साहित्यिक गतिविधि - श्रद्धाञ्जली



श्रद्धाञ्जली : साहित्यकार प्रेमा शाहको निधन

विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

उनको पँहेलो गुलाफ (कथा संग्रह ०२३) मा प्रकाशित भएको थियो । पँहेलो गुलाफ नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानमा आधारित भएर लेखिएको सशक्त कृति मानिन्छ । त्यसपछि ०२८ सालमा प्रकाशन भएको ‘विषयान्तर’ पनि यौनकै परिवेशमा लेखिएको कथा थियो ।

पहेंलो गुलाफ फेमकी नेपाली नारी हस्ताक्षर प्रेमा शाह- अब याे संसारमा रहिनन् । उनकाे ७५ वर्षकाे उमेरमा बुधबार अमेरिकाको साल्टलेक सिटीस्थित “इन्टर माउन्टेन हस्पिटल" मा निधन भएकाे छ । बन्द नेपाली समाजमा पनि श्रीमानकाे परिचय नै नदिई एकल अामा हुने क्रान्तिकारी महिला प्रेमा शाहकाे कालजयी कृति हाे "पहेंलाे गुलाफ"। 

नेपाली साहित्यमा समयभन्दा धेरै अघि लेखिएकाे याे कृतिका कारण उनी बाँचिरहने छिन् । नेपाली चलचित्रका दर्शकहरू भने उनलार्इ अभिनेत्री जल शाहकी अामाकाे रूपमा चिन्छन् । अभिनेत्री शाह, प्रेमा शाहले बाबुकाे परिचय नै नदिइ हुर्काएकी छाेरी हुन् । त्यसैले उनले अामाकै थर जल शाह पाइन् ।

‘ममी’ पनि उनको अर्को चर्चित कृतिको रुपमा चिनिन्छ । उनका ६ वटा वालकथा र ३ बाल उपन्यास पनि प्रकाशित छन् ।

हामी नेपाली नारी हस्ताक्षर शाहकाे दिवंगत अात्माकाे चीर शान्तिकाे कामना गर्दै उनकाे चर्चित कथासंग्रह ‘पहेंलो गुलाफ’ (२०२३) काे शीर्ष कथा श्रद्धाञ्जलीस्वरूप प्रस्तुत गर्दछाैं ।

"पहेंलो गुलाफ" - प्रेमा शाह


दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पानाहरू जति पल्टाउँछु, उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ। कस्तो खाली हो, म आफैं पनि जान्दिनँ ।

म दुब्लाइसकें, थुकसित कहिलेकाहीँ रगत मिसिएर आउँछ, रातो आँखै तिर्मिराउने कालो रगत । मलाई टीबी भएको रहेछ । हुन त कहिलेदेखिभएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही सेनेटोरियाममा छु । धेरै भइसक्यो मेरो छातीको एक्स-रे गरेको,डाक्टरले भन्थ्यो- मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे ! साँच्चै मलाई पनि यस्तै लाग्छ– मेरो फोक्सो अब कुहिएर फतफतीझर्नमात्र बाँकी छ ।

मैले उहाँसित मेरो एक्स-रे फोटो हेर्न मागेकी थिएँ तर उहाँले ‘हुन्छ हुन्छ’ भन्दै अझैसम्म मलाई त्यो देखाउनुभएको छैन । उहाँ भन्नुहुन्छ-मलाई केही भएको छैन, चाँडै निको हुन्छ रे !

ओह !! मलाई आश्चर्य लाग्छ– किन उहाँ मलाई यसरी छक्काउन खोज्नुहुन्छ ! अब के बाँकी छ र ! छक्किनेजति म पहिले नैछक्किइसकेकी छु ! यो थुकसित लत्पतिएको रगत, यो कुहिएको फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति मछक्किऊँ ? कति घाटा परूँ ?

उहाँले मलाई कति माया देखाउनुहुन्छ, कति स्याहार गर्नुहुन्छ, सधैं मेरा अगाडि आएर घण्टौंघण्टा बसिरहनुहुन्छ । मलाई कत्रो भयंकर सरुवारोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन – तैपनि उहाँ डराउनुहुन्न, घिनाउनुहुन्न । झन् एकै पलङमा मसित च्यापिएर बस्नुहुन्छ ।

मलाई उहाँको ज्यादै पीर लाग्छ । कतिचोटि उहाँलाई मैले आफ्नो नजिकबाट हटाइसकें, उहाँ मान्नुहुन्न, म के गरूँ ! हिजै पनि उहाँले कस्तोकाम गर्नुभयो, सम्झँदैमा मेरो मुटु अझै थर्रथर्र काम्छ । उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दाबस्दै मलाई एकतमासको खोकीले च्याप्यो, मुटुथर्केर बाहिर निस्किएला जस्तो भएको थियो । उहाँ कति डराउनुभएको थियो त्यस बेला । खोक्दाखोक्दै रगतको सानो ढिका थुक र र्‍यालसँगलटपटिएर मेरो चिउँडोभरि पोतियो, मलाई आफ्नै सूर थिएन, पछि पो थाहा पाएँ- उहाँले आफ्नै रेशमी रुमालले त्यो थुक र र्‍याल थाप्नुभएछ ।म छक्क पर्छु उहाँको लापरबाही देखेर । कस्तो केटाकेटी जस्तो मान्छे ! अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमालनिस्कियो, फोहरले कट्कटिएको । त्यही रुमाल किन चलाउनुपर्थ्यो, मेरै मुख पुछ्ने भुवादारी रुमाल पलङनिरै स्ट्यान्डमा झुन्डिएकै थियो नि।

कति राम्रो थियो त्यो रुमाल । प्याजी रङको प्योर सिल्कको । मैले नै एकचोटि उहाँलाई किनेर दिएको, कति खुशी हुनुभएको थियो त्योरुमाल पाएर । मलाई प्याजी रङ चौपट्टै मन पर्छ, मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन् । प्याजी रङ देख्यो कि मलाईअसाध्यै प्रशन्नता लाग्छ । त्यसै उहाँ जिस्क्याउनुहुन्थ्यो, “तिमीलाई त प्याजी रङको टबभित्रै पो सधैं डुबाइराखूँ कि ?”

त्यतिमात्रै होइन, उहाँ मेरो प्रशन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ । रमा मेरो ड्रइङरुम अगाडि दुबोको चउरभरि उहाँले प्याजी रङकाजर्भेराहरू लगाइदिनुभएको छ । म घण्टौं ती प्याजी फूलहरूको बीचमा बसेर साँझका रमाइला बादललाई हेरिरहन्थें । कति आनन्द लाग्थ्योत्यो गर्न मलाई । अहिले आठ महिना भइसकेको छ । म यहाँ छु, ती फूलहरूको स्याहार कसले गरिदिँदो हो ! ती प्याजी जर्मेरा ! प्याजी रुमाल! ओह ! कसरी फोहरमा कक्रिएका । मेरो फोक्सोका कीराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान् । छि : धोएर पनि के गर्नु त्योरागी रुमाल । त्यसैले मैले फोहर मिल्काउने भाँडोमा हालिदिएँ । उहाँ मलाई कति माया गर्नुहुन्छ, म परि लगाउन सक्तिनँ । मलाई थाहा छत्यो माया मभित्र व्याप्त छ, मेरो एकएक नसामा त्यसले जरा गाडिसकेको छ, त्यसबाट मुक्त हुन म कहिल्यै सकुँला ? म खुशी छैन । अझैपनि यो कस्तो माया हो, जसमा सन्तोषको सानो लेश पनि म भेट्न सकिनँ । यतिको माया पाएर पनि म खाली-खाली छु । यो खाली शायदकहिल्यै भरिँदैन ।

दुई महिनासम्म म ज्यादै थलिएँ, अहिले अलि सञ्चो छ, तर के ! टीबीका कीराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्, त्यहाँ तखाली झ्वाङप्वालमात्रै होलान् । कहिलेकाहीँ मलाई छातीभरि, मुटुभरि बतास छिरेजस्तो लाग्छ, त्यसैले मभित्र हावै हावामात्र छ, हावाभरिएको बेलुन । मेरो फोक्सोको झ्वाङप्वाल च्यातिएर ठूलो प्वाल भइसक्यो, सिंगै आकाश अटाउन सक्छ यहाँ, एउटा रित्तो आकाश । के गर्नुरित्तिनुमात्र त रहेछ नि, जति भर्‍यो, उति रित्तियो ।

९ असार

उहाँ आउनुभयो । सधैंको जस्तो आज पनि आफैंले अनार छोडाउनुभयो र रस निचोरेर गिलासमा खन्याउनुभयो । मलाई खान मन थिएन,गिलासतिर मैले हेर्दै हेरिनँ । उहाँको कुरामा पनि साथ दिइनँ । मेरो मन हिजोदेखि उदास उदास थियो, चल्न बोल्न मन थिएन ।

केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनुभयो । मैले सुन्दै सुनिनँ । आखिर उहाँले नै जबर्जस्ती मेरो टाउको समातेरगुलाफी झोल मेरो मुखभित्र खन्याइदिनुभयो । मुखमा लागेको अनारको च्याप-च्याप झोल मैले राम्ररी पुछ्न पनि पाइनँ । एक्कासि गोहीकातिखा दाह्राले मेरो ओठलाई पर्‍याम्म चपाए, रन्थनिएँ, ओठबाट कति रगत र कीराहरू निस्के- मैले थाहा पाइनँ । म बेहोश भइछु । अहिले दुईघण्टाअगाडि मात्रै पो म बिउँझें । खोइ­ उहाँ त गइसक्नुभएछ । पानी परेकोले हो कि ! ऊ अझै पानी दर्किंदैछ । यो पानी अब रातभर थामिँदैन।

ऐया: यो मेरो पाखुरा किन यसरी दुखेको, बेस्सरी बटारेको जस्तो भइरहेको छ । ए ! बिहान डाक्टरले पनि यसैमा इन्जेक्सन दिएको थियोक्यारे । त्यहाँ स्ट्यान्डमा के त्यो – मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ । यस्तो पानीमा वर्षाती पनि लगाउनभएको थिएन । यो कोटमेरो चोलोमाथि; मेरो सेतो चालो मेरै रगत हराएको मुखजस्तो सेतो थाङ्नो, तैपनि उहाँ मलाई उत्तिकै माया गर्नुहुन्छ; पहिलेको जस्तै होइन,अझ बढ्ता, पहिलेकाभन्दा पनि बढ्ता । ओह, उहाँको सुम्सुम्याइमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ । मेरो ओठभरि अघिउहाँले लगाइदिएर जानुभएको थुक अझै लपक्क भिजेको छ ।

१२ असार

दुई दिनदेखि केही लेख्न सकिनँ । लेख्न सकिनँ के भन्नु- लेख्न पाइनँ, फुर्सतै भएन । यी तीन दिन उहाँले एक मिनेटको लागि पनि मलाई कहींछोड्नुभएन, म बाँधिएर बसिरहें उहाँको जब्बर अँगोलोभित्र । म रोगी, त्यही पनि क्षयका कीराले ध्वस्त पारिसकेका, त्यति उम्कन सक्ने बलकहाँ पाउनु मैले ।

यो गुलाफको बोट, पातहरू कति चम्केका ! हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ । म यहाँ बस्न आएदेखि नै योगुलाफको बोट यहीं छ, तल पोर्टिकोदेखि पस्रेर आएका यसका दुई लहरा मेरो कोठाको झ्यालमा सधैं यसैगरी तत्रिरहन्छन् । मजस्तै रोगी छ योगुलाफको बोट, पहेंला फूलमात्रै फुल्छन् । त्यसैले यसको मलाई माया लाग्छ, म यसको पातमा एउटा झुसिल्कीरा पनि बस्न दिन्नँ । देखेकोबेला एक-दुई वटा झुसिल्कीरा सधैं टिपेर फ्याँकिदिन्छु । अहिले त धेरै नै पहेंला कोपिलाहरू बोटमा लागेका छन् । फक्रेपछि झ्याल पहेंलै हुन्छ ।पहेंलो हाम्रो एउटै समवेदना ।

अहिलेसम्म उहाँ आउनुभएन । मेरो झर्को लाग्ने बानी, अलिकति अबेर भए पनि पट्याइ लाग्छ । अब त मलाई उहाँकै प्रतीक्षा छ, खाली उहाँकै।

उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात, चिसो ओठ मेरो रोगको एउटै सान्त्वना । त्यसैबाट त उहाँले मलाई सन्तोष दिन खोज्नुहुन्छ। यही यस्तै हात र ओठको सन्तोष चार वर्षदेखि उहाँले मलाई दिँदै आउनुभएको छ । म थाकिसकेकी छु, बिल्कुलै थाकिसकेकी छु, यीसन्तोषहरूबाट । उहाँ भने अझै थाक्नुभएको छैन । उहाँभित्रको अर्को पुरुष अझ उहाँभन्दा पनि बलियो र सशक्त छ– उहाँ मलाई माया गर्नुहुन्छ ।उहाँ मलाई माया गर्नुहुन्छ, मेरो हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ । उहाँ मलाई चाट्नुहुन्छ, बिरालोले बच्चालाई चाटेजत्तिकै, तरउहाँलाई पत्तै हुँदैन । उहाँभित्रको सशक्त पुरुष ढाडे बिरोलोजत्तिकै निर्दयी भएर मलाई लछार्छ, पछार्छ, भुत्ल्याउँछ । हाम्रो विवाहको चार वर्षेखिएक सरह एकनासले विभिन्न तरिकाले उहाँले मलाई माया गर्दै आउनुभएको छ, तर उहाँलाई के पत्तो उहाँको त्यस सुमसुम्याइमा म कतिबिथोलिएकी छु, कति नाङ्गिएकी छु ।

विवाहको पहिलो रातमै आफूलाई उहाँमा समर्पित गरिदिएँ । त्यस बेला मेरो आँखामा कति सपना भरिएका थिए । उहाँलाई पाएर मलाई सर्वस्वपाए जस्तो लागेको थियो । उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन, बरु पोखरीझैं आफूभित्रै जमेर बस्न खोजेकी थिएँ । उफ्,उहाँ त बेगवान पुरुष हुनुहुन्थ्यो । एउटै जोसमा बग्नुभयो, मलाई पनि बगाउनुभयो । माया गर्दै उहाँले मेरो अन्तर वाह्य दुवैलाई मथेरपानीजस्तै पातल्याउनुभयो । म बगें । मलाई बग्न कर लाग्यो – बाटो उहाँले खोलिदिनुभएकै थियो । उहाँ लोग्नेमानिस हुनुहुन्छ, मस्वास्नीमान्छे । योबाहेक अरु सबै उहाँले बिर्सनुभयो, किनभने म एउटी लोभलाग्दी सिंगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि !त्यतिकैमा उहाँ सन्तुष्ट हुनुभयो । उहाँ लोभी स्यालजत्तिकै ममाथि खनिनुभयो र मेरो आदर्शको तहलाई उप्काइदिनुभयो । त्यहाँदेखि मकागतीझैं उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु, चुइङगमजत्तिकै उहाँको तातो थूकमा पग्लिएकी छु । अब त के छ र मसित ! खालीराम्रो रबड मात्रै न हो, जति चुसे पनि, टोकेर क्याच-क्याच पारे पनि एक थोपा रस निस्कने होइन ।

ओह ! गुलाफको पातमा फेरि झुसिल्कीरा आएछ । जति फ्याँके पनि कता-कताबाट रगरगाउन आइहाल्छ । यी कोपिलाहरू फक्रन नपाउँदैझुसिल्कीराले पातलाई चलनी पारिदिने हुन् कि ! दुई दिनपछि त फक्रेलान् । मेरो औषधि खाने बेला भएछ, डाक्टर आउँछ अब । ऊ डाक्टर !छि कति खानु औषधि पनि । एउटामात्रै हो र ! तरह तरहका । डाक्टर गयो रित्तो औंस लिएर, अर्को कोठमा पुगेपछि उसले फेरि त्यो औंसलाईऔषधिले भर्छ, फेरि रित्याउँछ । म पनि त्यही रित्तो औंस हुँ, खाली, केही नभएको रित्तो । भएको जति सबै उहाँले नै सिध्याउनुभइहाल्यो ।यताउता लागेको खारखुर पनि सोहोरिइसकेको छ । साँच्चै यी चार वर्षभित्रमा उहाँ अलिकति पनि घाटामा पर्नुभएको छैन । घाटा म पो परेकीछु, भएको जति सबै सिध्याएर आखिर क्षयका कीरालाई आफ्नो जीवभरि पालेर मृत्युलाई कुरिरहिछु । उहाँलाई त के छ र ! झन् नाफै नाफा छ,लोग्नेभन्दा पनि बढी उहाँ एउटा चतुर घिउपसले सावित हुनुभएको छ, तै पनि उहाँलाई ममाथि दया उठ्दैन । मसित यो झिनो जी र कुहिएकोफोक्सोबाहेक अरु के छ र, अझै के लिन आउनुहुन्छ यहाँ !

टीबी भएको सुनेर मलाई दुःख लागेन बरु खुशी लाग्यो । मैले सोचेकी थिएँ– कमसे कम यो यतनाबाट छुटकारा त पाइयो । त्यसै दिनहुँ ईश्वरकोनाउँमा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो । एउटा दुःखमा अर्को दुःखलालाई बिर्सने गरें तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नु परेकोछ । दुई महिना थला परेको बेलाबाहेक ६ महिना मैले नर्कको कीराझैं उहाँको थूकभित्र लटपटिएर काटेकी छु । त्यो थूक कहिल्यै सुक्तैन, घट्तैन। मेरा हातखुट्टा सबै यसैमा टाँस्सिएका छन्, न आँखा उघार्न सक्छु म । मेरा परला यही प्याच-प्याच परेको थूकमा जमेको छ । कहाँ छ स्वर्ग –त्यही प्याजी जर्नेरामा, अनि नर्क यो थूकमा – कस्तो घीनलाग्दो जीवन ! कहिले त लाग्छ– त्यो प्वाइजन लेखेको सिसी स्वात्तै घाँटीभित्रखन्याइदिऊँ, तर नाइँ- म त्यसो गर्न पनि सक्तिनँ । यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसैगरी जीवनलाई घिच्याइरहनुपर्ने हो ।भन्छन् टीबीले खाएकाहरू झन् धेरै बाँच्छन् रे !

हिजोको एउटा घटना पनि लेखिहालुँ । सम्झन पनि सक्तिनँ, लाज लाग्छ । अहिले औषधि ख्वाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनिसकिनँ, उसलाई पनि सबै कुरा थाहा छ । थाहा किन नहोस् उसलाई, म उसैको हातको प्राइभेट पेसेन्ट । हिजो राति पनि त्यसबेलासम्म उहाँपलङमा मेरै छेउमा पल्टिरहनुभएको थियो । डाक्टर के कामले हो- झ्वासझ्वास्ती कोठाभित्र पस्यो, फेरि ठाडै खुट्टाले ऊ फर्कियो ।एकछिनपछि उहाँलाई डाक्टरको कल आयो, उहाँ हाँस्तै कोठाबाट निस्कनुभयो र फेरि हाँस्तै फर्कनुभयो । सिल्ली डाक्टर ! मेरो मुख रन्नतात्यो, मैले उहाँलाई हेरें । उहाँको अनुहार निर्वाकार थियो । मलाई ज्यादै थक्थकी लाग्यो, के गर्नु सबै कुरा बुझेर पनि लाज पचाएर बसें ।

उहाँ आउनुभयो, ऊ मोटरको आवाज हाम्रै क्याडिलक हो । सेनेटोरियमजस्तो ठाउँमा लाखौं मोटर आउँछन्, तैपनि आफ्नो क्याडिलकलाई मराम्ररी चिन्छु ।

१४ असार

गुलाफ फुलिसकेछ । कति राम्रो दुईवटा मात्र फुलेछ । कहिलेदेखि पर्खेको मैले यो पहेंलो गुलाफलाई । अझ अरु त फुलेकै छैनन् । यी नफक्रेकाकोपिलालाई कति आनन्द छ अहिले, एउटा प्रगाढ निद्रा, अनन्त शान्ति । यी फक्रेका फूल कठै ! फेरि झुसिल्कीरा लागेछ । मेरो कामैझुसिल्कीरा टिपेर फ्याँक्ने भइसक्यो ।

सानुचा आयो ऊ ढोकामा, पाँच वर्षो ख्याउटे केटो । चम्पा यसकी आमा काली भए पनि राताराता गाला भएकी । ऊ यहाँ कुचो लाउने काम गर्छे। रोगीका कोठा-कोठामा डुलेर फोहर बेड-प्यानहरू उठाउँछे । उसको आफ्नै जिन्दगी छ । सानुचा मेरो बिस्कुटमा पल्किएको छ, अहिले ऊजंगारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर ङिच्च हाँसिरहेछ । त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु, बिचरो ! छिः कहिले तघीन लाग्छ- त्यसको नमाझेको दाँत र नाकमा कटकटिएको सिंगान देख्ता वाक्क वाक्क आउँछ । अहिले पनि बिस्कुट लिन आएको त्यो । एउटाक्रिमक्रेकर झिकेर ढोकातिर मिल्काइदिएँ, हत्तपत्त टिपेर खुर्र दौड्यो, बुद्धु केटो ।

हिजो केही लेख्न सकिनँ । राति १ बजे लेख्न बसेकी- लेख्न मन लागेन । निद्रा पनि परेन । आज पनि के लेखूँ खै ! ठूलो चट्टान उखेलिएर छातीमाझुन्डिएको छ । एउटा निर्जीव शताब्दी, अघिको फसिलसित जोडिन पुगेकी छु ।

हिजो उहाँले सताउनसम्म सताउनुभयो । चीलले मुसालाई झुन्ड्याएझैं झुन्ड्याएर मलाई माथि-माथि आकाश सबै घुमाउनुभयो । कहिल्यैनसकिने आकाश रहेछ । त्यहाँबाट कति तल देखिन्छ तर जति गयो- उति माथि कहाली लाग्ने पो रहेछ । अहिले भर्खर फेरि डाक्टर मलाईइन्जेक्सन दिन आयो । इन्जेक्सन दिने ठाउँ थिएन, दुवै पाखुरा सियोले छियाछिया पारेको छ, त्यसैले निर्धक्कसँग फिला खोलिदिएँ ।डाक्टरले हातमा सिरिन्ज लिएर मेरो फिलालाई हेरीमात्रै रह्यो । त्यहाँ चिमोटेका र बोक्सीले चुसेजस्ता निकै नीला डामहरू रहेछन् । मैलेडाक्टरलाई भनें, “सपनामा मलाई आकाशमाथिमाथि उडेर घुमेजस्तो लागेको थियो । पछि अकस्मात् जमिनमा पछारिएँ । आकाश त केहुन्थ्यो र – निद्रामा पलङबाट पो खसेकी रहिछु ।”

डाक्टरले केही भनेन, चुपचाप त्यही नीलो फिलामा इन्जेक्सन दियो र कस्तो-कस्तो आँखाले मलाई हेरेर गयो ।

अस्तिदेखि मेरो छाती दुख्न थालेको छ । पहिले त अलिअलिमात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ । हिजोदेखि त दुखेको झन्-झन् बढ्नथाल्यो, मैले उहाँलाई हिजो पनि कति पन्छाएँ, बोलिनँ पनि । म नबोलेर हुन्छ र ! उहाँ त आफ्नै धूनमा बौलाहाजस्तै फत्फताइरहनुभयो,सनकीजस्तै हललल हाँसिरहनुभयो । उफ्, आजित पारिसक्यो यो झुसिल्कीराले मलाई ! हेर न, फूलसितै कसरी लपक्क टाँसिएको ।

हिजो आउँदाआउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनुभयो उहाँले । मैले त्यसै टेबुलमाथि राखेकी थिएँ त्यो फूलको गुच्छा । उहाँ घरजानुभएपछि त्यसलाई उठाएर हेरें, प्याजी फूल धेरै पछि खेलाउन पाएको, त्यसैले हेरिरहें, खेलाइरहें, एक-एक गरी गनें । मेरो हातमाछ्यास्स झुस लाग्यो, त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्कीरा रहेछ । हातभरि चिलाउने डाबरहरू उठे अनि कता-कता उहाँको हलललहाँसो मेरो बिरामीको प्राइभेट कोठाभरि घन्कियो । कालो झुसिल्कीराका टल्ल परेका आँखामा दुई वटा चम्किला आँखाले चियाए । म तर्सिएँ,उहाँले मलाई दुःखै दिन खोज्नुभएको रहेछ । त्यो प्याजी फूल मैले पर-पर मिल्काउन पठाइदिएँ नत्र त्यो झुसिल्कीरा फेरि मेरो पहेंलो गुलाफकोबोटमा उक्लन्थ्यो ।

ओह ! कस्तो खोकीले च्यापेको मलाई । ल, रगत पनि निक्कै पो आयो । सेतो थुक त पटक्कै देखिन्न । डाक्टरले यसरी बढ्ता रगत आउनुखराबी हो भनेको थियो । छाती झन् चस्किन थाल्यो, तकियाले थिचे पनि दुख्न छोड्दैन । उहाँ पनि आउनुहुने बेला भयो । हिजोको जस्तै एकगुच्छा प्याजी फूल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ । चस्कियोस् यो छाती पनि, कति चस्किन पर्ने हो । यसैगरी छाती चस्किँदाचस्किँदै रगत ओकल्दा ओकल्दै म सकिन्छु । मलाई उहाँले सक्नै खोज्नुभएको हो । केही छैन, म सकिइसकेकी छु, फेरि सकिनुमा मलाई केचिन्ता ! सम्पूर्णता चाहन्नँ, थाहा छ अब म निको हुन्न, हुँदै हुन्न ।

अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो । उहाँ अहिले फेरि आउनुहुन्छ, ठट्टैठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ ।रगत झन् चुहिन्छ । झ्यालमा गुलाफको लहरापछाडि त्यो परपरसम्म फैलिएको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाघारीसित टम्ममिल्न पुगेको छ । दुवै हरिया एकाकार । फाँटमा को होलान् ती एक जोडी । घुम्न आएका हुन् क्यारे, त्यत्रो फाँट स्वात्तै चहारिसके । टाढाबाटउनीहरू कति राम्रा देखिन्छन् । आइमाईको जुरोमा गुलाफको रातो फूल छ, त्यो लोग्नेमान्छे चाहिँ आइमाईको कुममा हात राखेर हिँडिरहेछ ।उनीहरू सल्लाघारीसम्म पुगिसके । लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाघारीको बाक्लो छायाले घप्लप्पे ढाक्यो । अबअग्लो होचो तरेली परेको रित्तो फाँटमात्रै छ । रातो गुलाफ मेरो आँखाभरि तिर्मिराएर आयो । उफ् ! म सहनै सक्तिनँ, मेरो मुटु किन यसरीहल्लिन थालेको ! यो फलामको पलङ्ग पग्लेर मेरो जीउभरि टाँस्सिइसक्यो । कस्तो भत्भत् पोल्ने डाह ! आकाश किन हल्लिन्छ यसरी, हेरआम्मै नि ! सूर्य पनि खस्न लागिसक्यो, हल्लेको हेर ! ओह ! सूर्य पनि टुक्रिन्छ अब मेरो टाउकोमा । एकैचोटि आगो खनिन्छ, म डढ्छु,यी पहेंला गुलाफ पनि डढ्छन् मसित । हेर, झुसिल्कीरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ । मरोस् यो पनि डढेर, फाल्दै फाल्दिनँटिपेर अब यसलाई, मरोस् । मेरो छाती चर्कियो, मुटु हल्लेको कसरी ! भित्रभित्रै भुइँचालो छुटेजस्तो छ । छाती पनि फुट्छ कि क्या हो !छाती फुटेपछि त रगतको मुस्लो निस्कन्छ, रगत त्यहाँ सल्लाघारीभित्र पसेको रातो गुलाफजस्तै । फुट्न लाग्यो मेरो छाती, फुट्न लाग्यो,अब रगतको छेलोखेलो बग्छ । उहाँ पनि आइपुग्नुहुने बेला भयो, आउनुहुन्छ, मेरो छाती … ।

म पनि टोकिदिन्छु, म पनि माया गर्न थाल्छु उहाँलाई । म पनि बिरालो हुन्छु, खस्रो काँढा उम्रेको जिब्रोले चाट्छु, उहाँको कमलो आङ्भरि ।उहाँको गुलाफी आङ गाडेर एक-एक चोक्टा मासु झिक्छु र मेरो फोक्सोका जम्मै कीरा त्यसमा भरिदिन्छु । मलाई माया गर्ने त्यो गुलाफी आङपनि मेरो आङजस्तै कत्ला परेको साह्रो फसिल हुनुपर्छ । उहाँका ती दूध निस्केलान् जस्ता ओठ कति लोभलाग्दा छन्, खै मेरो त्यस्तो ! उहाँआइपुग्नुहुने बेला भयो, तयार भएर बस्नुपर्‍यो । ती ओठलाई मुखभरि च्यापेर तनतन पिइदिन्छु । त्यसभित्रको आलो रगतमा मेरो कुहिएकोरगत जति सप्पै खन्याइदिन्छु । उहाँको मायाको प्रतिदान मेरो पनि उहाँलाई माया गर्छु । उहाँ मलाई माया गर्नुहुन्छ त्यसैले म पनि उहाँलाईमाया गर्छु । यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीँ यस्तै सेतो पलङमा बाँधेर राख्नपाए कस्तो हुन्थ्यो ! आज त म उहाँलाई छोड्दै छोडि्दनँ । उहाँको फोक्सोमा पनि मेरो फोक्सोकोजस्तै झ्याङप्वाल; सिंगै आकाश अटाउनसक्ने झ्याङप्वाल । हाम्रो फोक्सोको झ्याङप्वाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो शून्य बन्छौं अनि तिनीहरूमाथि दुई वटा कत्लापरेका साह्रा फसिलहरू समयलाई गुमाइसकेका हुनेछन् । च्वच्व: मेरो पहेंलो गुलाफ, एउटा-एउटा पातमा एउटा-एउटा लाभ्रे । सबै फूल खाएरसकिन लागिसके । यी लाभ्रेहरू कति चाँडो-चाँडो पातलाई सक्दा रहेछन् । पानी छिट्यो, ऊ आकाश हल्लिरहेछ खस्नलाई मात्रै बाँकी छ । गुलाफ ! पहेंलो गुलाफ एक-एक पत्र हराउँदैछ ।


[शाहको कथा संग्रह ‘पहेंलो गुलाफ’ (२०२३) बाट साभार]

सङ्कलक : सुरेश काफ्ले (विदारक)


प्रेमा शाह

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

श्रद्धाञ्जली : साहित्यकार प्रेमा शाहको निधन - 2017-12-21

विक्रम संवत् २००२ सालमा बीरगञ्जको श्रीपुरमा उनको जन्म भएको थियो । मदन मेमोरियल स्कुल पढ्दै गर्दा ०१६ मा साहित्यिक पत्रिका ‘शारदा’मा उनको ‘प्रतिक्रिया’ शीर्षकको पहिलो कथा छापिएको थियो । त्यसपछि उनले विभिन्न पत्रिकामा कथा र लेखहरु लेखिन् ।

श्रद्धाञ्जली: साहित्यकार श्यामप्रसाद शर्मा - 2017-05-07

नेपाली साहित्यका धरोहर अग्रज साहित्यकार श्यामप्रसाद शर्माको दुखद निधनले मर्माहत बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछौं । नव साहित्य

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329298 Times Visited.

Powered by: Exclusively Solution
Top
Content