“हजुर ! म जान्छु । तल कार्की मालिकको बारी खन्दैछु ।” उनी उठ्ने उपक्रममा लागे ।

“होइन रामराम, खाजा खाएर जाऊ न । म एकदुई दिन सोचविचार गरेर कसरी काम गर्ने तिमीलाई सम्झाउँला नि ! खाजा चाहिँ खाएरै जाऊ ।” म फेरि काम गर्ने केटी बोलाउँछु “मैना ! ए मैना ! जा जा माथि साहेबनीलाई मैले तल डाकेको भनिदे ।” 

“हजुर ! एकछिन भनेर आएको । कार्की मालिकको रिस चर्को छ । म जान्छु । पर्सी हजुरसँग भेट्न आउँदा काम सघाउने गरी आउँछु । त्यसदिन खाना पनि खान्छु है हजुर । आज जान्छु रिसानी माफ होस् ।” उनी हिँडे । म टोलाएर उनलाई हेरिरहेँ । 

०००

“त्यो बबितालाई मेरी छोरी होइन भन्छन् मान्छे । ए रातै, मेरी नभए कसकी हो त ? आँखा मेरै जस्ता, नाक ठ्याक्कै मेरै जस्तो, झन् खाने मुख त काटीकुटी मेरो । अनि कसरी होइन मेरी छोरी बबिता ? अर्काको भारी बोकेकी स्वास्नी ल्याउने म नामर्द चुत्था हुँ र ? बाबै नि मान्छेले हेप्न पाएँ भनेर साह्रै पो हेप्दा रहेछन् ।” 

आज बारीमा कराउने को हो ? उत्सुकताबस मैले घाँटी तन्काएर हेरें । एउटा अर्धवैंसे मान्छे बारी खन्दै एक्लै बर्बराउँदै थियो । म छक्क परेँ । मान्छे एक्लै पनि बोल्दो रहेछ । 

“जमाना साह्रै खराब, मान्छेलाई देखेर जदौ गर्न रामराम हजुर भन्दा पनि हाँस्छन मान्छे ,खिसी गर्दै । म पनि मान्छे नै हुँ , किन खिसी गर्नु ? मैले त मान पो गरेको त । यो माटोको डल्लाभन्दा पनि चाम्रो मान्छेको जात । मेरी बास्सै ! कमका हुन्छन् मान्छे, बुझेर बुझी नसक्नु । सहेर सही नसक्नु । खुईया ... ।” एउटा लामो उछ्वास सुन्छु म । म फेरि घाँटि तन्काउँछु । मैलो कमिजको फेरले निधारको पसिना पुछ्दैछ ऊ । म अचम्मित भएँ । आज छुट्टिको दिन म दिनभरि घरमै छु र यो बारी खन्ने मान्छे दिनभरि नै एक्लै बोलिरहेछ । 

नियालेर हेर्छु । गरिबीको ज्युँदो उदाहरण । “पहाडमा सबै छाडेर सहर झरेको सुख पाउन, यी यही गति भैगो । यता काम गर छाक टार्नु, उता काम गर छाक टार्नु मात्रै भयो जीवन । राम्रो लाउन पाइन मिठो खान पाइन भनेर स्वास्नीको गनगन । राम्रो र छिटो काम गरेन भनेर मालिकहरूको कचकच । आ ... बरु कहिलेकाहिँ त खरानी घसेर हिँड्न पो मन लाग्छ । खरानी घसेर अलख भन्दै हिँड्यो लन्ठै साफ । हुँदैन हुँदैन घरपरिवार स्वास्नी छोराछोरी भएको गृहस्थी भएर के सोचेको मैले यस्तो वैराग्य ! त्यो दुर्गाको गर्भको बच्चाले सराप्छ मलाई । जन्मेर बाउ देख्न नपाउँदा । हे प्रभु ! माफ गर है मलाई ।” दुई हत्केला बीच कोदालाको बिँड च्याप्दै नमस्कार गर्दैछन् निधारमा हात छुवाएर । 

दृश्य नै त्यस्तो थियो । खितिती मेरो मुखबाट हाँसो फुत्किहाल्यो । ऊ झसङ्ग भयो मेरो हँसाइले । फनक्क टाउको घुमायो । बरन्डामा आधा जिउ देखाएर उभिइरहेको मसँग आँखा जुध्यो उसको । निक्कै हड्बडाउँदै अत्तालिदै धमाधम बारी खन्न थाल्यो, छिटो छिटो । म जस्तो फुच्चेसँग त्यत्रो ठूलोमान्छे डराएकाले म झन् पेट मिचिमिची हाँस्न थालेँ । मेरा लागि कौतुहलता र जिज्ञासाको नयाँ विषय बन्यो ऊ । राती खानापछि आफ्नी मुमासँग नसोधी रहन सकिन म उसका बारेमा । 

“खै छोरा ! उसको पहिला देखिको वास्तविकता त जान्दिनँ । तर केही वर्षअघि गर्भमा बच्चा भएकी आफूभन्दा निकै कलिली स्वास्नी अघि लाएर हाम्रो ठाउँमा पसेका हुन् उनी । गरिब थिए, बेसहारा, असहाय थिए । अर्काको गर्भ बोकेकी केटी जिम्मा लिएर बसाई आएका भन्छन् मान्छे । तल खोलाको डिलमा ऐलानी जग्गा छ । त्यहाँ नाम मात्रको झुप्रो बनाएर बसेका छन् । यताउता बनिबुतो गर्छन् खान्छन् । सोझा छन् । मान्छेले हेप्छन् उनलाई । विरोध गर्न सक्दैनन् । विद्रोही बन्न सक्दैनन् अनि आफ्नो मनमा गुम्सेका, निसास्सिएका कथा व्यथाहरू खेतबारीमा काम गर्दा एक्लै फतफताएर पोख्छन् । बहुलाएका सन्किएका केही होइनन सद्दे छन।” 

मुमाबाट उसको परिचय पाएपछि हरेक पटक उनी मेरो आँखाको सामु पर्दा एकछिन गहिरो नजरले नियाल्थेँ म उनलाई र देख्थेँ सधैं कामसँगै उही फतफत–उही गनगन । यसरी चिनेको थिएँ मैले राम रामलाई । सुनेको थिएँ समाजसेवा गर्ने उनको आकाङ्क्षा । उनको अतीतका दृश्यमा तरङ्गित हुँदै गर्दा गड्गडाहट तालीको ध्वनि र झिलिक्क झिलिक्क फ्ल्याक्सको उज्यालोले मेरो तन्द्रा भङ्ग हुन्छ । ए ... म त रामरामको सङ्घर्षको – मेहनतको र परिश्रमको पसिनाले सिंचेको यो विश्रामस्थलको उद्घाटनमा पो छु त । भिड जम्मा भएका छन् धेरै । भिडका धेरै जोर आँखा आज रामरामलाई आश्चर्यभावले नियालिरहेछन् । म पनि रामरामलाई नियाल्छु । उनी त्यही रूप, त्यही अवस्थामा अप्ठ्यारोपना साथ गद्दावाल स्पेशल कुर्सीमा बसेको छन् । सायद जीवनमा पहिलो पटक त्यस्तो कुर्सीमा बसेका हुन् उनी । 

म उनको आँखा गहिरोसँग नियाल्छु । त्यो आँखामा आज आफ्नो सपना साकार भएकोमा गर्वानुभूति मिश्रित सन्तुष्टिको भाव छाएको छ । मान्छेको भिडमा रामरामलाई लिएर विभिन्न टिप्पणी भइरहेछ, सकारात्मक नकारात्मक दुवै । कोही आफूले गर्न नसकेको काम रामरामले गर्यो , ऊ महान छ भन्दैछन । कोही जिन्दगीभरिको दुःखको कमाई अर्काका लागि अर्पिने मूर्ख भन्दैछन् । कोही प्रशंसा गर्दैछन , कोही धिक्कार्दै छन । यो सबै बेखबर निर्मल निश्चल रामराम आफ्नो सपनाले मूर्तरूप लिएको विश्रामस्थललाई सुरुदेखि अन्त्य, फेरि सुरुदेखि अन्त्य गर्दै क्रमबद्ध रूपमा नियाल्दै छन् । सायद उनी त्यहाँ आफ्नो मेहनत झुलेको देख्दा हुन् । परिश्रम फुलेको देख्दा हुन् । पसिनाको झरना झरझराएको पाउँदा हुन् । सुस्केराहरूले भाका हालेको सुन्दा हुन् । 

“अनि यहाँको वास्तविक नाम नै रामराम ?” पत्रकारको प्रश्नमा अल्मलिएर बोल्न नसकेका रामराम आसे आँखा मतिर सोझ्याउँछन । 

“होइन होइन , उनको नाम त हर्कजीत श्रेष्ठ हो । उनी सबैलाई भेट्दा रामराम हजुर भन्छ । त्यसैले उनको थेगो नै उसको पहिचान भएको हो ।” म उनीमाथि तेर्सिएको प्रश्नको जवाफ दिन्छु । 

“खै , उहाँ त केही बोल्नु भएन । कृपया यहाँले नै हामीलाई उहाँको बारेमा केही भनिदिनु होला ।” पत्रकारको अनुरोधमा रामरामको जीवनगाथा सुनाउँछु म । 

“पत्रकार महोदयलाई हामी सम्पूर्ण टोलवासीको तर्फ बाट एकमुष्ट निवेदन गर्दछु । 

रामराम अलिखित कथाको एक पात्र हुन आजसम्म । तर हाम्रो इच्छा त तपाईंहरूको पत्रिकामा रामरामको सङ्घर्ष – त्याग– बलिदान र यो सामाजिक काम अनि उनको सरलता अबोधताको एउटा कथा लेखिनु पर्यो । उनी लिखित कथाको उदाहरणीय पात्र बन्नु पर्यो । रामरामले मृत्युपर्यन्त जीवित रहन पाउने एउटा गोरेटो यहाँको कलमले कोर्नुपर्यो ।” मेरो प्रस्तावमा पत्रकारहरू अझ जिज्ञासु बन्छन। 

मलाई लाग्छ कथाका यी अलिखित पात्र अब जीवन्त हुनेछन् र लेखिने छ यिनका त्याग र समर्पणका कथा । नलेखुन्जेल राम राम अलिखित कथाका एक पात्र थिए । आज उनको कथा लेखिएको छ । तिनै पात्र अघि लगाएर टोल परिक्रमा गर्न पाइला उचाल्दै छु म । 


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

कथा : कुञ्जला - 2018-01-13

उ त्यो भालुको दाम पाँच सयदेखि एक हजारसम्म । चोकमा बस्ने केटाहरूमध्ये एउटाले कौतूहलता रोप्यो । तैँले कसरी थाहा पाइस ? अर्को उत्सुक भयो जान्न । थाहा भैहाल्छ नि कुन ठूलो कुरा हो र ? गजक्क पर्यो अघिल्लो केटो ।

कथा : अलिखित कथाको एक पात्र - 2018-01-02

राम राम हजुर, मास्तिर हाम्रो चोकमा यसो टाउको ओताउने छहारी र बस्नलाई एकदुई वटा बेन्ची बनाउन पाए घामपानीमा बटुवालाई सुविस्ता हुने थियो ।

कथा : सिट नं तिन - 2017-12-18

कल्पनाको लोकमा पुगेर जीवनका केहि तिता मिठा रङ्गहरु संग पौडी खेल्दै थिएँ । केहि आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरु र जीवनका साधा किताबहरुले आफैलाइ गिज्याइ रहेका थिए । आमा कहिले काहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि !

कथा : बेगनबेलिया र सिउँडीको फूल - 2017-12-15

“म अब त्यो मानिसको घरमा बस्दै बस्दिन । अति नै भयो अब त ...कति सम्म उसको एकलौटि शासन सहेर बस्ने ? जान्छु माइत ...।” त्यस दिन त्रिभुवन पार्कभित्र रहेको एउटा सुन्दर निकुन्जको नजिकै बसेकी सत्यभामाले केही दुःख र केही आक्रोशित स्वरमा मेरो अघि गुनासो गरेकी थिईन ।

कथा : मैले नजन्माएको छोरो - 2017-12-13

सानो छँदा सुन्दर साह्रै लोसे थियो । उसलाई विहान सबेरै उठ्न कर गर्नु पर्दथ्यो र साँझ चाँडै सुत्दथ्यो । उ समानका केटाहरु दिन भरी केहि न केहि खेलिरहेका हुन्थे, उ भने घरमै बसिरहन्थ्यो । न, टि.भी. हेर्दथ्यो न पढेको नै देखिन्थ्यो । मलाई मेरो छोरो यस्तो गम्भीर भएको देख्दा कता कता चसक्क हुन्थ्यो ।

कथा : कालो धरती - 2017-10-22

बाहिर उट्पट्याङ हावा हुण्डरी चलेको छ । जुरुक्क उठें र बत्ती बालें । झ्यालको चुकुल राम्ररी लागेका रैनछन्,  लगाएँ । फेरि सुते । तर, एक तमास हुण्डरी चलिरह्यो । मेरो मनको हुण्डरी भन्दा पनि ठूलो । बाहिरको हुण्डरी त भोलि विहान थामिएला । 

कथा : प्रतिबिम्ब - 2017-10-15

आमा ! ढोगें है । अनिषको निधार मेरो खुट्टाको औंलामा अडियो । बिहानी चराको चिरबिर जस्तो मीठो बोली कानमा । पवित्र फूलको जस्तो स्पर्श खुट्टामा । वसन्त ऋतुमा फूल फूलेर बँगैचा ढकमक्क भए जस्तो रमणीयता कोठामा । 

कथा : एसिड नारी र विष - 2017-10-11

यो रात्री बसमा यात्रा गर्न मलाइ एकदमै पट्टयार लागेर आँउछ । बाहिर हेरु सुनसान अन्धकार अनि बस भित्र चै मान्छेहरु घुरेको आवाज । मलाई अचम्म लाग्छ मान्छेहरु यस्तो आवाजका बिच पनि कसरि निदाउन सक्छन होला । अनि म जस्तै निदाउन नस्कन्नेहरु चै बसको स्क्रिनमा चलिरहेको पुरानो हिन्दी चलचित्र हेर्न ब्यस्त मलाई चै यो रात्री बसको यात्रामा न निन्द्राले छुन्छ न नै चलचित्रले ।

कथा : अस्तित्व तृष्णा - 2017-10-08

भर्खरै अगाडिको घरबाट नारिएर निस्केका एक युगल जोडीलाई देखेर आज उसले अभावमा उन्मुक्तताको के अर्थ र ?भनेर आफूलाई सन्तुष्टि दिन सकिन । ती जोडीका स्वतन्त्र बाँच्ने ढङ्ग । व्यवहार उन्मुक्क्तता । उनीहरूको ओठको निस्फिक्री मुस्कान । यी सबै आफ्नो महल जस्तो भव्य घरमा काम विशेषले तलमाथि यताउता गर्दा, उसले चाहेर पनि नचाहेर पनि निहार्ने गर्थी । 

कथा : क्याफे द डबल टेम्पल - 2017-10-04

बुद्धको तस्वीर बोल्यो । म अचम्मित भएँ । कुनै एउटा जर्नालिष्टले लेखेको पुस्तकमा तस्वीर आफैं बोल्छ उल्लेख थियो । पढेंको थिएँ सानैमा । तर, उसको विचारले मेरो सानो मन क्याच गर्न सकेन । हावा कुरा भन्दै किताबलाई एउटा कुनामा हुर्रयाउँदै पाठ्यपुस्तकतिर ध्यान खिचेंको थिएँ ।

कथा : आत्मनिर्णय - 2017-09-26

तन मन दुबै थकित छ आज । निदाउने हर सम्भव प्रयास गरे पनि निदाउन सकेकि छैन म । निन्द्रादेविले उनको न्यानो काखमा नबोलाएरै होला निन्द्रा नपरेको  ! मन बिचलित छ । तन छटपटिदै छ । दाइसङग कुरा भयो कि वाहा सधै उहीँ कुरा दोहोर्‍याउनु हुन्छ । अचानक गत शनिबार पनि दाइले फोनमा भन्नू भएको कुरा सम्झिन पुँगे र बिगत फेरि एकपल्ट बर्तमानमा ताजा भएर आयो । 
1 2 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247345 Times Visited.

Powered by: Exclusively Solution
Top
Content