कृति समिक्षा तथा समालोचना - सूत्रकथा



अन्धसत्ता सूत्रकथाको सुन्दर कृति

प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो । कविता, गजल, हाइकु, ताङ्का, सेदोका, मुक्तक, लघुकथा, निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल, कविता, ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । यिनै कृतिहरूको पङ्तिमा एउटा अर्को गहन कृति थपिएको छ 'अन्धसत्ता' सूत्रकथासङ्ग्रह, जसमा बहत्तर थान सुन्दर सूत्रकथाहरू सङ्गृहित छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत अन्धसत्तामा अमर त्यागीले विविध समयमा सिर्जना गरेका र पत्रपत्रिकामा प्रकाशित, अप्रकाशित सूत्रकथाहरू समावेश छन् र ती कथाहरू समाजमा विद्यमान राजनीति, शिक्षा, साहित्य, प्रशासन, धर्म, संस्कृति, परिवार, व्यापार, कानून, पत्रकारिता, समाजसेवा, हत्या, हिंसा, आतंक, अपराध, प्रेमादि विषयसँग सम्बद्ध छन् । पाँचौ कृतिको रुपमा प्रकाशित 'अन्धसत्ता' सूत्रकथासङ्ग्रहमा समावेश सूत्रकथाहरू पढ्दै जाँदा पाठकको हृदयमा झङ्कार उत्पन्न गराउँछन् भने मनमष्तिष्कमा एककिसिमको तरङ्ग ल्याइदिन्छन् । एउटा सूत्रकथा पढ्न दुई तीन मिनेटमात्रै लागे पनि त्यसले छोड्ने प्रभाव घण्टौंघण्टासम्म सजीव भएर रहन्छ । मानवसमाजका विविध क्षेत्रमा देखिने अनेक सुकृति र विकृतिहरू प्रतिविम्बित भएका अधिकांश सूत्रकथाले मानव हृदयलाई नराम्ररी हल्लाईदिन्छन् र सोचमग्न बनाउन सक्षम छन् । मानवीय धर्म, इमनन्दारिता, लगनशीलता र कर्तव्यनिष्ठताको सशक्त पक्षपोषण गर्दै बेइमानी,धूर्त्याँई, पथभ्रष्टता, विकृति र विसंगतिको दोहोलो काढिएको यस सूत्रकथा सङ्ग्रहले नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ ।

आख्यानको हालसम्मको कनिष्ठतम् प्रविधाको रुपमा वि.सं.चालीसको दशकबाट सूत्रकथा लेखनको शुरुवात भए तापनि यसको बारेमा अझै पनि पाठक र स्वयं स्रष्टाहरूसमेत त्यति स्पष्ट नभईसकेको अवस्थामा अनेसासका संस्थापक अध्यक्ष तथा नेपाली भाषासाहित्यविद् होमनाथ सुवेदीको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत प्रतिभाहरू' "आलेखमा अमर त्यागीको अन्धसत्ता अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पुरस्कृत हुनु सूत्रकथालाई दिइएको साहित्यिक मान्यता हो ।" भन्नुभएको छ र यसले सूत्रकथाको साहित्यिक मान्यता सर्वोपरि भएको स्पष्ट पार्दछ । त्यसैगरी सुन्दर र सशक्त लेखनमा सिद्धहस्त स्रष्टा आख्यानपुरुष डा.ध्रुवचन्द्र गौतम लगायतका डेढ दर्जन भन्दा बढी स्रष्टा सर्जकहरूले सूत्रकथा सिर्जना र यसको पक्षपोषण गरेका छन् भने अमर त्यागीको प्रमुख सम्पादकत्व र चेतनाथ धमलाको सक्रियतामा कौशिकी सूत्रकथा विशेषांक प्रकाशन गरेर पनि यसको सिर्जना र संरक्षण, संवर्धनमा दरिलो टेवा पुर्याएको छ।

कौशिकी साहित्य प्रतिष्ठानबाट प्रकाशित यस अन्धसत्ता सूत्रकथा संग्रहमा सङ्ग्रहीत पहिलो सूत्रकथा 'देशभक्त'मा जुनसुकै शासन व्यवस्थामा पनि आफूलाई सहजै समायोजन गर्न सिपालु बेलाबखतमा आफ्नो स्वार्थानुकूल रङ फेरिरहने छेपारे प्रवृत्तिको धज्जी उडाईको छ भने दोस्रो सूत्रकथा 'व्यापार'मा अहिले मान्छेले इमानजमानलाई व्यापारिक वस्तुको रुपमा बसझ्न थालेको र एउटा मान्छेले इमान र स्वाभिमानको संरक्षण गर्न छोडेर व्यापार गर्न थालेको कुरा सशक्त रुपमा प्रस्तुत गरिएको छ । त्यसैगरी नियति, सर्पदंश, उपहास, शिकार,चरित्र, महानता, विद्रोही, भोक, नैतिकता-पालन, पर्दाफास, हडप, दुस्प्रयास, दाइजो, वास्तविकता,पक्राउ जस्ता सूत्रकथाका माध्यमबाट समाजमा प्रचलित कुरीति, कुसंस्कार, हत्या, हिंसा, बलात्कार आदि विकृतिहरूलाई कलात्मक ढंगले टपक्क टिपेर सुन्दर भाषा शैलीमा धज्जी उडाइएको छ, भण्डाफोर गरिएको छ । अठारौं सूकथा 'भिन्नता' मा नारी र पुरुषको चरित्रबाट मानवीय इच्छा, आकांक्षा र कर्तव्य तथा जिम्मेवारीबोधको पाठ पढाउन खोजिएको छ । 'पुनरावृत्ति'ले मानवीय स्वभावलाई मान्छेले गलत प्रयोजनमा कसरी अभिव्यक्त गर्छ भनेर प्रष्ट्याइएको छ । 'षडयन्त्र'ले मानवका विविध चरित्र र हाउभाउलाई दुईजनाको सम्बन्ध र विकासप्रक्रियाको माध्यमबाट  छर्लङ्ग पारिएको छ भने 'पुरस्कार'मा समाजका कूलीन वर्गका मान्छेले धन एवम् शक्तिको दुरुपयोग,अनावश्यक चाकडी,चाप्लसी र गुलामी गरेर विना योग्यता तथा योगदान मानसम्मान र पुरस्कार हत्याउन सफल भएको कथालाई मार्मिक ढङ्गले पेश गरिएको छ । यसैगरी चवन्न थान सूत्रकथाहरूमा हाम्रै समाजमा घटेका,घट्ने घटनाहरू, प्रकृतिसँग जोडिएका मानवीय सम्बन्धहरूको केस्रा केलाइएको छ, प्रत्येक कथामा घटनालाई सूक्ष्म तरिकाले उधिनेर अगाडि बढाउँदै पाठकको मनमा तरङ्ग उत्पन्न गराउँदै एककिसिमको लहर, झङ्कार पैदा गराएर हृदय हल्लाइदिएको छ । बाँकी अठार थान कथाहरू नाटकीय ढङ्गले प्रस्तुत गरिएको छ । सूक्तिमय सूत्रकथाहरूमा पाइने आख्यानात्मक शब्दशय्याको चयनका साथै भावगत तीक्ष्णता र सौन्दर्यविधानको तीव्रताबाटै सूत्रकथाकार तथा कवि अमर त्यागीको सूक्ष्म कथाकौशलको एक झल्को आस्वादन गर्ने अवसर पाउन सकिन्छ । विशेष गरि प्राकृतिक सौन्दर्य र मानवजीवनको मोहकताका साथै राष्ट्ररागको ओजका साथ सँगसँगै समयुगीन वृहत्तर सामाजिक ढाँचामा अन्तरनिहित विसङ्गति, मूल्यविघटन तथा बहुल मानवीय पीडाचक्रतर्फ सङ्केत गर्ने भावभूमिमा नै उनका अधिकांश सूत्रकथाहरू रचिएका छन् । प्राकृतिक सौन्दर्यता र राष्ट्र गौरवका साथै जीवनरागका शाश्वत क्षणलाई सुन्दर अभिव्यक्ति गर्ने र युगीन राष्ट्रिय जीवनका विविध पक्षीय व्याप्त विसङ्गति र वेदनालाई व्यङ्ग्यपूर्वक सूत्रात्मक र सुक्तिमय तवरले पस्किने क्रममा उनका प्रस्तुत सूत्रकथा संग्रहको एउटा कथा आस्वादनका लागि प्रस्तुत छ:

अवसाद

-एउटा सुन्दर आकाश,छातीभरि घामजून सजाएर भरिपूर्ण छ।
-शारदीय मौसमको रमणीय वयमा चाहका बिम्बहरू छर्छ ऊ यत्रतत्र।
-सृष्टिका मनोहारी परिदृश्यहरूमा मोहक पहाडको दृश्य देख्छ ऊ।
-पहाडप्रति न्याना स्नेहबिम्बहरू बर्साएर हार्दिकता जाहेर गर्छ ऊ।
-पहाडको मौन समर्पणमा उल्लासित हुँदै आफूभरि अँगाल्छ ऊ पहाडलाई।
-पहाडका थुम्कीहरू सुमसुम्याउँदै सुकुमार फाँटभरि छचल्किन्छ ऊ।
-अँगालोभरिको उल्लासमा निमग्न डुबुल्किन्छ ऊ अव्यक्त रूपमा।
-एउटा मृदुल आभास र हार्द उमङ्गमा छपक्क भिज्छ ऊ हर्षातिरेकले।
-पहाडको समर्पण अटुट राख्न घामजून सजाउने काममा तल्लीन रहन्छ ऊ।
-पहाडलाई सजाउन कर्मको जूनतारासहित अँगालो फैलाउँछ ऊ पहाडतिर।
-पहाड भने अर्कै नयाँ आकाशको अँगालोमा बाँधिएको पाउँदा मर्माहत भएर हुरी चट्याङसहित बर्सिन्छ,बर्सिरहन्छ।

-सूत्रकथामा आखिर के छ?

अन्धसत्तामा सङ्ग्रहीत बहत्तर थान सूत्रकथामा तपाईं हाम्रै समाजमा व्याप्त सामाजिक कुरीति,कुसंस्कार र यसका उपजका रुपमा विद्यमान दाइजो प्रथा, छोराछोरीमा गरिने विभेद, अन्धविश्वास, रुढीबादी परम्परालाई कसिलो, चोटिलो  अभिव्यक्ति मार्फत सुन्दर श‌ैलीमा प्रस्तुत गरिएको छ भने राजनीतिक खिचातानी, षड्यन्त्र, अनियमितता र भ्रष्टाचारजस्ता विषयवस्तुलाई पनि  पात्र, चरित्र, परिवेश, घटनाक्रमको कलात्मक रुपमा संयोजन गरि कतै व्यङ्ग्यवाण त कतै झापट लगाउँदै समुन्नत र सभ्य समाज निर्माणको सपना देखाउन खोजिएको छ । समाजमा दैनन्दिन घटित राजनीति, शिक्षा, साहित्य, प्रशासन, घरपरिवार, धर्म, संस्कृति, हत्या, हिंसा, आतंक, कानून, व्यापार,पत्रकारिता, समाजसेवा, भेदभावलगायत प्रकृति सम्बद्ध विषयमा सूत्रकथाको सिर्जना गरिएको छ।

-यी कथा कसका हुन्?

पूर्वी नेपालको पहाडी जिल्ला ओखलढुंगामा जन्मिएर मध्य नेपालको तराईमा(बारा)हुर्केर शिक्षादीक्षासमेत त्यहीँबाट प्राप्त गरेका अमर त्यागी नेपाली साहित्यको वर्तमान पुस्ताका प्रयोगवादी धारका अग्रज स्रष्टा हुन्।कविता, ताङ्का, हाईकु, गजल, सेदोका, मुक्तक, निबन्ध, समालोचना आदि गद्यपद्य विधाका विभिन्न फाँटमा आफ्नो कलम निरन्तर चलाउँदै आएका उनका यसअघि चारवटा कृति नेपाली साहित्यका पाठकले पाइसकेका छन् भने पाँचौ कृतिको रुपमा यो अन्धसत्ता सूत्रकथा संग्रह आख्यानको क्षेत्रमा नवीन प्रयोगको रुपमा आएको छ । नेपाली साहित्यमा स्नातकोत्तर गरिसकेका उनले विगत बाईस वर्ष बारा, पर्सा र काठमाडौंमा अध्यापक भएर नेपाली भाषा र साहित्यको अध्यापन गरिसकेका छन् । उनी साहित्य सिर्जनाका अलावा कुशल साहित्यिक संगठकका रुपमा समेत परिचित छन् । बाँसुरीमा आँशुको गीत(गजल संग्रह,२०५७), अक्षरहरूको देश(कवितासंग्रह,२०५८), अनुभूतिको जुलुस(सूत्रकविता संग्रह,२०६०),अभियुक्त ईश्वर(ताङ्का संग्रह,२०६२), र अन्धसत्ता(सूत्रकथा संग्रह,२०७१) र केही साहित्यिक पत्रिका समेत सम्पादन र प्रकाशन गरेका अमर त्यागीले बारा साहित्य परिषद्, देवकोटा स्मृति-सभा, गजल गुँड, बारा वाङ्मय परिषद्, भोजपुरी वाङ्मय प्रतिष्ठान र भोजपुरी प्रतिष्ठान जस्ता साहित्यिक संघसंस्थाहरूको स्थापना र सञ्चालन गरेर नेपाली कला, भाषा, साहित्य र वाङ्मयको श्रीवृद्धिमा अमूल्य योगदान दिएका छन्।

अमर त्यागीका विषयमा स्नातकोत्तर शोधकार्यहरू पनि गरिएका छन् ।२०६७ सालमा भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीबाट शोधार्थी लोकबहादुर मल्लले 'अमर त्यागीका जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन',२०६७ मा त्रिचन्द्र क्याम्प काठमाडौंबाट शोधार्थी हरिप्रसाद दाहालले 'अक्षरहरूको देश कविता संग्रहको कृतिपरक अध्ययन', २०६८ मा भ‌ैरहवा बहुमुखी क्याम्पसबाट शोधार्थी सीमा थापाले 'अमर त्यागीका कविता कृतिहरूको अध्ययन' र २०६८ मन रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौंबाट शोधार्थी दिवाकर केसीले 'बाँसुरीमा आँशुको गीत गजल कृतिको विधातात्विक अध्ययन' शीर्षकमा शोधकार्य गरेका छन्।

-कथामा कुन समय हाजिर छ?

अन्धसत्तामा सङ्गृहीत बहत्तर थान सूत्रकथाहरू जब देश राजनीतिक रुपमा अस्थिर,अग्रगमन र पश्चगगमनबीच तीव्र ध्रुवीकरण भइरहेको, हत्या, हिंसा, लुटपाट र आतंक व्याप्त, जनताको लोकतान्त्रिक व्यवस्था प्रतिको उत्कट अभिलाषा र प्राप्ति भएको बेला रचिएका हुन् । सामाजिक र पेशागत रुपमा जनता बेरोजगारी, स्वदेशमा बसेर आफ्ना सपना पूरा हुन नसक्ने विश्लेषण आदिले विदेशगमन तीव्र भएको, बीसौं हजार जनताले जनयुद्ध र जनआन्दोलनका क्रममा ज्यान गुमाएका, अङ्गभङ्ग भएका तथापि देश र जनताको मुहार फेरिने आशाले चुपचाप बसेको बेला, संविधानसभा मार्फत संविधान निर्माण भइरहेको बेला सिर्जिएका हुन् ।

-किन लेखिए यी कथा?

साहित्य समाजको दर्पण मात्रै हो भन्नेहरू यथास्थितिवादी हुन् । साहित्य समाजको दर्पणमात्रै होइन यसले समाजलाई निरन्तर सकरात्मक रुपान्तरणतर्फ डोर्याउनुपर्छ।साहित्यले समाजका घटनाक्रम मात्र टिपोट गर्ने, त्यसैको व्याख्या विश्लेषण मात्रै गर्ने होइन, यसले त समाजलाई निरन्तर अग्रगमनतर्फ दिशानिर्देश गर्नसक्नुपर्छ । यस सूत्रकथा संग्रह भित्र समावेश धेरै कथाले सामाजिक विकृतिहरूको चिरफार गरेको छ, नैतिकता र स्वधर्मको पाठ पढाएको छ र समाजको अग्रगामी सकरात्मक सोंचका साथै मानवीय संवेदना र संचेतनाको सूक्ष्म अभिव्यक्तितर्फनै अमर त्यागीको सूत्रकथा लेखन अभिमुख रहेको छ।

-यी कथा कसरी अभिव्यक्त हुन्छन्?

अन्धसत्तामा समाविष्ट सूत्रकथाहरू समाजका सुकृति र विकृतिमा टेकेर कतै मानव मूल्य र मान्यताको वकालत गर्छन् भने कतै स्वधर्म, न्याय र नैतिकताको कुरा गर्छन् । अन्धविश्वास, रुढीबादी परम्परा, कुरीति, कुसंस्कारको विरुद्ध कसिलो अभिव्यक्ति दिदैं मानवले मानव भएर मानव धर्मको पालना र कर्तव्यबोध गर्नुपर्ने कुरालाई मुखरित गरेको छ।

-कथाको भूमि कुन थियो?

स्रष्टा स्वदेशमा नबसेपनि बहत्तर वटै सूत्रकथाको भाव भूमि प्राय: स्वदेशी परिवेशकै वरिपरि देखिन्छ भने पात्र, घटनाक्रम र सारमा यहीँको माटोको सुगन्ध पाइन्छ । सुगन्ध मात्रै होइन त्यसमा मिसिएर आएका दुर्गन्ध र खराब पक्ष पनि स्वदेशकै छन्।कृतिमा जेजस्ता कथानक, पात्र, परिवेश र घटननहरू घटित भएका छन् ती नेपालभन्दा बाहिर छैनन्।

अन्तमा,
कुनै घटनाको वर्णन गर्नुभन्दा त्यस घटनाले पात्र कथाकारको मनमा पार्ने प्रभावको सूक्ष्म चित्रण गर्ने, सङ्कीर्ण विचार, सामाजिक-नैतिक खराबीको घोर विद्रोह र पुरानो ढाँचाको समाजको अन्त्य गरी युगानुकूल नयाँ समाजको निर्माण गर्ने, पात्रविशेषका चरित्र, वृत्ति, स्वरुप आदिको सूक्ष्म अध्ययन गरी मानिसभित्रका सुषुप्त बर्बर अनुहारलाई नङ्याउनुका साथै मानिसभित्रका कमजोरी, विकृत रूप र घृणित अनुहारको उद्घाटन गर्ने, मानिसमा हुँदै गएको नैतिकताको ह्रास एवम् विघटित व्यक्तित्वको चित्रण गर्ने प्रयोगवादी स्रष्टा अमर त्यागीको अन्धसत्ता सूत्रकथा संग्रह प्रयोगका हिसाबले नवीन, सिर्जनाका हिसाबले मानव धर्मको पक्षपोषक र सूत्रकथाको उत्कृष्ट कृतिको रुपमा नेपाली साहित्यको भण्डारमा सजिएको छ।लामो समयदेखि संलग्न रहेको अध्यापन-प्राध्यापन पेशा एवम् "मोतीमण्डलीका गजलमा श्रृंगार" विषयमा गरिरहेको विद्यावारिधि शोधकार्यलाई बिचमै  चटक्कै छोडेर पाताल भासिएका अमर त्यागीले पातालबाट अन्य सुन्दर कृतिहरू कोसेली लिएर नेपाल आउने आशा गर्नु असान्दर्भिक हुने छैन।

कृति: अन्धसत्ता(सूत्रकथा संग्रह)
लेखक: अमर त्यागी
प्रकाशक: कौशिकी साहित्य प्रतिष्ठान 
प्रकाशन मिति: २०७१ असार
पृष्ठ: ८८
मूल्य:रु.१५०/-


कुमार काफ्ले

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

अन्धसत्ता सूत्रकथाको सुन्दर कृति - 2017-10-09

प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी नेपाली साहित्यिक धरातलमा सुपरिचित नाम हो । कविता, गजल, हाइकु, ताङ्का, सेदोका, मुक्तक, लघुकथा, निबन्ध र समालोचना लगायतका गद्यपद्य विधाका विविध फाँटमा निरन्तर साधनारत उनले गजल, कविता, ताङ्का र सूत्रकविताका सङ्ग्रहणीय कृतिहरूको सिर्जना र प्रकाशन गरेर साहित्यमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । यिनै कृतिहरूको पङ्तिमा एउटा अर्को गहन कृति थपिएको छ 'अन्धसत्ता' सूत्रकथासङ्ग्रह, जसमा बहत्तर थान सुन्दर सूत्रकथाहरू सङ्गृहित छन् ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329291 Times Visited.

Powered by: Exclusively Solution
Top
Content