कविता - लामा कविता



शृंखला कविता: हर्कबहादुर / राजा पुनियानी ।

हर्कबहादुर १

आफ्नो जागित्रे रहर नथामे पनि
आफ्नो हरामी संसार नथामे पनि
आफ्नो गाथको भाग नथामे पनि
आफ्नो मान्छेको अपेक्षा नथामे पनि
आफ्नो साथीको माया नथामे पनि
आफ्नो दुश्मनको इख नथामे पनि
हर्कबहादुरको थाप्लोले
अहिलेसम्म थामेरै आयो
कल्पनाभन्दा गह्रुँ शोषणलाई

हर्कबहादुर २

हर्कबहादुरको एउटा थाप्लो छ
त्यो थाप्लो चाम्रो छ
हर्कबहादुरको थाप्लोमा नाम्लो छ
त्यो नाम्लो बलियो छ
त्यो नाम्लो लगाएर
तुनुतुनु बकेको छ-छ
लड़ाइँहरू जिताउने हर्कबहादुर
आत्मपराजयको एउटा एकलकाँटे कथा
आँगनमा
एक भारी उपनिवेश बिसाएर
हर्कबहादुर अहिले थकान मारिरहेछ
नुन हालेको टर्रो चिया पिउँदै

हर्कबहादुर ३

हर्कबहादुर कुनै युवकको नाम होइन
कुनै गाँउबूढ़ोको नाम होइन
कुनै युवतीको नाम होइन
कुनै बालकको नाम पनि होइन हर्कबहादुर
हर्कबहादुर कसैको नाम होइन
हर्कबहादुर कुनै नामै होइन
हर्कबहादुर अरिबहादुर होइन
हर्कबहादुर इन्द्रबहादुर होइन
हर्कबहादुर गणेशलाल होइन
हर्कबहादुर ईश्वरबल्लभ होइन
हर्कबहादुर घिसिङ होइन
हर्कबहादुर डा. हर्कबहादुर होइन
हर्कबहादुर अरूणा लामा होइन
हर्कबहादुर विमल होइन
हर्कबहादुर कसै एकको नाम होइन
हर्कबहादुर कुनै एकको नामै होइन
हर्कबहादुर यी सबैको नाम हो
हर्कबहादुर एक-एकको नाम हो
हर्कबहादुर त बस हर्कबहादुर हो
जसले लाखौं वर्षको पीड़ालाई
आँखा चिम्म गरी पचाएको छ
तीनपाने रक्सीको
एक्कै घुट्कीमा

हर्कबहादुर ४

एक दिन
हर्कबहादुरले हर्कबहादुरलाई
हर्कबहादुरको बारेमा केही भन्यो
सुन्यौ, हर्कबहादुर
हर्कबहादुरलाई के भएको हो अचेल
कुन्नि
हर्कबहादुरको बाक्के बसेको छ
उ केही बोल्दैन
सिमेभुमेले भेटेको हो कि जागित्रेले
उँधौलीले हो कि उँभौलीले हो
हर्कबहादुरले अझ भन्यो-
सुन्यौ, हर्कबहादुरलाई
चिमोट्दा पनि दुख्दैन
कुल्चिँदा पनि आइय्या भन्दैन
के भएको त्यस्तो
सुन्ने हर्कबहादुरले भन्ने हर्कबहादुरलाई
एकनास हेरिबस्यो
मात्र हेरिबस्यो

हर्कबहादुर ५

हर्कबहादुरले पीएफको पैसा झिक्यो
र शहरमा पढ़्ने छोरालाई
ल्यापटप किनिदियो
हर्कबहादुरको छोरा हर्कबहादुरले
अचेल ल्यापटप बोक्छ
ल्यापटपमा के छ त्यस्तो
हर्कबहादुरलाई थाहा छैन
थाहा गर्नुखोज्दैन पनि
छोराले किनिमाग्यो
उसले दसनङ्ग्रा खियाएको पैसाबाट
किनिदियो
राजनीतिले उसको जीवनलाई छुन्छ-छुँदैन
त्यसको हेक्का छ
टेक्नोलोजीले उसको जीवनमा के फरक
ल्यायो
उसलाई हेक्का छैन
तर उसको जीवनमा आओस-नआओस्
उसको छोरोको जीवनमा
उसले चाहेको छ
एउटा नयाँ थोक
उसको छोरो हर्कबहादुर
अचेल साइबरस्पेसमा आफ्नो मानचित्र
खोजिहिँड़्छ
आफ्नो बाउबाजेको अस्तित्व
खोजिहिँड़्छ
त्यहीँ उ आफूलाई
चिह्नित गरिहिँड़्छ
हर्कबहादुरले छोरालाई
पठाएको महिनाखर्चमा
उसको खुन गन्हायो
पसीना गन्हायो
उसको छोरो हर्कबहादुरले त्यो गन्ध
मार्न
बिहान घरबाट निस्कनअघि
शरीरमा अरू दिनभन्दा बढ़ी डियोड्रेण्ट
छर्दैछ

हर्कबहादुर ६

हर्कबहादुर ऐना हो
हर्कबहादुरहरूको
हर्कबहादुर त्यसैले
हत्तपत्त
सबैको सामु उभिँदैन
हर्कबहादुर ऐना हो
हर्कबहादुर त्यसैले
उभेछ भने
उभेको उभेकै हुन्छ
सत्य बकेको बकेकै हुन्छ

हर्कबहादुर ७

हर्कबहादुर, वो गाना गाना तो भाइ-
हर्कबहादुरको पल्टनमा
खूब इज्जत छ
हर्कदाइ, अब कति वर्षमा रिटायर-
गाउँघरमा पनि निकै मान छ
हर्कबहादुरसँग
देशले पो कस्तोकस्तो व्यवहार गर्छ
उसलाई शङ्काको आँखाले हेरिबस्छ
यसपालि चाहिँ हर्कबहादुर
देशलाई नै शङ्का गर्नथालेर
तीनमहिने छुट्टीमा आएको छ घर

हर्कबहादुर ८

हामी हर्कबहादुर हौं
हामी हर्कबहादुर मात्र हौं
हामीलाई अब बहादुर नबोलाउनुहोला
हामी बहादुर रहेनौं अब
यो उपनामको अभिशापले
हामी कहींको रहेनौं
हाम्रो बहादुर नामको घाउ
अब क्यान्सर हुने क्रममा छ
साह्रो पर्छ
बस हामीलाई बहादुर नबोलाइदिनुहोला
हामी अब डक्टर पनि छौं
इञ्जिनियर पनि छौं
शिक्षक छौं, प्रोफेसर छौं
हामी बहादुर रहनचाहन्नौं
हर्कबहादुर बोलाउनुहोला अबउसो
बहादुर नामको पिञ्जड़ामा कैद
हाम्रो अस्तित्वको
हामी विश्वचौकमा सरेआम
हत्या गर्दैछौं

हर्कबहादुर ९

सुश्री हर्कबहादुर सुन्दरी छे
सुश्री हर्कबहादुर दिल्ली गएकी छैन
कलकत्ता गएकी छैन
खाड़ी गएकी छैन
गइन त के भो
अब जान्छे
ऊ अहिले नर्थइस्टको जेनेरल
डिब्बामामा चढ़ेकी छ
सुश्री हर्कबहादुर
खितखिताउँदै हाँसिरहेकी, बदाम
खाइरहेकी, चिया पिइरहेकी
सुश्री हर्कबहादुरलाई दिल्लीको कुन
गल्लीमा
खोज्ने हुन् आमाबाबुले
बितेको महिना दिल्ली गएदेखि उता
एउटा कल आएको थियो
राम्रै छु मात्र भनी
भक्कानो रोकेर बोलेकी
त्यसपछि नम्बर आउट अफ रेञ्जै मात्र
भन्छे
सुरिलो आवाजकी कुनै केटी उताबाट
सुश्री हर्कबहादुरको हल्ला
गाँउघरमा डढ़ेलोझैं सल्किएको छ
पँधेरामा आइमाइमान्छेहरू कुरा ठोस्छन्-
पोइल गई कि पतीत भई
कसोकसो सुश्री हर्कबहादुरकी आमाको कानमा
थुरिहाल्छ
सुश्री हर्कबहादुरको टोलचर्चा
सुश्री हर्कबहादुरलाई काममा हाल्दिन्छु
भन्ने
अजनबी मान्छे विश्वास गरौंगरौं थियो
सुश्री हर्कबहादुर सुन्दरी छे
दिल्ली नै छे कि मुम्बइ छे
कि पुगी खाड़ी
अझ फर्किएकी छैन है
सुश्री हर्कबहादुर त

हर्कबहादुर १०

ज्यु, म हर्कबहादुर बोल्दैछु
म यति टाढ़ोबाट बोल्दैछु कि
तपाईंले मेरा आवाज सुन्न
निकै बल लगाउनुपर्नेछ
मेरो देश छ
र पनि छैन मेरो देश
मलाई मेरो देशले
भोट लगाउनू मात्र भन्यो
मलाई मेरो देशले
सपना देख्नसम्म प्रतिबन्धित गर्यो
अन्ततः मैले देशै छाड़िदिएँ
मैले आफ्नो सम्झिएको गाँउ छाड़िदिएँ
मैले साख्खे ठानेको चौतारा, चोक र
घुम्ती छाड़िदिएँ
हर्के बड़ा, मैले तपाईंकी छोरीको मोह
समेत त्यागीदिएँ
ज्यु, म हर्कबहादुर बोल्दैछु
के भन्नुभो, सुन्नुभएन
म यति टाढ़ोपुगिसकें कि
तपाईंहरूले मेरो यादलाई मन्साइदिए
पनि हुन्छ
तपाईंहरूदेखि टाढ़िएँ
यतिसम्म कि आफैदेखि पनि पो टाढ़िएछु
...ए ऐले सुन्नुभो
ज्यु, म भन्दैथिएँ
खोक्दाखोक्दै उपचारहीन मेरा बाजे दमाले
बिते
मेरा बाबुको लाश सीरपीएफले
गोली ठोकेर लुकाइदियो
पटुको कसेकी मेरी रोगी आमाले
आत्महत्या गरी
मेरी बहिनी कमानमा हिँड़्दाहिँड़्दै मान्छे
बेच्ने ठगारले बेचिदियो
ज्यु, म हर्कबहादुर बोल्दैछु
हजुर?...के र...त्यै त हो नि...
यहाँ होटलमा काम गरिन्छ
ग्राहक डाकिन्छ, दुइपैसा कमाइन्छ
एक शोक, एक भोक
जसोतसो बाँचिन्छ
बिरानो ठाँउमा अजनबी जीवन बिताइदिनु
पनि अर्कै ढुक्क रैछ
चिनारी बिनै बाँच्नु पनि एकखाले
सञ्चो रैछ हजुर
यहाँ यसरी नै बाँचिन्छ
कोही बाँचोस् कि मरोस्
यहाँ कसैको वास्ता छैन
वास्ता बिनै लावारिस बाँचिएको छ हजुर
ज्यु, म हर्कबहादुरै बोल्दैछु
यै मेरो नम्बर ०९७१५५५००१०८७
सेभ गरिराख्नुहोला
ला हौ...
हर्के बड़ा, तपाईंलाई जे को लागि फोन
गरियो
त्यै सोध्नु भुलिएछु
म त आउँदिनँ अब, यतैको भएँ
तरै पनि सोधिराखुँ कि भनेर नि हर्के
बड़ा
-साँच्चै, हाम्रो ल्याण्ड पायो यो पालि?
तँ नाथेहरूको केही हुँदैन भन्छन् र कि
ल्याण्ड पाएछ भने चैं
म यता साथीहरूलाई मुखभरिको लड्डु
ख्वाउँ भन्दैथें र नि!

हर्कबहादुर ११

बेलुकी पिँढ़ीमा बसेर
बिँड़ी तानिसकेपछि
नारायण गोपालको पर्खिबसें गीत गाउँछ
हर्कबहादुर
उठ्ने पालो पर्खिएको हर्कबहादुरलाई
आफूहरू मूसा हौं भन्ने
र कोहीहरू बिरालो हुन् भन्ने
राम्ररी थाहा छ
हर्कबहादुर खटिरहन्छ -खटिरहन्छ
बिरालोहरू मूसाहरूको आखेट गरिरहन्छन्
सबै पर्खिबसेका छन् आ-आफ्न पालो
सबै पर्खिरहेका छन् र सोधिबसेका छन्-
कसले बाँध्छ घण्टी बिरालोको घाँटामी?
अरू पर्खिरहन्छन्
हर्कबहादुरले घण्टी बाँधिदिएको दिन
हर्कबहादुर पर्खिरहन्छ
अरूले घण्टी बाँधिदिएको दिन
जिउँदा नै छन्
बिरालोहरू चाहिँ
बेलुकी पिँढ़ीमा बसेर
बिँड़ी तानिसकेपछि
नारायण गोपालको पर्खिबसें गीत गाउँछ
हर्कबहादुर

हर्कबहादुर १२

एक दिन
हर्कबहादुरको टोपी
भुइँमा खस्यो
हर्कबहादुरको अनुहारमा
चायाँ पर्यो
हर्कबहादुरको नाममा
दाग लाग्यो
हर्कबहादुरको इमानमा
औंला उठ्यो
हर्कबहादुरको बुद्धिमा
बिर्को लाग्यो
हर्कबहादुरको सुरुवालको
इञ्जार खुल्यो
एक दिन
हर्कबहादुरको टाउको हरायो
जिउ मात्र रह्यो
एक दिन
हर्कबहादुरको टोपी
भुइँमा खस्यो

हर्कबहादुर १३

रोज बढ़ाई माग्दामाग्दै
भत्ता माग्दामाग्दै
बोनस माग्दामाग्दै
ठिटो हर्कबहादुर
अधबैंसे भयो
गोठ मरमत्ती गर्दागर्दै
घाँस काट्दाकाट्दै
बारी गोड़्दागोड़्दै
अधबैंसे हर्कबहादुर
बूढ़ो भयो
बूढ़ो हर्कबहादुर फेरि ठिटो भएन
उ झन्-झन् बूढ़ो भयो
हर्कबहादुरले भेउ पाएन
उ किन यो पृथ्वीमा आयो
उसलाई किन मालिकले कहिल्यै मान्छे
सम्झिएन
उसले किन मिहिनेतको सट्टा आराम
पाएन
हर्कबहादुरले छिचोलेन
उ अरूहरूबाट लुटिएको छ
उ आफ्नैहरूबाट ठगिएको छ
उ आफैबाट पनि टाढ़िएको छ
बूढ़ो हर्कबहादुरको कथा
एक दिन त्यहीँ सकियो
जहाँ उसको छोराको कथा
शुरु भयो
उसकै जस्तो

हर्कबहादुर १४

देश बुझ्छ हर्कबहादुर
भोट जान्दछ हर्कबहादुर
नोट चिन्छ हर्कबहादुर
कुटनीतिको कालो अनुहार
र राजनीतिको कर्तुत ठम्याँउछ
हर्कबहादुर
गन्दे धर्मको खेल जान्दछ
अपराधीहरूको धम्की सुन्छ
भ्रष्टाचारको शिष्टाचार देख्छ
हर्कबहादुर सबसब बुझ्छ
बुझ्छ
र बुझ पचाउँछ

हर्कबहादुर १५

योपालि त साह्रो छ है हर्कबहादुर
हर्कबहादुर
अर्थात् बहादुर
उनीहरू भन्छन्-
हर्कबहादुर बहादुर थियो इतिहासमा
हर्कबहादुर बहादुरै छ वर्तमानमा पनि
बहादुर हुनु भनेको के हो
खुकुरी भिरेर कसैको दैलोअघि उभिदिनु
खुकुरी चलाएर कसैको दुश्मन गिँड़िदिनु
वा कसैको निम्ति खुकुरी नै भइदिनु
बहादुर हुनु भनेको के हो
टाइसुट पहिरेर कसैको तलुवा चाटिदिनु
टाइसुट पहिरेर कसैको दलाली गरिदिनु
वा कसैको निम्ति तलुवा नै भइदिनु
यो सत्य न त उनीहरूलाई थाहा छ-
न स्वयं हर्कबहादुरलाई
योपालि त साह्रो छ है हर्कबहादुर
हर्कबहादुर
अर्थात् बहादुर
ऊ भन्छ- टाँसी त गयो
न उप्काउनु, न राख्नु
यो बहादुर ट्याग
सदाबहार लुतो नै भइसकेको
यो बहादुर ट्यागले कति चिलाइबस्छ
हर्कबहादुरको निधार, ढाड़ र चाक
भनिहाल्दैन र पो हर्कबहादुरले
भविष्यमा पनि हर्कबहादुर
बहादुर हर्कबहादुर रहिरहला त
जुन अर्थमा ऊ बहादुर छ
त्यस्तै अर्थमा ऊ बहादुर रहिरहनुपर्ला
हर्कबहादुर बहादुर रहेन भने के हुन्छ
-प्रश्नहरू जब हर्कबहादुरलाई
बेलाबेला कोट्याउँछन्
कोट्याएर गिजाउँछन्
हर्कबाहादुरले के गरुँगरुँ हुन्छ
योपालि त साह्रो छ है हर्कबहादुर
हर्कबहादुर
अर्थात् बहादुर

हर्कबहादुर १६

कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-
दिन गन्दै बसेको हर्कबहादुरसँग
अस्सीको चिह्नारीको लड़ाइँमा
झण्डै गएको एउटा अधमरो ज्यान छ
झण्डै लुटिएकी एउटी लुती स्वास्नी छे
र झण्डै जलेको चुपचाप घर छ
गाईलाई बिहान घाँस ल्याइवरि
कमान जानअघि
एकपटक छोरीको अनुहार हेर्छ
साँझ घर आउनअघि
बैदारको हेपुवा अनुहार हेर्छ
दिनभरि हर्कबहादुर
चियाका गाछहरूसँगै हुन्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा सधैं हर्कबहादुर
हेपाइ, हप्की र गाली मात्र हेर्छ
चियागाछमा उ बरू
बड़ेमानको ताला देख्छ
हतियारझैं ढुङ्गा देख्छ
खिया लागेको खुकुरी देख्छ
पुरानो धनुकाँड़ देख्छ
सीतारामको हुटेलमा पाइने झीँगासरिको
सिङ्गाड़ा देख्छ
राशनको डौंठे चामलको रातोरातो भात
देख्छ
छोराको स्कूलको फी देख्छ
दम बढ़्ने आमाको दबाइको पोका देख्छ
श्रीरामछाप खैनीको गुलाफी प्याकेट
देख्छ
हर्कबहादुरको दिन
चियाका गाछहरूसँगै बित्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा हर्कबहादुरले देख्छ
उसको बाजेबोजुको खुन
उसको आमाबाबुको पसीना
उसको आफ्नै हातको ठेला
र स्वास्नीका पटपटी फुटेका औंलाहरू
कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-
दिन गन्दै बसेको हर्कबहादुरसँग
कति-कति झण्डैहरू होलान्
गनिनसक्नु

हर्कबहादुर १७

कसले दल्यो बदनामीको मोसो
हर्कबहादुरको
इतिहासजस्तै अनुहारमा
उसको अनुहारमा
असङ्ख्य हारका खाल्डाहरू छन्
जहाँबाट उत्पत्ति हुन्छ
'दार्जीलिङ-टी'-को महँगो बासना

हर्कबहादुर १८

झण्डी पनि समायौं
नाराहरू भट्टायौं पनि
पछ्यायौं पनि
झण्डी हल्लिएको देखेर
नेताज्यूले हात हल्लाइपठाउनुभो
जसरी मुस्कुराउँदै गएका छन्
यसपालि त आस भो
यो गाँउमा पनि
मुक्तिको मुहान खुल्छ
जसरी हात हल्लाउँदै गएका छन्
यसपालि त भरोसा नै भो
हाम्रा टाउकेहरूले
हाम्रो निम्ति चाहिने सबथोक लड़ेर
ल्याउँछन्
निकै पछि पो थाहा भयो
हामी पार्टीको झण्डी हल्लाउँदै थियौं
तिनीहरू चाहिँ
हाम्रै झण्डी हल्लाउँदै थिए
हामीलाई नै झण्डी बनाएर उन्दैथिए
तिनीहरूको विकास-रथ वरिपरि

हर्कबहादुर १९

ब्रिटिसहरूको चाबुक बजेको सुनिन्छ
एकाबिहानै घण्टीडाँड़ामा
इतिहासको साक्षी
मौन चुच्चेढुङ्गाबाट
फेदाङमाले फलाकेको आवाज आउँछ
भस्मे फाँड़्दै
हातमा नाङ्गो खुकुरी लिएर
यतै आउँदैछन्
हतियारजस्तै काँचा मेरा बराजुहरू
मेरो बराजुको नाम हर्कबहादुर
मेरो बाजेको नाम हर्कबहादुर
मेरो बाउको नाम हर्कबहादुर
मेरो नाम हर्कबहादुर
ब्रिटिश ओ म्यालेहरूले
हर्कबहादुरको इतिहास लेखेका पन्नाहरू
उड़्दैछन् सल्लाघारीमा सुइसुइला लगाउँदै
एकैसाथ एकैरात
जातजातको पर्खाल ढाल्दै
पानीमाथि र पानीमुनिको सिमाना मेट्दै
छरिए, फैलिए, आबाद भए
साम्राज्यवादीहरूको राज्य बोकिदिन
चियाको मुनालाई
बोजूलाई जतिकै माया गरेरै
बिते मेरा बाजे हर्कबहादुर
सानोरेलको कालो कोइलामा देख्थे हिरा
मेरा बाजे हर्कबहादुर
र बोजूलाई एकतोला गहना किनिदिने
सेतो सपनामा
विपनाहरूको बलिदान दिन्थे
कुलैनको बोटमा
जीवनको औलेज्वरोको ओखती
भरिँदै गएको देखेर
मृत्युसँग जिस्किन्थे
मेरा बाजे हर्कबहादुर
विश्वयुद्धहरूमा गोराहरूको दुश्मन गिँड़ेर
योगीजस्तै घर फर्किँदा
बोजुले मेरा बाजे हर्कबहादुरलाई भनिन् रे
-अब त नजाऊ है लड़ाइँमा
तर बाजेलाई
वीरताको तक्मा प्यारो भो बोजुभन्दा
आज आएर
हर्कबहादुरको छोरो म हर्कबहादुर
इतिहासका गल्लीहरूमा भटकेको देखेर
मेरो लक्का जवान छोरो हर्कबहादुर
आफैलाई नचिन्ने बनाएर
साँझ घर फर्कन्छ
हातमा वर्तमानजस्तै गिटार बोकेर

हर्कबहादुर २०

गाउँको कुनै घुम्ती
वा शहरको कुनै मोड़मा
हर्कबहादुरलाई
कसैले भेटे यो हर्कबहादुरले
उसलाई सोध्दैथियो भन्दिनू होला
हर्कबहादुरलाई सोधिदिनुहोला
उसले अचेल सपना देख्छ कि देख्दैन ।।


पद्य कविता: असमानता  / निर बहादुर भण्डारी 
ति बिगत हरु, 
अल्प शिक्षित र अशिक्षित हरुको माहौल
जुन अल्प शिक्षित हरुको मुठ्ठिमा कैद थियो ।
अन्ध विश्वास माथिको चरम विश्वास
अनि आध्यात्मिक आस्था भित्रको निर्मित समाज
अज्ञात भविष्य माथिको चरम विश्वास
लैङ्गीक आधारमा प्राथमिकता
जहाँ नारी,पुरुष बिचको चरम विभेद
अनि पुरुष प्रधान सामाजिक बिधान
त्यो अंधविश्वासको दलदल भित्रको समाज
नारी माथिका असंख्य बंदेजहरु
पुरुष प्रति प्रयाप्त स्वतन्त्रता
आधारभुत हस्तक्षेप र भिन्नता
एउटा अन्यौल यथार्थ भित्र को कटु सत्य थियो ।
विगत का ति अतित हरु


राजा पुनियानी

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

शृंखला कविता: संङ्कल्प / निर बहादुर भण्डारी । - 2017-03-28

संङ्कल्प १ 
एउटा साँघुरो कोठाको परिधि भित्र,
कुप्पीको ढुलमुले प्रकाश मा,
आफ्ना भावना का विस्कुन हरु,
प्रतिबिम्बित भै रहेको त्यो कालो क्षण,
बाहिरी सन्नाटा झ्याउंकिरि का,

शृंखला कविता: हर्कबहादुर / राजा पुनियानी । - 2017-03-28

हर्कबहादुर १

आफ्नो जागित्रे रहर नथामे पनि
आफ्नो हरामी संसार नथामे पनि
आफ्नो गाथको भाग नथामे पनि
आफ्नो मान्छेको अपेक्षा नथामे पनि
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245394 Times Visited.

Powered by: Exclusively Solution
Top
Content