निबन्ध - संस्मरण



संस्मरण : युद्धमा हारेका बा

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछी मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेट मै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गएँ ।

यो समस्या मेरो मात्र हैन त्यस गाउँमा बस्ने हरेक स्कुल पढ्न जाने विद्यार्थीरुको छ । यो भन्दा १०,१२ बर्ष अघि जस्तो थियो समस्या आज पनि उहीँ छ । समय बदलियो तर समस्या बदलिएको छैन । 

           एक पिरिएड कलास सकिनै लागेछ । आज पनि ढिलो गरेको हुनाले सरले मुर्गा बनाए रै छोडनु भयो । मज्जाले बनियो  किन डराउनु गल्ती त आफ्नै छ हैन । गल्ती गरेपछि झूक्न डराउनु हुन्न भन्ने मेरो मान्यता । 

       दुई घन्टिमा सामाजिक बिषय थियो पढ्नु पर्ने । सामाजिक सर कलासमा के छिर्नु भएको थियो । दुई तीन जना भोका स्यालहरु जस्तै देखिने मान्छेहरु कलास भित्र पसे र भने, साथिहरु होे, हामी सधै अन्याय र अत्याचारका विरुद्धमा लड्छौ । हामी चाहान्छौ साथिहरुको पढाईलाई असर नपरोस तर हामी बिद्यार्थी भनेका खोक्रो किताब मात्र हेरेर, घोकेर, यो बुर्जुवा शिक्षा पढेर मात्र बस्ने हैन अब देशको लागी पनि केही गर्न पर्छ । एउटा ब्यक्ति मज्जा सग भाषण छाटेर गयो । अर्कोले भन्यो आज हाम्रो माथी डाँडामा कार्यक्रम छ । तपाईंहरु पनि त्यस कार्यक्रममा जानै पर्छ  भन्दै कक्षा बाट बाहिर निस्के । सामाजिक शिक्षा पढाउने गुरु पनि चुपचाप संग कक्षा बाट निस्कनु भयो  । 

        जब एउटा  १२ र १३ बर्षको बालक पढ्न को लागि पाठशाला गएको छ उसले आफैलाइ चिन्न सकेको छैन भने देशलाई कसरी चिन्न सक्छ  र अन्याय अत्याचार विरुद्धमा कसरी  लड्न सक्छ । उफ देश बनाउनेहरु के आफ्नै दाजुभाइ को रगतले माटो मुछेर देश बनाउन हिडेका छौ ? कहाँ सम्मको हो तिम्रो यो न्याय । हामी पढ्न आएका हौ तिमिहरुको कार्यक्रम हेर्न, सुन्न हैन । 

         हिजो मात्र त्यहीँको एउटा गाऊँमा एक जना माओवादीलाई  पुलिस ले मारेका थिए । त्यही डरले साथीहरू पनि स्कुल आएका छैनन धेरै । गाउँका एक जना बाले भन्दै थिए । अस्ति स्कुल पढ्न गएको बिद्यार्थीलाई माओवादीले लगे रे आजाभोली उ पनि तिनै माओवादी सग हिंड्छ रे ।  घरमा आएको छैन, बा, आमा रुन्छन रे सधै । हाम्रो कक्षामा पढ्ने गोमा पनि माओवादी मा लगिसकी रे त्यसैले आजभोली ऊ स्कुल नै आउदिन कक्षामा साथिहरु बिच यस्तै कुरा चल्दै थिए ।

             मैले भने अब हामी उनिहरुको कार्यक्रममा होईन घर जाने हो पढाई हुँदैन भने किन बस्ने । अर्कोले भन्यो तर कसरी जाने भाग्न लागेको देखे भने लैजान्छन । नगए पछि गोलि हानेर मर्दिन्छौ भन्छन्  । नाक बाट बगेको सिगान पुछ्न नसक्नेलाई त गोलि हान्छौ भन्छन् अरुको त झन के हाल होला ।

          उनिहरु मतलब माओवादीहरु अफिस मा सरहरु सङ कुरा गर्दै थिए । हामी केही साथिहरु नजाने निर्णय गरेर भाग्यौ । 

        हामीलाई भागेको देखेर एक जना करायो ए ए .....नभाग है नत्र.. । एक जना साथिले भनी, देख्खेले नि तिनिहरुले अब कहाँ छोड्छन्  र हामीलाई । जाउँ लुकौँ त्यही तिनु र दच्कुन्को बोट भित्र । तिनीहरुले देख्दैनन भनेर ऊ डरले लुक्न गई । बिचरी त्यही बोट मुनि कसले दिसा गरेको  रहेछ ।  उसको मेड्डि भरी दिसा लाग्यो । मरेछ नि को भन्दै बाहिर  आई ऊ । अब तलाइ गु ले पनि छोडेन भने मान्छेले कहाँ छोडछन्  र है हिहिहि....... हामी  दुई, तिन जना साथीहरू भने मरिमरि हाँस्न लाग्यौ  ।  

      नकराउ आफुलाइ भने यस्तो भयाउ छ तिमीहरूलाई  हाँसो, उसले भनी । तलाई लुक्न नजा त भनेको नि मान्याइहोस र खुब बच्नु पर्ने तलाई हेरिन्थिस लुक्ने बेला अघिपछि के छ भनेर मैले भने । 

         बाहिर भने पनी आफ्नो साथिलाई त्यस्तो अबस्थामा देखेपछि मनले त कहाँ  मान्छ र । भदौ को महिना एक दुई दिन अगाडि पानी परेको थियो  । खाल्डोमा पानी जमेको रहेछ साथिको मेड्डिमा लागेको गु भने पखाल्यौ । 

         अब कता भाग्ने । ती माओवादीहरुले भने हाम्रो पिछा छोडनन् । हामिलाई देखिसके ।  नजिकै आएर भने    तपाइँहरू जानै पर्छ  । त्यसपछी हामिले  सानो भाइबहिनीहरुको हातमा झोला, किताब  थमाइ दिएर ५,६ जना साथिहरु उनीहरुको पछी पछी गयौं । 

        हाम्रो  कार्यक्रम माथी डाँडामा छ भन्थे तर बिहान बार बजे हिडेका हामी दुई बज्दा सम्म उनीहरुको कार्यक्रम गर्ने ठाउँमा नै पुग्न  सकेनौं  ।  तीन चार घन्टाको बाटो हिडिसक्यौ अझै पनि आएको छैन कार्यक्रम हुने ठाउँ । 

    पानी तिर्खा, भोक लागिसक्यो । हिंड्दा, हिंड्दा खुट्टा नै दुखिसके १२,१३ बर्षका स्कुल पढ्ने केटाकेटीलाई  हिडाएर अझ भनौ पढ्न लागेको कक्षा कोठा बाटै उठाएर जबर्जस्ती ल्याएका छन् । कस्तो न्यायका विरुद्ध लड्न लागेका हुन यिनिहरु । उता राज्यपक्षबाट माओवादी भनेर गोलि ठोकेको छ । यता माओवादीले राज्यपक्ष भनेर गोलि ठोकेको छ ।  नदिहरुमा पानी हैन आफ्नै दाजुभाइको रगत बगेको छ । कस्तो सत्ता ल्याउन खाज्दैछन यिनिहरु । हामीलाई त त्यो उमेरमा डर मात्र थियो । आर्मी, पुलिस र माओवादीको लडाई चलिरहेको छ रे भन्ने मात्र थाहाँ  थियो । सत्ता के हो ? राजतन्त्र के हो ? प्रजातन्त्र के हो ? युद्ध के हो ? केही थाहा थिएन । कहिलेकाही गाउँका बाजेहरु दाइहरुले कक्षा कोठामा गुरुहरुले भनेका सुनेका  थियौं ।

         हिंड्दा हिंड्दा साँझको चार  बजिसक्यो अझै पनि उनिहरुको कार्यक्रम हुने ठाँउ नै आएन । केही साथीहरूले भने भोक लागिसक्यो केही किनेर खाउ नत्र हिंड्न् सकिँदैन । तर खाने हो गोजीमा पैसो नै छैन  । हामी एक दुई जना साथिको गोजीमा  भने बा सग कलम किन्नलाई मागेको पैसा थियो त्यसैले खाउ न, भन्दै थियौं ।  तिनीहरुले हाम्रो लागी चिउरा र चाउचाउ किन्देका रहेछन् । एक जना हामीलाई लगेकाले भने । सबै साथीहरू एकै ठाँउ बसेर खाउँ अरु साथिहरु पनि आउदै हुनुहुन्छ पर्खिम । हुन्छ भनेर पछाडी आउँदै गरेका साथिहरु लाई  पर्खिन लाग्यौ  । 

           साथी कमलाले भनी हाम्रो त घरमा थाहाँ छैन । साँझ घर नपुगे पछि मार्छन मलाई ज्यै, बाले उसले आँखा भरी आशु पार्दै भनी । तेरो मात्र होर हाम्रो पनि त थाहाँ छैन नि । जेई, बाले त हाम्लाइ स्कुल गएका छन्  भनेका छन् नि  । अब के गर्ने होला  यिनिहरुको भन्दा नि जेई, बा को डर छ । कहाँ  गएकी थिईस ? किन गएकी थिईस ? अरु त आइसके नि तलाईमात्र जानुपर्ने भनेर अनेक प्रश्नहरु बर्षाए भने के जवाफ दिने ।

         मैले भने एउटा आइडिया छ म सँग । यिनिहरु सँग हामी  सु गर्न जान्छौ भनम अनि अरु साथिहरुलाई नभनम । हामी  दुई मात्र जाउँ ।  उतै बाट भागौला । चिउरा चाउचाउ नखाएनी हुन्छ, मैले बा सग कलम किन्नलाई  मागेको दस रुप्पे छ त सग पाँच रुप्पे छ त्यसैले किनेर खाम्ला ।  कमलाले त्यसो भए हुन्छ जाउँ भनि । 

     हामीलाई लिएर हिडेको एक जना दाइलाइ मैले  भने दाइ पछाडी साथिहरु आउन्जेल हामी सु गर्न जान्छौ है एक छिन ? उनले भने हुन्छ जानुहोस् छिटो आउनुहोला नि  छुट्नु होला  फेरि ।  मनमनै भने हामीलाई तिमीहरू सँग छुट्नु नै छ । कहाँ संगै हिड्नु छ र  । 

       त्यसपछी हामिले मुक्ति पायौँ र  अरु साथीहरूले नदेखुन भनेर  हामी जङ्गलै जङ्गल भाग्यौ । जादा तीन घन्टा लागेको बाटो मा आउँदा खै कसरी डेर घन्टा मै आइपुग्यौँ थाहा भएन । घर पुग्न त अझै  दुई घन्टा लाग्छ  तै पनि कमला को र मेरो गाउँ एउटै  हैन  एक्ला एक्लै  हिड्नुपर्छ ।  रात परिसक्यो हिड्ने आधा घन्टा बाटो त ठुलो जङ्गल हुँदै हिड्नु पर्छ ।  अहिले पनि जङ्गल मै छौ । 

         कमलाले भनी भाग्न त भाग्यौ मलाई तर डर लाग्छ यो जङ्गल को बाटो एक्लै हिड्न त अब कसरी जाने ।  मैले भने नडरा न यो जङ्गल त काटौ माथी पुग्यौं भने साथिको घर छ त्यही बसेर भोली विहानै घर जाम्ला । बरु कसैले केही गर्यो भने केही ढुङ्गाहरु मेड्डीको गोजीमा राखौ यसैले हान्दिम्ला । अनि एक एक वटा लठ्ठी पनि हातमा समातौ । के को डर  । 

        आइपरेपछि  मेड्डीको गोजीमा राखेको ढुङगाले र लठ्ठीले के नै हुन्थ्यो र । केहि गरी उसको मन भित्रको डर मलै हटाउनु थियो । मलाइ साथि भएपछी त्यती डर पनि लाग्दैन । बा आमाले कहिलेकाहिँ भन्नुहुन्छ, यो त मुर्ख छे डरै मान्दिन । कहिलेकाहिँ राति चार बजे पानी भर्न जादा बाटोमा कोहि नभेटीएपछी चुरेनी संग पनी भेट हुन्छ । उ अघि अघि जान्छे म उसको पछिपछि । धेरै पटक हिडिसकेकि छु म पानी लिन जादा चुरेनी संग । कहिले काहिँ सेता मान्छेहरु संग पनी भेटिन्छन् तर ति मान्छे भने होइनन् भुत हुन ।

      हामिले लठ्ठी पनि खोजेर हातमा समत्यौ र केही मेड्डीको गोजीमा  अटाउने डुङ्गा पनि राख्यौं । र दौडियौ । त्यसै क्रममा  बाटोमा एक जना लौरो टेक्दै हिंड्दै गरेका बा भेटिए  । हामी दौडेको देखेर उनले भने नानि हो रात परिसक्यो यो जङ्गलमा एक्लै छौँ  ? कहाँ हो तिम्रो घर ? कहाँ बाट आयौ ? कहाँ जान लागेको ? हामीले  भन्दै हिंड्यौ बा हामीलाई माओवादी ले लगेका हुन कार्यक्रम छ भनेर  हामी त भागेर आयौं अरु साथिहरु उतै छन् । 

    बा ले भने नानी हो म पनि माथी गाउँमै जाने हो  ।  तिमीहरु डराउनु पर्दैन सँगै जाउँला ।  त्यस पछी हामी निडर का साथ बाजेको पछि पछि हिड्यौ । 

        बा ले हामीले लाएको स्कुलको ड्रेस देखेर भने तिमिहरुलाई स्कुल बाट नै  लगेका हुन नानी ? हो बाजे  ।  नानी हो अहिले देश को हालत यस्तै छ । कसैलाई स्कुल बाट नै लगेका छन्  कसैलाई घर बाटै लगेका छन् ।, आफ्नै दाजुभाइ को रगत आफैले पिइरहेका छन ।  किन यस्तो गरेका होलान्  ।  मेरो छोरालाई नि अस्ति खेतमा काम गर्दै गर्दा त माओवादी होस भनेर आर्मी पुलिस ले लगेर गएका हुन अझै फर्केर आएको छैन । त्यहि पिर र चिन्ताले गर्दा आमाको हालत हेरि सक्नु छैन । एक्लो छोरो भविष्यको लौरो भनेर उसलाई आफ्नो रगत नै बेचेर ठुलो बनाएको तर अहिले उनै छैन । कतै पत्ता लाग्छ कि भनेर तर बजार सम्म गएको हुँ । तर खै ..।

    बाले आँखाभरी आँशु पार्दै दुखेसो पोखे । मैले भने बा कहिँ कतै पत्ता लागेको छैन त ?  थाहाँ भएको भए किन भौतारीनु पथ्र्यो र नानी । उसलाइ लग्नु भन्दा मलाइ लगेको भए म आफै जाने थिएँ । यस्तै कुरा गर्दै हामी गाउँमा आइपुग्यौ । बाजे आफ्नो घरतिर लागे अनी हामी साथिको घरतिर लायौँ ।

    आज धेरै बर्ष पछि अकस्मात यो शहरका गल्लिहरु पन्छ्याउदै जादा तिनै बा, सग भेट भयो मेरो  । बा, यहीँ शहरको एउटा चिया पसलमा चिया पिउँदै रहेछन्  । म पनि त्यही पसलमा नै साथीहरू सँग चिया पिउँन पुगेकि थिएँ । बा, को बोली र कुरा गराइ बाट मैले बा लाई  चिने ।

          ती बाले सगै बसेका अरु ब्यक्तीहरु सँग कुरा गर्दै गरेको सुने बाले भन्दै थिए । भुढृसकालको साहारामा जन्मेको छोरा तर अहिले साथमा छैन । हाम्रो  नभएर देश  र जनताको लागि रगत बलि चढायो । राज्यपक्षबाट ऊ मारियो । एउटा सिङ्गो याम बितिसक्यो लड्दा लड्दै । रगतका टाटाहरु अझै बाँकी छन्  हत्केलाहरुमा । तर खस्किए जिबनका पाटाहरु । अहिले कोहि छैन । क्यानभासमा तिनै छोरा  र आमाको रगत र पसिनाको रङ्ग मात्र छ । 

        मलाई बा, को नजिक गएर कुरा गर्न मन लाग्यो तर के बाले मलाई चिन्लान र  !   त्यो समयमा बाले हामीलाइ  निडर का साथ हिड भनेका थिए  हामी उनको पछि पछि  हिडेका थियौँ । मेरो मनले मानेन म बा, को नजिकै गएँ ।

          बा, ले चियाको चुस्कि सँगै आफ्नो सन्तानको याद पिउँदै थिए सायद  । मैले  उनको याद भङ्ग गर्दै  भने  । बा मलाई चिन्नु भयो ? चिन्न गाह्रो भयो नानी  । बा ले चिनुन पनि कसरी  म परिवर्तन भैसकेको थिए । मेरो बाल्यपन हराइ सकेको थियो । मैले बा लाई सम्झाउदै भने बा त्यो साँझको समयमा हामी भेटिएका थियौं नि ।  मैले सबै बिस्तारमा भने । त्यसपछि बा ले विगतका ति सबै कुरा सम्झिए ।  

         बा आज भोलि कता हुनुहुन्छ ?  मैले भने ।  बा ले चाउरिएका गालाहरुमा खुशीका रङ्गहरु देखाउदै भने मेरो बस्ने कुनै घर  छैन  नानी  म यहि बाटोलाइ घर  बनाएर पनि हिंड्छु । बाटोमा हिड्दा ,साईनो खोज्दै जाँदा भेटिन्छन् आफन्तहरु बा ले भने । अनि आमा ?   जब छोरालाई   अपहरण गरेर लगे उ फर्किने  आशमा पर्खेर बस्यौं  ऊ आएन । उसको आमा चाहिँ उसैको पिरमा दिनानुदिन गल्दै गई । म उसलाई खोज्दै गए । भेटियो पनि  तर जसरी गएको थियो त्यसरी भेटिएन ऊ । बरु बन्दुक सँग भेटियो   ।

              मैले उसलाई भन्दुक छोडेर घर  हिंड्न् आग्रह गरे तर उसले मानेन् र भन्यो । बा, म एउटा किसानको छोरो हुँ । खेतमा काम गर्दै गर्दा मलाई माओवादी भनेर  मानर्को लगे र म भागेर बाँच्न सफल भए  ।   त्यसपछि मैले सोचे अब भागेर हैन म उनिहरु सग लडेर बदला लिन्छु भनेर बन्दुक समाएको हुँ । तर अब मैले बदलाको बन्दुक भन्दा  यो देशमा आमूल परिवर्तन ल्याउन को लागि देश र जनताको लागि लड्छु भनेर हिडेको छु । मलाई नरोक्नुहोस । बरु आमालाई गएर सम्झाउनुहोस् र भनिदिनुहोस  तेरो रगत हाम्रै लागि लडदै छ भनेर । 

          त्यसपछी मैले उसलाई कहिल्यै आउन आग्रह गरिन  । तर दैव लागेर कुन दिन लड्दा लड्दै देश र जनताको लागि  रगत नै बलि चढाएछ । उसको मृत्युुको  खबर  सुनिसकेपछि सहन नसकेर उसकी आमाले नि यो संसार बाट बिदा लिएर गई । म एक्लो भएँ  । 

      मैले जिन्दगी देखि हार खाएँ, रोएँ, कराएँ, बहुलाएँ केहि लागेन मर्न पनी सकिन । कताबाट सोच आयो आँट गरे । एक्लै जिउन भन्दा देश र जनता सँगै जिउछु भनेर बदलामा बन्दुक बोकेरै हिडे म पनी । कोहि माओवादी र कोहि राज्यपक्षबाट मारिए । कोहि अपाङग भए, कोहि टुहुरा भए, कसैको काख रित्तीयो, कतिको सिन्दुर पोछियो । जसको कुनै सिमाना रहेन ।   

   देशमा आमुल परिबर्तन आयो । शान्ती सम्झौता भयो । नदिहरुमा रगत बग्न कम भयो । बम र बारुदका आवाजहरु सुनिन छोडे । हामी सँगै लडेका साथिहरु कोहि मन्त्री भए । कोहि  प्रधानमन्त्री भए । ठुला ठुला महलहरु पनी ठड्याए । त्यसपछि  जनताको संविधान पनि आयो ।  

          हामी केही राहत पाउने आशामा बसिरह्यौ  । तर राहत को नाउमा आहत पनि आएन । खोक्रो आश्वासनका खोस्टाहरु मात्र बाडिरहे । हामीले सुनिरह्यौ । जो वास्तविक द्धन्दमा मारिएका थिए उनिहरुले राहत पाएनन् । अद्धन्दमा मरेकाले पाए । 

     देशमा अन्याय, अत्याचार, हत्या, हिंसा, वलात्कार, भ्रष्टाचार का घट्नाहरुको अन्त्य गर्छौ, परिवर्तन ल्याउछौ भनेर सरकारमा गएकाहरु कति आफै त्यसको पछी लागे  । आफु परिवर्तन भए तर जनताका दुःखहरुमा परिवर्तन आएन । देश बनाउन सक्नेहरुलाई अघि सर्नै दिएनन् पछी हटाए । देश बिथोल्नेहरुलाई अघि पठाए अनि कसरी पाउँछन् नानी जनताहरुले न्याय । अझै आशा छ देशमा जनताको शासन आउँछ कि भनेर जनताले न्याय पाउँछन् कि भनेर । अब आफ्नो जिन्दगी र जिवनको आशा त यसै टुटीगयो । हामीले र हाम्रा छोराहरुले बगाएको रगतले न्याय पाओस यहि छ चाहाना । 

              चिया पसलमा करिब आधा घन्टाको बसाई पछी बा का कुराहरु सुने । बाले वितेका यादहरु ओकले म संग । हाम्रो कुनै साइनो थिएन । एक पटक त्यहि द्धन्दकालमा भाग्दै गरेको त्यहि बाटोको साइनो थियो । त्यहि साइनो मा बा ले आफ्ना भयानकपिर व्यथाहरु पोखे । समय बदलियो शारिरीक अवस्था बदलियो तर बा को सोच र बिचार अझै वदलिएको छैन । उस्तै छ । 

      मैले भने बा, त्यो समयमा तपाई संग भेट भएपछी हामी पनी हिडेका थियौं केहि समय । त्यो वाल्यअवस्थामा परिवर्तन ल्याउने आशामा । तर पछी हाम्रो पढाइ  विग्रने डरले हामि हिडेनौ । 

        तपाई संगै लडेकाहरु मन्त्री भए प्रधानमन्त्री भए तर तपाई किन यसरी भौतारिनु भएको छ एक्लै ? तपाई जस्तो मान्छे हुनुपर्ने थियो त मन्त्री अनि मात्र पो जनताले न्याय पाउने थिए । बा, ले एउटा हात देखाउदै भने हेर नानी यहि हो हाम्रो देश र जनताको लागी लडेको चिनो । हामी जस्ता अपाङगलाई कसले बनाउँछ मन्त्री । 

              बा, को एउटा हात नै रहेनछ । त्यो अवस्था देखेर मन केहि बेर भक्कानियो  । समय बदलियो तर जनता र द्धन्दकालमा अपाङग भएकाहरुको समस्या बदलिएको रहेनछ । म संग बा, लाई गर्न सक्ने क्षमता केहि थिएन । 

       कुरा गर्दा गर्दै समय वितेको पत्तै भएन । बा, आफ्नो बाटो लागे म आफ्नो बाटो लागेँ । उहाँको सम्झनामा आज धेरै बर्षपछी । मात्र यहि एउटा कथा बनाएँ ।    


दिपा धिताल

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

संस्मरण : युद्धमा हारेका बा - 2018-01-19

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछी मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेट मै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गएँ ।

निबन्ध : जिबन यात्रा हैन - 2017-11-03

यति धेरै कुरा भइसक्दा मैले थाहा पाइसकेको थिएँ ति बृद्ध र बृद्धा जयबहादुर र जयमाया थिए भन्ने ।
जीवन सँधै कहाँ एकै नासको हुन्छ र । बाटो पनि सम्मै देखिएको भएपनि हिंड्दाखेरि खाल्डा खुल्डी-उबड र खाबड हुन्छ ।

संस्मरण : इन्द्रकिल पहाडको त्यो यात्रा - 2017-10-17

मेची पुल माथि उभिंदा एक तमासको विरक्त लाग्छ । किन किन मन गह्रुङगो र भारी हुन्छ ।  राष्ट्र र राष्ट्रियताको वासनाले वेहिसाव भावुक बनाउँदो रहेछ । पारीबाट सुरक्षाकर्मीको छामछुम र चेकजाँच अनि बाझाबाझको वावजुद पनि वारीपारीको व्यवसाय गरीखानेहरु २,४ डल्ला साबुन र २,४ किलो चिनीका पोकाहरु लिएर साईकल रिक्सामा ओहोर दोहोर गर्दैछन् । 

संस्मरण : प्रदेशीको चिठी - 2017-06-21

फुलेका दार्ही सितका इस्ट कोटमा रमाउने बा, पुरानो धोती र मैलो चोलोमा सधैं घर धन्दामै ब्यस्त भईरहने मेरी आमा । लागातर तीन दिदी बहिनी पछि को म र कथं कदाचित् मलाई केही किछो भई हाल्यो भने अपुताली नपर्न जन्माएको मेरो भाई । 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245400 Times Visited.

Powered by: Exclusively Solution
Top
Content