विदेशी साहित्य / अनुवाद - जीवनी र व्यक्तित्व



खलील जिब्रान : एक महान साहित्यकार

खलील जिब्रानलाई पढ्नु भनेको हृदयलाई विशाल बनाउनु हो र मष्तिष्कलाई खुराकी दिनु हो । उनका सुक्तिमय रचनामा हरेक समस्याको समाधान खोज्न सकिन्छ । खलील जिब्रानका सिर्जना पढ्नु एउटा राम्रो डाक्टरलाई भेट्नु जस्तै हो । 
जीवनलाई पढ्न र बुझ्नको लागि उनको लेखन एउटा गाइड हो । संसारका प्रायः सबै देशहरुमा उत्तिकै प्रेमपूर्वक पढिन्छन् उनी । अनेकौं भाषामा पढिन्छन् उनका सिर्जना । हरेक मान्छेलाई उनको अनुभूति आफ्नै जस्तो लाग्छ । लघुकथा, सूक्तिहरु, प्रेम र मित्रतासँग सम्बन्धित अनुभवलाई थोरै शब्दमा यति मीठोसँग व्याख्या गर्छन् उनी, पाठकको मनलाई गजबसँग छुन्छ । 
प्रेम र मित्रताको सम्बन्धलाई खलील जिब्रानले जीवनको आधार मानेका छन् । खलील जिब्रानलाई महान लेखक बनाउनुमा उनको जीवनका आएका महिलाहरुको पनि ठूलो हात छ । उनको जीवनमा आमा र दुई वहिनीहरुको अतिरिक्त मित्र तथा प्रेमिकाको रूपमा रहेका अन्य तीन स्त्रीहरु कवियत्री जोसफीन, शिक्षिका एलिजाबेथ मेरी र प्रबुद्ध अरबी लेखिका मे जेदा पनि सामेल हुन पुगे ।
खलिल जिब्रानले जीवन र दर्शनलाई आफ्नो लघुकथा मार्फत् प्रष्ट्याएका छन् । चित्रकार, मोडल, कवि, लेखक र सम्पादक सम्मको यात्रामा उनको व्यक्तित्वको अलग-अलग रङ्ग चम्केको देखिन्छ । आफ्नो हृदयको विशालतालाई व्यक्त गर्ने कोशिशमा उनले झन् बढ्ता दुःख पाए । दश वर्षको सानो उमेरमा लडेर देब्रे काँधमा लागेको चोट पीडालाई लामो समयसम्म झेल्नुपर्‍यो । उनन्चालीस वर्षको उमेरसम्म आउँदा आउँदै उनलाई मुटुको रोग लाग्यो । त्यसपछि उनलाई फोक्सोको क्यान्सर भयो । अझ दुःखको कुरो, उनले मानसिक अस्पतालमा जीवनको अन्तिम समय बिताउनु पर्‍यो ।
खलिल जिब्रान जीवनभर अतृप्त रहे । राम्रोसँग आफूलाई ब्यक्त गर्न नसकेको उनलाई सधैं लागिरह्यो । आफूसँग क्षमता र प्रतिभा रहेको थाहा भएर त्यसप्रति भरोसा हुँदाहुँदै पनि त्यसलाई आकार दिन नपाएको कुराले सधैं पिरोलिए । उनको दृष्टिमा यो उनको विफलता थियो र मानसिक विकलताको कारण पनि यही थियो । आफ्नी अन्तिम प्रेमिका मे जेदासँग रुँदै उनले भनेका छन् - "म एक यस्तो ज्वालामुखी हूँ, जसको मुख सदैव बन्द रहन्छ ।’

उनका प्रसिद्ध किताबहरु द म्याडम्यानू, द फरेनर, द प्रोफेटू, स्याण्ड एण्ड फोमू खल्तीमा राखेर हिंड्न मिल्ने, एक बैठकमा पढ्न सकिने कृति हुन् । यी पुस्तकहरुमा पाइने अथाह जीवन दर्शन र मानवीय अनुभूति अवर्णनीय छ । जिसस क्राइस्टको जीवनमा एउटा पुस्तक लेख्‍ने खलीलको सपना थियो । उनी यसबारे अहिलेसम्म कसैले नलेखेको किताब लेख्‍न चाहन्थे । उनको यो सपना पनि अधूरै रह्यो ।
भनिन्छ, हरेक सफल पुरुषको पछाडि कुनै स्त्रीको हात हुन्छ। खलिल जिब्रानको ब्यक्तित्व र प्रसिद्धिको जगमा एक होइन अनेक स्त्रीहरुको योगदान रह्यो । ती स्त्रीहरु खलिलको जीवनका मोडहरुमा हिस्सा बनेर आए। तिनीहरुसँगको सम्बन्धको मुख्य आधार केबल पत्र व्यवहार थियो। जोसेफीन र मेरी उमेरमा खलिल जिब्रान भन्दा जेठा थिए । त्यसैले दुबैजनाले उनको विवाह प्रस्तावलाई अस्वीकार गरिदिए । शायद यसैकारण खलिल जीवनभर अविवाहित रहे।
जोसेफीन जब उनको जीवनमा आइन्, उनी केबल एक चित्रकार थिए । यद्यपि खलिल जिब्रानको कला आफ्नो जन्मस्थल लेवनानको परम्परासँग जोडिएको थियो, तर खलिलका आमा र बहिनीहरुलाई उनको कला पश्चिमी जगतसँग जोडिएको अनुभूत गर्दथे । उनकी आमाले भाइ वहिनीहरु सहित उनलाई लिएर अमेरिका गइन् । पितालाई भने खलील जिब्रान कलाकार बनेको पटक्कै मन परेको थिएन । आमाले नै खलिल जिब्रानको शिक्षादीक्षा गराउँदै उनीभित्रको कलाकारितालाई प्रोत्साहित गर्दै गइन् । खलिलका पिता जँड्याहा थिए । उनका पिताले भ्रष्टाचारको आरोपमा जेलयात्रा पनि गर्नुपरेको थियो । खलील जिब्रान अरबी भाषा बोल्नसम्म सक्दथे। विधिवत शिक्षा नपाएको हुँदा उनलाई पढ्न लेख्‍न आउँदैनथ्यो । त्यसैले उनकी आमाले छोरोको भविष्यको लागि खलिललाई लेबनान नै पठाइदिइन् ।
लेवनान गएपछि उनको भेट जोसेफीनसँग भयो। उनीहरुबीच नौ वर्षसम्म पत्र व्यवहार चल्यो । जोसेफिनका पत्रहरुले खलीललाई पिताको नराम्रो व्यवहारलाई सहने र शिक्षामा आफ्नो रुचि बढाउने साहस दियो । जोसेफीनसँगको यही सम्बन्धबाट खलिल जिब्रानले आनन्द, पीडा, निराशा र दुःख अर्थात् प्रेमका सबै रङ्गहरु आफ्नो जिन्दगीमा भरे । जोसेफीनको लागि खलिल जिब्रान एउटा जीनियस साथी थिए भने खलील जिब्रानको लागि जोसेफीन प्रेरणा थिइन्। खलिलले आफ्नो द प्रोफेटू नामक किताबको श्रेय जोसेफीनलाई दिएका छन् । विवाह गर्न अस्वीकार गरे तापनि जोसेफीनले उनको प्रगतिको मार्गदर्शन गरिरहिन् ।
खलिल जिब्रानको एउटा चित्र प्रदर्शनीमा एलिजाबेथ मेरीसँग भेट भयो । त्यो चित्र प्रदर्शनीमा जजको रुपमा जोसेफीनकै आमन्त्रणमा पुगेकी थिइन् मेरी । एलिजावेथ मेरी खलीलका चित्रहरुबाट यति प्रभावित भइन् कि उनले जोसेफीनको ठाउँ लिइन्। उनैले चित्रकला सिक्न भनी खलिललाई दुई वर्ष इटली पठाइन् । एलिजावेथ मेरीले खलिलका किताबको प्रकाशन, चित्र र पुस्तक प्रदर्शनी आदिमा सक्रिय भूमिका खेलिन् । उनले पनि आफू जेठी भएको भन्ने कारण देखाएर खलिलसँग विवाह गर्न अस्वीकार गरिन्।
मे जेदा नामक अर्की महिला पनि खलिलको जिन्दगीमा आइन्। मे जेदा प्रबुद्ध लेखिका र महिला अधिकारको प्रबल समर्थक थिइन्  । खलिलसँग पत्राचारबाटै उनको सम्बन्धको सुरुवात भएको थियो । उनले खलिलका रचनाहरुको सम्पादन र संयोजन गरिन् । मे जेदासँग राखेको विवाह प्रस्ताव स्वीकार र अस्वीकारकै स्थितिमा खलील जिब्रानले १० अप्रिल १९३१ मा क्यान्सरको जरिया प्राण त्याग ग रे। खलील झैं आजीवन अविवाहित रहेकी मे जैदाले पनि आफ्नो अन्तिम समय एक मानसिक चिकित्सालयमा बिताउनु परेको थियो।


वत्सराज कोइराला

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

खलील जिब्रान : एक महान साहित्यकार - 2017-11-01

खलील जिब्रानलाई पढ्नु भनेको हृदयलाई विशाल बनाउनु हो र मष्तिष्कलाई खुराकी दिनु हो । उनका सुक्तिमय रचनामा हरेक समस्याको समाधान खोज्न सकिन्छ । खलील जिब्रानका सिर्जना पढ्नु एउटा राम्रो डाक्टरलाई भेट्नु जस्तै हो । 

जीवनी र व्यक्तित्व : राजेन्द्र परदेशी - 2017-10-16

नाम : राजेन्द्र कुमार
साहित्यिक नाम : राजेन्द्र परदेशी
इमेल :  rajendrapardesi66@gmail.com
सम्पर्क : +09- 4150545584
जन्ममिती : २ मार्च
जन्मस्थान : भोजपुर, विहार, भारत 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329295 Times Visited.

Powered by: Exclusively Solution
Top
Content