निबन्ध - नियात्रा



नियात्रा : केल्हौराका सन्त

बिहान चारै बजे म उठेँ । अन्नपूर्ण होटल छोड्ने बेला भइसकेको थियो । ढिलो गरे सतना जाने पाँच बजेको बस छुट्नसक्थ्यो । सबैलाई हुटहुटी लगाएर उठाइहालेँ । हामी केटाकेटी छँदा हजुरबा सिलोक हालेर भन्नुहुन्थ्यो–
विद्यार्थी, भोको, परदेशीलाई
पाले, भगुवा र सिपाहीलाई 
ब्यूँझाउनाले रति दोष छैन,
निद्रा बिगार्नु अरूको हुँदैन ।

हामी चित्रकूटबाट सतना जाने बस पक्रने र त्यहाँबाट पन्ना हुँदै खजुराहो जाने योजनामा थियौँ । बसपार्कमा पुग्दा पाँच बजे छुट्नुपर्ने बस साढे चार बजे नै हिँडिहालेको रहेछ । भर्खरै समयतालिका फेरेकाले यस्तो भएछ । इन्टरनेटको भर्चुअल संसारबाट सूचना बटुलेर यस रियल संसारमा हिँड्न सजिलो कहाँ हुन्छ र ¤
‘हामी खजुराहो भ्रमणमा निस्केका । खजुराहो जान सतनाको बस पक्रन खोजेका .....।’ नजिकैको चियापसलमा चियागफमा लागेका मानिसहरूमध्ये एकजनाले मतिर ध्यान दिएको देखेर मैले भनेँ । अब अर्काे बस साढे छ बजेमात्र जाने रहेछ ।
‘खजुराहो जानेले किन त्यति धेरै घुमाउरो बाटो भएर जाने नि ? यहाँबाट सात बजे उ ः त्यो बस पन्ना जान्छ, पन्नाबाट सोझै जाने नि ।’ उसले भन्यो । सेतो कुर्ता–पाइजामा लगाएको त्यो मानिस सम्भवतः पण्डा थियो ।
‘त्यसो गर्दा ठीक होला र ? अब दुई घण्टा यहाँ के गरेर बस्ने त ?’ म चिन्तित भएँ ।
पन्नाको बस ड्राइभर पनि त्यस समूहमा रहेछ । उसले भन्यो– ‘हेर्नाेस्, सतना भएर जानुभन्दा मेरो बसमा जाँदा तपाईँहरूलाई फाइदा छ, घुमेर जाँदा डेढ–दुई घण्टा बढी समय लागिहाल्छ । बरु यहीँ चियानास्ता गर्नाेस्, आराम गर्नाेस् र सात बजे हामीसँगै हिँड्नोस् । सतना पुग्नुपर्ने जरुरी काम छैन भने किन त्यत्रो बाटो घुम्ने ?’
‘कति बजे पुगिन्छ पन्ना ?’
‘साढे दस बजे ।’
चियापसलका बेन्चमा बसेको त्यो ‘पण्डा’ र पन्ना जाने बसको ड्राइभरको सल्लाह मानेर हामी पन्नातर्फ जान तयार भयौँ । बिहानको शीतलतामा यताउता टहल्दै र गफिँदै हाम्रो समय बित्यो । ठीक सात बजे हामीलाई लग्ने भनेको बस हिँडिहाल्यो । यात्रु एकदमै थोरै थिए । हामीले बसमा सबैभन्दा सजिला सिट छान्यौँ । दृश्यावलोकन गर्न र झ्यालबाट फोटो खिच्न मिल्ने सिट मैले रोजेँ ।
उतापट्टि इन्द्र सर र कमला म्याम अनि यतापट्टि सीता र म थियौँ । बस एकनास कुदिरहन्थ्यो । बाटामा मध्यप्रदेशका पातला गाउँ आए । फेरि ढिस्काढिस्की र खाली खेतबारी । कतैकतै गाईबस्तु चरिरहेका र केटाकेटी खेलिरहेका । बाटो कतै एकदम राम्रो त कतै दिक्क लगाउने खाल्टाखुल्टी ।
कमला म्याम उँघ्न थालिहाल्नुभयो, बिहान छिटै उठ्नुपरेर निद्रा पुग्न नपाएकाले होला । बस खाल्टाखुल्टी परेको ठाउँमा घच्याकघुचुक गर्दा उहाँ झस्कनुहुन्थ्यो । मैले चाहिँ बाहिरी दुनियाँको दृश्यमा आँखा डुलाइरहेँ ।
यताको जङ्गल अलिक घना र रूख पनि अग्ला रहेछन् । यता बोटधयेँरा र पलासका रूख जताततै देखिए । हाम्रातिरका चिलाउने, दबदबे र कुसुमका रूखजस्ता पनि देखिए । अरू धेरैजसो रूखबिरुवा हाम्रा लागि नयाँ थिए । 
बाटो अलिअलि अग्लोहोचो जमिन भएर जाँदो रहेछ । गुगल अर्थको नक्सामा पहाडजस्तो देखेको थिएँ, यहाँ त न पहाड भन्नु न मैदान भन्नु भनेजस्तो जमिनको संरचना छ । कतैकतै खोलाखोल्सा पनि छन् । ड्राइभरले बीच जङ्गलको एक ठाउँमा बस रोक्यो । सानो खोल्सो थियो र एक किनारमा भर्खर हुर्कन लागेको पीपलको रूख थियो । उसले खोल्साको पुलको डिलमा एउटा नरिवल हिर्काएर फो¥यो । अलिकति त्यस पीपलको रुखमा चढाएर बाँकी नरिवलका सानासाना टुक्रा सबैलाई बाँड्यो । यात्राको सफलताको शुभेच्छाका लागि प्रसादस्वरूप होला ।
बस तुरुन्तै हिँड्यो । मैले समय कटाउनका लागि नालन्दा, राजगिर र चित्रकूटका भ्रमण अनुभवहरू आदानप्रदान होस् भनेर विभिन्न प्रसङ्ग कोट्याएँ । नालन्दा, राजगिर र चित्रकूट एकदम भिन्न रहे भन्ने इन्द्र सरको भनाइ छ । सीताले चाहिँ चित्रकूटलाई सबैभन्दा महŒव दिइन् । तर हिजो दिनभरको उकालो–ओरालोले उनलाई घुँडामा असह्य पीडा भइरहेको थियो । 
‘हामीले हाम्रो यात्राको सुरुआत पटनाको एक मन्दिरबाट गरेका हौँ, त्यस मन्दिरको नाम के हो ?’ मैले कमला म्यामलाई प्रश्न गरेँ ।
कमला म्याम मुसुक्क मुस्काउनुभयो । उहाँले अनभिज्ञता प्रकट गर्दै टाउको हल्लाउनुभयो । मैले इन्द्र सरतिर आशापूर्ण नजर लगाएँ । उहाँले भन्नुभयो– ‘पटनदेवी ।’
उहाँ जतिखेरै हातमा डायरी बोकेर हिँड्नुहुन्थ्यो दिनभरि । नयाँ स्थान, घटना र परिस्थितिलाई उहाँ टिपोट गरिहाल्नुहुन्थ्यो । मैले चाहिँ यो यात्रामार्ग चयन गर्दा र यात्रास्थल छान्नुपर्दा इन्टरनेटमा भेटेसम्म सूचना बटुलेको थिएँ । विकिम्यापिया, गुगल अर्थ, विकिपिडिया, विकिट्राभल हेरेर, युट्युबका भिडियो र अन्य स्रोतबाट पनि उपलब्ध सूचना बटुलेको थिएँ । इन्टरनेटमा कतिपय भारतीय र विदेशी यात्रुहरूका अनुभव पनि पढेको थिएँ । उनीहरूका सुझाव र प्रतिक्रियासमेत मैले रुचिपूर्वक पढेको थिएँ । यसपल्ट यात्रामार्ग तय गर्नुभन्दा अगाडि हामी पुग्ने ठाउँको बारेमा मात्र होइन, पुग्न अलिअलि सम्भावना भएका ठाउँको बारेमा पनि निकै सूचना मनमा बोकेर म हिँड्दै थिएँ ।
म त फतेहपुर सिकरी, भरतपुर, आभानेरी, हिन्डौन सिटी, ग्वालियर, दातिया र झाँसीको भ्रमण गर्ने विचारमा थिएँ सुरुमा, पछि यात्रामार्ग तय गर्दै जाँदा अध्ययन गरेका कति सहर छुटे, कति थपिए र अन्त्यमा रेलको टिकट काट्ने बेलासम्ममा यस मार्गको चयन भएको हो ।
यसो हुनाले यात्रा गरिएका स्थानहरू सूचना र जानकारीका हिसाबले मेरा लागि धेरै नयाँ हुन पाएनन् । नयाँ स्थानमा प्रत्यक्ष पुग्नु मात्र मेरा लागि नयाँ भइदियो । नत्र आजसम्म हेरे–घुमेका, दर्शन गरेका प्रत्येक ठाउँका बारेमा निकैवटा भिडियो हेरेको थिएँ मैले, निकैवटा सूचनासामग्री पढेको थिएँ । त्यसै भएर कसैले भनेको, कहीँ पढेको वा कहीँ देखेको विषयवस्तु, स्थान वा प्रसङ्गलाई मैले टिपोट गर्न आवश्यक नै देखिनँ । बरु भेटेका मानिसहरूको अडियो वा भिडियो रेकर्डमा मेरो मन जान्थ्यो । नयाँ ठाउँमा पुग्दा हुने आश्चर्य, बिस्मात् वा खुसी सायद अरू सदस्यका लागि झैँ कडा भएर ममा आउँदैनथ्यो । अथवा हुनसक्छ मेरो मनमा आउने आश्चर्य, विस्मात् वा खुसी अरू सदस्यलाई भन्दा दिगो र गुणात्मक हुन्थ्यो । अनुभूतिहरू तुफान वा भेलझैँ आए वा शान्त नदीझैँ भएर हृदयको बाटोबाट बगे पनि आफ्ना–आफ्नै किसिमले मूल्यवान् हुन्छन् होला ।
मझगाउँदेखि यताको यो बाटोचाहिँ मेरा लागि पनि नयाँ नै थियो, किनभने यताबाट आउने भनेर पूर्वयोजना थिएन । मैले चित्रकूटबाट सतना र सतनाबाट खजुराहो जाने मार्गको योजना बनाएकामा चित्रकूटबाट राजमार्गको बाटो छाडी भित्री गाउँको बाटो पक्रेर पन्ना गइँदै थियो । यो बाटो एकदम साँगुरो छ । बाटामा धेरै ठाउँमा ‘जङ्गल’ मात्र छ । कतै एकापट्टि गाउँ छन् र अर्कापट्टि ढिस्काढिस्की पहाड र पलासका पोथ्रापोथ्रीमात्र भएको ‘जङ्गल’ । कतै बाटाका दुवैतर्फ खेती वा गाउँ पनि आउँछन् । तर गाउँ एकदम पातला छन् । मानिसहरूले गाईभैँसी पालेका छन् र सडकमा ती गाईभैँसीले अवरोध गरिरहन्छन् ।
००००
पन्ना जिल्लाका पटनाकलन र अरू गाउँमा बाटानेर पानीका ट्याङ्कहरू प्रशस्त देख्न पाइन्छन् । ट्याङ्क भनेका भेल वा खोल्साको पानी एकातिर थुनेर जम्मा पारिएका आहाल वा पोखरी हुन् । कुनैकुनै ट्याङ्क निकै ठूला पनि देखिए, एकदुईओटा त फेवातालभन्दा ठूलाजस्तो लाग्यो मलाई । कतिपय ट्याङ्कका बाँध सडकभन्दा निकै अग्ला भएकाले उतापट्टि केकस्तो छ अनुमानमात्र गर्न सकिन्थ्यो । ट्याङ्कको पानी खेतीपातीका लागि सिँचाइ गर्न र पशुहरूलाई खुवाउन प्रयोग गरिएजस्तो लाग्थ्यो । ट्याङ्कको छेउछाउमा धानका खेती पनि देखिन्थे ।
केहीबेरमा अलिक बाक्लो र आधुनिक शैलीका घरसमेत भएको गाउँ आइपुग्यो । केल्हौरा रहेछ यसको नाम । यो गाउँ पुग्ने बेलामा बाटैनेर पनि निकैवटा ट्याङ्क छन् । धानका खेतहरू प्रशस्त छन् । हाम्रो बस यात्रु र चालकले खाजा खानका लागि रोकियो । मैले यस मौकालाई स्थानीयसँग भेटघाट गरिहाल्न चाहेँ । बसस्टेन्डबाट बीसतीस कदम अगाडि एकजना बूढा मानिस चार–पाँचकोठे आधुनिक घरको आँगनमा प्लास्टिकको सेतो कुर्सीमा बसिरहेका थिए । लामो खुकुलो घुर्मैलो रङको कुर्ता र ह्वार्लाङ्गे पाइजामा लगाएका ती बूढा मान्छे अग्ला, गोरा र ठिक्क मोटाइको जीउडालका थिए । उनको तालु खुइलिएको थियो । बाँकी भागको कपाल पनि पातलो र छोटो थियो । बूढा उज्यालो अनुहारका थिए ।
मलाई मुस्काउँदै आएको देखेपछि उनी आफू बसेको कुर्सीबाट उठे । उनले भने– ‘बसौँ बाबू, बसौँ ।’
बस बीसपच्चीस मिनेटका लागि अडिएको थियो । बसको यात्री म, यहाँ बूढाको अतिथि बनेर बस्न त कहाँ सकिन्थ्यो र ? तर पनि यति न्यानो आतिथ्य अस्वीकार गर्नु असभ्यता हुन्थ्यो । मैले बूढालाई नमस्कार गरेँ ।
‘म अर्काे कुर्सी ल्याइहाल्छु है त ।’ मेरो नमस्कार फर्काएर उनी फटाफट घरभित्र घुसे । उनले अरू दुइटा सेता कुर्सी बोकेर ल्याए । कुर्सीमाथि उनले एउटा थालीमा खैनी, चुरोट, सुपारी, ल्वाङसुकुमेल आदि ल्याएका रहेछन् । पाहुनाहरूलाई औपचारिक रूपमा स्वागत गर्ने उनीहरूको काइदा ।
म चुरोट खैनी आदि केही नखाने मानिस, दुइटा ल्वाङ टिपेँ । दुवैजना बसेपछि खासै औपचारिकताविना कुराकानी सुरु भइहाल्यो ।
‘कति वर्षदेखि हजुर यस गाउँमा हुनुहुन्छ नि ?’ मैले सोधेँ ।
‘जन्मेकै यस गाउँमा । हाम्रो घर उ ः परको टोलमा थियो । उत्तरपट्टि गुचुमुच्च परेको बाक्लो बस्तीतिर सङ्केत गर्दै उनले भने । मेरा भाइहरू पुख्र्यौैली घरमै बस्छन् ।’
‘हजुरको परिचय ?’ मैले हतारहतार सोधेँ ।
‘मेरो नाम लक्ष्मीप्रसाद मिश्रा । शिक्षक । भूगोल पढाउँथेँ । सैँतीस वर्ष पढाएँ मैले । पन्ना जिल्लाकै देवीनगरको हाइअर सेकेन्डरी स्कुलमा । बाह्र वर्ष भो रिटायर्ड भएको ।’
‘हामी दुईजोडी पतिपत्नी नेपालबाट भारत–दर्शनका लागि आएका । चारैजना विद्यालयमा पढाउने शिक्षक हौँ । बर्खाबिदामा छन् हाम्रा स्कुलहरू, बिदाको मौकामा यता हिँडेका । हजुरसँग भेट भयो । यही त हो खुसी भनेको ।’ मैले भनेँ ।
‘ए ...। के विषय पढाउनुहुन्छ नि ?’
‘अङ्ग्रेजी भाषा पढाउँछु म, एकतीस वर्ष भएछ पढाउन थालेको । अनि हजुरका छोराछोरीहरू कति छन् नि ? उनीहरू अहिले कहाँकहाँ केके गर्दै छन् ?’
‘दुई छोरा र चार छोरी । सबै छोरीहरू आफ्ना–आफ्ना घरमा छन् । ठूली छोरी देवीनगरमा छे । उसका श्रीमान् कलेजमा प्रोफेसर छन्, माहिली छोरी यहीँ किसुनपुरमा छे । यहाँबाट पाँच माइल छ । उनीहरूको खेतीपाती छ, एउटा हार्डवेयर पसल पनि छ । छोरी खेतीपाती हेर्छे, ज्वाइँ हार्डवेयर पसल सम्हाल्नुहुन्छ । साहिँली छोरीको परिवार पहाडीखेडा बजारमा बस्छ । यहाँबाट पन्ना जाने बाटैमा पर्छ त्यो बजार । ज्वाइँ हीरा उत्खनन विभागमा काम गर्नुहुन्छ । सरकारी अकाउन्टेन्ट हुनुहुन्छ उहाँ । कान्छीचाहिँ दिल्लीमा छे । ज्वाइँ भोडाफोन कम्पनीमा काम गर्नुहुुन्छ । छोरी पनि काम गर्छे । ऊचाहिँ पन्जाब नेसनल बैङ्कमा क्यासियर पदमा छे ।’
‘अनि छोरा ?’ छोराहरूको विषयमा नबोली बूढा अडिएका हुनाले सोध्न मन लागिहाल्यो ।
‘ठूलो छोरो इन्जिनियर । पहिला अमेरिकाको कोलोराडोमा बस्थ्यो । ऐले अर्कान्सासमा बिटुमिन विषयमा पीएचडी गर्दै छ । दस वर्ष भो ऊ उता गएको । फर्केर एकैपल्ट पनि आएको छैन । नातिनातिना र बुहारी पनि उतै छन् । बुहारी सुत्केरी भई अनि सुत्केरी स्याहार्न यिनीहरूकी आमा पनि उतै गएकी छे, चार महिना भयो । अब दीपावलीअगाडि आउँछे । सानो छोरो नर्वेमा एमडी गर्दै छ । बम्बईबाट एमबीबीएस गरेर छात्रवृत्ति पाएपछि ऊ नर्वेतिर हान्निएको हो ।’
‘ए ¤ हजुर छोराछोरीका विषयमा सन्तुष्ट हुनुहुन्छ । सबैले उन्नति गरेका रहेछन्, सबै आत्मनिर्भर भएका रहेछन् । हैन त ?’ मैले हामी चढेको बसतर्फ आँखा लगाउँदै भनेँ । रातो सर्ट लगाएको मोटोमोटो ज्यानको हाम्रो ड्राइभर नास्ता पसलको एउटा बेन्चमा बसेर खैनी माडिरहेको रहेछ । उसले हात झट्कारेर नाडीको घडी हे¥यो ।
सीतालाई बसको सिँढी ओर्लन–उक्लन कठिन हुने भएकाले कमला म्याम र सीता बसभित्रै बसिरहेका थिए ।
‘हो भन्नैप¥यो नि, उनीहरूको सफलता र सुखका लागि । तर हेर्नाेस् न, कति दुःख गरेर यत्रो घर बनायौँ । घर नामको यस ओडारमा चार महिनादेखि एक्लै छु । धन्न ठूली नातिनी यसो कहिलेकाहीँ आउँछे र घर सफा गरिदिन्छे । बाह्र कक्षाको पढाइ छ बिचरीको । देवीनगरमै । के भन्ने, यस्तो एकाकी जीवन पनि जीवन हो र ?’
‘गुरुदेव ¤ तपाईँले एउटा सक्रिय र लामो जीवन बाँच्नुभयो । जीवनको सार्थकता केमा छ ? अध्ययन–ज्ञानमा, धन–सम्पत्तिमा, सन्तान–दरसन्तानमा, शक्ति–प्रसिद्धिमा वा केमा ?’
‘बाँच्नका लागि बाहिरी दुनियाँ जान्नु र विद्या प्राप्त गर्नु एकदम जरुरी छ, धन र परिवारजन पनि नभई जिन्दगी चल्दैन । तर जीवनको सार्थकता आफूलाई चिन्नुमा छ, आत्मा र परमात्माको सम्बन्ध बुझ्नुमा छ । हामीले सन्तहरूका वचन सुन्नुपर्छ, किनकि सन्तहरूले मात्र हाम्रो आत्मालाई परमात्मासँग मिलन गराउन सामथ्र्य राख्छन् ।’
‘कस्ता मानिसलाई सन्त भन्ने नि ?’
‘हेर्नाेस्, कृपालुजी महाराज, वृन्दावनमा बस्नुहुन्थ्यो नि, हालै समाधि लिनुभयो, उहाँजस्ता मानिस हुन् सन्त भनेका । त्यस्ता सन्तहरूले मात्र जीवनका रहस्यहरू खोल्न सक्छन् । जो पायो त्यसले मानवजीवनका गूढ रहस्यहरू उजागर गर्न सक्तैनन् । दारी जट्टा पाल्दैमा, चन्दन–खरानी घस्तैमा साधुसन्त भइँदैन । तपाईँले निधारमा चन्दन किन लगाउनुभएको ?’
बिहान चित्रकूटबाट हिँड्ने बेलामा सीताले मेरो निधारमा चन्दन लगाइदिएकी थिइन् । बूढाले चन्दनको अर्थ सोधे । म उत्तर दिन नसकेर लकपकाएँ । 
उनले मेरो असमञ्जस अवस्थालाई लामो समयसम्म रहिरहन दिएनन् । उनले भनिहाले– ‘चन्दन लगाउनु भनेको तेस्रो आँखो खोल्न प्रयत्न गर्नु हो । जब यो तेस्रो आँखो खुल्दछ, तपाईँलाई परमात्माको दर्शन मिल्दछ । परमात्मा बाहिर कतै छैन, त्यो तपाईँभित्रै छ । बाहिर त मूर्ति भेटिन्छन्, मन्दिर भेटिन्छन्, रङ्गीचङ्गी दुनियाँ भेटिन्छ, कि कसो ?’
बूढाको भनाइलाई मैले समर्थन गरेँ । इन्द्र सर पनि म कता गएँ भन्दै खोज्दै आउनुभएछ । उहाँ बूढाका छेउको खाली कुर्सीमा बस्नुभयो । मैले मिश्रा बूढाको भनाइलाई भिडियो रेकर्ड गरिरहेँ । मेरा नजर र ध्यान त्यहाँका रूखबिरुवा, स्थानीय पहिरनका मानिस, खेतीपाती, घरनिर्माणको तरिका, भूबनोटतिर थिए ।
‘सन्तहरू र आम मानिसमा के फरक छ भने सन्तहरूले सत्यलाई प्रत्यक्ष देख्तछन्, हामीचाहिँ आँखामा पट्टी बाँधिएको मानिसझैँ छौँ । सन्तहरूले हामीलाई डो¥याउँछन् । उनीहरूले डो¥याएर हिँडाए भने हामीले आफू पुगेको ठाउँ जङ्गल, बगर, मरुभूमि, पहाड, मैदान वा केकस्तो हो आँखाले देख्न नपाए पनि थोरबहुत भन्न सक्छौँ । सन्तहरूको सहायता लिएनौँ भने कतै जान सक्तैनौँ ।’ बूढाका तर्कको समर्थनमा मैले भनेँ ।
‘हेर्नाेस्, साधु–बाबाजीहरू त प्रशस्त भेटिएलान् तर सन्तहरू दुर्लभ हुन्छन् । करोडौँमा एकदुई मात्र सन्त हुन्छन्, ती पनि लुकेर रहेका हुन्छन् । सन्तहरूले आफूलाई प्रकट गर्दै हिँड््दैनन् ।’ बूढाले उज्यालो अनुहार पारेर भने ।
‘हाम्रो बसले टिँटिँ हर्न बजायो । ओर्लेर यताउता छरिएका यात्रुहरू धमाधम चढ्न थाले । इन्द्र सर र म बूढा मानिससँग बिदा मागेर बसतिर कुद्यौँ । त्यत्रो विशाल घरमा एक्लै बस्ने ती बूढा अध्यापकको हँसिलो अनुहार भारत मध्यप्रदेशअन्तर्गत पन्ना जिल्ला, केल्हौरा गाउँको मूल सडक–किनारमा छाडेर हामी आफ्नै दुनियाँमा फर्किहाल्यौँ ।

मेरो नियात्रा 'सानो फन्को'को बीचबाट एक अंश ।


दिनेश पौडेल

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

नियात्रा : केल्हौराका सन्त - 2017-09-24

बिहान चारै बजे म उठेँ । अन्नपूर्ण होटल छोड्ने बेला भइसकेको थियो । ढिलो गरे सतना जाने पाँच बजेको बस छुट्नसक्थ्यो । सबैलाई हुटहुटी लगाएर उठाइहालेँ । हामी केटाकेटी छँदा हजुरबा सिलोक हालेर भन्नुहुन्थ्यो–
विद्यार्थी, भोको, परदेशीलाई
पाले, भगुवा र सिपाहीलाई 
ब्यूँझाउनाले रति दोष छैन,
निद्रा बिगार्नु अरूको हुँदैन ।

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327353 Times Visited.

Powered by: Exclusively Solution
Top
Content