कविता - गद्य कविता



गद्य कविता : तिमीले देख्यौ सगरमाथा ?

शिरको टोपी फुकालेर
कम्मरमा कछाड बेर्छु भन्दै
तराई झरेको थियो मेरो सगरमाथा
फर्किएन,

सम्झिएन चिसो बतास

चौंरीका बथान

यार्सागुम्बा, डोल्मा नामग्याल

हिउँ पारीको सपना

त्यतै कतै अलमलियो जस्तो छ

भुनियाँहरुको प्रेमजालमा

ठेस लागेर पो पछारियो कि 

तराईको समथर सुनवस्तीमा

फर्किएर आएन

तिमीले देख्यौ सगरमाथा ?


पासाङ गोल्जेको नाक छेडिदिन्छु

सुनकै बुलाकी लगाईदिन्छु

फलाउँछु हत्केलामा स्वर्णीम सपना

सिंगार्छु वस्ती, मुसार्छु पाउ

कठ्याङ्ग्रिएर मर्न दिन्न आमाको कोख

हुक्का तान्नेलाई हुक्कै तनाउँछु

मेरो वस्ती स्वर्गै बनाउँछु

पछाडि फर्कन्न, अगाडि बढ्छु

संसारसँगै अब म चल्छु

उडेर जान्छु 

हिँड्दा समयले छोड्दोरहेछ भन्दै

मरुभूमितिर बगेका थिए रे हिउँहरु

फर्किएर आएनन्

कतै ती पग्लिएर बिलाए कि बालुवामा ?

सेतो, सफेद निर्मल देखेर

मुदिरहरुले पो थुने कि पिँजडामा ?

लवज भुलेर, देश भुलेर, आमा भुलेर

विलिन भए कि बुर्काको काखमा ?

तिमीले देख्यौ सगरमाथा ?


पहाड चढ्नेहरु समथरमा ठोकिन्छन्

कतै पछारिए कि ठेस लागेर

रगतपच्छे भए कि ? 

पुछ्ने कसले, सुम्सुम्याउने कसले ?

मायाले पो निको हुन्छ घाउ

कसको मायाले निको पार्ने ?

कचल्टिएर, बाफिएर, उकुस मुकुस जिन्दगी

पछारिए कि तातो हावामा

डर लागिरहेछ, बाडुल्की लाग्नै पो छोड्यो

कतै बाकसमा भरिएर 

फिर्ता पो हुन्छ कि मेरो सगरमाथा

तिमीले देख्यौ सगरमाथा ?



प्रिन्सिपल

मकालु एकेडेमी विराटनगर

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
374979 Times Visited.

Powered by: Exclusively Solution
Top
Content