विधा परिचय / पाठशाला - व्याकरण लेखन परम्परा



व्याकरण

कुनै पनि भाषालाई नियमबद्ध गर्ने प्रणाली नै व्याकरण हो । भाषाका निम्ति व्याकरण महत्वपूर्ण पक्ष हो । यसले भाषिक व्यवस्थालाई निमयबद्ध गर्दछ । अर्को शब्दमा भन्नु हो भने भाषिक व्यवस्थाको अध्ययन नै व्याकरण हो । 
व्याकरण शब्दहरूको क्रम, क्रिया, काल, भाव, पक्ष, वाच्य, अकरण, कारण, विशेषण, पदावली, वाक्य आदिको नियम प्रस्तुत गरिएको हुन्छ । यसर्थ व्याकरण भन्नाले भाषाको नियम बुझिन्छ । भाषामा कुन ठीक अथवा कुन बेठीक, कुन शुद्ध कुन अशुद्ध आदि भन्नेबारे छुट्याउने आधार नै व्याकरण हो ।

जब कुनै पनि भाषाको लेख्य रूप अघि आउँछ, तब त्यस भाषालाई व्याकरणको आवश्यकता पर्छ। यसले भाषालाई स्तरीकरण अथवा मानकीकरण गर्दै भाषामा एकरूपताको नियम तय गर्दछ। कुनै पनि भाषा एकै स्थानमा सीमित नरहेर यसको क्षेत्रविस्तार भएको हुन्छ। यसरी क्षेत्र विस्तार हुँदा भाषामा भाषिकाहरूको जन्म हुँदैजान्छ। ठाउँ-ठाउँमा बोलिने एउटै भाषाका पनि विभिन्न रूपहरू बनिँदै जान्छन्‌।
व्याकरणले यी विभिन्न रूपहरूमा सर्वमान्य रूपलाई मान्यात दिई त्यसैको आधारमा नियम तय गरेको हुन्छ। सिक्किममा बोलिने नेपाली भाषा र पश्चिम नेपालमा बोलिने नेपाली भाषाको स्वरूप, क्षेत्र विस्तार र छुट्टाछुट्टै भाषिककाको विकासका कारण भिन्न छन्‌। यस्ता विविध रूपलाई व्याकरणले मानक रूप प्रदान गरी नियम तय गरेकाले सिक्किम र पश्चिम नेपालका नेपालीले लेख्य रूपमा एकै किसिकमको भाषाको प्रयोग गर्दछन्‌। कथ्य रूपमा भाषाको रूप परिवर्तित हुँदैगए पनि लेख्य रूपले यसलाई समातेर राखेको हुन्छ। यसैले भाषाको स्तरीकरण र एकरूपताका लागि व्याकरणका नियमहरू महत्वपूर्ण हुन्छन्‌।
0 नेपाली भषाको पहिलो व्याकरण
आधुनिक आर्य भाषाका रूपमा विकसित नेपाली भाषाको लेख्य परम्पराको थालनी भएको एक हजारभन्दा धेरै वर्ष बितिसकेको छ। यस क्रममा नेपाली भाषामा शिलालेख, ताम्रपत्र, पत्र, औषधिग्रन्थ हुँदै साहित्यिक लेखनसमेतको विकास हुँदैआए पनि यस भाषाको अध्ययन भने 19औं शताब्दीमा आएर मात्र भएको पाइन्छ। यस भाषाको अध्ययनमा अनेपाली भाषी विद्वानहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्‌। सर्वप्रथम नेपाली भाषाको अध्ययन रोमबाट, कसियानो बेलिगत्तिको अल्फावेट्‌म बह्मनिकम सेव युनिभर्सिटाइटिस काशीमा सन्‌ 1771 -मा भएको पाइन्छ। उक्त पुस्तकको भूमिकामा जोन्स क्रिस्टोफर आमाडुटियसले भारतीय भाषाहरूको नामको चर्चा गर्दै नेपालेन्सिस्‌- को उल्लेख गरेको पाइन्छ। यसपछि सन्‌ 1811 -मा डब्लु जे कर्कप्याट्रिकले एन एकाउण्ट अव्‌ द किङडम अव्‌ नेपाल- मा नेपालका प्रमुख आठ भाषाहरूको चर्चा गर्दै पर्वते भाषाका लगभग 550 शब्दहरूलाई नेवारी पर्याय र अङ्‌ग्रेजी अर्थका साथ दिएको पाइन्छ। उनले नेपाली भाषालाई पर्वते नाम गरेका छन्‌। यसपछि 1816- मा पादरी क्यारे भारत आएका थिए र उनले यहॉं भारतीय भाषाहरूको अध्ययन गरी 33 भाषाका 34 नमूना दिए, जसमा नेपाली पनि सामेल थियो।
सन्‌ 1820- मा सर्वप्रथम नेपाली भाषाको व्याकरण लेखियो। यो कार्य कलकत्ताको कोर्ट विलियम कलेजका प्रो. जेए एटनले गरे। उनल नेपाली भाषाको पहिलो व्याकरण देवनागरी लिपिको प्रयोगसहित लेखेर व्याकरण लेखन परम्पराको थालनी गरे। उनको ऐतिहासिक नेपाली भाषाको व्याकरण ए ग्रामर अव्‌ द नेपालिज्‌ ल्याङ्‌ग्वेज (A GRAMMAR OF THE NEPALIES LANGUAGE) -मा अङ्‌ग्रेजी भाषामा नेपाली भाषाको स्वरूपको वर्णन गरिएको छ भने नेपाली भाषाको पुरानो कथाको नमूना पनि राखिएको छ। एटनले दार्जीलिङ पहाडमा आउने अङ्‌ग्रेज साहेबहरूका लागि नेपाली भाषा सिक्न सजिलो होस्‌ भन्ने उद्देश्य राखेर व्याकरण तयार गरेका हुन्‌ भन्ने अनुमान गरिएको छ। 60 पृष्ठको यो व्याकरण किलिप परेरा हिन्दुस्तानी प्रेस, कलकत्तामा छापिएको थियो। नेपाली व्याकरण लेखनको इतिहासमा एटनको व्याकरण पथप्रर्शनको रूपमा अघि आएकोछ।
0 नेपाली व्याकरण लेखन परम्परा
1820- मा जेए एटनको व्याकरण ए ग्रामर अव्‌ द नेपालिज्‌ ल्याङ्‌ग्वेज (A GRAMMAR OF THE NEPALIES LANGUAGE) -पछि सन्‌ 1872-मा लण्डनबाट जोन बिम्सले भारतीय भाषाहरूको तुलनात्मक व्याकरण कम्प्यारेटिभ ग्रामर अव्‌ द मोर्डन आर्यन ल्याङ्‌ग्वेजेस्‌ अव्‌ इण्डिया (COMPARATIVE GRAMMAR OF HE MODERN ARYAN LANGUAGES OF INDIA)-मा भारतका सात प्रमुख भाषाहरू-बङ्गाली, उडिया, हिन्दी, पञ्जाबी, सिन्धी, गुजराती र मराठीको तुलनात्मक अध्ययनका क्रममा नेपाली भाषाको पनि चर्चा गर्दै नेपालीलाई हिन्दीको भाषिका बताएका छन्‌। यसपछि सन्‌ 1875-मा एसएच केगलले हिन्दी भाषाको व्याकरण (THE GRAMMAR OF HINDI LANGUAGE)- मा नेपाली भाषाबारे चर्चा गरेका छन्‌। यसरी नै सन्‌ 1880-मा रूडोल्फ हर्नेलेको गौडीय भाषाहरूको तुलनात्मक व्याकरण (COMPARATIVE GRAMMAR OF THE GAUDIAN LANGUAGES)-मा भारतका आर्य भाषाहरूलाई पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी गरी चार थरिका गौडीय भाषामा विभाजन गरिएको छ अनि कुमाउनी, गढवाली र नेपालीलाई उत्तरी गौडीय भाषा वर्गमा राखिएको छ। कुमाउनी, गडवाली र नेपाली भाषाको एउटै मूलस्रोत देखाइएको छ।
सन्‌ 1887-मा दार्जीलिङबाट प्रकाशित फादर टर्नबुलको नेपाली ग्रामर एण्ड इङ्‌ग्लिस नेपाली-नेपाली इङ्‌ग्लिस भोकाबुलेरी (NEPALI GRAMMAR & ENGLISH-NEPALI NEPALI-ENGLISH VOCABULARY) नेपाली भाषाको दोस्रो व्याकरण हो। यो व्याकरण उनले दार्जीलिङका चिया कमानका अङ्‌ग्रेज कर्मचारी र फौजका अधिकारीहरूलाई नेपाली भाषा सिक्न सहयोग पुगोस्‌ भन्ने उद्देश्यले प्रकाशित गरेका थिए। यसमा नेपाली भाषालाई राजपुताना र पञ्जाबको हिन्दी भाषासॅंग नजीकको सम्बन्ध रहेको देखाइएको छ।
0 नेपालीद्वारा लेखिएको पहिलो व्याकरण
बीसौं शताब्दीको थालनीसितै नेपाली भाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भए। सन्‌ 1901-मा दार्जीलिङबाट गोर्खा खबर कागत्‌ र काठमाडौंबाट गोरखापत्र- को प्रकाशनसितै नेपाली भाषामा पत्र-पत्रिकाको प्रकाशन युग शुरू हुन्छ। पत्र-पत्रिकाको प्रकाशनले भाषाको अध्ययन र व्याकरण लेखनलाई ठूलो सहयोग पुग्छ। बनारसबाट सन्‌ 1906- मा माधवी, सन्‌ 1908-मा सुन्दरी-लगायत चन्द्रिका आदि पत्र-पत्रिकाको प्रकाशन व्याकरण निर्माणका लागि महत्वपूर्ण पूर्वाधार बन्नपुगे। नेपालका स्कूलहरूमा नेपालीमा पठन-पाठन शुरू भयो भऩे यता भारतमा पारसमणि प्रधानको विशेष योगदानमा स्कूलमा नेपाली शिक्षण पनि शुरू भयो। सन्‌ 1911-मा प्रयाग विश्विविद्यालयले नेपाली भाषालाई लोक भाषाका रूपमा मान्यात दिँदै प्रवेशिका परीक्षा तहमा यसको पठन-पाठन शुरू गऱ्यो। सन्‌ 1918- को 24 जुलाईको दिन कलकत्ता विश्विद्यालयले नेपाली भाषालाई म्याट्रिक, आइए र बीएस्तरसम्मको मान्यता दियो। यसका लागि पारसमणि प्रधानको योगदान अविस्मरणीय रहेको छ। शिक्षाका क्षेत्रमा पारसमणि प्रधानले पुऱ्याएको योगदानका कारण उनलाई पहाडका ईश्वरचन्द्र विद्यासागर पनि भनिन्छ। नेपाली पठन-पाठनको मान्यताले नेपाली विद्वानहरूलाई पनि भाषाको अध्ययनमा अभिप्रेरित हुने वातावरण तयार गरिदियो।
नेपाली भाषामै सर्वप्रथम व्याकरणले लेख्ने वैयाकरण वीरेन्द्रकेशरी अर्याल हुन्‌ भनिन्छ। उनले सन्‌ 1903- मा नेपाली व्याकरण लेखेका थिए भनिए पनि उनको व्याकरण अप्राप्य रहेकोले यसका विषयमा विशेष जानकारी पाइएको छैन। यसर्थ नेपालमा लेखिएको अनि नेपालमै छापिएको पहिलो नेपाली व्याकरणको पुस्तक जय पृथ्वीबहादुर सिंहको प्राकृत व्याकरण हो। सिंहको प्राकृत व्याकरण सन्‌ 1912- मा प्रकाशित भएको हो। जय पृथ्वीबहादुर सिंह पाठ्यक्रममा नेपाली विषय हुनुपर्छ र शिक्षाको माध्यम नेपाील भाषा हुनुपर्छ भन्ने भाषाप्रेमी व्यक्ति थिए। उनको प्राकृत व्याकरणको विशेष महत्व रहेको छ। उनले प्रारम्भिक स्तरका नेपाली पाठ्य पुस्तकहरू यही व्याकरणका आधारमा तयार गरेका थिए।
0 नेपाली व्याकरण लेखनमा सक्रियता
प्राकृत व्याकरणको प्रकासनपछि नेपाली व्याकरण लेखनमा सक्रियता आयो। सन्‌ 1912-मा नै पण्डित हेमराजको चन्द्रिका व्याकरण र विश्वमणिको दीक्षिताचार्यको गोर्खा व्याकरण बोध प्रकाशित भए। दीक्षिताचार्यको गोर्खा व्याकरण बोध प्राकृत व्याकरणभन्दा केही ठूलो छ। यसले हलन्त बहिष्कार आन्दोलनलाई समर्थन गरेको देखिन्छ। पण्डित हेमराजको चन्दिरका गोर्खा भाषा व्याकरण विस्तृत रूपमा लेखिएको महत्वपूर्ण पुस्तक हो। यस पुस्तकमा नेपाली भाषाको प्राचीन तथा आधुनिक भाषा शास्त्रका आधारमा चर्चा र व्याख्या गरिएको छ। यस व्याकरणलाई आज पनि स्तरीय तथा मानक व्याकरण मान्नेहरू धेरै छन्‌। चन्द्रिकाको प्रकाशनपछि नेपाली लेखन पद्धति र भाषाको स्तरीकरण र मानकीकरणका लागि यसैलाई आधार मानियो। यसलाई व्याकरणको गुरुग्रन्थ मानियो। चन्द्रिकालाई आधार मानी सोमनाथ सिग्द्यालको मध्य चन्द्रिका सन्‌ 1919-मा प्रकाशित भयो। यसलाई स्कूल स्तरमा चलाउन शुरू गरियो।
यसपछि पारसमणि प्रधानको नेपाली व्याकरण सन्‌ 1920 -मा प्रकाशित भयो। यसपछि पारसमणिले पठन-पाठनका लागि व्याकरण पुस्तकहरू तथा कोश निर्माणमा महत्वपूर्ण योगदान दिए। पारसमणि प्रधानका प्रमुख व्याकरण पुस्तकहरू हुन्‌ नेपाली व्याकरण (1920), सजिलो नेपाली व्याकरण (1935), नेपाली व्याकरण भारती (1955), प्राथमिक नेपाली व्याकरण (1955), टीकाराम शर्मासितको सहलेकनमा प्रवेशिका व्याकरण र रचना (1955), नेपाली रचना भारती (1954), भाषा प्रवेश नेपाली व्याकरण (1960), नेपाली व्याकरण (पहिलो भाग) (1974), माध्यमिक नेपाली रचना (1982) आदि। यसका साथै पारसमणिले भाषासित सम्बन्धित अनेकौं पुस्तक र कोश लेखेका छन्‌। नेपाली भाषाको स्तरीकरण र मानकीकरणका साथसाथै पठऩ-पाठनमा पारसमणि प्रधानको योगदान विशिष्ट रहेको छ।
यसरी नै नेपाली व्याकरण लेखनमा देखा परेका अन्य उपलब्धिहरू हुन्‌-
सोमनाथ सिग्द्यालको लघु चन्द्रिका (1934), गोपाल पाण्डेको नेपाली रचना दर्पण (1937), र रचना केशर (1943), पुष्कर शमशेरको नेपाली सजिलो व्याकरण (1944),, ज्ञान प्रसाद शर्माको रचना सहायक (1946), श्रीप्रसाद घिमिरेको पद्म व्याकरण एन्द्रिय चॉंदनी (1954), नगेन्द्रमणि र अमरमणिको प्राथमिक नेपाली व्याकरण (1955), डिल्लीबहादुर श्रेष्ठ र मणिकुमार उपाध्यायको नयॉं नेपाली रचना (1957), देवीप्रदास काफ्लेको नेपाली रचना कुसुम (1957), हर्षनाथ शर्माको नेपाली व्याकरण बोध (1959), शेषराज रेग्मीको नेपाली रचना प्रकाश (1961), मणिकबहादुर चित्रकारको नेपाली व्याकरण (1964), कृष्णप्रसाद पराजुलीको राम्रो रचना मीठो नेपाली (1966), हर्षनाथ शर्माको अनिवार्य नेपाली रचना (1966), मोहनराज शर्माको नेपाली व्याकरण परिचय (1967), जनकलाल शर्माको नेपाली व्याकरण (1967), तुलसीप्रसाद ढुङ्‌गेलको नेपाली रचना शिल्प (1968), ऋषभदेव शास्त्रीको व्याकरणको दन्त्य कथा (1970), विष्णु गोपाल र शिव गोपाल रिसालको नेपाली भाषा र व्याकरण (1970), रामचन्द्र ढुङ्गानाको सरल नेपाली व्याकरण (1972), गोपालनिधि तिवारीको नेपाली भाषाको बनोट (1973), मोहनराज शर्माको शब्द रचना र वर्णविन्यास (1974), नरेन्द्र चापागाईंको व्याकरण निर्देशिका(1976), रोहिणीप्रासद भट्टराईको बृहत नेपाली व्याकरण (1976), महानन्द सापकोटाको नेपाली व्याकरणमा प्रस्तावना (1977), कृष्णप्रसाद पराजुलीको प्रयोगात्मक भाषातत्त्व (1978), शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण (1980), राजेश्वर देवकोटाको नेपाली व्याकरण (1961), कृष्णप्रसाद पराजुलीको नेपाली व्यावहारिक व्याकरण (1966), सिद्धराज जोशीको नेपाली व्याकरण परिचय (1946), नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको भाषा व्याकरण समितिद्वारा तयार भाषा- व्याकरण-प्रश्नावली (1970), प्रकाश ए राजको नेपाली भाषा र चन्द्रिका व्याकरण (1972), भाइचन्द्र प्रधानको नव नेपाली व्याकरण (1976), भाइचन्द्र प्रधानको नव नेपाली व्याकरण भाग 1 (1974), शिवराज शर्माको माध्यमिक नेपाली व्याकरण र रचना (1976), पूर्वोत्तर नेपाली व्याकरण (2003), भाइचन्द प्रधानको शिशु नेपाली व्याकरण र रचना (1985), भाइचन्द प्रधानको आधुनिक नेपाली व्याकरण (1985), चूडामणि बन्धुको सम्पादनमा नेपापी व्याकरणका केही पक्ष (1997), भाइचन्द र मनबहादुर प्रधानको सुगम नेपाली व्याकरण र रचना (1985), हरि मञ्जुश्रीको प्रयोगात्कम व्याकरण (1986), हेमाङ्गराज अधिकारीको समसामयिक नेपाली व्याकरण (2002), चूडामणि रेग्मीको नेपाली भाषा र व्याकरणः केही विषय केही छलफल (1995), हेमाङ्गराज अधिकारीको नेपाली कारक व्याकरण (1994), डा. बासुदेव त्रिपाठी र अन्यको निम्नमाध्यमिक नेपाली व्याकरण र रचना (2000), माधवप्रसाद पोखरेलको नेपाली व्याकरण अभिवयक्ति र अभ्यास (2000), ईश्वरकुमार श्रेष्ठको नेपाली व्याकरणः केही पक्षहरूको चर्चा (2000), शिवराज शर्माको नौलो नेपाली व्याकरण (2005), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको व्याकरण- समितिद्वारा प्रकाशित वृहद्‌ नेपाली व्याकरण (1976), माधवप्रसाद पोखरेलको नेपाली वाक्य-व्याकरण(1997), डा. घनश्याम नेपाल र डा. कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण (2005), डा. घनश्याम नेपाल र पुष्कर पराजुलीको नेपाली व्याकरण (2006), आदि।
0 व्याकरण लेखनको नयॉं युगको थालनी
नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली साथै अनेपाली विद्वानहरूको योगदान स्तुत्य रहेको छ। भाषाको प्रकृतिमा अनेकौं प्रभावका कारण निरन्तर परिवर्तन आइरहेको छ। आजको युगलाई कम्प्युुटर र विज्ञानले प्रभावित बनाएको छ। अझ नेपाली सफ्टवेयहरूको विकास, युनिकोडको विकास आदिले पारिरहेको प्रभावका कारण तक्निकी सुविधासम्पन्न व्याकरण निर्माण र नेपाली भाषाको मानकीकरण, स्तरीकरण तथा एकरूपताका लागि भारत र नेपाल दुवैतर्फ प्रायसहरू भइरहेका छन्‌। यस दिशामा नेपालबाट मदन पुरस्कार पुस्तकालय, काठमाडौं विश्वविद्यालय र भारतबाट भारतीय भाषा संस्थान, उत्तरबङ्ग विश्वविद्यालय र सिक्किम अकादमीजस्ता संस्थानहरू जुटेका छन्‌। अर्कोतिर व्याकरण लेखनका लागि भाषा विज्ञानलाई पनि बलियो आधार मानिएको पाइन्छ। यसले नेपाली व्याकरण लेखनको नयॉं युग शुरु भएको छ।
व्याकरण लेखकहरूलाई पनि नयॉं परिवर्तन र तक्निकी सुविधा र अपठ्यारोलाई ध्यानमा राखेर व्याकरण निर्माण गर्न प्रेरित गरिरहेको छ। पछिल्ला चरणमा देखापरेका कतिपय वैयाकरणहरूले यिनै कम्प्युटरजनित तक्नीक पक्ष, नेपाली भाषामा देखापरेका परिवर्तन तथा भाषा वैज्ञानिक अध्ययनलाई आधार मानी व्याकरण लेखेको पाइन्छ। यस्ता व्याकरणहरूमा चूडामणि रेग्मीको नेपाली भाषा र व्याकरणः केही विषय र केही छलफल(1995), माधव प्रसाद पोखरेलको नेपाली वाक्य व्याकरण (1997), कृष्णहरि बराल र नेत्र एटमको निम्न माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास (2000), र माध्यमिक नेपाली व्याकरण अभिव्यक्ति र अभ्यास (2000), ईश्वरकुमार श्रेष्ठको नेपाली व्याकरणः केही पक्षहरूको चर्चा (2000), माधवप्रसाद पोखरेलको नेपाली वाक्य-व्याकरण(1997), डा. घनश्याम नेपाल र डा. कविता लामाको उच्च माध्यमिक नेपाली व्याकरण (2004), डा. घनश्याम नेपाल र पुष्कर पराजुलीको नेपाली व्याकरण (2006), सिक्किम अकादेमीद्वारा प्रकाशित एवं डा. कुमार प्रधान, डा. घनश्याम नेपाल र अन्यद्वारा लिखित एवं सम्पादित नेपाली लेखन शैली (2011 )आदि प्रमुख छन्‌।
लेखक: पारसमणि शम / सर्बाधिकार: पारसमणि शम


पारसमणि शम

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

व्याकरण - 2017-02-05

कुनै पनि भाषालाई नियमबद्ध गर्ने प्रणाली नै व्याकरण हो । भाषाका निम्ति व्याकरण महत्वपूर्ण पक्ष हो । यसले भाषिक व्यवस्थालाई निमयबद्ध गर्दछ । अर्को शब्दमा भन्नु हो भने भाषिक व्यवस्थाको अध्ययन नै व्याकरण हो । 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329312 Times Visited.

Powered by: Exclusively Solution
Top
Content