+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


कृति समीक्षा / विश्लेषण
काव्यम् टिप्पणी


भावसागरको चमकमा स्मृतिका पहाड



कवि डा. विदुर चालिसेबाट लिखित र समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित “स्मृतिका पहाड” नामको पुस्तक पल्टाएर एकसरो पढिसकियो । प्रत्येक कवितामा एउटा सिङ्गै घटना छ ।

कृति समिक्षा : भावसागरको चमकमा स्मृतिका पहाड

 - तिलकप्रसाद लुइटेल


कथा नै भन्नु जस्तो गरी । कविता त साहित्यको एउटा औपचारिक विधा न हो । दैनिकी, वादविवाद, संवाद, मनोवाद, नाटक, रुपक आदिलाई मिल्ने सामग्री बोकेका कविताहरू एकवटा जीवनसँग उपस्थित छन् । त्यसैमा एउटा युग, एउटा समाज, सबैको जात, धर्म, वर्ण, लिङ्ग, राष्ट्र अटेको छ, मानौँ कवितालाई एउटा शैली बनाएर । आकारमा सानो भए पनि प्रयोजनले सियो ठुलो हुन्छ । कविता अति छोटा त होइनन्, तर दिक्क लाग्ने गरी लामा पनि छैनन् । चार बैठान लाग्यो अर्थ खोज्दै पढिसक्न । चारवटा पुस्तक एकीकृत भएका हुन् कि जस्तो । सबै लेख्ने आँट गर्नै सकिएन र थोरै मात्रै टिपोट गरियो । टिपोटको पूर्वापर अंश अझ रोचक छन् । 

 “सर्कस र साइसन” कविताका माथिका प्रत्येक पङ्क्तिमा, पस्तापस्तै र केलाउँदै जाँदा – एकोहोरिँदा शिवको डमरु बजाउन तालिम पाएका जस्तै गरी देशमा बालकहरू सडक, सर्कस र साइरनका धुनमा ताली बजाउन प्रयोगमा ल्याइने साधन बनेका छन् । आधुनिक सहरमा  एकातिर इतिहास पुरुषका सवारीका लागि बजाइने साइरन  अनि भोकको साइरन बीच मानवीय जीवनको तुलनात्मक रुपमा वर्तमान समयप्रति व्यङ्ग्य गरिएको छ । मानिसको जीवन गुजाराको अवस्था समाजमा ठुलो भिन्नता लिएर उभिएको छ । प्राध्यापकले शिष्यलाई पढाएको सत्य र घोकाइएको इतिहास पुरुषमा सत्को किटानी कति थियो होला ? प्राध्यापकीय सत्यताले भविष्य असत्तर्फ मोडिनका लागि हो कि ? :“भाकल र प्रतीक्षा” कविताका प्रत्येक माथिका पङ्क्तिमा, यिनीहरू पनि, हामी इतिहास घोकिरहेथ्यौँ तर त्यसको प्रयोग बिर्सिरहन्छौँ । विगतका साहस, वीरतालाई वैभवका रुपमा लानुपथ्र्यो तर हाम्रा पाइलाहरू आशा गर्ने, कर्म नगर्ने, भाकल गर्ने तर प्रयास नगरी प्रतिक्षा गर्ने मात्रै भए । तिनका बीचमा आफूलाई आफ्नै कारणले बिर्सिएर हिँड्दा एक दिन आफूले आफैँलाई खोज्न अर्कासँग गई आफ्नो देश हरायो भनी सोध्नुपर्ने होला । “कैलो बगर” कविताका प्रत्येक माथिका पङ्क्तिमा, अलि माझमा पस्ता अन्यायमा पर्दा एकल महिलाका सागरमा उठेका ज्वारझैँ र क्षीर सागरमा सुषुप्तझैँ लाग्ने तिनका विवशता पोखिएको हेरौँ । आधुनिक समाजमा पनि सङ्घर्षले कैलो बगर जस्तै बनेको उनको जीवनलाई बनेका नियम कानुनले पनि फुङ्ग उडेको झैँ लाग्ने स्थितिमा कति परिवर्तन दियो । कसरी गन्तव्यको निकास खोज्यो ? निरस अनि उजाड जीवन विधवाको जीवन र प्रकृतिको जीवनबीच तुलना भएको देखिन्छ । जीवनमा प्रयोजन आआफ्ना हुन्छन् । प्रकृतिको नियमअनुसार बनेको जीवनको प्रयोजन प्रकृतिले निश्चित गर्छ र नियम अनुसार पूरा हुनु नै सहज हुनेछ ।

 “प्रथा र पङ्क्ति” कविताका प्रत्येकमा साँच्चै होइन त ? आधुनिकताको नाममा आफ्नै समाज संस्कृति, परम्परा असल मान्यताहरूप्रति हामी दिनदिनै अनभिज्ञ हुँदै गएका, आफ्नो यथार्थ बुझ्न अर्काको मुख ताक्ने गरेको हाम्रो यथार्थ हो । प्रकृतिको अभावमा केही पनि रहँदैन । विकृत भएको अवस्थामा दुःख नै थपिने हो । प्रकृतिबाटै संस्कृति निर्माणको आधार तयार हुन्छ । वास्तवमा तथ्यहरूलाई केलाएर संस्कृतितर्फ फर्क भन्ने मान्यता कविताले विचार अघि सारेको छ । कुनै जमानाका सतिप्रथालाई जति महान् मानिन्थ्यो । अहिले त्यही रुपमा त्यो प्रथा छैन । मानिसलाई दुःख थपिने प्रथा नरहनु राम्रो । असत विचार र प्रथा समाज भाँडको प्रवृति विकास नहोस् । “मुर्गा र मुङ्ग्री”मा प्रत्येक कवितामा यस्तो पनि छ, हाम्रो जीवन बित्थमा मातिएर बर्बाद हुन पो लागेको छ कि भन्ने पक्षमा कवित सचेत हुँदै समयमाथि ध्यान पुर्याउने प्रयास गर्ने कविको आशय छ । समय बितेपछि बर्बराउँदै र लर्बराउँदै जीवन भोगिने हुँदा सपना अधुरा र अपूर्ण रहन्छन् । त्यस्तो जीवन मुर्गाको रुप बनेर समयका मुङ्ग्रोले चुटिन्छ  । “हात र हंस “ कविताका प्रत्येक माथिका पङ्क्तिमा, अझै सम्म छ नि त  मृत्यु र जीवन एकै सिक्काका दुई पाटा हुन् । एउटाको गरिमासँग अर्काको वास्तविकता गाँसिएको हुन्छ । समयलाई नबुझेको जीवन मृत्युलाई प्रेरणादायी बनाउन सक्ला र ? परिवेशलाई हाम्रो प्राणको अधिकारी मान्नु असान्दर्भिक नहोला । न समय हाम्रा रहरको र मुठीभित्रको हो न परिवेश नै । जीवनको सृजना अनायास भयो । हामी बाँधिएथ्यौँ अन्तै कतै कसैबाट । नियन्त्रण बाहिर तर पनि बगिरहेथ्यौँ त्यसै त्यसै । “उसलाई देखेपछि” कविताका प्रत्येक माथिका पङ्क्तिमा, पीडाका दृश्य खिच्न गज्जबसँग देखिने गरेको छ, हाम्रो जीवन पद्धति एकात्मक छ तर पनि सबैको भोगाइ फरकफरक हुन्छ । आत्मीय र प्रियजनसँग मन मुटु एकै भएझैँ लाग्छ तर पनि जीवनका ती सम्झौता मात्रै हुन् । आआफ्ना भोगाइहरूका बीच हामी आआफ्नो अलग अनुभव सँगाल्छौँ । चाहेर पनि अर्काको सुखदुःख बाँड्न नसक्नु मानिसको नियति नै हो र हामी सबै यस नियति नाटकका पात्र मात्र हौँ । साझा जीवन बाँचौँला भन्ने प्रतिज्ञालाई नियतिकै अधीनस्थ राख्न बाध्य छ मानिस । परिवेशले बाटो फेरेपछि काम कुरो एकातिर कुम्लो बोकी कतैतिर । सहजमा मनाइने जन्मदिनको फेसन सो, कतै फरक कतै उस्तै 

 “सहर र चिठ्ठा” कविताका प्रत्येक माथिका पङ्क्तिमा, मान्छे निस्तब्ध बस्तैन ।  अझै कुद्छु, उसको दौड प्रगति उन्मुख हो । यद्यपि सोच अनुसारको बाटो फेला पार्नु र नपार्नु उसको कार्यशैलीले टुङ्गो लगाउने कुरा हो । गाउँबाट सहर र कोही सहरबाट गाउँका बीच विवशताको दौड रहन्छ । बाँच्ने शैली र रुचि आफ्नो आफ्नो रहन्छ । “बाको लास” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  आत्मिक चिन्तन र यथार्थ विदेशमा पुग्ने युवाशक्ति र वृद्धहरूको विवश स्थिति र सन्तानको भविष्य केलाउने प्रयोजनले यहाँ कविको भावना अघि सरेको छ । मानिसले विकल्प खोज्छ, सहज बाटो रोज्छ । सहज यथार्थमा प्राप्त हुन पनि सक्छ र सबै ठाउँमा सोचेको जस्तो नहुन पनि सक्छ । आखिर दायित्व कसको ? “इमानका भरिया“ कविताका प्रत्येक माथिका पङ्क्तिमा,  कुन सत्य ? जर्साहेबले जे सिकाउँथे सिपाही त्यही पढ्छन् । आजको नेपाली समाजका राजनीतिक नेताका प्रभावमा परेका विद्वानहरू उसै गर्छन् । आफू पढ्दैनन् सिकाउँछन् धेरै । हावा कुरा हावा मान्छे, हावादारी योजना, हावादारी बिहान बेलुकाका जीवन । सिकाउनेले स्वेच्छाले सिकाउने र सिक्नेले आँखा चिम्लेर सिक्ने । ओहोदाको सिकाउने, आज्ञाकारी सिक्ने । समयसँगै धेरै कुरा बदलिए पनि सिकाउने र सिक्नेको जिम्मेदारी र आदर्शमा उस्तो परिवर्तन देखिएन । एउटै व्यक्ति एकै समयमा एउटै विषयमा फरक फरक सिकाउनेसँग फरक फरक सिक्छ र फरक फरक मानिरहन्छ । पृथ्वी थेप्चो छ भने पनि त्यही सही र पृथ्वी गोलो छ भने पनि त्यही सही । विचारको भिन्नताले नै एउटै वस्तुलाई धेरै कोणबाट हेर्न सकिन्छ र नयाँ विचारको उदय हुन्छ । नयाँ मान्यताको स्थापना हुन सक्छ । “पातालतिर बादल” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  गन्तव्य खै ?  स्वतन्त्र आफ्नो देश भने पनि वैदेशिक हस्तक्षेप नभएको होइन । लहै लहैमा लागेर सामाजिक विकृति नभित्रिएको छैन । आफ्नो घर आफूले स्याहार्न नजानेपछि अर्काले जे गर्छ उसकै लागि गर्छ । आफ्नो सुधारका लागि आफूसँग राष्ट्रवादी भाव चाहिन्छ । “आँखामा दर्शन” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  मैले खोज्दा भो र ? ठुलो कुरो खोज्ने हुँदा मानिसले सधैँ पाइरहेको साना वस्तुको के महत्त्व छ भन्ने ख्याल गर्दै । सास फेर्ने हावा अनायास पाइएको छ, त्यसको शुद्धिमा कति सचेत छौँ ? उसरी नै वरिपरिको परिवेशले हाम्रो जीवन प्रभावित छ । सधैँ हेराइ माथितिर मात्रै, आँखाले दर्शन गर्छौं फगत हेर्छौं गहिराइमा पुग्दैनौँ । आफ्नो प्रयासले नै हो प्राप्ति गर्ने तर प्रयास सामथ्र्य अनुसारको होस् भनी आफूले नखोज्ने र ?

“आकास नामजस्तै” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  सिर्जनशील बन्न कसले रोक्छ ? नामअनुसारको काम र कामअनुसारको नाम ।  नेपालीले गर्दा नेपाल आकाशजस्तै फराकिलो हुने विश्वास देखिन्छ कविसँग । प्राकृतिक सम्पदा र सभ्यता संस्कारको इतिहासका दृष्टिले सम्पन्न छ तर यसको जीर्ण वर्तमान सुदृढ गराउने हात नेपालीकै चाहिन्छ । “बिरालो र वेद” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  दुवै हाम्रा, आजकलका मान्छे सुन्दैनन् । पढेको देखावटी गर्छन् । बिरालाको जस्तै व्यवहार छ । दुधको साक्षी बिरालो भनेको जस्तो जता स्वार्थ उतै सर्वार्थ । शिक्षा, धर्मकर्म, समाजसेवा, राजनीति जस्ता जुन काम पनि स्वार्थका लागि । काम एकातिर कुरो अर्कोतिर । “बाटुला आकास” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  हिजो पो त  प्रकृति र जीवन, हृदय र जीवन अनि प्रकृति र हृदयको फैलावटमा धर्ती र मलिला चेतनाको मैदानहरू हुन्छन् । प्रयोग गर्न जान्नु मात्रै पर्दछ सर्वत्र सुखै सुख छ । “यद् पिण्डे तद् ब्रह्माण्डे” भनेको जस्तै संयोजन र सङ्गठनबाटै एउटा दृश्यमान एकाई तयार हुन्छ । ऊ अर्को एउटा एकाईको अंशभूत मात्रै हो । प्रत्येक पुर्जाको समष्टिले एउटा एकाई बन्छ र ऊ फेरि अर्को एउटा अंशको रुपमा अर्को एकाईमा सामेल हुन्छ । बन्ने विकसित हुने र मासिनेको पनि गति उही हो । सम्बन्धका दृष्टिले कोही स्वतन्त्र वा पराया छैन र कोही परतन्त्र वा एकका लागि मेटिन सक्ने कुनै अर्को हुँदैन । “क्रमपछि भ्रम” कविताका प्रत्येक माथिका पङ्क्तिमा,  यो पनि त हो, वर्तमान र इतिहास फरक विषय हुन् । हामी जीवनको रङ्गीचङ्गी भावमा अल्मलिँदै वैभवलाई बिर्सिरहेछौं । जीवन र वैभव फरक विषय हुन् । जीवन भोक्ता हो र वैभव सान हो । सम्पत्ति र साधन एक अंश हो । अंशमा लोभिएर अंशी अल्मलिन्छ । थोरैको लोभमा सम्पूर्ण गुमाउँछ । अभीष्ट र हितकारीलाई नचिनेर चकाचौँधमा अल्मलिँदा गुदी पोखिएर बोक्रो हातमा अडिएको जस्तो, निचोरेको रस चुहिएर कागतीको खोस्टो जोगिएको जस्तो । भाव र सिर्जनाले शून्य भइसकेको निर्जीव शरीर जस्तो । कसले खोज्ने जीवन्तता ? “नियत र घर” कविताका प्रत्येक माथिका पङ्क्तिमा, रुप फेरियो, मानिसका गनगन गरिरहने वानी एउटा मनोरोगको रुपमा समाजमा विकास भइरहेको छ । त्यसै भाग्यका राप ओकल्नेहरू धेरै हुन्छन् । कर्म नास्ती । हामी आदिम संस्कारबाट पनि परिष्कृत हुन सकेनौँ । मनहरू जोखिमका दियालोमा बलिरहेछन् । आफ्नो भन्दा कर्तव्य अर्काको देख्ने बानी हामीसँग बस्यो । अर्काको भन्दा अधिकार धेरै आफ्नो रहेको बोध हामीलाई भयो । हामी नै हामीले हामी बनेका छौँ । हामीसँगै हामीले सहयोग नलिए काम चल्दैन, मजबुर छौँ । फुर्सद हामीलाई झगड्ने र विरोध जनाउने जति छ, त्यति मिल्ने र सहयोग लिनेदिने पटक्कै मिल्दैन । चिया कपमा खरानी छान्न सजिलो छ । खानीबाट हीरा झिक्नभन्दा । “पहिलेका र पहिलेका” कविताका प्रत्येक माथिका पङ्क्तिमा, आश्रय खोज्ने ?  कहिल्यै नभएका तर सधैँ हुँ, छु भन्ने आम मानिसको भ्रम र यथार्थ यस कवितामा बोल्छन् । सुनौलो मोलम्बा लाएको प्लास्टिक होइन, सुनलाई हल्का र छरितो बनाएर झल्काएको दावा गर्दै छ मान्छे । सक्कलीमा सरम र नक्कलीमा सान अनुभव हुन्छ भने के लाग्छ ? “फूल र बत्ती” कविताका प्रत्येक माथिका पङ्क्तिमा, आशाले घिच्यायो, फूल र बत्तीको योगदान आफू मर्ने अरुलाई सजाउने, हामी निरीह मानिसजस्तै । बाटो छोडेर होइन, आफ्नो बाटोमा हिँड्दै नदीले तिर्खा मेटाउँछ, आफ्नै बाटो नाप्तै घामले सुकाउँछ । आफ्नै धुनमा हावाले स्पर्श गर्दछ तर मान्छे आफूखुसी बाटो बिराउँछ वा बिराउन बाध्य बनाइन्छ । आफू घामलाई कन्दराले र कन्दरालाई घामले आरोप प्रत्यारोप गर्नु मानवी स्वभाव हो, प्राकृतिक होइन । “नाग र निधार” कविताका प्रत्येक माथिका पङ्क्तिमा, ककसको ? मानिसको मन रिसमा नागबेलीझैँ लहरिन्छ । उसले मनोरोगको साधना गर्दछ । कुण्ठा आदि मनोद्वेगहरू लुकाएर शालीन देखिन खोजोस् तर डोकाले छोपेर अडिँदैन । छोप्न सक्ने गल्दैन ।  “तपस्या र धन्दा” कविताका प्रत्येक माथिका पङ्क्तिमा, देख्ने पनि हुने तपस्या अनि धन्दा होइन, न तपस्या धन्दा हो । आजकल धन्दालाई तपस्या मान्ने र तपस्यालाई बेवास्ता गर्ने प्रचलन पनि प्रशस्त छ । रूढ अर्थ नपछ्याई कर्मलाई जीवन र जीवनलाई कर्म मान्दा कसो होला ? यसमा उपदेश त धेरै छन् । झरी कसैको आग्रहमा नबर्सेर आफ्नो कर्मगतिमा छ । प्राकृतिक नियम नै यही हो । जन्मँदै रुनु त  प्रकृति हो । हाँस्न केही समयपछि सिक्छ मान्छे । अरु प्राणीले त्यति जान्दैन । न त व्यथा नै सुनाउँछ । “हल्लाका बीच” कविताका प्रत्येक माथिका पङ्क्तिमा, खपेकै छ, हल्लै हल्लामा बाँचेका समाजको चित्रण । यथार्थ, सुन्दर र सहजप्रति उदासीन समाज तिनैलाई अतिवादका रटानले विद्रूप गराउन तम्सन्छ । सुन्दरता मानिसको चिद्रूप हो । मिठो र सजिलो अरुले रोज्छन् । सुन्दरताको रोजीमा मिठो र सजिलोलाई पनि मानिसले मौकामा त्याग्छ । त्यागमै भागको ढोका खुल्छ । प्राप्तिका लालसाले मानिस ठगिन्छ । मृगतृष्णामा भौँतारिउन्जेल यथार्थको भानमा रहेको जब ब्युँझन्छ भ्रमको स्वप्नलोकबाट त्यस बेला समयले नेटो काटेर निकै परबाट मुस्कुराउँदै हुन्छ । त्यो मुस्कान खुसी विनिमयको नभएर व्यङ्ग्यात्मक कटाक्षको रहन्छ । “माग्ने र बुध्द” कविताका प्रत्येक माथिका पङ्क्तिमा, अहिले कमी छैन, हिजो अनि आजका बुद्ध र माग्ने बीचको तुलना । हाँसे आफ्नो अवसर अलिकति बलियो छँदा अनि रोए आफ्नो हात अलिकति खुस्कँदा । देखेर कोही बुद्ध बन्न खोजे, लेखेर कसैले बुद्ध बन्ने सपना देखे । मनको मलेवा स्वच्छन्द भएर सफा आकाशमा उड्दा कसैले कोही बन्नु पर्दैन । ऊ आफू बनेर नै आफ्नो आहट दिन्छ । आफू भएको आभास गराउँछ । केतकीले गुलाफ बन्ने सपना देख्नु वा गुलाफले सयपत्री बन्न खोज्नु सृष्टिको स्वागत होइन ।

 “सोल्टाको बयान” कविताका प्रत्येक माथिका पङ्क्तिमा, बारम्बार विदेशमा एउटा कामदार पुरुष कसरी प्रयोग हुन्छ भन्ने बारेको कथा कविताका शब्द शब्द, हरफ हरफले बोल्छन् । आफ्नो भूमि र आफन्तको सम्झनालाई स्नेहीका हातको लटाईं जस्तो बनाएर बिदेसिएको कामदार चङ्गा एकातिर बतासमा बत्तिएकै छ भने उसको मन अर्कातिर बत्तिएको छ । चेट हुने सम्भावना दुवैतिर समान हुनाले आआफ्ना लटाईं स्याहार्नेहरू व्यग्र दृष्टिले हेर्छन् । “चुनावको टिकट” कविताका प्रत्येक माथिका पङ्क्तिमा जति बदलिए पनि चुनावको टिकट पाउने र नपाउने अनि सोझा कार्यकर्ताको हविगत यस दृश्यमा अवलोकन गर्न पाइयो । माछोमाछो भ्यागुतो बनाएको देख्ता बारम्बार प्राकृतिक प्रकोपबाट सताइएका निर्धा नेपालीको सम्झना हुन्छ । मूल जरामा किरो लागेको बिर्सेर पातमा औषधि छरेर समाधान खोज्नेहरू बिग्रेको जति तैँले र सप्रेको मैले भन्दै आपसमा पौँठेजोरी गरिरहन्छन्, युगौँसम्म । 

उद्धृत पङ्क्तिका पूर्वापर हेर्दा अझै उज्यालो चमक देखापर्छ । प्रायः भूतकालिक क्रियाको प्रयोग भए तापनि सवाल वर्तमान, भूत, भविष्य सबै तिरको उठेको छ । दिशाबोध सबैतर्फ भएको छ । उद्धृत गरिएका अंशहरूबाटै कवितामा प्रयुक्त वर्णविन्यास, शब्दचयन, कथन–संयोजन, यति–गति, कवितात्मक लयबद्धता, विषय–प्रस्तुति, बिम्ब–प्रतीक, जीव–जगत्, द्रष्टा–दृष्टि, रीति¬–लक्षण, अलङ्कार–अनुप्रास, भावव्यञ्जना आदि सबै पक्षमा आफ्नै विशेषता रहेको छ भन्ने छनक पाइएकै छ । सघन दार्शनिकताले कविताहरूमा गह्रुँगोपना पनि नभेटिने होइन । कविता हेर्दा नितान्त निजी विचार हो । अरुले सहमत हुन र नहुन पाइने छँदैछ । 

आखिरमा भन्नुपर्दा— भावसागरको चमकमा स्मृतिका पहाड फ्रेम र डाई समान बनेका छन् । आफूलाई सजिलो पर्ने गरी कसैले बनाउँदा अर्कालाई आपत्ति नहोला । पहिले बनिआएका मेसिनमा चाहिने पार्टपुर्जा एकनासका हुनुपर्छ । कसैले मेसिन नै नयाँ बनाउने अभिलाषाले हात उचालेको छ भने उसमा चाहिने पुर्जा पनि बनाउने हेक्का राखेकै हुन्छ । प्रकृति कलाकार हो । संयोजक उसकै सहयोगी कलाकार हो । उसले धेरै प्राकृतिक, केही निजी सिर्जनात्मकतामा आफूलाई प्रस्तुत गर्छ । घर तिम्रो, रहर तिम्रो अनि परिवेश र अवसर तिम्रो । मान्छे यात्री हो । जन्मजात देखेको सजिलो बाटो हिँडेर कोलम्बस बन्ने सपना पूरा हुँदैन, उसले त नयाँ गोरेटो कोर्नुपर्छ र आफ्ना पाइला चलाउनुपर्छ । उसका लागि उसकै सिद्धान्त, बस् अर्कालाई घात हुने गरी जाममा गाडी हाँक्न पाइँदैन । भन्ने जति स्वतन्त्र छ, सुन्ने पनि उति नै । सुनेर मान्ने उस्तै स्वतन्त्र र नसुन्ने वा सुनेर नमान्ने पनि उस्तै । आवरण नै सर्वस्व होइन, आवरणहीन पनि पुरुषार्थ होइन । नवसंयोजनमा सबैको सहभागिता छ, नयाँ निर्माणमा हो कि होइन भनी सोच्नै पर्छ । जुत्ता हेरेर खुट्टा मिलाउनुभन्दा खुट्टा नापेरै जुत्ता बनाउन दिनु सजिलो । जतिसुकै नरम भए पनि बालुवा वा खरानीका थुप्रामा हालेको बिउ सार्थक बन्दैन । बिउ नरोपी लक्षित बिरुवा उम्रन्न, बर्खा लागेपछि काम नलाग्ने च्याउ पक्कै उम्रिन्छ । साधना नगरी भयो ? उसको र मान्छेको काम बाँडिएकै छ । ऐना मात्रै सफा गरेर होइन, अनुहार सफा गरे सुन्दर प्रतिबिम्ब देखिन्छ ।

यहाँ राजनीति हुन्छ र बन्द हुन्छ । बन्द, हडताल, तोडफोड, अपहरण, लुट, आतङ्क, कुटामारी गर्छ राजनीतिले । उसको देखाउने दाँत शान्ति र अमन चैन भए पनि जुन बिरुवा हुर्काइयो फल त्यसकै लाग्दैछ । बारम्बार प्रयोग भए, यो तन्त्र र त्यो तन्त्र, बारम्बार असफल भए यो वाद र त्यो वाद । परिणाम के भयो भनिराख्नु नपर्ला । विदेशीका विचारको भारी र ऋणको भारी बोक्ने भरिया भए नेपाली । उसले प्रशंसा गर्दिए सफल भयो राजनीतिको लक्ष्य । पौडिने कलाको पाठ घोकेर नदी तर्न र रसवरी बनाउने सिद्धान्त कण्ठ गरेर मिठाइको रहर पूरा हुन सक्तैन । जे हुनुपर्छ त्यसका लागि परिश्रम नै गर्नुपर्छ । समग्र कविता सङ्ग्रह त्यही प्रयोग हो । व्यक्ति स्वतन्त्र छ र संसार फराकिलो छ । यात्रामा निस्केर नै समयलाई उपयोग गर्न र मनलाई नवीनता दिन सकिन्छ । एकरुप र एकरस रहनेले एक पक्षको रस चाख्छ । कविताहरू त्यसतर्फ पनि सचेत छन् । पढ्न रमाइलो लाग्यो । बिर्सेका धेरै कुरा सम्झना भयो, सोचेका केही कुरामा परिवर्तन आयो । सोच्न नभ्याएका केही कुरा सोच्ने अवसर जुट्यो । पहिलेदेखि सोच्तै आएका केही कुरामा कविताले सही थापेको पाएँ । आफ्नै आँखाले हेरेर आफ्नै मनले विचार गर्दा ।। अस्तु ।।


प्रस्तुति : महेन्द्र ओझा 

  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top