+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


निबन्ध


आँधी नआउने घर
बेलुका धाम्मधुम्म भएको थियो । आकाश मल्याकमिलिक गर्दै थियो । गड्याङगुडुङ पनि गरिरहेको थियो । दिनभरिको गर्मी सम्झिँदा त आँधी नै आउला झैं लागेको थियो । तर, राति एघार बजेसम्म पनि आकाश आन्दोलित मात्र थियो, वर्षिन सकेको थिएन ।

बिहान उठेर हेरेँ, चारैतिर विनाश भएको छ । आँखाले भ्याएसम्म सबैतिर बोटविरुवा ढलेका छन्, कहाँ-कहाँदेखि उडाएर ल्याएका टिनका पाताहरु बाटाभरि छरिएका छन् । हाम्रातिर हुँदै नभएका पातपतिङ्गरहरु पनि छरपस्ट छन् । अलिक परको सुकुम्वासी टोलका छाप्राका छानाहरु एउटै छैनन् । बिजुलीबत्ती बन्द छ, टेलिफोन डेड छ । रुख ढलेर बाटो अवरुद्ध छ ।

अचम्मित भएँ म । मलाई अर्कै संसारमा ब्युँझे झैं लाग्यो । बेलुका केही भएको थिएन, सुत्ने बेलासम्ममा पनि खासै चालचुल थिएन, तर बिहान यस्तो भइसकेको थियो । एक किसिमले ठूलै क्षति भएको थियो । बिल्लीबाठ भएका थिए कति घर-परिवार । रोइरहेका थिए आइमाई र केटाकेटीहरु । कति मानिस गालामा हात लगाएर टोलाइरहेका थिए । केही घरमा त मानिसहरु थिचिएछन् पनि । कसैका शरीरमा चोटहरु पनि थिए ।

६ बजेको कञ्चनजङ्घा एफएमले समाचार प्रसारण गर्न थालेपछि त झन् धेरै विनाशका खबरहरु सुनिए ।

म अलमल्ल भएँ, टोलाएँ, छक्क परेँ । केही बोल्न सकिनँ, अकमक्क परेँ । आफ्नो घरलाई हेरेँ, केही भएको थिएन । कोठेबारीमा पनि खासै विनाश भएनछ । आफ्नामा केही विनाश भएको थिएन, तर मन भने त्यसै कस्तो-कस्तो भएर आयो । भावुकता गाँठो परेर आयो, आफैंलाई आफू अप्ठ्यारो भए झैं लाग्यो ।

फागुन लागेदेखि नै आँधी आउने गर्थ्यो, मिसिएर पानी पनि आउँथ्यो । संसारै अन्धकार पार्दै, ठूलो शब्द गर्दै प्राय: पश्चिमतिरबाट आइरहन्थ्यो आँधी । हेर्दाहेर्दै चारैतिर अन्धकार हुन्थ्यो । केहीबेर सुनसान हुन्थ्यो, चराहरु कराउन छोड्थे, वस्तुहरु गोठतिर भाग्दै आउँथे । हावा पनि उभिएको जस्तो लाग्थ्यो । भुरा, केटाकेटी, खेतालागोठाला, यात्री, पैदली सबै जना सुरक्षाको खोजीमा घरतिर लाग्थे ।

कहिले बिहानै, कहिले दिउँसोपख, कहिले साँझ वा राति, जुनसुकै बेला पनि आउँथ्यो त्यो । निश्चित समय थिएन त्यसको । आएर गइसकेपछि मानिसहरु भेला हुन्थे र विनाशको अनुमान गर्थे । कोही यसपालि त्यति ठूलो आएन भन्थे, कोही अस्तिको भन्दा विनाशकारी भयो भन्थे । त्यसका बारेमा फेरि अर्को आँधी नआएसम्म मिमांसा भइरहन्थ्यो ।

सातपत्रेमा घर थियो हाम्रो । दुई बिघा जग्गाको माझमा घर थियो । वरिपरि अरु कसैका घर थिएनन् । एकान्तमा थियौं हामी । दहीझोडातिरबाट आउन लागेको आँधी पनि टाढैबाट देखिन्थ्यो, कालिकास्थानतिरबाट आउन लागेको आँधी पनि पहिल्यै थाहा पाइन्थ्यो ।

होचा खाँबा, सन्ठीको टाटी, फुसको छानो भएको घर हुन्थ्यो, त्यसैको एकापट्टि पाली गाँसेर बस्तु बाँधेको हुन्थ्यो । एक कुनामा भात पकाइन्थ्यो र अर्को कुनामा सुतिन्थ्यो । खासै सरसामान नभएकाले घर साँगुरो हुँदैनथ्यो । टुकीको मधुरो उज्यालोमा लेखपढ र अन्य कामहरु गरिन्थ्यो । सानो हावाले नै घर घरीघरी टुकी निभाइदिन्थ्यो, पढ्न सधैं गाह्रो हुन्थ्यो । कैयौंपल्ट लालटिन किनिमाग्थेँ म बुबासँग, तर लालटिन कहिल्यै आएन हाम्रो घरमा ।

फागुन लागेपछि जेठसम्म नै झण्डै-झण्डै हप्तैपिच्छे जस्तो आँधी आइरहने । पानी पनि उस्तै बौलाहा तालले आउँथ्यो । घरलाई आँधीबाट बचाउन जहिले पनि हामीले ठूलो सङ्घर्ष गर्नुपर्थ्यो । प्राय: आँधीले घर नउडाएको, पाली नखसाएको र छानो नउदारेको कुनै वर्षै हुँदैनथ्यो । प्रत्येक दुई वर्षमा हामीले नयाँ घर बनाइरहनुपर्थ्यो । तिनै पुराना खाँबा उखेलेर छेउमा सार्थ्यौं हामी । ठाउँ सारे पनि काठपात नयाँ हुँदैनथे ।

पुरानै बाँसका डाँडाभाटा, पुरानै बलो, पुरानै कर्चीलाई नयाँ चोया, डोरीले कस्ने काम मात्र हुन्थ्यो । पुरानो सन्ठी मकाइसकेको हुन्थ्यो, टाटी पनि नयाँ सन्ठीको बनाइन्नथ्यो । सन्ठीको टाटीमा गोबर र माटाले लिपेर भित्तो बनाइन्थ्यो । सन्ठी आफैंमा कति नै दह्रो हुन्थ्यो र ? त्यसलाई पनि माटो र गोबरको भारी बोकाइएको हुन्थ्यो । सम्झन्छु, त्यो टाटी मनको अडेसो मात्र थियो, दह्रोको लागि थिएन त्यो त्यहाँ ।

जब आँधी आउँथ्यो हामी छानाको दुई छेउतिर उभिएर झुण्डिन्थ्यौं । एकातिर आमा झुण्डिनुहुन्थ्यो, अर्कोतिर म र बहिनीहरु । बुबा अपाङ्ग भएकाले यो लडाइँ लड्नुहुन्नथ्यो । कहिले त छानोसँगै हामीलाई पनि हुत्तहुत्त पारेर अलिकति उचाल्थ्यो आँधीले । नाकमुखबाट एकैचोटि भित्र पसेर निसासिने बनाउँथ्यो । अँध्यारोमा धेरैबेरसम्म आँधी र पानीसँग जुधेर गलिसकेका हुन्थ्यौं हामी । जब बिस्तारै आँधी थामिँदै जान्थ्यो, मन पनि शान्त हुँदै आउँथ्यो ।

आँधीबाट घर जोगाउने लडाइँमा व्यस्त भएका हामीले पानीबाट लुगाफाटो र अरु कुरा जोगाउन सक्दैनथ्यौं । आँधी रोकिएपछि पानीले हिलै भएको घरमा लुगाफाटा सबै भिजेर ल्याफ्फै भएका हुन्थे । टुकीको मट्टितेल पानी मिसिएर नबल्ने भएको हुन्थ्यो । दाउरा सल्किन मान्दैनथे । भरेसम्म नै छानाबाट तप्प-तप्प धमिलो पानी झरिरहन्थ्यो ।

धेरैजसो यस्तो रात हामी भोकै सुत्थ्यौं । रातभरि भुँडी खाली भएर निद्रा लाग्दैनथ्यो । निद्रा नलागेरै होला, आमाबुबाहरु पनि के-के, के-के सल्लाह गरिरहनुहुन्थ्यो । उहाँहरु कुरैकुरामा कुनै बेला बाझेको जस्तो, कुनै बेला जिस्केको जस्तो गर्नुहुन्थ्यो । तर, त्यो आँधीले दिएको दुःखसँग भने त्यति पिरोलिएको जस्तो लाग्दैनथ्यो । भोलिपल्ट बिहान सहज भइसकेको हुन्थ्यो । आकाश छङ्ग उघ्रिएको, चारैतिर उज्यालो र सफा देखिन्थ्यो । आँधीले लडाएका बोटविरुवा उठाउने, थन्क्याउने वा काट्ने, फाँड्ने काममा लागेका हुन्थे मानिसहरु ।

प्राय: सबैका केही न केही विनाश भएकै हुन्थे । परको सतार गाउँ पनि छाप्रा मिलाउन धमाधममा लागेको हुन्थ्यो । बिहानै बुबा बिग्रिएको छानो टाल्न टाउके सतारलाई बोलाउन जानुहुन्थ्यो अनि ऊ आफ्नो छानो त्यत्तिकै छोडेर हाम्रा छानामा चढिरहेको हुन्थ्यो ।

पर बराल बा, पटवारी बा, तल आइजी बा, माथि मुजुरे काकीहरुका घर जस्ताका तस्तै हुन्थे । ती घरमा खासै चालचुल देखिँदैनथ्यो । दिउँसो बजारतिर पनि मानिसहरुले रातभरि चलेको आँधीको चर्चा गरेको सुनिँदैनथ्यो ।

मलाई अचम्म लाग्थ्यो, त्यत्रो आँधी आयो रातभरि तर उनीहरुलाई त्यसको वास्तै छैन । झण्डै घरै उडाएको हाम्रो ! हामी सबै छानामा झुण्डिएर पो त ! आमाले बुबासँग कुरा गरेको सुन्थ्यौं– ‘यो आँधी पनि हाम्रै घर मात्र उडाउन आउँछ कि के हो जहिले पनि ! अरु कसैको घर उडेको देखिँदैन ।’

बुबा भन्नुहुन्थ्यो- ‘हाम्रो घर एकान्त र खुला ठाउँमा छ । वरिपरि रुखपात, वनजङ्गल छैन । हावाको वेग कम गर्ने, त्यसलाई छेक्ने कुरा पनि छैन । फेरि हाम्रो घर कमजोर पनि छ । अब अर्को वर्ष चाहिँ दह्रा खाँबाखुट्टी गाडेर, बिमबटम कसेर बनाउने । छानो र टाटी पराल र सन्ठीकै भए पनि खम्बा र बिमबटम चाहिँ दह्रै हाल्नुपर्छ ।’

त्यो निर्णय सुनेर मन प्रसन्न हुन्थ्यो । अब अर्को वर्ष त आँधी आयो भने पनि छानामा झुण्डिनु पर्दैन । पटवारी बाका घरका मानिसहरु जस्तै मस्ते सुत्न पाइन्छ, तर अर्को वर्ष पनि फागुन नजाँदैदेखि सुरु भइसक्थ्यो आँधी । झुण्डिन थालिसकेका हुन्थ्यौं हामी ।

हाम्रो घर उडाएको भोलिपल्ट पनि म सञ्जीवसँग उनको घर गएको हुन्थेँ । त्यहाँ त्यो पक्की घर कहीँ हलचल नगरी, चुपचाप भलादमी भएर बसिरहेको हुन्थ्यो । त्यहाँ रातिको आँधीको कुरा कसैले गरिरहेका हुँदैनथे । यस्तै, घरमा आँधी, असिना, पानी आउँदा पनि चुपचाप थाहै नपाएर निदाउन पाए कस्तो हुन्थ्यो होला भन्ने लागिरहन्थ्यो मनमा ।

तर, त्यस्तो घर हुनु, त्यस्तो आरामले सुत्न पाउनु, यस जीवनमा असम्भव थियो सोच्नु । कस्तै ठूलो परिवर्तन आए पनि त्यस्तो पक्की घर बनाएर बस्न सकिने सम्भावना थिएन । धेरै भए एउटा च्यादर ठोकेको घर हुन सक्ला तर आँधी र पानीमा त्यो पनि कम्ती कराउँछ त ? कसरी थाहै नभए झैं निदाउन सकिन्छ र झन् च्यादरको घरमा । सानो पानीको थोपाले पनि ठूलो हल्ला गर्ने पुलपुलिएको बालक जस्तो हुन्छ त्यो त झन् । झन् सुत्न पाइन्न, तर पानी तर्काउन सक्छ त्यसले । बिमबटम गर्नुपर्ने हुनाले सानोतिनो हावामा आत्तिँदैन त्यो, भन्ने चाहिँ लागिरहन्थ्यो ।

सातपत्रेको बाह्र वर्षे बसाइमा एघार पल्ट घर बनायौं हामीले । अन्तिम पल्टको घर त आगै लाग्यो ।

आज बिहान म धेरै भावुक भएँ । जब बिहान उठेर चारैतिर हेरेँ आँधीले गरेको विनाश र रातभरिको त्यो ताण्डव थाहा नपाएको आफूले, मन त्यसै कस्तो-कस्तो भयो । पर-परसम्म हेरेँ, अधिकांश झुप्रा घरका छानाहरु छैनन्, भुराहरु तिनै घरका वरिपरि लुटुपुटु गरेका देखिन्छन् । कसैका हलुङ्गेका भाँडाहरु पनि उडाएर पर-परसम्म पुर्‍याइदिएछ, बटुलेर ल्याउँदै छन् । भिजेका पुराना सिरक-डसना र धुसाहरु घाममा सुकाउन खोज्दै छन् । बरण्डामा उभिएर बाटातिर हेरिरहेको मलाई हनुमानेले नमस्कार गर्दै आफ्नो ठेला उभ्याएर भन्यो-

– ‘मालिक ! आज त धन्न बाँचियो । बकैनाको हाँगो भाँचिएर छानामै खस्यो । मरिएछ आज चाहिँ भनेको । कसोकसो भएर घर चाहिँ थामियो । संसारै हल्लियो नि हजुर !’

‘ए !’

मैले अरु बढ्ता केही भन्न सकिनँ ।

उसले थप्यो-

– ‘अचेल त मालिक पनि सर भइहाल्यो । ठूलो घर बनाएको छ । सिमन्टीको घर बनाएको छ । आँधी, पानी केही थाहा पाउँदैन । गोपाल मालिकको जस्तै केही थाहा नपाउने भयो हाम्रो मालिक पनि । तर, पहिला-पहिला त तपाईंहरुको घर पनि कति उडाउँथ्यो हावाले । हामीले नै कतिपल्ट बनाइदिएको थिएँ । तपाईंलाई सम्झना छैन, तपाईं सानो थियो ।’

म केही बोल्न सकिनँ । ऊ बिस्तारै ठेला ठेल्दै गयो ।

किन सम्झना छैन मलाई । मलाई सबै सम्झना छ । भोकभोकै सुतेको, भीख मागेर खाएको, घाँस बेचेको, दाउरा बेचेको, चोरेको सब थाहा छ मलाई । मलाई आँधीहुरी, असिना थाहा छ, पानीझरी र फूलमतीको बगर थाहा छ । दहीझोडा जङ्गलका एक-एक रुखहरुको गन्ती थाहा छ । अभाव र गरिबीका बीच आफन्त र परचक्रीको व्यवहार थाहा छ । भोक र भोजनको महत्व थाहा छ । सब थाहा छ मलाई हनुमाने बा ! सब थाहा छ मलाई ।

आज मैले दुईतले पक्की घर बनाएको छु, त्यसैको दक्षिण मोहोडाको बरण्डामा उभिएर तिम्रा कुरा सुनिरहेको छु, थाहा नपाउने जस्तो देखिएको छु । तर, मलाई यो घर मेरो हो जस्तो लाग्दैन । यो म बस्ने घर जस्तो लाग्दैन । मेरो वर्गले बस्ने घर जस्तो लाग्दैन हनुमाने बा ! आज पनि मलाई ती झुप्रा घरहरुको माया लाग्छ । लाज, घिन, डर सबै अनुपस्थित रहेको र बाँच्नुकै युद्धमा द्वन्द्वरत त्यही जीवन मलाई प्रिय लाग्छ ।

रातभरि चलेको आँधी थाहा नपाई सुत्न पाउने चाहना पूरा भएको आजको यो दिन, तर ठेलावाल हनुमानेको छानो उडिरहेकै छ । टाउके सतार आँगनको डिलमा बसेको छ, आफ्नै उडेको छानो हेरेर । परको सुकुम्वासी टोल उस्तै आतङ्कित छ, भुराहरु निरीह र उदास छन् । स्कूल जाने सबै किताब भिजेका छन् तिनका ।

यत्रो वर्ष बित्यो, कति परिवर्तन आयो देशमा । आँधीमा छानामा झुण्डिने १२/१३ वर्षको म आज ४६ वर्षको भइसकेँ । मेरा पुस्ताका सबै साथीहरु के-के भइसके । ठूलाठूला राजनीतिक आन्दोलन र परिवर्तनहरु आए । जनताका पक्षमा काम गर्छु भन्ने नेता, पार्टी र सिद्धान्तहरु सत्तासीन भए । संसद्‌बाट कत्रा-कत्रा घोषणाहरु भए । कहिले देश गरिबसँग विश्वेश्वर भयो, कहिले आफ्नो गाउँ आफैं बनाऔं भयो । गणेशमान शान्ति अभियान आयो । मदन-आश्रित सपनाहरु पनि छरिए । राजाका गीत त कति सय वर्ष गायो-गायो देशले, तर आँधीमा उडिरहेका झुपरपट्टीहरु उडिरहेकै छन् । नाङ्गो र भोको सानो कृष्णप्रसाद आज पनि झुपडीहरुमा टोलाइरहेकै छ ।

मैले पढेर, संयोगले बैंकमा जागिर पाएर, सुविधाले घर बनाएर आँधी थाहा नपाउँदैमा यो देशका सारा जनताका छानाले तारा छेलेका छन् र ? यो देशका भोकाहरुले खान पाएका छन् र ? कति बालकहरु फुटपाथमा त्यत्तिकै जुठोपुरो टिपिरहेका छन् । सभ्यताको कति नै बखान गर्ने एनजीओहरुले आकाशे तथ्याङ्क बाँड्दैमा यहाँ गरिबीको रेखाचित्र मेटिएको छ र ?

मलाई डर लागिरहेको छ, कहीँ मैले यो घरमा बस्दाबस्दै आँधी हुरी थाहा नपाए झैं भोक, जाडो र नाङ्गो बिर्सुंला, अनिकाल, महँगी र रोग बिर्सुंला । हातका ठेला, फुटेका कुर्कुच्चा र गानोगोला बिर्सुंला । रोगले अशक्त भएर उपचार गर्न नसकी ४८ वर्षकै उमेरमा मरेका मेरा पिताजीलाई बिर्सुंला । जिन्दगीभरि चुर र सब्जी बेचेर आधा पेट सङ्घर्ष गरेकी मेरी आमालाई रगत छाद्दै मरेको दृश्य बिर्सुंला ।

बिर्सन मन त लाग्दो रहेछ सम्पन्नताको सङ्गत पाएपछि । माथि चढ्दै गएपछि तल टेक्न नपरेपछि, बिर्संदै जान सकिँदो रहेछ सजिलै । आज झलझली देखिरहेको छु देशका महत्वपूर्ण जिम्मेवारीमा पुगेका मानिसहरु आफू आएको धरातल बिर्सिरहेका छन् । बुर्जुवा वर्गको त के कुरा, सर्वहाराकै मसिहाहरु पनि महलको छतमा उभिएर आकाशतिर फर्की टोलाइरहेका छन् । नीति निर्माणको तहसम्म पुगेर पनि सर्वहाराको तौल गरिरहेछन् छटाङ र पावाको दरमा ।

सम्पन्नताको विरोध गर्दिनँ म, गरिबीबाट मुक्तिको आन्दोलन छेड्नुपर्छ भन्छु अर्काको खोसेर, लुटेर धनी हुने सपना नदेख्नु भन्छु । सबैको रोजगारीको ग्यारेण्टी र श्रमको मूल्य तोक्नु भन्छु । प्रतिस्पर्धाको मैदान खुला राखेर, दौडमा भाग लिने प्रत्येकलाई पुरस्कृत गर्नुपर्छ भन्छु । प्रत्येकको निद्रामा आरामदायी सपना होस्, ऐंठनको आतङ्कित ब्युँझाइ नहोस् भन्छु ।

आदर्शका सबै आख्यानहरु बन्द गरेर, यथार्थको आँगनमा उभिनुपर्छ अब । अब महलका छतबाट पनि मैदान देख्ने आँखाहरु रच्नुपर्छ । देश बनाउने सपना बोक्ने होइन, यथार्थका नैतिक झम्पलहरु मच्चाउनुपर्छ । धेरै भयो फेन्टास्टिक विकासे सपना बेचेको, अब मूल्यको युग उभ्याउनुपर्छ । रुमानी भावुकताको तहबाट माथि उठेर वस्तुताको बोध गर्नुपर्छ ।

खबरदारीको यस वर्तमानमा मैले आफैंलाई खबरदारी गर्नुपर्ने ठानेँ । आफैंलाई बिर्सिन लागेको देखेर आफैंलाई चिमोट्नुपर्ने पाएँ । ती प्रत्येक आँधी र पानी नआउने घरहरुले आँधी र पानी परेको रातलाई बोध नगरेसम्म समाज र देशमा यो छानो उड्ने बिहानको आगमन रोकिन सक्दैन । भौतिक आँधीले घर नहल्लाई घर नहल्लओस्, तर बौद्धिक आँधीले चेतनालाई झकझक्याउनुपर्छ ।

म देखिरहेको छु –

आँधी नआउने यी घरहरुले यदि आँधीलाई बुझेनन् भने ती आँधीले उडाएका झुप्राहरु स्वयं आँधी हुनेछन् र तिनले उडाउनेछन् यी आँधीले नउडेका घरका छतहरु ।

आँधी नआउने घरहरु ! आँधीलाई चिनौं । समाजमा, मानिसको अनुहारमा बालकको निधारमा, भोकी गर्भवती महिलाको पेटमा, सडकछाप बालकको हत्केलामा जुन आँधी आउनुअघिको अन्धकार सङ्गठित हुँदै छ, त्यसलाई चिनौं । त्यहाँ बटारिँदै गरेको विद्रोहको म्याग्मा कुनै पनि बेला फुट्नेछ, प्रत्येक व्यक्तिको मुख नै क्रेटर बनेर ।

मैले आफूलाई आँधी आउनुअघिको अँध्यारो र सुनसान क्षणमा उभिएको देखेको छु । कतापट्टि छानोमा झुण्डिनु हो मैले, म अन्योलमा छु ।


-कृष्ण धरावासी 'आँधी नआउने घर' (०६७) निबन्धसङ्ग्रबाट ।

आइमाई साथी
कहिल्यै निष्क्रिय भएर नबस्ने मानिसले मनले कस्ता-कस्ता असम्भव कुराको त कल्पना गर्छ भने आफ्ना साथीहरु को-को छन् भन्ने विचार उठ्नुमा कुनै अस्वाभाविकता थिएन । यही साधारण कुरा एकदिन मेरो मनमा पनि उब्जियो । मैले आफ्ना सबैजसो साथीहरुलाई सम्झिहेरेँ ।

सकेसम्म बल गरी सम्झँदा पनि आफ्ना आइमाई साथीहरुको संख्या सयकडा पाँचसम्म पनि पुग्न सकेन अर्थात् सय जना साथीमध्ये पञ्चानब्बेभन्दा पनि बढी मेरा साथीहरुमध्ये धेरै जना लोग्नेमानिस नै हुनु अस्वाभाविक थिएन ।तर, स्वास्नीमानिस साथीहरुको संख्या त्यस्तो विघ्न कम देख्ता भने मलाई साह्रै बेमज्जा लाग्यो । हुन त स्वास्नीमानिसलाई हेला गर्ने र पुरुषलाई प्रधानता दिने हाम्रो समाजमा जोसुकै लोग्नेमानिसको पनि स्वास्नीमान्छे साथीहरुको संख्या साह्रै कम हुन्छ, तैपनि आफ्ना आइमाई साथीहरुको संख्या हुनसम्म थोरै देख्ता हाम्रो समाजभरिमा सबभन्दा थोरै जना आइमाई साथीहरु भएको लोग्नेमानिस म नै हुँ कि जस्तो मलाई लाग्यो ।

साहित्य र राजनीतितर्फ लागी सामाजिक क्षेत्रमा चलेको अलि वर्ष बितिसकेकोले आइमाई साथी यतिविघ्न थोरै देख्ता मेरो मनमा झन् ज्यास्ती बिझ्यो किनभने नारीलाई नरकको मूलढोका नठान्ने र जीवनको सबैजसो क्षेत्रमा स्त्री-पुरुषको बराबर हक हुनुपर्छ भन्ने एवं पछौटे देशका आइमाईलाई घर नाउँको झ्यालखानाभित्र थुनिरहन नदिई सामाजिक क्षेत्रमा समेत लम्कन हौस्याउनेहरु साहित्य तथा राजनीति आदितर्फ लागेका आधुनिक युवकहरु नै हुन् । यस किसिमको कामको निम्ति महिलाहरुको सम्पर्कमा रहने गर्नु र उनीहरुमध्ये सकेसम्म बढी जनालाई आफ्नो मित्र बनाउन जरुरी समेत छ ।

सारा स्वास्नीमानिसहरुका बीचमा साहित्य र राजनीति जस्ता विषयहरु घुसाउन धेरै उन्नति भइसकेका मुलुकमा समेत स्वास्नीमानिस विशेषज्ञबाट जस्तो सजिलो लोग्नेमानिसहरुबाट हुँदैन भने महिला कार्यकर्ताहरुको ठूलो जमात खडा नपारेसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मधेस, पर्वत र उपत्यकामा फिँजिएका नेपालका साधारण नारीहरुमा जागृतिको लहर ल्याउन कसरी सकिएला ? अहिले पनि र भरे पनि समाजमा परिवर्तन तथा उन्नति ल्याउन खोज्ने साहित्य, शिक्षा र राजनीति आदि विभिन्न क्षेत्रका हामी लोग्नेमानिसहरुलाई देशको व्यापक नारीसमूहमा पुग्न आफ्ना आइमाई साथीहरुको सहयोग नै विशेष महत्त्व देखिन्छ ।

आइमाई साथीको महत्त्व र तिनको आवश्यकताबारे मैले जे-जस्तो र जतिसुकै विश्लेषण गरे पनि मेरा आइमाई साथीहरु भने अल्पतम संख्यामा हुनु मेरो निम्ति कठोर यथार्थता थियो । त्यसैले मैले बर्ता विश्लेषण मात्र नगरिरहेर अथवा फिक्री लिनपट्टि नलागेर आइमाई साथी बढाउन थाल्ने निधो गरेँ । साथीको मेरो अभिप्राय हो- सकभर धेरै अंशमा अथवा धेरै अंशमा नभए पनि दुई थरीका कुरा र उमेर समेत मिल्दो हुनु तथा हिमचिम हुनु ।

मानिस बेला-बेलामा अनेक किसिमका अठोटहरु गर्छ, तिनमध्ये धेरैजसो अठोट परिस्थितिको प्रतिकूलता र साधनको अभावले गर्दा क्रियान्वित हुन पाउँदैनन् । व्यक्तिका कतिचाहिँ नीच मार्ने बानी जस्ता आफ्नै दुर्बलताले गर्दा पनि त्यसै सेलाएर जान्छन् । आइमाई साथी बढाउने मेरो संकल्पलाई परिस्थितिजन्य बाधाले छेके पनि, यी बाधाको प्रभाव, उत्साह जस्ता भित्री प्रवृत्तिउपर समेत पर्ने भए पनि यस प्रयत्नमा भने उति शिथिलता आउन सकेन, किनभने एक त यहाँ नारी-पुरुषमा एक-दोस्राप्रति हुने स्वाभाविक आकर्षण त्यसै पनि सहायक झैं थियो; उसमाथि आफू उमेरदार पनि ।

तिनताक मेरो डेरा शहर नजिकैको गाउँमा थियो । आफ्नो कामको निम्ति मैले नित्य शहर जानुपर्थ्यो । मेरा छिमेकमा एक जना आइमाई मेरै उमेरकी थिइन् । उनी पनि किनमेल र आफ्ना इष्टमित्रसँग भेटघाट गर्न दिनहुँ भनेजस्तो शहर जाने गर्थिन् । म भर्खर त्यस गाउँमा बस्न गएकोले त्यहाँका सबैजसो मानिस मेरा निम्ति नौला थिए । यी आइमाई भने छिमेकी हुनाले कहिलेकाहीँ बोलचालसम्म हुन्थ्यो । एकदिन उनी शहर जाने बेला पारेर म पनि हिँडेँ । सधैं एक्लै भनेजसो हिँड्नुपर्ने हामी दुवै थरीलाई त्यस दिन कुरा गर्दै शहर जान पाउँदा बाटो काटेको पत्तै भएन- मानौं आँखा एकचोटि झिम्म होउञ्जेलमै हामी गाउँबाट शहर पुगिहाल्यौं ।

शहरबाट फर्कंदा प्राय: घाम डुब्ने बेला हुन्थ्यो र कहिलेकाहीँ त झमक्कै साँझ पनि परिहाल्थ्यो । घर आइपुग्ने बेलामा अलिकता बाटो डरलाग्दो खालको थियो । शहर पुगेपछि केही असहजिलो माने झैं गरी भरे पनि सँगै फर्कंदा पाए हुन्थ्यो भन्ने कुरा उनले चुहाइन् । साँझमा हामी सँगै फर्क्यौं पनि । फर्कंदा मैले अबदेखि शहर जाँदा-आउँदा सकभर सँगै जाने-आउने कुरा चलाएँ । अनि त्यस्तै हुन थाल्यो । मैले एक जना आइमाई साथी छिटै बनाइहालेँ ।

अलि दिनसम्म बाटो हिँड्दाका साथी अब हामी घरका पनि साथी भयौं । उनी मकहाँ आउने गर्थिन्, म उनीकहाँ जाने गर्थेँ । कहिले उनी मलाई डाकेर खाजा ख्वाउँथिन्, कहिले म उनीलाई बोलाएर ख्वाउँथेँ । दुई घरमध्ये एउटामा कुनै नौलो तरकारी पाक्यो भने दुवै थरीका मुखमा पर्थ्यो । उनी घरको कामधन्धा सिध्याएपछि बुन्ने वा बुट्टा भर्ने काम लिएर हामीकहाँ आई बस्थिन् । म आफ्ना कथा-निबन्ध आदि रचना तयार भएमा उनलाई सुनाउँथेँ । यसरी हाम्रो हिमचिम बढिरहेको थियो ।

हाम्रो मित्रता समाजलाई रुचेन । मानिसहरुले प्रशस्त कुरा काट्न थाले । अरुले कुरा काटे भन्दैमा परस्परको मित्रता तोड्नु रुढिवादी विचारको अघिल्तिर घुँडा टेक्नु हुन जान्थ्यो । यहाँ समाजसँग टेक लिनु मात्र थिएन, असल कुरामा टेक लिनु पनि थियो । तर, यस मित्रताको रुप यसैगरी खुला राख्छौं भनी अड्डी लिन पनि बुद्धिले मानेन, किनभने हाम्रो विचार असल भईकन पनि हामी निर्धा थियौं । संसारमा राम्रो विचार लिएर मात्रै पुग्दैन, राम्रो विचारको साथसाथै बलको पनि आवश्यकता पर्छ । रुख हुनुभन्दा अगिको विरुवालाई जोगाएर राख्नु जरुरी भए जस्तै असल विचारमा लाग्नेहरुले पनि बल नपुगुञ्जेल दबेर नबसी सुखै छैन, हामीले घरमा उस्तो नभेट्ने र बाहिर सँगै निस्किन पनि छाड्ने निधो गर्‍यौं ।

बाहिर देख्ता हाम्रो मित्रता अगिको भन्दा निकै घटिसकेको थियो । त्यसैले कुरा काट्नेहरु पनि अलि मत्थर भएर गए, तर हाम्रो मित्रता भने झन्-झन् दृढ हुँदै गइरहेको थियो । हामी दिनहुँ भनेजस्तो अगि-पछि पारेर गाउँबाट निकै पर-पर पुग्थ्यौं र घण्टौंसम्म बात मारेर बस्थ्यौं । यसरी समाजको आँखा छली कुनै नारीसँग मितेरी बढाउँदै जानुमा मैले कुनै अनैतिकता देखिनँ । आफूले खुला रुपबाट मैत्री सम्बन्ध राख्दा चाहँदा-चाहँदै पनि समाज असहिष्णु भई त्यसलाई लुकाउन बाध्य पार्छ भने यसको निम्ति मितेरी बढाउन खोज्ने स्त्री-पुरुष दोषी नभई मैत्री र सद्भावना जस्ता राम्रा कुरालाई हुर्कन नदिने समाज नै अपराधी हो भन्ने विचारमा म आज पनि दृढ छु ।

तर, परिस्थितिले पारेको त्यस्तो गोप्य किसिमको मैत्री अनैतिक नभए पनि जोखिमको कुरा त अवश्य नै हो । यसमा मुख्य दुई किसिमका जोखिम देखिन्छन्- एउटा त समय खेर जाला भन्ने, अर्कोचाहिँ एक-दोस्रालाई राम्ररी चिन्न नपाउँदै उनीहरुका बीचमा जोई-पोइको नाता जोरिन जाला भन्ने । अलि दिन समय खेर गइसकेपछि हामीलाई यस कुराको चेत आयो । हुन त हाम्रो कुराको विषय कहिल्यै नराम्रो रहेन । अझ ज्यादाजसो कुरा वर्तमान समाजका दुर्गुणहरुका बारेमा नै हुन्थ्यो । तर, ती कुरा असल भए पनि र असल कुरालाई वर्षौंसम्म दोहोर्‍याइरहे पनि कुराबाट मात्र त समाजका भनिनसक्ना दुर्गुणमध्ये एउटासम्म पनि हराएर जाने होइन । त्यसैले हामीले कामलाई समेत मित्रताको आधार बनाउने अठोट गर्‍यौं ।

मैले त्यस गाउँका निकै जना ठिटाहरुलाई पनि पढाउने काम भने बाँकी नै थियो । मैले आफ्नी साथीछेउ गाउँका ठिटाहरुलाई पनि पढाउने प्रस्ताव राखेँ । उनीलाई चाहिँ आफूले पढाउने र उनीबाट आफूले नेवारी भाषा सिक्ने कुरा पनि गरेँ । यसरी काम लिएपछि हाम्रो समय खेर जान कम हुँदै आयो । अर्को जोखिमबाट जोगिन एक-दुई जना अरु साथी पनि छिटै जोर्ने निधो गर्‍यौं । त्यसो भएको खण्डमा हामी दुई जनाले सधैं एकान्तमा भेट गर्नुपर्ने अवस्था रहन आउँदैनथ्यो । यस निर्णयको अलि दिनपछि नै शहरतिरको काम बढेकोले भ्याउन नसक्ता मैले गाउँको डेरा छाड्नुपर्‍यो । त्यसको अलि दिनपछि मेरी साथीको बिहे भयो र उनी पनि टाढाको अर्कै गाउँमा घरजम गर्न पुगिन् । हाम्रो भेट नभएकव अहिले धेरै समय बितिसक्यो, तर उनीसितको मित्रता सम्झँदा मलाई निकै आनन्द लागेर आउँछ र त्यसले आइमाई साथी बनाउने कुरामा मलाई प्रेरणा दिने गर्छ ।

बाटो हिँड्दा, रेल-मोटर चढ्दा र होटेल-रेष्टुराँहरुमा खाँदा, बस्ता वा अरु औसरमा हाम्रो कति यस्ता मानिसहरुसँग भेट-कुराकानी हुने गर्छ, जोसँगको केही छिनको मित्रता पनि चिरस्मरणीय विषय भएर हाम्रो स्मृतिपटमा अङ्कित हुनुपर्छ । कति जनासँगको त्यबेलाको मैत्रीपूर्ण कुराकानी पछिसम्म त सम्झिरहिन्न, तर त्यस दिन वा छिनको निम्ति मात्तै भने पनि त्यो साह्रै आनन्द दिने हुन्छ । यस किसिमको थोरै समयको मैत्री र सद्भावनापूर्ण कुराकानीले आनन्द लाग्ने मात्र होइन, स्वदेश-विदेशका घटनाहरु, राजनीति र विज्ञान, साहित्य, शिक्षा र धर्म आदि सांस्कृतिक विषय तथा दैनिक जीवनका अनेक समस्याहरु इत्यादि अनेक विषयमा हामीलाई विभिन्न दृष्टिकोण समेत थाहा हुन्छ र देशवासीहरुको बौद्धिक तहका साथै देशले कुन किसिमको कोल्टे फेर्न आँटिरहेछ भन्ने बुझ्न पनि धेरै मद्दत हुन्छ, तर हाम्रा नागरिक स्त्री-पुरुषहरुमध्ये दुवै थरीलाई एक-दोस्राको सम्पर्कमा आउन असजिलो वातावरण भएकोले माथि लेखे जस्तव आनन्द र ज्ञानबाट हामी ५० प्रतिशतभन्दा कम मात्रामा वञ्चित भएका छैनौं ।

समुद्रपारिका नारीहरुलाई साथी बनाउनु बरु सजिलो होला, तर आफ्नो देशका, आफ्नो शहर र गाउँका, आफ्नो टोल र छिमेकका आइमाईलाई धेरै गाह्रो पर्छ । तर, गाह्रो भन्दैमा राम्रो कामबाट पन्छिनु उचित कुरा होइन । त्यसैले आइमाई साथी बनाउन सकिने किसिमको औसर पर्दा म प्राय: पछि सर्ने गर्दिनँ ।

एकदिन मध्याह्नमा टुँडिखेलमा हिँडिरहेको बेलामा संयोगवश एक जना युवतीसँग भेट भयो । उनी पनि म जान लागेतिरै गइरहेकी थिइन् । उनीलाई मैले चिनेको थिइनँ । केही मिनेटसम्म सँगसँगै जस्तो हिँडिसकेपछि र उसले उसलाई अनेक पल्ट हेरिसकेपछि पनि हामीमा बोलचाल हुन सकेन । कहिले त मेरो मनमा लाग्यो, सँगसँगै हिँड्न आइपुगेकोले यिनले नराम्रो मानिन् कि ? यिनलाई उछिनेर अगि-अगि जानुपर्‍यो । कि अलि पछि नै हिँड्न छाडेर किन त्यस्तो कृत्रिम गति झिकिरहूँ ? बाटो हिँड्दा सँगै परियो भन्दैमा उनी नराम्रो मान्छिन् भने मेरो के बिराम ? फेरि उनीले त्यस्तो नराम्रो मानेकी पनि छैनन् कि ?

उनलाई अगि-अगि पार्ने विचार अस्वाभाविक लागेर आफ्नो मतामसा उनी सँगसँगै हिँडिरहेपछि परस्परमा बोलचाल नगर्नु पनि मलाई अस्वाभाविक नै लाग्यो । मानिस भएर पनि र मनमा बोल्ने इच्छा भएर पनि रबरका पुतलीहरु झैं त्यसरी चुप लागेर हिँडिरहँदा मलाई साह्रै उकुसमुकुस भएर आयो । त्यसरी बाटामा सँगसँगै हुन आइपुगेको मानिस पुरुष भएको भए एकछिनमै उनीसँग मेरा कति कुराकानी भइसक्ने थिए । तर, बाटाकी ती साथी नारी हुँदा एक वचन बोल्न पनि धकाउनुपर्ने अवस्थाको निम्ति मलाई आफ्नो समाजसँग औधी रिस उठ्यो, तर समाजका चित्त नबुझ्दा कुराहरुसँग कुपित भएर मात्र त स्वस्थ संस्कृतिको सिर्जना र विकास हुन सक्ने होइन । समाजको नवनिर्माण गर्न चाहने युवक-युवतीहरुले त मैत्री र सद्भावनायुक्त हुनाका साथै आँटी हुनु पनि साह्रै जरुरी छ ।

त्यस कारण, मैले जे परी-परी भन्ने इदमित्थंमा पुगेर सोधेँ- ‘होइन, तपाईं कहाँसम्म जानुहुने ?’

उनीले सहजै जवाफ दिइन्- ‘रेडियो स्टेशन । तपाईं नि ?’

‘म पुतलीसडकतिर जान लागेको । सिंहदरबारसम्म त तपाईंको साथी हुन आइपुगेछु’- मैले प्रत्युत्तरमा भनेँ ।

त्यसपछि सिंहदरबारको ढोकासम्म हामी बात मार्दै गयौं । मेरो तर्क-वितर्क सबै हराएर गए, मन नै हलौं भयो ।

बाटामा यस्ता एकछिने साथी सम्बन्धी मेरो अनुभवका अरु पक्ष पनि छन् । एकपल्ट बर्खायाममा म कुनै फाँटमा हिँडिरहेको थिएँ । साँझ पर्ने बेला भएको थियो र गाउँमा पुग्न पन्ध्र-बीस मिनेट अझै लम्कनुपर्थ्यो । एक्कासि बादल चुहिन थाल्यो र रुझाउने खालकै पानी पर्‍यो । मैले छाता उछारेँ, तर मभन्दा आठ-दस पाइलाअघि हिँडिरहेकी तरुनीसँग भने छाता वा घूम ओढ्ने केही थिएनन् । गाउँ नपुगी त्यस फाँटमा ओत लाग्ने ठाउँ पनि कहीँ थिएन ।

यहाँनिर आइमाई साथी बनाउने रहरको मात्र कुरा नभएर मानवताकै प्रश्न थियो । सँगसँगै हिँडिरहेका दुई जना बटुवामध्ये एउटाको छातामुनि ओत लाग्ने ठाउँ बाँकी हुँदाहुँदै पनि अर्कोचाहिँ बटुवा रुझिरहेको थियो । आगलागी, बाढी वा भुइँचालो जस्ता आपत्तिमा परेका मानिसको रक्षा गर्न सोधिरहनु नपरे झैं रुझिरहेकी ती आइमाई छाता ओढाउन म अलि लम्केँ । तर, उनीनिर पुगेपछि मैले झट्ट छाता ओढाइनहालेर शिष्टतापूर्वक निम्तो गरेँ- ‘छाता हुँदाहुँदै किन रुझ्नुहुन्छ ? आउनुहोस् ।’

तर, यसपल्ट मलाई रेडियो-गायिकाले दिए झैं सोझो जवाफ मिलेन । ‘चाहिँदैन हामीलाई कसैको छातासाता !’ भन्दै ती तरुनीले रिस, शंका र डर इत्यादि भावहरु मिसिएको जस्तो अनुहार लाइन्, तैपनि मैले दोहोर्‍याएर आग्रह गर्न बाँकी राखिनँ- ‘गाह्रो वा नराम्रो मान्नु पर्दैन । बरु गाउँ पस्ने बेलामा छुट्टिनुहोला । अहिले यसरी नभिज्नोस्, आउनोस् !’ कुनै जवाफ नदिई युवती झन् तड्किन थालिन् अनि मैले पनि आफूलाई पछि पार्नु नै उचित ठानेँ ।

त्यही फाँटमा केही दिनअगि त्यस्तै झरीको साँझ एक जना तन्नेरीलाई पनि छाता ओढाएको थिएँ । उनी मेरै गाउँ नजिकको अर्को गाउँमा बस्ने सिपाही रहेछन् र त्यस साँझ एक जना मन्त्रीज्यूको ढोकामा आफ्नो ड्युटी सिध्याएर फर्केका रहेछन् । मैले उनलाई उनको दैलोसम्म पुर्‍याइदिएको थिएँ र यस चिनारीले हामीलाई पछि पनि एक-दोस्राको साथी तुल्याएको थियो ।

यी दुई तुलनात्मक घटनाको सम्झना हुनासाथ मेरो मनमा स्त्री-पुरुषको सम्बन्धबारे अनेक किसिमका प्रश्नहरु उठ्छन् । जस्तै- छाता ओढाउन खोज्नु मेरै दोष हो अथवा त्यसबेला छाता ओढ्नुबाट दप्कनु ती ठिटीकै दुर्बलता हो ? म दोषी भए कति, कुन कारणले दोषी हुँ र ठिटीकै कमजोरी हो भने उनमा किन त्यस्तो कमजोरी आयो ? पुरुषको त्यस्तो निम्तोलाई स्वच्छ हृदयले स्वीकार गर्ने कैयन् नारीहरुले धोका खाएका छैनन् र ? के त्यसरी धोका दिनेहरु पनि समाजमा छैनन् ? यसरी स्त्री-पुरुष दुवै थरीमा धोका दिनेहरु छन् भने किन त ? यीमध्ये एक थरीले बढी धोका दिने गरेका छन् भने त्यसो पनि किन ? के सधैं यस्तै रहिरहनु उचित छ ? यस्तो रहिरहनु राम्रो होइन भने यो स्थितिलाई कसरी सपार्ने ? के आइमाई र लोग्नेमानिस एक-दोस्राबाट सकेसम्म टाढा राख्ने गर्नु नै सुधारको राम्रो उपाय हो ? त्यसै हो भने हाम्रो समाज किन सच्चरित्र र निष्ठावान् बन्न सकेन ? किन यहाँ पारस्परिक अविश्वास र दुर्भावना ? किन आत्मबलको अभाव ? यस्तो प्रश्न अनगन्ती छन् ।

स्वास्नीमान्छेलाई लोग्नेमान्छे र लोग्नेमानिसलाई स्वास्नीमानिस साथी बनाउन अप्ठ्यारो पार्ने एउटा ठूलो कारण सिद्धान्तलाई पूजा गर्ने हाम्रो बानी पनि हो अर्थात् हामी सिद्धान्तलाई व्यावहारिक रुप दिने प्रयत्न गर्नुको सट्टा त्यसको खालि गुन गाएर हिँड्छौं । हामी न्यायको माहात्म्य गाउँछौं, तर स्वयं अन्याय गर्नबाट पछि सर्दैनौं । हामी विश्वबन्धुत्व र देशभक्तिको बयान गर्छौं, तर खुद मानवताको विपरीत र देश भाँड्ने काम गरेर हिँड्छौं । हामी साम्प्रदायिकताको निन्दा गर्छौं, आर्थिक समानता र स्त्री-पुरुषको समानताको ओड लिन्छौं, तर आफैं साम्प्रदायिक भावना अनुसार चल्छौं, आफैं स्त्री-पुरुषको समानता र आर्थिक समानताको उल्टो हिँड्छौं । हाम्रा सबैजसो सिद्धान्त र व्यवहारमा यस्तै ठूला-ठूला विरोधाभासहरु देखिन्छन् । म अझ एक-दुई उदाहरण तेर्स्याउन चाहन्छु ।

अचेल म काठमाडौं शहरका सडक, गल्लीहरुमा हिँड्दा कहिलेकाहीँ केही त्यस्ता स्वास्नीमान्छेलाई पनि देख्छु, जसले मलाई लेखकको रुपमा चिनेका छन् र मप्रति तिनीहरुको कुनै किसिमको नराम्रो भावना छैन । तीमध्ये कति जनाको मलाई नाउँ पनि थाहा छ र कति जनालाई म अनुहारबाट मात्रै चिन्दछु । ती सबैप्रति हृदयमा पनि सद्भावना छ तथा म तिनीहरुसँग मैत्री सम्बन्ध राख्न चाहन्छु । कुनै समय तिनीहरुसँग मेरो दोहोरो कुराकानी भएथ्यो ।

तर, अहिले बाटामा भेटिँदा हामी एक-दोस्रा थरीसँग बोल्दैनौं, दुवै थरीका अनुहारबाट एक-दोस्रालाई चिनेको भाव झल्किरहन्छ, तापनि हामी नचिनेको मानिस अथवा चिनजान बिर्सिसकेका मानिस झैं गरी हिँड्छौं । यिनीहरुमध्ये धेरै जनालाई मैले काठमाडौंका हाइस्कूलहरुमा साहित्यसम्बन्धी प्रवचन दिन गएका बेलामा चिनेको हुँ । यीमध्ये एक जना छात्राले म त्यसबेला मधेसबाट आएको हुनाले मधेसका आइमाईहरुको अवस्था सोधेकी थिइन् र अर्कीले तराईमा स्त्रीशिक्षाको कत्तिको प्रचार छ भन्ने प्रश्न गरेकी थिइन्, अर्कीचाहिँले साहित्यसम्बन्धी एक-दुई प्रश्न सोधेकी थिइन् र अर्कीले मेरो भ्रमणका सम्बन्धमा चाख देखाएकी थिइन् ।

हाइस्कूलका यी छात्राहरु अहिले कलेजमा पुगेकाले मेरो मनमा यिनीहरुप्रति स्याबासी जनाउने विचार छ र दुई-अढाई वर्षअगि नै देशको विभिन्न भागमा आइमाईहरुको शैक्षिक अवस्था जान्न खोज्ने यी छात्राहरु अचेल के-कस्तो विचार गर्दा हुन्, उनीहरुसँग कुरा गरेर बुझ्न मलाई मन लाग्छ । तर, लोग्नेमानिस र आइमाईको बीचमा रहेको कालो पर्खालले हामीलाई परस्परमा बोलचाल गर्न र पुरानो सम्झना दोहोर्‍याउन ठूलो बाधा ठड्याइदिएको छ ।

यस्तो देख्दा मलाई स्कूल र कलेजभित्र पसी सारा पुस्तकहरु च्यातचुत पारी मिल्काउने मन लाग्छ । समानता र सद्भावनाका कुरा भएका हामी सबै दाजुभाइ-दिदीबहिनी हौं, परस्परमा एक-दोस्राप्रति सहृदयता तथा सद्भावना हुनुपर्छ भन्ने आशयका राम्रा-राम्रा शिक्षा भएका ती सारा पुस्तक-पुस्तिकाहरुलाई टुँडिखेलको माझमा थुपारी दुई-चार टङ्की मट्टितेल वा पेट्रोल खन्याई तिनमा आगो सल्काइदिन मन लाग्छ र तिनको सट्टा त्यस्ता नयाँ पाठ्यपुस्तकहरु तयार पार्ने भावना उम्लेर आउँछ, जुन पाठ्यपुस्तकमा प्रचलित व्यवहार र धारणा अनुसारकै कुरा रहून्, जसबाट प्रचलित जीवनमा काम नलाग्ने शिक्षा प्राप्त गर्नामा हाम्रा विद्यार्थीहरुले समय खेर फाल्न नपरोस् अर्थात् तिनमा ‘प्रत्येक स्त्री वेश्या र प्रत्येक पुरुष फुँडो हो, कसैले कसैप्रति सद्भावना राख्ने गर्नु हुन्न । चिनेका नर-नारी भेटिँदा दुई शब्द बोल्नु, नसम्ते वा यस्तै अन्य संकेतबाट परस्परमा स्वागत गर्न अथवा सुमसुम्याएर हामीले एक-दोस्रालाई बिर्सेका छैनौं भन्ने सद्भावना देखाउनु जस्ता काम व्यभिचार हुन्, प्रत्येक स्त्रीले पुरुषलाई देख्ता र पुरुषले स्त्रीलाई देख्ता अपराधीले झैं भुइँमा आँखा जोत्ने अथवा मुण्टो बटारेर हिँड्ने गर्नुपर्छ, मनुष्यत्त्व भनेकै यही हो, यस्तै सभ्यता र संस्कृतिबाट नै नेपालको विकास हुन सक्नेछ’ भन्ने खालका कुराहरु नरहून् ।

यो त चिनेका दुई-चार जना छात्राहरुले नचिने झैं गरी हिँड्दा वा हिँड्नुपर्दा ममा आउने भावना भयो । तर, मेरो यस्तो भावना त्यसबेला पराकाष्ठामा पुग्छ, जब म साहित्यिक, राजनीतिक र सामाजिक विभिन्न क्षेत्रमा काम गरिरहेका आफ्ना केही प्रगतिशील साथीहरुको एक-दुई व्यवहार सम्झन्छु । ती आइमाई र लोग्नेमानिसको निम्ति समानताको मात्र कुरा नगरेर नेपाल जस्तो मुलुकमा विकासको निम्ति पुरुषले भन्दा कम मौका पाइआएका नारीहरुलाई अगि बढाउन विशेष प्रोत्साहन दिने गर्नुपर्छ पनि भन्छन् । उन्नत देशहरुमा आइमाईको कति राम्रो अवस्था छ भन्ने विषयमा ती कुरैपिच्छे भने झैं अरुलाई व्याख्यान दिन सक्छन्, यस विषयमा घण्टौंसम्म भाषण गर्न सक्छन तथा लेख र पुस्तक-पुस्तिका लेख्न सक्छन् । तर, उनीहरुका घरमा धेरै पल्ट पुगियो, उनीहरुले कहिल्यै यी मेरी श्रीमती, यहाँ मेरी दी वा यी मेरी मेरी बहिनी हुन् भनेर चिनारी गराएनन् । आफूलाई भेट्न आउने साथीलाई घरका अरु जहानसँग पनि चिनारी गराउन बिर्सनु हुन्न भन्ने खालको कुनै नियम भएको भए यी साथीहरुलाई सो कुराको सम्झना गराउँदो हुँ, तर यहाँ नियम-कानूनको कुरा नभएर विचार र भावनाको कुरा थियो । त्यसैले यसबारे केही नबोलेरै म फर्केको छु ।

हुन त ती साथीहरुले स्वास्नीले आफ्ना साथीहरुसँग लोग्नेलाई चिनजान गराउन नथालुञ्जेल लोग्नेले मात्र आफ्ना साथीहरुलाई स्वास्नीको किन परिचय गराउने भन्ने समान दृष्टिकोण लिएको पनि हुन सक्छ । यस्ता घरायसी कुरालाई छाडिदिऊँ भने उनीहरुमध्ये धेरैजसोले आफ्नी श्रीमतीलाई पुस्तकालय, मैत्रीसंघ र अरु सामाजिक वा राजनीतिक संस्थाहरुको सदस्य बनाउने गरेको पनि देखिन्न । अनि स्वास्नीमानिसले लोग्नेमानिस र लोग्नेमानिसले स्वास्नीमानिस साथी बनाउने बनाउने अवसर कसरी परिरहने गर्नु ? आफ्ना त्यस्ता साथीहरुकहाँ गएपिच्छे भनेजसो मलाई एउटा पण्डितको कथा समझना नभई छाड्दैन- जो आफ्नी दुलहीलाई कोठामा थुनी, ताल्चा मारी, साँचो जनैमा झुण्ड्याएर सभामा नारी-स्वतन्त्रताको महत्व एवं आवश्यकताबारे व्याख्या दिन जाने गर्थे ।

काठमाडौंमा पत्र-मैत्रीसंघ पनि छन्, तिनका नियम मलाई थाहा छैन । म भन्न सक्तिनँ, यी संघद्वारा विदेशमा मात्र साथी बनाउन पाइने हो अथवा स्वदेशमा पनि र आइमाईले आइमाई नै र लोग्नेमान्छे लोग्नेमान्छे नै साथी बनाउन सक्ने हुन् अथवा जसले जोसुकैलाई साथी बनाऊँ भने पनि पाइने हो । यसका केही नियम त्रुटिपूर्ण होऊन् तापनि संसारका सबैजसो सभ्य मुलुकमा प्रशस्त संख्यामा भएको पत्र-मैत्रीसंघ जस्तो राम्रो माध्यम हाम्रो देशमा पनि हुनु हर्षकै कुरा हो । पत्र-मैत्रीसंघको कुरा आउँदा आफूले चिठीबाट मितेरी गर्न खोजेका कुराहरु पनि सम्झन्छु ।

एकपल्ट मधेसतिर एक जना सज्जनकहाँ सात-दस दिन बस्ने काम परेको थियो । त्यसबेला उनको घरमा बूढाबूढीदेखि लिएर केटाकेटीसम्म सबैजसो स्त्री-पुरुषसँग मेरो राम्रो सम्पर्क हुन पायो । ती सज्जनका एउटा छोरा र एउटी छोरी उमेरदार थिए । दुवै हुलाक टिकटहरु संग्रह गर्न थालेका रहेछन् । तिनताका मैले पनि टिक-संग्रहमा चाख लिएको थिएँ । दुवै थरीले एक-दोस्रालाई टिकट-संग्रह बढाउनमा सघाउने र चिठी लेख्ने गर्ने हामीले टुङ्गो लायौं । घर फर्केपछि मैले उनीहरुलाई महिनाको एक-दुई चिठी र चिठीका साथै केही टिकटहरु पनि पठाउन थालेँ । मलाई पनि दुवै साथी चिठी लेख्थे, तर आइमाई साथीको चिठीमा चाहिँ प्राय: मेरो चिठी पाइनँ भन्ने गुनासो हुन्थ्यो । पछि थाहा भयो- उनको पिताजीका हातमा मात्र चिठी दिइँदा रहेछन्, तर प्रगतिशील भनी कहलिएकाले छोरीलाई चिठी लेख्नुबाट रोक्न पनि सक्ता रहेनछन् ।

यसरी मैले आइमाई साथी बनाउने प्रयत्नमा अरु पनि निकै जनासँग चिठीचपेटा गर्न खोजेँ । त्यसै बेला थाहा भयो, हाम्रो पत्रिकाहरुमा रचना प्रकाशित गर्ने कतिपय लेखिका र कवयित्री वास्तवमा पुरुष नै हुँदा रहेछन् । यस्ता तीता-मीठा सबै अनुभवहरुलाई यहाँ कोरिरहेर साध्य छैन ।

तर, एउटासम्म त अर्को कुरा पनि खोलिहालूँ, के भने यसैगरी आइमाई साथी बनाउने क्रममा नै एक जना मेरो प्रेम र बिहे पनि भयो । मैले घडी, दिन, महिना र वर्षको निम्ति मात्र होइन, जीवनसाथीका रुपमा नै आइमाई पाएँ, तर बिहे हुनासाथ हामीमा जोई-पोइको साइनु पनि लागिहाल्यो । त्यसैले आइमाई साथी मात्र नभएर पत्नी, बहिनी, दिदी, भाउनू, बुहारी, काकी, भान्जी, फुपू, सानीमा र भतिजी इत्यादि समेत हुन् ।

मेरो विचार छ- यस्तो कुनै नाता नपर्ने केही आइमाई साथी पनि प्रत्येक पुरुषको हुनुपर्दछ, जसरी कुनै साइनु नलागेका प्रशस्त पुरुषहरु हाम्रा साथी छन् ।


-श्यामप्रसाद शर्मा

साभार : ‘साझा निबन्ध’ बाट

के नेपाल सानो छ ?
नेपाल ! सुन्दर, शान्त विशाल ! मैले आफैंले एक दिन लेखेथेँ, विशाल को भावना कसरी आयो, म भन्न सक्तिनँ । भूमण्डका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ ।

कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा । पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ ।

आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैं विश्व छ; दूर छ तर दूरताको दिव्य जादू । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।

हीरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौं भने अनन्त आकाश जूनकरीरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादूगरी दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ: त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरुको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लाग्छ ।

‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्’ भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अंग्रेजी लवजहरुउपर सूर्य नअस्ताऊन् तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य-संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरुभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।

‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखा पर्ने गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ, अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु स्कूले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरुको प्राकृतिक भाषा, झर्नाहरु घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरु ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरु । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।

सानो, मीठो, शान्त, सुगन्धी, अनुपम- बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरुका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरु हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरु जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?

सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरु उत्पादन गर्न सक्ने र हरहमेशा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती तुहिनतरल निर्मल शिशुतरंगहरुको मनोहर कलकले पवित्र शैशवास्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धूवाँले दूषित वायुमण्डलमा सभ्य माकुराको जालो जस्ता तरंगहरु खेल्न पाउँदैनन् । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादू नेपाली हृदय नेपाली आबहवाको र खानपिनका असरले गर्दा सच्चा आर्यभावहरुको स्पन्दन र आर्यसपनाले सजीव छ र अरु देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्; सभ्यमानी देशहरुमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरे झैं हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरु सन्तोष अनुभव गर्दछन्, मैदानका ताता मगजहरु खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरुको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भुलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?

म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादूका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीँ मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादू भने नेपाली माटोको मूर्ति जो मै हुँ- जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो- यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरुको सूक्ष्म प्रतिविम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमूना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरुको नमूना यही नजरसामुन्ने छ । यहीँ सब आबहवा पाइन्छन्, यहीँ छन् बेबिलोनका ह्याङ्गिङ गार्डेन्स- झूलन बाग, यहीँ छन् तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली  नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंकर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीँ दिनभरिभरि र मानव आत्मा यहीँ वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरु यसकै अगाडि जूनकीरी झैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्‍याउँछु- यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?

मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्‍यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरु, रंग र छाया र फाहरु, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटो जस्तो, मैदान चित्रकारी हुन सक्तैन, तस्बिरको भुइँ जस्तो हुन्छ, जसबाट सच्चा तस्बिर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी छ, यहाँका रंग गाढा र रसिला छन्, यहाँ सूचनात्मकता छ, जो कविता र संगीतको मुटु हो, यहाँ जीवन एकोहोरो गाढा सडक जस्तो देखिन्न । यहाँ औपन्यासिकता छ, कतै उच्चाइ, कतै नीचाइ, चढ्नाको जादू, हेर्नाको मोहनी, सुन्नाको माधुर्य । भारत मैदान पहाडको माटोले उब्जनीको शेखीसम्म गर्दछ, तर रित्तो पट बिछ्याए जस्तो मात्र छ, यहाँ हरएक पटकमा सच्चा चित्रकारी छ । एक पहाडका कुनामा बसेर हेर्नु, दुई-तीनतर्फ दृष्टि दिँदा, उही ठाउँबाट दुई-तीन संसार देखिन्छन् । म कहिले हेर्दाहेर्दै देखिरहेछु, एकै पहाडमा चार किसिमका चित्रहरु छाया, घाम, सिमसिमे पानी र कुहिरो ।

जुन पृथ्वी यस्ती शस्यशालिनी छन्, जसमा यस्ता सौन्दर्यका विभिन्नताहरु रंगदार छन्, जहाँ एक पहाड एउटा सजीव दुनियाँ छ, चरा, मृग र बाघहरुले परिपूर्ण संसार, जसलाई हेर्दा मानवमुटु विचित्र त्रासले ढक्क फुल्दछ, जहाँ ढुङ्गामा चाँदीजिभ्रा छन्, झ्याउका मोती छरिएका छन्, जहाँ नालामा दिव्य भाषण, जहाँ पत्रहरु सजीव दुनियाँका हलचल झैं हमेशा बोलिरहेछन्, जहाँ प्रकृति रङ्ग-रङ्गका दृश्यचित्र रची-रची रङ्ग रोशनी परेका कुशलता प्रदर्शन गरिरहेकी छन्, जहाँ लहराहरु राष्ट्रिय झण्डा झैं प्राकृतिक पर्खालमा फरफराइरहेछन्, अनेकौं फूलहरुले सुशोभित बनेर जहाँ सर्वोच्च हिमालय शासन गरिरहेछ, के त्यहाँका मनुष्यका कल्पनामा बालरेखा चित्र र कार्यहरु बनिरहेका होओइनन् ?

मलाई किन-किन यस्तो लाग्छ कि हिमालयको विशाल उच्चाइको नजिक रहेको जति तिनको गौरव र तिनको उच्चतासँग भित्र-भित्र गाँसिएको हुन्छ, शस्याढ्य भूमिका पुत्रहरुका मगजमा उब्जनी-प्रतिभा हुन्छ र उनका कल्पनाचित्रहरु विपिनप्रचुर हुन्छन्, ज्यादाजसो कविहरु फूलबारीको नजिक जन्मन्छन्, महापुरुषहरु पहाडको नजिक । दूधमुखे शावकहरुका चेहराहरुले मान्छे धेरैजसो सनधु बन्छन्, बाघ पाल्ने वनका नजिक वीरका झोलुङ्गालाई प्रकृतिमाताले हल्लाइरहेकी हुन्छिन्, धेरै चराहरु बोल्दो देशसँग म कविताको सम्बन्ध देख्तछु, वनका गम्भीर गोधूलिमा मलाई विवेकको अँधेरी र ज्ञानको पूर्ण उज्यालोको दोसाँधमा रहने भावनाहरु व्यक्त हुँदै आउँदछन् । म नेपालमा हुँदा वनकालीमा आनन्द पाउन सक्तछु, तर कलकत्ता जाँदा बिर्सन्छु । पहाड र गानाको नित्य सम्बन्ध छ, जस्तो वाक् र अर्थको । स्वर्ग बर्सन्छ त्यहीँ, पहाडी अविरल झरझरको संगीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरुका प्राथमिक सुर मिलाउने प्रभावहरु त्यहाँ पाइन्छन् । यी पातहरु सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा दगुर्दै छन् ।

तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरुको नीलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरुको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्यूँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’

जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरु थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्‍याउन सक्तछ । अरुका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।

विदेश भनेको सपना हो; एउटा कता-कताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्द्धगोलाबाहिर कुनै दुनियाँ छ ? वास्तवमा साधारण मनुष्यका निमित्त शिरमाथिको आकाशगोलाभन्दा ठूलो चिज केही हुँदैन; र उसले सम्झँदैन कि यो खलि विशालको एक अल्प खण्ड हो । ‘पूर्णात् पूर्णमिदं’ भने जस्तै मलाई यसबाहिर अर्को क्षितिज भन्ने बुझ्नमा नै के फाइदा ? सम्पूर्ण अनन्त विश्व देख्ने नजरले सूर्यलाई कस्तो सानो सेतो कनिको भन्दो होला, तर पृथ्वीवासीलाई सूर्य सेतो रापको जीवनदाता भगवान् नै ठहरिन्छन् । मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो ।

जब म विदेशमा हुन्छु, तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु । स्वदेशप्रेम संकुचित गुण हो भन्ने लेखकहरुले आजकालको साङ्ग्रोपनादेखि वाक्क भएर कलम लिएका हुन् । तर, ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वसिद्धान्ती लेखक र कविहरु भुल्दछन् कि विश्वप्रेम भनेको चिज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्तैन, त्यसले विश्वप्रेम राख्छ भन्नु ताती गर्न सिक्नुअगाडि दगुर्न जान्ने हुनु मात्रै हो, बालुवामाथि घर बनाउनु भनेको त्यही हो । मेरा सपना पनि नेपालीपनको ग्राह्य गुण छाडेर उड्न खोजेर खोजे भने नबर्सिने बादलभन्दा बेकम्मा हुन्छन् । सजीव अनुभवहरुको कलात्मक प्रकाशन साहित्य हो भने जो सच्चा नेपाली छैन, त्यसले नेपाली साहित्य लेख्न सक्तैन । नेपालको हरएक दृश्य र अनुभूत वस्तु मभित्र मिलान लिएर विचार, भाव र सम्झनाका स्वरुपमा अनेक क्रियाहरुद्वारा आत्मप्रकाशन लिइरहेछन् । सार्वजनिक विश्वसत्यात्मक जातिकल्याणकारी तत्त्वहरुका सम्बन्धको आधारमा म लेख्तिनँ; लेख्ने नेपाल हो, म बोल्दिनँ; बोल्ने नेपाल हो, मेरा विचार होइनन्; नेपालका अनुभूतिगम्य दृश्य र श्रव्य सामग्रीका प्रभावहरु हुन् खालि मभित्रको अमर तत्त्व । यी सामग्रीहरुद्वारा नवीन-नवीन झल्का र सन्देश पाउँदै, आफ्नो सेवाको मार्गमा चलिरहन्छु ।


-लक्ष्मीप्रसाद देवकोटा

प्रस्तुति : महेन्द्र ओझा 


  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top