+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


कथा
नव साहित्य


बेहोसिका स्वरहरु



साह्रै नै निरिह र दयनीय भाव मुहारमा भरेर किस्ने साहुको अगाडी पुग्यो । उसको अनुहार देखेर साहु मोहनप्रसाद्को मुहारमा दयाभावको सट्टामा वितृष्णा भरियो । किस्ने मैलो र थोत्रो सर्ट, पाईन्ट, टाउकामा घेरा धमिलो भएको टोपी र खुट्टामा एउटा पिलन्धरे फित्तेचप्पल लगाएको गरिबी र अभावको भारले थिचिएको प्राणी ।

"कहाँ छस्  ए किस्ने अचेल ? नाकमुख देखाउनु छैन । कि बनाउन लगेको सामान सबै बेचेर खाईस ? फेरिफेरि काम गर्ने मन छ कि छैन ? " साहुले मन नलागेकै भाकामा बोल्यो ।

दुवै हत्केला जोडेर दस औंली बनाउंदै किस्नेले दयनीय आवाज निकाल्यो " हजुर ! कहाँ बेची खानु । घरमा जहान साह्रै बिरामी छे । त्यसलाई स्याहारसुसार गर्दागर्दै दिन बित्छ । हजुर, म त जहानलाई औषधिमुलो गर्न यसो अलिकति रुपैंया बिन्ति चढाउन आएको हजुर ! के गरौँ हजुर ! आपतै पो पर्यो त । अब हजुरले नै दया नगरी यो गरिबको उपकार नहुने भो हजुर ।" 

मोहनप्रसादलाई थाहा छ किस्नेमाथि दया र साहनुभुतिको भाव राख्नु भनेको कमेरामा सेतोरंग र रातोमाटोमा रातो रंग थप्नु बराबर नै हो । उसले देखाएन दया र साहनुभूति ।

"अँ बेलामा काम गर्नु छैन । बुद्दी पुर्याउनु छैन । अनि पर्दैन त आपत् । तँ जस्तो अल्छे बेकम्मालाई आपत् नपरी मेहनति र लगनशीललाई पर्छ त ? तँ जति नै कुरा बनाएर गर म तँलाई पैसा दिने वाला छैन । लगेको कामको ज्याला अस्ति लगेर खईहालिस् । त्यो खाएको ज्यालाको काम कहिले हुने हो थाहा छैन । अझ तँलाई पैसा थप्नु ? म त्यति मूर्ख भई सकेको छैन बुझिस् ? तेरी स्वास्नी बिरामी भई भन्ने कुरामा पनि मलाई रत्तिभर विस्वास छैन बुझिस् ? जा !! खुरुक्क गएर काम गर । "

त्यसपछि साहु मोहनप्रसादले उसको प्रतिक्रियाको वास्तै नगरी सरासर आफ्नो ठुलो घरमा पसेर अदृश्य भयो । साहुको व्यवहारले किस्नेले आफ्नो ठुलो अपमान भएको महशुस गर्यो । ऊ रिसले चुर भयो ।  साहुको आँगनमा भएको मुढालाई एकलात हान्यो र भुताभुताउंदै फर्क्यो । अत्यधिक रिसले गर्दा कन्चटका नशाहरु फुलेका थिए । नाकका पोराहरु फुर्फुराउंदै । कालो अनुहार झन् रिसले रन्केर डरलाग्दो भएको थियो । उसलाई देखेर जो कोहिले अनुमान लाउँन सक्थ्यो कि उसको तापक्रम बढेर सिमापारी पुगेको छ ।

"साला ! यी धनि चोरहरु आफुले आफुलाई के ठान्छन् कुन्नि ? काम गरेर कटाउने भन्दै आपतको बेला यसो गर्जो टारीमाग्दा पनि माग्नेले भिख मागेको भन्दा चौभाग गर्छन ए ! हाम्रै पसिनाले डम्म मोटाएका ब्वाँसाहरु न हुन् । तिनीहरुलाई हईसंचो पुगिसरी छ टन्नमन्न ढलपल । हामीलाई भने खुन पसिना एक गरेर काम गर्यो, भरे बिरामी हुँदा एक चक्की दबाई सम्म जुर्दैन । कहीं नभएको त्यसको त्यो थोत्रो भाँडो बेचिखाने मान्छे हो म ? मेरो पनि त ईज्जत छ नि गाउँ ठाउँमा ए रात्तै ! साह्रै मगज खायो त्यसको व्यवहारले । यसो भट्टीमा उधारो पाईयो भने आधासेर चढाउनु पर्ला ।"

भट्टीमा पनि अगाडी देखिको बाँकी भएकोले रक्सि दिन मान्दिन साहुनी । तर पनि बाटोभरी ईज्जतको खोक्रो गित गाउँदै आएको किस्नेले त्यहाँ भट्टीमा चाहिं ईज्जतलाई थोत्रे चप्पल मुनि कुल्चिएर ज्यानै अर्पुंला जस्तो गरि आधासेर रक्सि मागी तन्काई छोड्यो ।

रक्सीको रमरममा झन् उसलाई साहुसंग रिसा उठ्यो ।" त्यो मोहनाप्रसादे बजियाले खुरुक्क अलिकति रुपैंया दिएको भए यसो स्वास्नीलाई औषधि गरेजस्तो पनि हुन्थ्यो । भट्टीवाल्नीलाई पुरानो तिरेर अलिदिन यसो झुम्न पनि हुन्थ्यो । बजिया साहुले सारा प्लान चौपट पारी दियो । मेरो प्लान चौपट पारेजस्तो त्यसकी पनि स्वास्नीले त्यसलाई कुनै रसरंग गर्न नदेवोस् ।"

यसरी किस्नेले साहुलाई गाली गरेर, सरापेर भए पनि मन शान्त पार्यो । किस्ने गाउन्भारी कै खराब आचरणमा नाम कहलिएको मान्छे । अल्छी, तासे, जुवाडे, जडयाँहा । पांच पांच जना छोराछोरी स्वास्नी र आफु गरि सातजनाको परिवार ।

जसको भोको पेटको ज्वाला बुझाउने, नागों सरीर्को लाज छोप्ने, रोगले थलिएको कमजोर सरीरलाई तन्दुरुस्त बनाउने एकमात्र आधार किस्ने । तर किस्नेलाई ती सबको पिर कहाँ थियो र ? घरमा यसो एकदुई छाक खानपिनको सामान हुन्जेल काम छुन त कसमै खाए सरह थियो । ऊ हातमा सिप भएको मान्छे, सिपको सदुपयोग गरे दुखले उसलाई मात्र होईन पुरै परिवारलाई बाह्र हातले छुन सक्दैनथ्यो । तर त्यहाँ कुरा अर्कै थियो । किस्ने कामको लागि एकैपटक तीनचारजना साहु समात्थ्यो । सबै ठाउँबाट काम गर्नु भन्दा पहिला पैसा उठाउँथ्यो । त्यो रहुन्जेल ऊ तास र रक्सीमा मख्ख पर्थ्यो । उसलाई न भोलिको पिर न आजको चिन्ता । शोक न सुर्ता भोक न भकारी भने झैं थियो उसलाई ।

विचित्रिको जीवन जिउंथ्यो ऊ । ऋणमा चुर्लुम्म डुब्दा पनि उसलाई कुनै पिर थिएन । अनेकतरहको गाली सुन्थ्यो सके कुटाई नै खान परे पनि केहि दु:ख छैन । निर्लज्ज भएर सब सहि दिन्छ । तर आफ्नो बानी छोडेर ऊ सुध्रन सक्दैन । गरिब छ अति गरिब ! कसैसंग ऋण लिएमा फर्काउन सक्दैन ऊ । सके पनि फर्काउने चलन गर्दैन । उसलाई ऋण दिनु र ढुङ्गा हान्नु एकै हो । तर पनि कसै कसैसंग पटकपटक पैसा खुस्काउन सफल हुन्छ ऊ ।    

छोराछोरी राम्रोसंग पढाएमा पढन सक्ने मेघावी छन् सबैजना । तर बाबु छ किस्ने । स्वास्नीले सक्दा त यसो एकदुई बान रक्सि बनाएर पनि छोराछोरीको मुखमा माड जुराउंथी । तर अहिले ऊ पनि थालिएको निक्कै दिन भै सक्यो । औषधोपचार छैन ।  खान्की छैन । के गरि तन्ग्रेर हिंड्नु किस्नेकी स्वास्नीले ।

किस्ने रक्सीको रमरममा रल्लिएर हिंड्दा हिंड्दै झन्डै साँझै पर्यो । काम दाम गर्नु छैन । आफु जस्तै भातामाराहरुसंग बकम्फुसे गफ गर्दागर्दै साँझ पार्यो उसले । आफ्नो टोल पस्नु भन्दा अघिल्लो टोलमा खसी काटेको रहेछ । मान्छेहरु चाकामा माहुरी झुम्मिएसरी झुम्मिएका थिए । हातहातमा आरी र पैसा बोकेर । मासुको स्वाद पाएको नेपाली जिब्रो न हो रसाई हाल्यो । गोजीमा फुटेको कानाकौडी छैन । तै पनि मान्छेले मार्न नहुने आशाको त्यान्द्रो समात्दै, सक्दो प्रयास गारो उधारो मासु लान ।

पैसा छिट्टै तिर्ने अनेक बाचा गर्यो । तर किस्नेको बेईमानीको चर्चा आफ्नो टोलमा मात्र कहाँ हो र वरपर टोलमा पनि चलेको थियो । उसलाई त्यहाँ कुनै हालतमा पत्याएनन् । यी सब हुनुमा ऊ आफ्नो दोष पटक्कै देख्दैन थियो । उसलाई झन् साहु मोहनप्रसादसंग नै रिसा उठ्यो ।

उसले आउँदो दसैंमा जसरी भए पनि सिंगो खसी ढाल्ने संकल्प गर्यो मनमनै । आजभन्दा दशौँ वर्ष अगाडी हरिकृष्ण साहुले दसैंताका नै दुई दुईवटा खसी दिएको थियो । हाम्रो खाने मुख थोरै, लौ बिस्तारै पैसा काटलास् भनेर उसलाई खसी दिएको थियो । भलै त्यो खसी बिरामी किन नहोस् । खसीको पर्ने मोला भन्दा दोबर पैसा किन नालियोस् । त्यो साल दसैंमा किस्नेको भुइँमा खुट्टा नै थिएन । 

जोरीपारीको अगाडी आँगनमा खसी ढालेको एउटा मज्जा भने, अर्को दोकानबाट पैसाको अभावमा थोरैथोरै मासु किनेर तिर्सना नमेटने गरि भागशान्ति खानु र घरमै खसी ढालेर भित्रान्स, मिठेमासु, फलमासु, ह्याकुला, बोसेआन्द्रा ! आहा !! थरीथरीको मासु थरीथरीको पकवान ।

सरर .. थुक रसायो किस्नेको मुखमा । वर्षौं पहिला खाएको मासुको स्वाद जिब्रामा नभए पनि आँतमा अझै कायमै छ । फेरी एकपल्ट दसैंमा खसी ढाल्ने प्रण दोहाराउंछ किस्ने ।

घरमा पुग्दा घरको चुल्हामा आगो फुकिएको थिएन् | जेठो छोरा र माहिली छोरी आमाको छेउमा बसेका छन् । अरु दुईजना भाल्टागंभुलटुगं खेल्न गएका छन् । जेठी छोरी छे, जसलाई घरमा अप्ठ्यारो आर्थिक अवस्थाको कारण मावालीमा राखेर पढाएका थिए । एस एल सी सम्म पढाए । पासा पनि गरि । त्यसपछि फर्काए मावालीले । दिनाहरु सधैँ उस्तै रहदैन भनेजस्तै किस्नेकी छोरी दिपिकालाई पनि मामाघरमा पारिवारिक बोझ थपिंदै गए पछी मावालीले घर फर्काएका हुन् ।

घरमा आएर बाबुको कमाईको भरमा कलेज पढ्नु भनेको दिपिकाको निम्ति अक्सिजनाबिना सगरमाथा चढ्नु जस्तै हो । उसले छिट्टै घरको स्थिति बुझेर काम गर्न थाली । उसले काम गर्न थालेपछि झन् अल्छी भएको थियो किस्ने । छोरीको कमाई खान पल्केको किस्ने किन मिहेनत गरोस् । किस्ने घरमा पस्नासाथ माहिली छोरी रुन्चे स्वरमा सोध्छे ।

"बुवा ! पैसा ल्याउनु भएन ? यहाँ आमालाई कस्तो गाह्रो भै सक्यो । औशाधीसंगै यसो पोसिलो कुराहरु खुवाउनु पर्ने ! उठनै नसक्ने भै सक्नुभयो ।"

छोरीलाई जवाफ दिने शब्दको अभावमा अल्झिरह्यो किस्ने । बोल्न सकेन वा खोजेन ।

"हामीलाई थाहा थियो बुवा ! तपाईंले पैसा ल्याउन सक्नुहुन्न वा ल्याउनुभए पनि भट्टीमा रक्सि र तासमा सकेर मात्र आउनु हुन्छ भनेर । सायद त्यस्तै भयो होला तपाइँलाई घर, स्वास्नी,छोराछोरीको के मतलब ? भोकभोकै मरुंन् कि औषधीको चक्की नपाएर मरुंन् ।"

"चुप लाग् , बाठी नहो बढी । धेरै जान्ने हुने होईन । ट्रा बाजेले तेरी आमा बिरामी छे भन्ने कुरासम्म पत्याएन् । एक पैसा दिएन् । कहाँको तास खेल्नु ? भट्टीमा रक्सि खानु ? अब तेरी दिदि काम गर्ने ठाउँबाट पेश्की मागेर ले भन्नु पर्ला ! के गर्नु त खै !! "

"अँ ...अब त्यहि दिदी त देख्नु भएको छ नि तपाँईले । बिचरी दिदी आफ्ना ईच्छा , आकांक्षालाई मारेर उसले हालत र परिस्थितिसंग सम्झौता गरेकी छे । उसका पनि त आफ्नो भविष्य बनाउने सपना होलानी । अझ उसको कमाई महिना मर्नुभन्दा पहिला हिसाबकिताब क्या गजबको कुरा ।" 

"हेर थुतुनी, गरिबका छोराछोरीले सपना सजाउनु भनेको त्यसको निजि मुर्खता हो बुझिस् ? उनीहरुले सपना सजाउन होईन घरको गर्जो टार्नतिर पो सोच्नु पर्छ बुझिस् !! "

"अँ .. आफु बाबु भएर सन्तानप्रतिको जिम्मेवारी पुरा गर्न सक्नु छैन । कुरा चाहिं ठुलाठुला । के को गरिब ? को गरिब ? तपाँईभित्र सदबुद्दी भए आज यो दिन देख्नु पर्थ्यो ? मिहेनत गरेर छोराछोरीलाई शिक्षादीक्षा दिनु भएको भए भोलि हामी तपाईको दरिलो काँध बन्ने थियौं । दिदीले कति मिहेनत गरेर राम्रो नम्बरमा पास गरी एस एल सी । कलेज पढाउनु त कता हो कता उल्टै उसलाई काममा दलाएर उसको कमाई खाने । तप्पीको बुद्दी र तपाईको के कुरा ??? "

एक चडकन लगाई हाल्यो किस्नेले छोरीलाई !!

"होईन .. किन पिट्नु भएको बढेकी छोरीलाई ? खै !! बाबु र छोराछोरीको झगडा पनि दिनहुँ चलेको छ , चलेको छ । न बाबुचाहीं आफ्नो बानी सुधार्न सक्छन् । न त छोरी किचकिच गर्न छोडछे । दिक्कै लागिसक्यो । मर्न पाए आनन्द हुन्थ्यो ।"

" के भयो आमा ! किन बिरामी मान्छे कराउनु भएको ? " भित्र पस्दापस्दै दिपिका प्रश्न गर्छे । बहिनीले आजको कुराहरु दिदीलाई सुनाउन थाल्छे ।

" बुवा ! मैले आमाको बिरामी भनेर पेस्की मागेर ल्याएकी छु । बरु गन्थन नगरौं घरमा । आमालाई लिएर जाऔं अस्पताल । वहांको स्थिति गम्भीर छ बुवा ।" 

भोलिपल्ट बिहान लागे बाबुछोरी भएर आमाचाहिंलाई डाक्टरकोमा । डाक्टरले सबै किसिमको परिक्षण पछाडी औषधीको लामो सुची लेखिदिए | औषधी किनी सकेपछी रहेको पैसाले तागतिलो खुराक हर्लिक्स, फलफुल, बिस्कुटहरु किन्न भनेर किस्नेले छोरीसंग पैसा माग्यो । अलि महंगो मात्र त हो भइहाल्यो यहि नजिकै भएको दोकानमा किनौं न् भन्दा, एकैछिनको कुरा त हो । म सरासर चोक गएर लिएर आईहाल्छु किन महँगो किन्ने भनेर किस्ने मानेन ।

आँखामा अविस्वासको भाव झल्काउंदै दिपिकाले बाबुलाई पैसा दिई । त्यहीं एकछिन पर्खेर बस्ने भन्दै किस्ने गयो स्वास्नीको लागि तागतिलो खुराक किन्न ।ऊ जाँदै थियो । भगवानले साईत जुराई दिएजस्तो चोक नपुग्दै एउटा भट्टी पसलमा नजर तानियो किस्नेको । मनमा धेरै कुरा गुन्दागुन्दै पनि उसका पाईला स्वत त्यता बढ्यो । ऊ भित्र पसेर कुनाको टेबलमा बस्यो । बिरामीलाई पर्खाएर आएको सम्झदासम्झदै पनि आ... आधासेर स्वाट पारेर कुदिहाल्छु भन्ने गुन्दै मगाई हाल्यो आधासेर ।

अगिसम्म स्वाट्ट पारेर कुद्ने विचार गरेको किस्नेको नियत हातमा बोतल र गिलास आएपछि बदलिन थाल्यो । ऊ हतार नगरी आनन्दले पिउन थाल्यो पिउँदा पिउंदै केहि सितन भए हुन्थ्यो भन्ने लाग्यो । संयोग मिलेको उसको नाकमा सरक्क मासु भुटेको गन्ध पस्यो । जे होला उसले एक प्लेट मासु मगायो । खाँदा खाँदै रक्सि सकियो । सितन रह्यो । फेरी आधासेर माग्यो । थप माथि थप परेपछि नशाले भेटन थाल्यो र आफ्नो काम बिर्सन थाल्यो ।

गोजी छाम्यो पैसा छ मज्जासंग । उसले धमाधम मासु र माछाका परिकार मगाएर मज्जाले टेबलमा फिजाएर खान थाल्यो । उसको शान निक्कै ठुलो देखिन्थ्यो । दिन निक्कै छिप्पिसकेपछी किस्ने लर्खराउंदै भट्टीबाट निस्क्यो, साथै उसको ओंठमा कुनै एक पुराना गायकको गित खेलिरहेको थियो । 

लरखराउंदै हिंड्दा बाटोमा ठेस लाग्यो । उसलाई ठेस लगाउने ढुङ्गासंग कहीं नभएको रिसा उठ्यो र फेरी त्यो रिससंगसंगै हिजोको मोहनप्रसादले पैसा नदिएको रिसा थपियो । 

"आफ्नी स्वास्नी बिरामी भएर कत्रो टेन्शन मान्छेलाई । दु:ख बेसौँ गएको त दुत्कार्दो पो रहेछ खुबै । त्यसलाई मेरी स्वास्नीको के मतलब मरोस कि बाँचोस् । त्यसलाई मेरी स्वास्नीको पिर नलागे पनि मलाई त लाग्छ नि । जे भए पनि प्राणप्यारी छे मेरा लागि मेरी स्वास्नी ।"

हिंड्दा हिंड्दै असाध्य गर्मी लाग्छ किस्नेलाई । जब कि त्यति साह्रो गर्मि लाग्ने बेला त होईन नै । सायद उसलाई रक्सीको मातसंगसंगै कडा बास्नाको लागि थरिथरिका मसलाहरू राखेर पकईएको मासुको गर्मी थियो होला । ऊ एउटा रुखको छहारीमा शितल खान बस्यो । एकछिन पछी नै ऊ घुर्न थाल्यो आनन्दले ।

लोगनेको बाटो कुर्दा कुर्दै सिंग जुरो पलाएपछी छोरीलाई खै गरि आमाचाहिंले घर जाऔं भनेर । 

" हेर्नुस त आमा , ऊ ... त्यहाँ रुखको छाहारीमा सुत्ने बुवा होईन ? लौ बुवाले त थाम्नै नसक्ने गरि रक्सि खाएर पैसा सबै स्वाहा पर्नु भए जस्तो छ । हे भगवान ...!! हाम्रो बुवाको बुद्दी कहिले फिर्ने होला । बुवा !! ए बुवा !!! किन यहाँ सुत्नु भएको ? उठनुस् घर जाऔं ।" किस्नेलाई झक्झाकाउँदै बोलाउंछे दीपिका ।

"भट्टीमा कान्छी क्या च्वाँक .. !! कान्छीको सुकोमल हातबाट रक्सि पिउँदा अहा !! त्यो दिपिकाकी आमा .. अलछिनी रोगि !! त्यो मोहनप्रसादे बजिया .. थुक्क !! त्यसले मलाई पैसा नदिने ?? अजिंगरको आहारा दैवले पुर्याउछ !! थुईया .. असत्ति !! मेरी स्वास्नी ..!!! " 

बेहोसी अवस्थामा नै अस्पस्ट शब्दहरु धेरै बोलिरह्यो किस्नेले । लाचारी र विवशता भरिएको नजर आमातिर सोझ्याउंछे दिपिका । अआमा रोगले निस्ताएको आँखाभरी आँसु पार्छे । आमाको आँसुले दिपिकाको मन सिउने नमिल्ने गरि धुजाधुजा भएर च्यातिन्छ ।

घर पुगेर आमालाई औषधि खुवाएर सुताएपछी भाइ बहिनिलाई "तिमीहरु राम्रोसंग आमालाई हार्दै गर्नु । म आमाको लागि तागतिलो खानेकुरा किनेर ल्याउँछु । "कानमा भएको सानो गहना फुकाल्न थाल्छे दिपिका !!!!


कथा : बेहोसिका स्वरहरु

कथाकार : रीता ताम्राकार 

प्रस्तुति : महेन्द्र ओझा  

  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top