कविता - दाना कविता



तुल्सी थापाका केही दाना कविताहरु

बि.सं.२००२ असाेज ३ गते मकवानपुरमा स्व. पिता दिल बहादुर थापा र माता श्रीमती उमादेवी थापाका सुपुत्रकोरुपमा जन्मनुभएका साहित्यकार श्री तुलसी थापाका हालसम्म एक निमेष अनन्तको (दाना कविता सङ्ग्रह), अमरसिँहको खोजीमा अमरसिँह (नाटक संग्रह), फरक आकास (कथा संग्रह) लगायत प्रकाशित कृतिहरु हुन ।

वहाँले नारायणी वाङमय पुरस्कार, देवकोटा स्मृति सम्मान, टीकामाया जोसी स्मृति पुरस्कार,गोरखा दक्षिण बाहु, शिक्षा दिवस पुरस्कार, यति फाइनाइन्स साहित्य पुरस्कार, राष्ट्रपतिबाट कदर पत्र लगायत सयौं साहित्य तथा थुप्रै संस्थाहरुवाट सम्मान एवं पुरस्कारहरु प्राप्त गरि सक्नु भएकाे छ । स्मारक मार्ग, नवलपुर, हेटौडा उपमहानगरपालिका -११ मा आफ्नी श्रीमतीको साथमा बस्दै आउनुभएको छ । 


  • हेटौँडामा बसेर स्तरिय र सार्थक कविता, नाटक र कथा लेख्ने तुल्सी थापाका 'दाना कविता' बारे पहिलो पटक कवि निमेष निखिल  बाट सुनेको हुँ । उसले यस विषयमा लामो समीक्षा नै गरेको छ । तीन लाइनमा अथाह कुरा भन्न सक्ने यी कविता हाइकुका मीतजस्ता लाग्छन् । तर हाइकु नै चैँ होइनन् । कविताको संरचनाभन्दा त्यसको गम्भीरतामा विश्वास गर्ने मलाई तुल्सी सरका दाना कविताले गहिरोसँग स्पर्ष गरे / गरिरहेछन् । मैले पनि 'बिउ कविता' लेखेँ, संरचना खुकुलो बनाएर । धेरै पहिला 'छोक' (छोटा कविता) पनि चलेका थिए । त्यसको गम्भीर सैद्धान्तिकरण सायद हुन सकेन । अहिले सोच्छु- बिउ कविता सायद तुल्सी थापाकै दाना कविताको प्रभाव थियो । यी यस्ता दाना हुन्, जसभित्र काव्यका रूख, बगैँचा र जंगलका तमाम् गुण र विशेषता छन् । सफल र सार्थक काव्यिक प्रयोगका लागि तुल्सी सरलाई हार्दिक बधाई । थप सशक्त दाना कविता पढ्ने आश त छँदैछ । -भूपिन खड्का
  • थापा सरको लेखनको सम्मोहनमा बाँधिनेमा म पनि पर्दछु । उहाँको लेखन कुनै गहिरो संवेदना पक्रिने प्रक्रियाको उपजझैँ लाग्दछ । शैलीमा , कथ्यमा र कन्टेन्टमा अलिक प्रयोगपरक र सघन लेखन उहाँको अभ्यास हो । ‘एक निमेष अनन्तको’ (दाना कविता ? –हाइकु शैलीको नेपालीकरण ) कविता सङ्ग्रह ,‘अमरसिंहको खोजीमा अमरसिंह’ नाटक र ‘फरक आकाश’ कथासङ्ग्रह प्रकाशन गरेका तुल्सी थापा तिनै विधालाई न्याय गर्ने साहित्यकार हुन् भन्ने लाग्छ । पछिल्लो समय कवि दाजु भूपिनले थापा सरका दाना कवितामाथि फेसबुकमा एक किसिमको बहस सिर्जना गर्नुभयो । उहाँका दाना कविता,कथा र नाटकबारे निमेष सरले पनि विभिन्न प्रयोजनमा चर्चाहरू गर्नुभएको छ । म आफूले पनि उहाँको नाटक अमरसिंहको खोजीमा अमरसिंह पठन् साथै नाटकको अभिनय पार्ट हेरिसकेपछि चर्चा गरेको छु ,केही फोरमहरुमा । उहाँको कथा संग्रहमा भएको कथा ‘एक बोझिल बिहान’ मा भावनाले सङ्कथन विश्लेषण गरेकी छिन् ,मास्टर्सको थेसिस अन्तर्गत । साम्ब सरले चर्चा गर्नुभए अनुसार र कवितासङ्ग्रहको कुनै भागमा रहेको लिखतअनुसार ‘दाना कविता’ भन्न मिल्ने तर्क प्रस्तुत गर्ने र त्यही नाम राख्न सिफारिस गर्नेमा मकवानपुरका अग्रज प्रगतिशील लेखक नवराज शर्मा हुनुहुन्छ । यहाँ पनि उहाँका केही दाना कविताहरू राख्ने प्रयत्न भएको छ । -सुवास खनाल

  • तुल्सी थापा मकवानपुरका देखाउन मिल्ने नेपाली गम्भीर साहित्यकार हुन भन्न पाउनु हाम्रोलागि हौसलाको विषय पनि हो । वहाँले मसँग र अन्तर्वार्तामा भनिरहनु हुन्थ्यो - जीवनमाथि केही भन्न सक्ने भएपछिमात्र मैले यो `एक निमेष अनन्तको ´यही मसिना कविताको सँगालो प्रकाशन गर्ने अाँट गरेँ । दाना भनेर नामकरण गर्ने श्रेयचाहिँ कथाकार एवम् पत्रकार नवराज शर्मालाई जान्छ । त्यसपछि तुल्सी सर आफैँले दाना कविता भन्न थाल्नु भएको हो ।जीवनको गहन दर्शन हरेक दानाले बोकेको छ । यथार्थलाई बडो सजीव ढङ्गले प्रकटीकरण वहाँको रचनाको विशेषतै हो अपितु यी दाना कवितामा जीवनको चुडान्त अनुभूति सुक्तिकारूपमा प्रयुक्त भएका छन् । सदावहार लाग्ने जीवनका यी अनुकरण यी हाइकु शैलीका दाना कवितामा वाचाल भएर आएका छन् । यसकाबारेमा लामै छलफल गर्न सकिन्छ तर यो वालमा थोरै होला । -साम्ब ढकाल

  • कविताकाे नामकरणमा मलाई कुनै चासाे छैन । लेखनमा दम हुनै पर्छ । लेखककाे क्षमता झल्किनै पर्छ र पाठककाे दिलदिमागमा झटका दिनै पर्छ । र यी सानासाना कविताले मलाई गज्जब लाेभ्याए । तुल्सी थापा सरकाे लेखनबारे थाह पाएर धेरै खुशी लाग्याे । यी ससाना कविता वास्तवमै दमदार र कलात्मक छन् । लेखककाे क्षमता दर्शाएका छन् यी कविताहरूले  ।  -चन्द्र गुरुङ्ग 

  • थापा सरका कविता दर्शनको गहिराइबाट आइरहेको ध्वनीतरङ्गझैँ लाग्दछ । उनी लेखनको त्यो तहमा हुन्छन्, जसले हामीलाई चेतनाको नयाँ तहमा ब्युँझाउन झक्झक्याउँछ । -मनोज ढकाल 

  • तुलसी थापा सरका हरेक सृजना समाजका लागि मार्ग निर्देश गर्ने अति अाेझपूर्ण छन् । दाना कविताकाे झन् कुरै नगराै सटीक व्यङ्ग्यले प्रहार गरे जस्तो लाग्दछ । -राजकुमार लामिछाने 

  • तुल्सी थापा सर समय चिन्ने र लेखनमा आकर्षण भएको प्रतिभा सम्पन्न सर्जक हुनुहुन्छ । उहाँको लेखनमा जीवन छर्लङ्ग देखिन्छ । लेखनमा चुम्बकीय क्षमता हुनु उहाँको विशेसता हो । -अरुण खतिवडा 

  • थापा सर नेपाली साहित्यका दार्शनिक चेतयुक्त एक बलशाली कवि, कथाकार एवम् नाटककार हुनुहुन्छ भन्ने कुरा उहाँका कृतिहरूले संवत: सिद्ध गर्छन् । -दिपक गौतम 

  • तुल्सी सरका केही दाना कविता मैले पनि सुनेकाे हुँ र उहिल्यैदेखि मन पराएकाे हुँ । " अमरसिंहकाे खाेजीमा अमरसिंह नाटक " पढ्दा बालकृष्ण समकाे " अमरसिंह" नाटक सम्झेकाे थिएँ । समका अमरसिंह हराएका मात्र थिए थापासर खाेज्दै हुनुहुन्थ्याे । अर्थात् हाम्राे हराएकाे गाैरव खाेज्दै हुनुहुन्थ्याे । प्रिय भाइ सुवास खनाललाई विशेष धन्यवाद पुरानाे अनुभूति ताजा गर्न पाएँ । -रमेश समर्थन 

जुलुस

त्यो एउटा भिड हो

त्यहां घुसी हेर थाहा पाउने छ

सबै एक्लाएक्लै हिंडदैछन !


अन्यमनस्क

यसपाली बाढी आएन

र  एउटा भ्यागुता चिन्तामग्न छ

कि उसले किन उफ्रन परेन ?


विभीषिका

चराहरु युद्धरत छन

के खोज्छौ र गुंडहरुमा ?

ती त गोलिका फुल पार्छन !


अल्पविराम

मलामिहरु किन सुस्ताउंदैनन ?

कतै तिनले अर्को लास

कुरेकै त हैनन !


समवेदनहिनता

सिनु लुछनैमा गिद्ध मस्त छ

के मतलव उसलाई कि

उसको देश अनिकाल ग्रस्त छ!


मर्यादा

लक्ष्मण अहिले मुर्च्छित छ

हुन्छ , मनलाग्दो रेखा कोर

मनलाग्दो रेखा कोर

अब वर्जितनै के बांकी छ र ?


अन्त्यमा : अतितमा धुमिल हुँदै गरेको आफ्नै छविलाई पुछ्पाछगरी हेर्न पाएको जस्तो अनुभुत हुँदैछ आफुलाई । म अनुगृहित छु नेपाली साहित्यका प्रतिष्ठित युवा साहित्यकार हरुमा  ! -तुल्सी थापा


तुल्सी थापा

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

तुल्सी थापाका केही दाना कविताहरु - 2018-03-06

बि.सं.२००२ असाेज ३ गते मकवानपुरमा स्व. पिता दिल बहादुर थापा र माता श्रीमती उमादेवी थापाका सुपुत्रकोरुपमा जन्मनुभएका साहित्यकार श्री तुलसी थापाका हालसम्म एक निमेष अनन्तको (दाना कविता सङ्ग्रह), अमरसिँहको खोजीमा अमरसिँह (नाटक संग्रह), फरक आकास (कथा संग्रह) लगायत प्रकाशित कृतिहरु हुन ।

दाना कविता : पुण्य घिमिरे - 2017-09-19

फूलको देश
हिमाल हिंउँ फुलेको छ,
पहाड वन फुलेको छ।
फूलै फूलको मेरो देश,
तराई धान झूलेको छ ।।

दाना कविता : पुण्य घिमिरे - 2017-09-16

तन भाग्दै छ,
मन जाग्दै छ ।
हिमाल चुचुरो,
हिंउँ माग्दै छ ।। 

दाना कविता : तुल्सी थापा - 2017-09-09

आईमाई 
सधै कसैको अर्धांङ्गिनी बन्ने 
जाग्दैन आफैं, रोइ बस्ने 
को छ र बुझ्ने, को छ र सुन्ने !   

दाना कविता : तुल्सी थापा - 2017-08-27

आमन्त्रण
औनुहोस् , महाभोज गरौँ ।
र त्यसपछि अर्को एउटा 
अनिकाल पर्खौं ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327295 Times Visited.

Powered by: Exclusively Solution
Top
Content