+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


कृति समीक्षा / विश्लेषण
ब्लग साहित्य


प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेम



प्रेमा शाह र पुरुषोत्तम बस्नेतको चिनजान २०१९ सालको आरम्भमा काठमाडौँमा भएको थियो । त्यस बेला प्रेमा आइए पढ्ने गर्थिन् । साथै पुरुषोत्तम बस्नेत सेन्ट्रल होस्टेल, लालदरबारमा बस्थे । केटाहरू बस्ने सो सरकारी छात्रावास अहिलेको याक एन्ड यति होटेल भएको ठाउँ लालदरबारमा थियो । पछि सो होस्टेल केन्द्रीय छात्रावासका नाउँमा ताहाचलमा सरेको थियो ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको उमेर मिल्थ्यो, मन मिल्ने क्रममा थियो र वचन पनि क्रमशः मिल्दै गएको थियो । त्यसैले उनीहरूको सम्पर्क बढोत्तरीकै क्रममा थियो । त्यस बेलासम्ममा प्रेमा साहित्यिक कार्यक्रमहरूमा पनि आउजाउ गर्न सक्रिय थिइन् । त्यस समयसम्ममा उनको साहित्यप्रतिको रुचि, झुकाव र समर्पणको बस्नेतले पारख गरिसकेका थिए । साथै प्रेमा पनि पुरुषोत्तमको सहयोगी, मिलनसार र साहित्यप्रतिको मोहबारेको शैलीमा निमग्न हुन थालिसकेकी थिइन् । मानौँ यी दुई अब एक हुन थालिसकेका थिए ।

सेन्ट्रल होस्टेलमा बसेताका पुरुषोत्तम बस्नेत र हेमराज सापकोटाको सम्पादनमा ‘मुकुट’ साहित्यिक पत्रिका प्रकाशित हुन्थ्यो । त्यस बेला प्रेमा पनि आफ्ना साहित्यिक लेखरचना पत्रपत्रिकामा छपाउने हैसियतमा पुगिसकेकी थिइन् । त्यस घडी उनलाई यसरी पत्रपत्रिकामा लेखरचना छाप्न प्रोत्साहन गर्ने केदारमान व्यथित, विजय मल्ल र रत्नध्वज जोशी थिए । ‘शारदा’ मा उनका रचना छापिन थालेपछि उनलाई आफ्ना लेखरचना अन्य साहित्यिक पत्रिकामा छाप्ने नशा पनि लागिसकेको थियो । अनि उनी ‘मुकुट’ मा आफ्ना रचना छपाउने उपक्रममा नै बस्नेतको पनि नजिकमा पुगेकी थिइन् । त्यसपछि ‘मुकुट’ मा पनि उनका रचनाहरू प्रकाशित हुन थालेका थिए ।

त्यस बेला प्रेमा शाहले लेखेपछि आफ्ना रचना बस्नेतलाई देखाउने गर्थिन् । भनौँ बस्नेत प्रेमाका रचनाका प्रथम पाठक हुन्थे । त्यस बेलासम्ममा प्रेमाको साहसीपन, निर्भीकता र प्रतिभासँग पनि बस्नेत प्रभावित भइसकेका थिए । साथै प्रेमाको साहित्यिक व्यक्तित्वसँगसँगै उनको शारीरिक सौन्दर्यले पुरुषोत्तम बस्नेत पनि प्रेमाप्रति थप आकर्षित हुन थालिसकेका थिए । प्रेमा पनि बस्नेतको इमान, स्वच्छ मन र उच्च बौद्धिकताका साथै उनको शालीन व्यक्तित्वप्रति भुतुक्कै हुन थालेकी थिइन् ।

२०२१ सालको कुरा हो; राष्ट्रिय नाचघरमा एउटा साहित्यिक समारोह भएको थियो । त्यस समारोहमा प्रेमा शाहले ‘आऊ मलाई सम्भोग गर’ भन्ने कविता सुनाएकी थिइन् । अधिकांश महिलाहरू घुम्टोभित्रै बस्ने त्यस जमानामा एउटी युवतीले समारोहमा उच्च शिर राखेर सम्भोगका लागि आह्वान गर्नु भनेको चानचुने साहसको कुरा थिएन । यो कविता लिपिगत रूपमा कतै प्रकाशित भएन तर यसै कविताको भावलाई प्रेमाले रूपान्तरित गरेर अर्को वर्ष ‘मुकुट’ मासिकमा "एउटै सम्भोग" शीर्षकमा कथा प्रकाशित गराएकी थिइन् ।

प्रेमा शाहको ‘आऊ मलाई सम्भोग गर’ भन्ने संवादबाट केदारमान व्यथितले समारोहमा नै उनलाई स्याबास् र बधाई ज्ञापन गरेका थिए । साथै विजय मल्ल पनि प्रेमाको यो आँटलाई बधाई ज्ञापन गर्न पछि परेका थिएनन् । अनि उनको साहसीपनसँग अन्तर्हृदयले बधाई दिने युवक पनि देखा परे र ती स्रष्टा पुरुषोत्तम बस्नेत थिए । बस्नेतको ढापको प्रोत्साहनले त्यस बेला प्रेमा साहसको अर्को शिखर आरोहित भइन् । त्यसपछिका दिनहरूमा उनीहरूको सम्पर्कप्रति समकालीन नेपाली साहित्यजगत् अनभिज्ञ हुन सकेको नै थिएन ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतबीचको प्रेमसम्बन्ध दिनहुँ बढोत्तरीको गतिमा अघिअघि बढिरहेको थियो । त्यसै समयमा बस्नेतले सेन्ट्रल होस्टेल छोडेका थिए । त्यसपछि उनी सिफलको डाँडामा अवस्थित आफ्नो निवासमा बसोवास गर्न थाले । त्यस बेला उनी जापानी १६१ सिसीको होन्डा मोटरसाइकलमा सवार हुन्थे । उनी पैतृक रूपबाटै सम्पन्न थिए । त्यसैले उनी आफ्नो इच्छाअनुसारको दामी सवारीसाधन चढ्ने गर्थे । त्यतिखेरसम्ममा काठमाडौँमा त्यसरी मोटरसाइकल चढ्ने मान्छे निकै खानदानी नै हुनुपर्थ्यो । कृष्णभक्त श्रेष्ठका अनुसार ‘पुरुषोत्तम बस्नेत भनेका धेरै नै धनी थिए । उनैका बुबाले तारिणीप्रसाद कोइरालालाई समेत मद्दत गरेका थिए । त्यतिखेर तारिणीकै घर चाबेलमा विश्वेश्वरप्रसाद कोइराला पनि बस्थे । साथै बस्नेतका बुबाले कोइरालालगायत नेपाली काङ्ग्रेसका कार्यकर्तालाई पनि आर्थिक सहयोग गरिरहन्थे ।’

त्यस समय काठमाडौँ सहरमा मोटर र मोटरसाइकल फाट्टफुट्ट मात्रै कुद्थे । पुरुषोत्तम बस्नेतको उ. का. (उपत्यका अञ्चल कार्यालय) ११०५ नम्बरको गाडा रातो रङ्गको मोटरसाइकलमा प्रेमा शाह पछाडि बसेको देख्ता र सुन्दा केदारमान व्यथित, विजय मल्ल, पारिजात, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ र मदन रेग्मीहरूले प्रेमालाई भाग्यमानी युवती भन्थे । साथै प्रेमाजस्ती जल्दीबल्दी युवतीलाई लिएर हिँडेकोमा बस्नेतलाई हिम्मती, पुरुषार्थी र भाग्यमानी भन्नेहरू पनि थिए ।

पुरुषोत्तम बस्नेत र प्रेमा शाहको प्रेमप्रसङ्गको हल्लाले त्यस बेलाको साहित्यिक मञ्चहरू रङ्गिसकेका थिए । साहित्यिक सभा, समारोहमा जानेआउने सन्दर्भले उनीहरू एकअर्कामा मात्र होइन जनमाझ पनि प्रेमीप्रेमिकाको सुललित स्थानमा पुगिसकेका थिए । कृष्णभक्त श्रेष्ठका अनुसार ‘त्यस घडी प्रेमा र बस्नेत श्रीमान्– श्रीमतीजस्तै भएर हिँड्ने गर्थे ।’ वास्तवमा ईश्वरीय अनुकम्पा प्राप्त भएझैं एकअर्काका लागि जीवन बाँच्ने उनीहरूको अनुपम जोडी देखिन्थ्योे । त्यस बखत प्रेमा बस्नेतसँगको प्रेममा नै समर्पित थिइन् । त्यति खेर उनले बस्नेतकै माया, प्रेम र स्नेहमा आबद्ध कविता पनि लेखिन्;


ए लोभ लाग्दो मान्छे ! 

धरती र आकाशको सामञ्जस्यमा

ती लामा परेला खोलेर नहेर्नू

किनकिन मलाई विचित्रको मायाले छोप्छ ।


तिम्रा नानीको लामो पथमा

जीवन यो डोरिएर लम्मिँदै जान्छ

भरखरै उघ्रेको प्रातः

हलुका कुहिरोसितै

थकानको लामो सुस्केरा उड्दै जान्छ

अनि-

पुराना खण्डहरझैंँ

यी अपाङ्ग कल्पना

स्वस्थ लयमा एउटा सुन्दर गीत बन्छ ।


जिउँदो तहमा

गाँसिएको बिपना प्रिय लाग्दालाग्दै 

एउटा डर जान्छ कतै 

यही बिपना सपनाझैँं

मेरो निद्राको पहिलो रात

रुङ्नलाई नझुल्कियोस् ।


यसैले ए लोभ लाग्दो मान्छे ! 

मेरो अगाडि नपर्नू

कहिल्यै हेर्दै नहेर्नू ।


काफलझैंँ तिम्रा नीला आँखा

बाह्रै महिना फुलेको देख्ता

अन्तर यो पुतलीको पखेटाझैँं

तिम्रै प्यारको मध्याह्नमा 

सधैँसधैँ भट्किरहन्छ

उड्दै जान्छ ।


तर

यो सूक्ष्म मोह कहिल्यै नष्ट हुँदैन 

तिम्रै नेत्रको झ्याउ र टल्कने बालुवा सतहमुनि

यी मेरा स्नेहका अविरल थोपा

सिपीझैंँ तैरिरहन खोज्छन् ।


आहा ! तर, विशद यी कामनामा 

त्यसै शङ्काको साँझ पर्छ 

त्यसैले-

ए लोभ लाग्दो मान्छे !

आँखाका यी प्यालामा

अनुराग लिई पियाउन नआउनू

मेरो आफ्नै जीवन बग्ने

एकाङ्की यो गोरेटोमा 

जूनकीरी आँखामा टाँसी बाटो कुर्ने नगर्नू

स्मृतिको यो स्निग्ध दीप

उज्यालैमा फुकिदिनू ।


पुरुषोत्तम बस्नेत प्रेमा शाहलाई भेट्न प्रायः दैनिकजसो ललितपुरस्थित विज्ञानशमशेर जबराका घर जाने गर्थे । बस्नेत राणापरिवारमा त्यति रुचाइएका व्यक्ति भने थिएनन् । किनभने उनी राणापरिवारका लागि विवाहित देखिएका थिए । तर उनको विवाहचाहिँ नाउँ मात्रको बिहे थियो भन्ने कुरा राणाहरूले बुझ्नै चाहँदैनथे । बस्नेतको विवाह १४ वर्षको उमेरमा उनकै गाउँ ओखलढुङ्गामा भएको थियो । तर विवाहपछि पत्नीसँग उनको कहिल्यै सम्पर्क भएन । बस्नेत र प्रेमा शाहको प्रेम प्रसङ्गको चर्चा व्यापक भएताका बस्नेतका ससुरालीले प्रेमा शाह र उनका मावलीलाई ‘यदि बस्नेतसँग प्रेमाले विवाह गरेमा बहुविवाहमा हामी मुद्दा हाल्छौ’ भनेर थर्काउने, तर्साउने र कुर्लने काम गरेका थिए । बस्नेत एकातिर क्षत्री र अर्कातिर पञ्चायत व्यवस्थाका विरोधी राजनीतिक कार्यकर्ता भएकाले प्रेमासँग विवाहका लागि राणापरिवारमा उनी अयोग्य ठहरिएका थिए । त्यति मात्र होइन बस्नेतका ससुरालीतिरबाट पनि राणापरिवार आतङ्कित हुन थालेकाले बस्नेत राणाका झनै ठूला आँखी भइसकेका थिए ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेम एकोहोरो रूपमा नै चुलिँदै थियो । तर उनीहरूको प्रेम जोगाउन उनीहरूलाई फलामको चिउरा चपाएसरि थियो । प्रेमाका मावलीले बस्नेतलाई कुनै प्रकारले पनि मान्यता, स्नेह र स्वागतका भाव प्रदान गर्दैनथे । उनीहरूले त्यस प्रकारका कुनै शिष्टाचार नदर्साए तापनि बस्नेतचाहिँ राणागृह जान छाडेका थिएनन् ।

पुरुषोत्तम बस्नेत पुग्ने समयमा राणागृहमा प्रायः मानिस हुँदैनथे । जसले गर्दा प्रेमा शाह र बस्नेतका लागि त्यस घरमा पर्याप्त प्रेमिल वातावरण हुने गर्थ्यो । तर पछिपछि राणापरिवारको निकै खप्की खानुपरेकाले प्रेमाले बस्नेतलाई राणागृहमा नआउन नै अनुरोध गर्न थालेकी थिइन् । एउटी शुद्ध ठकुरी र अर्का पक्का क्षत्री परिवारका भएका कारण कतिपय व्यवहारमा यिनीहरूको सहयात्रा अत्यन्तै अप्ठ्यारो किसिमको थियो ।

दिनभरि, दिनभरि सँगसँगै समय बिताउँदा पनि प्रेमा शाहका मनमा पुरुषोत्तम बस्नेतप्रतिको र बस्नेतका हृदयमा प्रेमाप्रतिको प्रेमको फोहरा बहिरहेकै हुन्थ्यो । ती फोहोरा समेटेर प्रेमाले बस्नेतलाई धेरै चिठी लेखेकी थिइन् र बस्नेतले पनि प्रेमालाई त्यसै गरेका थिए । मौखिक बोलीचालीमा प्रेमा पुरुषोत्तमलाई ‘डियर बस्नेतजी’ नै भन्थिन् भने बस्नेत चाहिँ ‘प्रेमा’ नै भन्थे । अनि प्रेमाको बस्नेतउपरको चिठी ‘डियर बस्नेत’ बाट सुरु हुन्थ्यो । उनले बस्नेतलाई लेखेका चिठी ‘तिम्री प्रेमा’ मा पुगेर समाप्त हुन्थ्यो । कविताभन्दा गद्याख्यानमा प्रबल प्रेमाको लेखनका चिठी पढ्दा बस्नेत समय बितेको पनि पत्तो पाउँदैनथे । तर दुर्भाग्य ! बस्नेतका ती अमूल्य प्रेमपत्रहरूलगायत बीपी कोइराला, धरणीधर कोइरालाले उनलाई लेखेका चिठीपत्रहरूसमेत खानतलासीका क्रममा २०२७ सालमा नै पुलिसले जफत गरेको थियो ।

सुरुमा प्रेमप्रसङ्ग चलिरहेका बेला प्रेमा शाह र पुरुषोत्तम बस्नेत उन्नाईस, बीस वर्षका थिए । त्यो क्रम झाँङ्गिँदै गएपछि उनीहरू भविष्यमा वैवाहिक जीवनमा बाँधिने बलियो योजना बुन्ने क्रममा अघि बढिरहेका थिए । त्यसो त विज्ञानशमशेरलगायत राणाका परिवारजनलाई आफ्नी नातिनी अथवा भान्जीले विवाहित अनि क्षत्रीको छोराको दौराको फेर समातेको मन परेकै थिएन । त्यसैले उनीहरू प्रेमालाई बस्नेतसँग सङ्गत नगर्नका लागि घरीघरी सल्लाह दिने गर्थे । तर प्रेमा आफ्नो तनमनमा बसिसकेका बस्नेतबाट टाढा नजाने निर्णयमा नै थिइन् ।

बस्नेतसँगको प्रेममा प्रेमा डुबेताका एक पटक राणागृहमा बस्नेतविरोधी खुबै ठूलो रँडाकोसमेत मच्चिएको थियो । त्यस घडी बस्नेतका विरुद्धमा दमनशमशेर राणाले आगो ओकलेका थिए (राणा भारतका लागि राजदूत पनि भइकेका थिए) । आफ्ना प्रेमीका विरुद्ध दन्केका दमनमाथि प्रेमाले पेस्तोलसमेत उठाएकी थिइन् । भनौँ यिनले एक चोटि हातमा पेस्तोल बोकेर आफ्ना जिजुबुबा विज्ञानशमशेर राणाका दाजु दमनशमशेरलाई हान्न पनि गएकी थिइन् । तर उनलाई अरूले छुट्ट्याएर गोली लाग्नबाट दमनशमशेरलाई बचाएका थिए । त्यसैले यिनका मामा वरुणशमशेर राणाले यिनलाई कम्युनिस्ट पनि भन्ने गर्थे । प्रेमाका जिजुबुबा विज्ञानशमशेर राणाले चाहिँ प्रायः यिनलाई कम्युनिस्ट नै भनिरहे ।

प्रेमा शाह त्रिभुवन विश्वविद्याययमा पढ्न थालेपछि बस्नेत पनि उनलाई भेट्न विश्वविद्यालयमै पुग्थे । उनीहरूको प्रेमकथा पनि उनीहरूको उमेरसँगसँगै छिप्पिने क्रममा थियो । साथै उनीहरूबीच प्रेमको बलियो धागो बाँधियोस् भन्ने चाहना गर्ने नेपाली साहित्यका अर्का सबल हस्ती थिए- विजय मल्ल । मल्ल प्रायः बस्नेतलाई प्रेमाको र प्रेमालाई बस्नेतको प्रशंसा गरिरहन्थे । उनी दुवैको जोडीको बखान दुवैसँग गरिरहन्थे । अर्थात् उनी प्रेमा र बस्नेतको प्रेमले सार्थक रूप लेओस् भन्ने चाहना राख्थे ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेमको दुनियाँ खुबै रङ्गीन थियो । यसलाई थप गाढा रङमा रङाउने काम न्युरोडस्थित इन्दिरा रेस्टुराँले पनि गरेको थियो । यी युगल जोडी कहिले दुई जना मात्रै र कहिले अरू साथीहरूका साथमा पनि इन्दिरा रेस्टुराँमा घण्टौँ रमाउँथे । त्यस बेला साँझपख इन्दिरामा पुग्ने जोकोहीले प्रेमा, बस्नेतको प्रेमिल जोडीको दर्शन गर्न सक्थे । यसबाहेक प्रेमा, बस्नेतको जोडी साहित्यिक साथीहरूका साथ काठमाडौँ वरपरका कतिपय स्थानहरूमा पनि प्रेमिल भ्रमण गर्थे ।

प्रेमा शाहलाई राजनीतिको कुनै चस्का थिएन, उनी साहित्यमै हुरुक्क थिइन् भने पुरुषोत्तम बस्नेत साहित्यभन्दा बेसी राजनीतिमा आबद्ध थिए । बस्नेत त्यस बेलाको प्रतिबन्धित नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता थिए । त्यसैले बाहिरबाहिर साहित्यिक क्रियाकलापमा लागेका देखिने बस्नेत भित्रभित्रै नेपाली काङ्ग्रेसको सक्रिय राजनैतिक क्रियाकलापमा थिए । पञ्चायती व्यवस्थाको समय थियो । त्यसैले विपरीत ध्रुवी राजनीतिप्रति सरकारको कठोर दृष्टि थियो । त्यस बेला नेपाली काङ्ग्रेसका सर्वोच्च नेता बीपी कोइराला जेल बस्दा बस्नेत उनलाई पत्रपत्रिका पठाइरहन्थे । कोइराला जेलबाट छुटेर बनारस पुगेपछि पनि बस्नेत पटकपटक कोइरालालाई भेट्न बनारस नै पुग्ने गर्थे । खास गरेर त्यस बेला बनारस नै नेपाली काङ्ग्रेसको मूल थलो थियो ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेतको प्रेमको यात्रा विवाहको दैलो उघार्ने तरखरमा पुगिसकेको थियो । त्यसैले यस जोडीले विवाहपूर्व नै बनारसको युगल यात्रा गर्ने मन गरेका थिए । अनि जहाजबाट उनीहरू बनारस गए । त्यसै बेला बस्नेतसँगै प्रेमा शाहको पनि बीपी कोइरालासँग भेटघाट भयो । त्यस समय उनीहरू एक हप्तासम्म बनारस बसेका थिए । त्यतिखेर बिहानभरि उनीहरू बनारसका गल्ली चाहर्थे । उनीहरू गङ्गानदीमा पुगेर ढुङ्गामा प्रेमयात्रा र जलक्रीडामा पनि रमाउँथे । प्रेमको मनोरम दुनियाँमा रमाउँदैरमाउँदै प्रेमा, बस्नेतको जोडी नेपाल फर्किएको थियो ।

प्रेमा शाह र पुरुषोत्तम बस्नेत नेपाल फर्केपछि लगत्तै अर्को वर्ष यस जोडीको विवाह बन्धनमा बाँधिने टुङ्गो लागिसकेको थियो । तर त्यसै समयमा बस्नेतगृहमा दुर्भाग्यको घटना घट्यो । पुरुषोत्तम बस्नेतका बुबा मकरध्वज बस्नेतको २०२७ साल वैशाखमा स्वर्गारोहण भयो । अनि उनीहरूको विवाह पनि थन्को लागेको थियो । आफ्ना बुबाको बरखी सक्न पाउँदानपाउँदै बस्नेतका नाउँमा सरकारले पक्राउको आदेश जारी गरेको थियो । त्यस कारण बस्नेतले आफ्नी प्रेमिकालाई समेत छोडेर भूमिगत हुनुपरेको थियो ।

पुरुषोत्तम बस्नेतका नाउँको वारेन्टका साथसाथै बस्नेतका सम्भावित अड्डाहरूमा पनि पुलिसले खोजी गर्यो । यसै क्रममा विज्ञानशमशेर राणाका घरमा पनि पुलिसले बस्नेत त्यहीँ होलान् भनेर खानतलासी गर्यो । अनाहकमा आफ्ना घरमा पुलिसको खानतलासीका कारणले राणापरिवार बस्नेतको झनै खुलेर विरोधमा लाग्न थाले । प्रेमालाई उनको परिवारले बस्नेतसँगको प्रेम परित्याग गर्न र उच्च घरानियाँ राणा र ठकुरीसँग नै विवाह गर्न चारैतिरबाट दबाब दिन थाले । 

राज्य विपरीत भूमिगत मान्छे उच्च स्थानमा उक्लिने कुरामा प्रेमा शाहलाई नै पनि त्यति सारो आफ्नो आत्मविश्वासले साथ दिएको थिएन । यसैबीच पुरुषोत्तम बस्नेत विवाहित पुरुष हुन् भन्ने कुरा पनि राणा परिवारले निकै जोडतोडले प्रेमाउपर बराबर व्याख्या गरेका थिए । राष्ट्रको संविधानविपरीत राजनीति गर्ने र त्यसमाथि विवाहित पुरुषसँग विवाह गर्नुको औचित्यहीनताप्रति पनि प्रेमा क्रमशः सचेत हुन थालेकी थिइन् । त्यसो त बस्नेतले प्रेमालाई आफूले इच्छा नगरेकै बेला बाल्यावस्थामा गरिएको आफ्नो विवाहप्रति कहिल्यै कुनै चासो नराखेको कुरा व्यक्त गरिसकेका थिए । बस्नेतको इमानलाई सुरुसुरुमा प्रेमाले पनि मनमा गाँठो त पारेकै थिइन् । यति हुँदाहुँदै पनि घरपरिवारको बस्नेतउपरको एकोहोरो विरोध र भूमिगत बस्नेतसँग त्यस बखतको सम्बन्धहीनताका कारण प्रेमाले बस्नेतको प्रेमलाई एक्कासी परित्याग गर्ने आँटसमेत गरिदिइन् । उनकी दिदी शशी राणा र वरुणशमशेर राणाकी पत्नी कनकराज्यलक्ष्मी राणा अथवा भनौँ उनकी माइजूको ललाईफकाईमा परेर प्रेमा बस्नेतसँग टाढिने क्रममा नै उभिइन् । त्यस बखत प्रेमाको वरिपरि बसेर घरपरिवारका मान्छेबाट प्रेमालाई भनिरहने गरिन्थ्यो- ‘सरकारका विरोधमा लागेर राजनीति गर्ने मान्छे अब यस दुनियाँमा कहिल्यै पनि उक्सिन सक्दैनन् । यसरी ओरालो लागेको मान्छेसँग आँखा फुटेकाले मात्र विवाह गर्छन् । त्यस्ता मान्छेसँग विवाह गरेर कसैले पनि कहिल्यै सुक्ख पाउँदैनन् । त्यस्ता सरकारद्रोहीसँग विवाह गर्नेले सधैँ रोएरै बस्नुपर्छ ।’ साथै प्रेमाकी दिदीद्वारा आकाश पातालको उपमाले सिँगारिएका भारतीय धनाढ्य जानवीप्रताप शाहीको नाउँ मात्र प्रेमाका अगाडि उभ्याइने गरिन्थ्यो । त्यस बेला उनलाई कति बाध्य पारियो भने यसबारे अरू विकल्प सोच्ने उनले मौका नै पाइनन् । अन्ततः प्रेमाको विवाह हुने निश्चित नै भयो । अनि प्रेमालाई भारतमै लगेर शाहीसँग लगनगाँठो कस्न लगाइएको थियो । यसरी नै बस्नेतको प्रेमको महल प्रेमाका तर्फबाट खण्डहरमा रूपान्तरित गरिएको थियो ।

प्रेमा शाह भारतीय जानवीप्रताप शाहीकी पत्नी भएकोमा राणापरिवारले हर्षबढाइँ गरेको थियो । त्यसै उमङ्गका बेला प्रेमाका मामा वरुणशमशेर राणाले पुरुषोत्तम बस्नेतका घनिष्ट मित्र कृष्णभक्त श्रेष्ठलाई मुख लोपारेको हात देखाउँदै भनेका थिए- “ला... ! हाहाहा... ! मैले मेरी भान्जीलाई जोगाएँ कि जोगाइनँ ? तिम्रो साथीले मेरी भान्जीलाई विवाह गर्न सक्यो त ! तिमीहरू अब फेरि फुटानी हाँक्छौ ?” त्यस बेला राणा गोरखापत्र संस्थानको मुखपत्र ‘द राइजिङ नेपाल’ दैनिकका सम्पादक र श्रेष्ठचाहिँ सोही पत्रिकाका उपसम्पादक थिए । श्रेष्ठ पछि ‘गोरखापत्र’ दैनिकका सम्पादक र गोरखापत्र संस्थानका महाप्रबन्धक भएका थिए ।

२०४८ सालको कुरा हो; पुरुषोत्तम बस्नेत गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष थिए । अनि वरुणशमशेर राणाचाहिँ उनैका मातहतमा काम गर्थे । अथवा भनौँ त्यस समय राणा गोरखापत्र संस्थानको अङ्ग्रेजी साप्ताहिक ‘सन्डे डिस्प्याच’ का सम्पादक थिए (त्यो पत्रिका धेरै चलेन पनि) । त्यस बेलाचाहिँ बस्नेतसँग आज्ञापालक भई राणाले आफ्नो पदीय कार्य निर्वाह गरेका थिए । उनीहरूमाझ संस्था र पत्रिकाबारे विचारविमर्श पनि भइरहने गर्थ्यो । मानौँ पहिलाका सबै घटना र चोटबाट दुवै जना अनविज्ञझैँ देखिन्थे ।

पुरुषोत्तम बस्नेत ज्ञानगुन र इमानले भरिएका पुरुष थिए । पढाइकै कुरा गर्ने हो भने पनि उनले एमए, बीएल पास गरेका थिए । शिष्ट, सरल र सौम्यका साथै बस्नेत सादा रहनसहनका उच्च बौद्धिक व्यक्ति थिए । त्यति मात्र होइन बस्नेत लोभलालचबाट पनि टाढै देखिन्थे । उनी नेपाली काङ्ग्रेस पार्टीमा बिराला कोटिका स्वच्छ छविका रूपमा पनि चिनिन्थे । अझैसम्म पनि बस्नेतको जीवन त्यसरी नै परिचालित भएको पाइन्छ ।

२०२७ सालको कुरा हो; भूमिगत अवस्थाबाट नै पुरुषोत्तम बस्नेत पक्राउ परेका थिए । त्यतिखेर सत्तासित नजिक भएका राणापरिवारले नै बस्नेतलाई जेल हाल्ने कडी अपनाएका थिए । त्यसपछि बस्नेत जेलमा कोचिएका थिए । राजनीतिज्ञ बस्नेत मुटुभित्र प्रेमा शाहको प्रेमदहमा डुबेका भए पनि भौतिक रूपमा आफ्नी प्रियसीबाट टाढा भइरहे । जेल परेको केही वर्षपछि नै उनी जेलबाट बाहिरिएका थिए । त्यस समय उनले आफूलाई जिन्दगीबाटै थाकेको महसुस गरे । तर पनि उनले बिस्तारै खुट्टा टेक्न थाले । अनि प्रेमासँगको प्रेमसम्बन्ध असफल भएपछि बस्नेतले कसैसँग प्रेम गरेनन् । प्रेमासँगको प्रेम नै उनको पहिलो प्रेम थियो र प्रेमासँगकै उनको प्रेम अन्तिम प्रेम पनि थियो ।

पुरुषोत्तम बस्नेत प्रेमा शाहसँगको मायामा मात्र हुरुक्क थिएनन् । उनी प्रेमाको प्रतिभाउपर पनि अत्यन्तै प्रेम गर्थे । आफ्नी प्रियाको सिर्जनात्मक प्रतिभामा खिया नपरे हुन्थ्यो भन्ने उनको हरदम चाहना हुन्थ्यो । नइसँगको भेटघाटमा पनि बस्नेत बराबर दोहोर्याएर भन्ने गर्थे- “पछिल्ला समयमा प्रेमाले लेख्नै छाडिन् । उनले लेखिरहनुपर्थ्यो ।”

प्रेमा शाहको पहिलो विवाह असफल भएको अथवा विवाहित पुरुषले नै झुक्याएर प्रेमालाई बिहे गरेको कुरा सुनेर पुरुषोत्तम बस्नेत रमाउन सकेनन् । विवाहितका साथसाथै पर्याप्त सन्तानका पिता भइसकेका शाहीले भ्याक्सेटोमी गरेर प्रेमासँग विवाहको खेल खेलेको कुरा चाल पाएपछि प्रेमाले शाहीलाई त्यागेको समाचार पनि बस्नेतसमक्ष पुगेको थियो । आफूले अतिशय प्रेम गरेकी प्रेमाले पटकपटक पुरुषहरूबाट धोका पाएको कुरा मात्र सुनिरहँदा बस्नेतको मन कुँडिइरहन्थ्यो । शाहीसँगको वैवाहिक जीवन असफल भएपछि पनि विजय मल्लले पुनः बस्नेतसँग प्रेमाको मिलन गराउन खोजेका थिए । तर प्रेमाले विजय मल्लको उक्त प्रस्ताव अस्विकार गरेकी थिइन् ।

शाहीसँगको विवाह भङ्ग भएपछि प्रेमा शाहले रमेश कर्माचार्यसँग विवाह गरेको कुरा पनि पुरुषोत्तम बस्नेतले जानकारी पाएका थिए । जे गरी भए पनि प्रेमाले सुख पाएको खबर सुन्न बस्नेत सधैं लालयित रहन्थे ।

२०४२ सालको कुरा हो; पुरुषोत्तम बस्नेत न्युरोडको पीपलबोटमुन्तिर आफ्नो जुत्तामा पालिस गराउँदै थिए । त्यसै बेला प्रेमा शाह कतैबाट त्यहीँ आइपुगेकी थिइन् । उनले मोचीलाई आफूले लगाइरहेको छालाको चप्पल सिलाइदिन अनुरोध गरेकी थिइन् । मोचीले चप्पल समाएर ओल्टाईपल्टाई हेरेपछि ‘यो चप्पल त सिलाउन सकिँदैन’ भन्ने प्रेमालाई जबाफ दिएको थियो । प्रेमाले लगाइरहेको चप्पल वास्तवमै निकै थोत्रो भइसकेको थियो । प्रेमाको त्यस्तो अवस्था देखेर बस्नेतलाई प्रेमाप्रति करुणा जागेको थियो । ‘त्यहीँ पर यो चप्पल सिलाउने ठाउँ मैले देखेको छु, जाऊँ न !’ बस्नेतको आग्रह प्रेमाले सुनिन् । वास्तवमा त्यस ठाउँमा बस्नेत र उनका साथीहरू पनि उभिएका छन् भन्ने उनले चाल पाएकै थिइनन् । बस्नेतले प्रेमालाई जुत्ता पसलमा पुर्याएर नयाँ चप्पल किनिदिने अभिप्रायले ती संवाद पोखेका थिए । तर प्रेमाले बस्नेतको अनुरोधलाई ठाडै अस्वीकार गरेकी थिइन् । दुवै जनाको सामान्य औपचारिक कुरापछि प्रेमा थोत्रो चप्पल घिसार्दै बस्नेतबाट बिदा भएकी थिइन् । यसै सन्दर्भमा ईश्वरवल्लभले पछिसम्म पनि भनिरहे- “प्रेमा शाहजस्ती स्रष्टाको दयनीय आर्थिक अवस्था देख्दा जीवनदेखि नै वितृष्णा लागेर आउने गर्छ ।” त्यतिखेरसम्ममा प्रेमा शाह गतिलो लुगा लगाउने हैसियतबाट पनि टाढा पुगिसकेकी थिइन् ।

त्यस बखत पनि प्रेमा शाहलाई सहयोग गर्न पुरुषोत्तम बस्नेत उत्सर्गिक हुन्थे । तर प्रेमामा भएको स्वाभिमान र अभिमानसँग पनि बस्नेत राम्रैसँग परिचित थिए । बस्नेतको सहयोग कुनै पनि हालतमा प्रेमाले स्वीकार नगर्ने कुरामा पनि उनी जानकार थिए । त्यसैले प्रेमाको दुर्दशा परैबाट हेरेर दुःखी हुनुबाहेक बस्नेतले प्रेमाको जिन्दगीमा केही गर्न सकेका थिएनन् ।

प्रेमा शाहले अलि गतिलो मानिससँग विवाह गरेर राम्रोसँग बसेकी भए हुन्थ्यो भन्ने पुरुषोत्तम बस्नेतलाई लाग्थ्यो । आफूले भुतुक्क भएर प्रेम गरेकी स्त्रीले फेरि घरीघरी दुक्ख पाएको सुन्नु र हेर्नुपर्दा बस्नेतलाई कहिल्यै रमाइलो लागेको थिएन ।

पुरुषोत्तम बस्नेतका दृष्टिमा प्रेमा शाह अति प्रतिभाशाली थिइन् । तर प्रेमा अत्यन्त अव्यावहारिक पनि छिन् भन्नेमा बस्नेत अनविज्ञ थिएनन् । बस्नेतको युवा अवस्थाको छोटो यौवन प्रेमासँगकै प्रेममा सकियो । अझै भनौँ पछिसम्म पनि बस्नेतले किटानी बयान दिन छाडेनन्, “मेरो पहिलो र अन्तिम प्रेमिका नै प्रेमा शाह हुन् ।”

प्रेमा शाहकी छोरी जल नेपाली सिनेमामा माथिल्लो कोटीकी नायिका भएको समाचारले पुरुषोत्तम बस्नेतलाई निकै खुसी दिएको थियो । बस्नेतले जललाई हेर्नकै लागि पनि जल शाह अभिनित सिनेमा हेरेर खुसी भएका थिए ।

२०५९ सालमा नेपाली काङ्ग्रेस पार्टीले पार्टी कार्यालयमा तत्कालीन राजनीतिक वातावरणका बारेमा चर्चा गर्नका लागि सिनेकलाकारहरूको जमघट गराएको थियो । सोही कलाकारहरूको समूहमा जल शाह पनि पार्टी कार्यालयमा पुगेकी थिइन् । त्यस बेला ‘प्रेमालाई दिनू’ भनेर आफ्नो भिजिटिङ कार्ड जललाई दिने इच्छा पुरुषोत्तम बस्नेतलाई भएको थियो । तर ‘प्रेमाले कस्तो ठान्लिन् र जलले के सोच्लिन्’ भनेर बस्नेतले त्यो कार्ड दिन सकेका थिएनन् । त्यस बेला उनले जल शाहलाई चाहिं एकोहोरो हेरिरहेका थिए ।

‘मैले भारतीयसँग हतार गरेर विवाह गर्नु नै गलत गरेकी रहेछु, मलाई बस्नेतजीले कति माया गर्थे’ भन्ने कुरा प्रेमा शाहले केही आफन्त र विजय मल्ल, ईश्वरवल्लभ, ध्रुवचन्द्र गौतम, हरिभक्त कटुवाल आदिसँग भनेकी पनि रहिछन् । विजय मल्लले प्रेमाको यस्ता विचारकै फेरो समातेर प्रेमालाई पुनः पुरुषोत्तम बस्नेतसँगै जीवन गाँस्ने सल्लाह दिएका थिए । जुन कुरा प्रेमाले फेरि पनि अस्वीकार गरेकी थिइन् । ‘तपाईंको र प्रेमाको सम्बन्ध लभ एन्ड हेटको रहेछ ।’ प्रेमा र बस्नेतको समग्र पहिचान गरेका मल्लले कुनै बेला बस्नेतसँग यी संवाद अभिव्यक्त गरेका थिए । ‘तर मैले त सधैँ प्रेमासँग प्रेम मात्र गरेँ, मैले उनलाई कहिल्यै घृणा गरिनँ’ भन्ने शब्दको आडमा बस्नेतले भने प्रेमाको प्रेमको पुजारी भएर नै एकल जीवन व्यतित गरे । प्रेमाको निधनपछि पनि बस्नेतको अवस्था प्रेमाकै सेरोफेरोको मायामा बाँधिएको मात्र देखियो । यसै प्रसङ्गमा इन्दिरा प्रसाईले भनिन्- “पुरुषोत्तम बस्नेतजस्ता शिष्ट, मर्यादित र समर्पित प्रेम


प्रस्तुति : -महेन्द्र ओझा 

  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top