बुढ्यौली साहित्य - कविता



बुढ्यौली कविता : आज मलाई याद आयो

हो,
आज मलाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला   .........!
पढ़ेगुने के काम हलो जोते खाए माम् 
हलो जोत्न सिकेस् , छेउकुना 
लाउन सिकेस्, आफ्नो गर्हा खेत पाखा
बारी चिन्न सिकेस् अनि दाउरा 
घाँस र जङ्गलझार गर्न सिकेस् 
आफ्नो मेहनतको कमाई खान 
सिकेस् अनि बारीमा काम गर्दा खलखली 
बगेको तेरो ललाटको पसिना तप्प तप्प 
तैंले जोद्दै गरेको हलोले 
उप्काएको नयाँ माटोमा चुहुँदा,
अनि माटोले तेरो पसिना चिनोस्, तैंले 
माटो चिन् र माटोले तँलाई 
चिनोस् र तैंले बारीझारी 
गह्रा कान्ला दुइहात पछाडि 
बाँधी साहू बनेर डुल्दै गर्दा, तैंले 
लगाएका अन्नबाली र फलफूल र 
तरकारीहरुले सुस्त सुस्त र मन्द गतिमा 
चलिरहेको हावाले, तेरो शरीरको गंध 
उडाएर लग्दा, परैबाट चिनोस् र 
तैंले टेक्दै गरेको प्रत्येक 
पाइलाको डोब, 
तेरो बारी र खेतको प्रत्येक 
आली र डिलले, मेरो साहूको पाइलाको 
छाप हो भनेर चुमोस् र झुकेर सलाम 
गरोस्, यसरी सलाम गरोस् जसरी 
वीरहरुले देश र माटोको 
निम्ती शत्रुहरुसँग लड्नु पर्दा,
टेकेका पाइलाहरुलाई, आज पनि सलाम 
गर्दछ र पूज्दछ, जसरी रामको खराउलाई  भरतले राज्यको सिङ्हासनमा राखी,
पूज्ने गर्दथे, आज पनि शान्तिको 
संदेश फैलाउने शान्तिदेव बुद्धको,
पाउको निसानीलाई पूज्ने 
गर्दछ र फूलफलेत र 
भेटीले स्वागत गर्दछ, 
किनकी, त्यो निशानी पाउको 
निशानी मात्रै थिएन, त्यो पाउको 
निशानी, आफ्नो देश र आफ्नो मातृभूमि 
प्रतिको अथाह माया र स्वाभिमानको 
निम्ति लडिएको एक आत्मा विश्वासको 
बाघ किल्ला थियो,
त्यस्तै गरी, बुद्धको कदम जहाँ जहाँ 
फैलिए शान्तिको दूत बनेर फैलिए र 
एक आत्मा विश्वासको माहागुम्वा 
खडा भए, हो त्यस्तै गरी, तेरो 
पाउको निशानी तैंले टेक्दै गरेको 
गह्रा कान्ला र आलीका डिलहरुमा, तैंले 
गरेका आफ्नो माटो र तँलाइ आफ्नो 
छातीको लाम्टो चुसाइ हुर्काएकी 
आमाले झैं, तैंले छरेका अन्नका बीउहरु 
अंकुरण गराउने मातृभूमि प्रतिको,
प्रेम र स्नेहको एक बलियो आत्मा 
विश्वासको चट्टानको पहाड़ 
खडा होस्,
हो ,
आज मलाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला   .....!
छेउको सियो माझैमा आउँछ,
अनि म प्रश्न गर्थें बाउलाई, कसरी आउँछ 
माझैमा छेउको सियो बाउ भनेर, अनि 
मेरो बाउले भन्थे - "म अघि अघि 
जोद्दै गर्छु अनि तँ पछि पछि हिड्दै गर र 
हेर कसरी छेउको सियो माझैमा आउँछ" 
अनि मैंले त्यसै गर्थें नभन्दै 
छेउको सियो माझैमा आउँदो रहेछ,
मैंले बाउ संगसँङ्गै हलो जोत्न सिकेँ अनि 
आलीधुरको छेउकुना लाउन पनि,
प्रसस्त अन्नबाली उब्जाउन थाले र 
भित्र्याउन थाले भकारीमा, 
मैंले मेहनत गर्न थालेको देखेर, मेरो 
बाउ भित्र भित्रै मख्ख पर्देथे र भन्थे 
स्याबास् माइला, अब तैंले 
मेरो बिंडो थाम्ने भइस म ढुक्क छु,
कथमकदाचित म मरें भने पनि तैंले 
अब हलो जोती बुढी आमालाई पाल्छ्स् भनेर ....,
म कुरो बुझ्दैन थें बाउको कुरा, ह्या ...बाउ 
मर्ने कुरा न गरन तिमी भनेर म रिसाएर 
भन्थे बाउलाई,दमको बिरामी थियो 
बाउ अनि ख्वाक्क ख्वाक्क खोकी 
बस्थे,
मेरो जेठो दाइलाई पढ्न सहर पठाए 
तर मलाई हलो जोत्न सिकाए 
मेरो बाउले, 
अनि प्रश्न गर्थे म बाउलाई,
बा .., 
"पढेगुने के काम हलो जोते 
खाए माम्, भन्या हैन बा, खैत दाइले 
हलो जोतेको, अनि दाइले के 
भात खान पाउंदैनत बा ...? " 
अनि भन्थे मेरो बाउले,
" तँ बलिया बाङ्गा छस्, र मोटा मोटा 
पाखुरा र सोझा छस् र तँलाई खेत 
बारीको इलम छ माटो कोड़ेर खान 
सक्छस्,तर तेरो दाइ अल्छे र लुते छ,
तेरो दाइले हलो जोतेर खान सक्दैन, 
त्यसैले, तेरो दाइलाई सहर पठाको पढ्न 
अनि पढेर बिए पास गरेसी, मास्टरी गरेर 
पढाएर गरी खान्छ, 
तँलाई के काम पढ़ाई "'
हो है बा भनेर चित्त बुझाउँथे,

हो ,
आज मलाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला   .....!

बिरामी बाउ खुत्त्रुक्कै मरेछ म हलो
जोतेर आउँदा, अब सबै सिरा भारा मेरै 
टाउकोमा लादियो, म हलो जोत्ने 
भएँ र मेरो दाइ सहरमा 
पढ्ने भए,
बुढी आमा ढेकी जाँतो गर्न सक्तैन थिइंन्,
र भन्थिन् ए माइला, "तेरो दाइ बिहे गर्न 
मान्दैनन् अझै पढ़नेरे तैं बिहे गर्, 
पल्लो घरकी 
काईँला नेवारको छोरी माइली 
सार्है असल छे, मेरो सार्है सेवा गर्छे र 
बिहे गरेर मेरो बुहारी बनाएर ले" 
मैले हौस् आमा भन्दै,
माईंलीको हात माँगेर बिहे गरी घरकी 
बुहारी बानाएँ, उनी घर आँगन र ढेकी 
जाँतो र गोबरकर्चि गर्ने भइ र म असल 
घरको बाउको बिंडो थाम्ने हलि,
दाइ पढेर ठुलो मान्छे भए,
अनि सहरको हाकिम् बने र उतै बिहे गरे 
पढेकी भाउजु,
उनीहरु दुबैजना सररर मोटरमा 
जागिर गर्न जान्छन् अरे तर म हलिको 
हलि,अनि मेरी अर्धाङ्गिनी गोबरकर्चि र 
ढेकी जाँतोमै दिन् बित्छ तर मेरी 
भाउजुले कहिले गर्नु परेन ढेकी जाँतो र 
भकारो सोर्नु परेन...!

हो,
आज मालाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला....,

" पढेगुने के काम् हलो जोते खाए 
माम्" खानत म पनि भातै खाँदै छु र दाइ
भाउजू पनि भातै खाँदैछन् तर फरक 
यति हो उनीहरुलाई दालभात खान मैले 
जस्तो पसिना चुहाउनु पर्दैन र दाइको 
खुट्टा, मेरो खुट्टाको कुर्कुचा धान 
खेतको ध्वंजा फाटे जस्तो चिरा 
चिरा गरी फटाउनु पर्दैन,
कति फरक छ लुते झिनो र बलियो 
बाङ्गे तिख्रे भएर जन्मनुमा,
मैले आफुले गरेको दुख झल्झल्ती सम्झेर 
मैले पनि आफ्नो छोराछोरीलाई सहरमा 
पढ्न पठाए, उतै पढ़े हुर्के र बिहादान 
गरे, अहिले उनीहरु सुखमा छन्, 
मसिनो चामलको भात खान्छन् 
जन्मनत मेरो जेठो छोरा पनि
बलियो बाङ्गो र मोटो मोटो हात पाखुरा 
लिएर जन्मे, तर मेरो बाउले जस्तो मेरो छोरालाई बलियो बाङ्गो हुनेले हलो 
जोत्नु पर्छ भनेर पक्षपात गरिन 
सक्नुजेल आफूले माटो कोड़ेर 
दुख गरी पढाएँ,
पढ़ाउनुत पढाएँ तर अहिले मैंले जस्तो 
गरी बाउको बिंडो थाम्ने मेरो कोही 
भएन, 
जग्गा जमिन सबै धेरै जसो बेची 
छोराले सहरमै घर किने, अहिले त्यो 
बेचिएको जमीनमा अरुले ट्रयाक्टर 
चलाउँदा, मरो छातीमा आर्हा चला 
जस्तो हुन्छ, मैले लगाएका गर्हा र खेतका 
आलीमा अरुले टेकेर हिड्दा 
मेरो छातीमा हात्तीले टेकेर हिँडे जस्तै गरी
सहने न सक्ने गरी दुख्छ,
हामी बूढाबुढी अहिले घरले जा जा 
बनले आईजा आईजा भन्ने अबस्थामा 
छौँ, छैन कोही सहारा अहिले,
बूढी राती आँखा नदेख्ने भएकी छे र म 
हिड्न न सक्ने भएको छु, 
बाँकी रहेका बारीझारी सबै बांझोनै छन् 
अहिले गाउँका गाइवस्तु चराउने खर्क 
भएका छन्, बिहानी हुन्छ फेरी झमक
साँझ उही बूढाबुढी एक अर्कालाई 
मुर्सार्यो बस्यो अनि पर्खाइ कालको,
मैंले बाउको बिंडो थामे र बूढी आमाकी 
मेरी माइँली अर्धाङ्गिनीले सेवा सुसार 
गरी तर आज उनलाई सकाउने 
कोही छैनन् !

हो,
आज मालाई याद आयो,
मेरो बाजेले भनेको कुरा,
ए माइला  ....,

बाह्र छोरा तेर्ह नाति बूढाको धोक्रो काँधै 
माथि हो रहेछ, अहिले आएर बूढेस 
कालमा बल्ल पो चाल पाएँ, बालखमा 
आफ्ना छोराछोरीलाई ताते ताते गरी 
कति हिडाईयो हिडाईयो, काँधमा 
बोकी कति आँगन , घर र गाउँ डुलाइयो डुलाइयो,
कति पल्ट यो काँधमा,
दिसा पिसाब गरे गरे, गुँमुत् खाए 
हुर्काउन बढाउन अनि बूढेसकालको 
साहारा बन्ला भनेर आशा गरे तर आज 
छैन कोही साहारा यो बूढ़यौलीमा,
छ साहारा मात्र यो निर्जीव प्राण नभएको 
छाताको डन्ठी, 
अहिले म छाताको डन्ठीलाई समाउँछु र 
कुप्रो परी हिड्दै, आफ्नी आँखा न देख्ने 
माइलीलाई डोर्याई डोर्याई गाउँ 
डुलाउँछु, 
हाम्रो लागि यहि गाउँ अहिले तिर्थ धाम 
भएको छ, काँशी, गया , बाबा धाम र 
चार धाम सबै यहिँ छ मेरो र मेरी 
माइलीको लागि,
बूढ्यौलीको दुख सम्झेर आँखा भरि 
आँशु रसाएर आउँछ तर पनि आफ्ना छोरा 
नातिलाई कहीले सराप्तिन, 
जय ! जय ! होस् भन्दै सँधै आशिर्वाद दिई 
रहन्छु, यहि आशिर्वादकी, हाम्रो 
जस्तो बूढ़यौलीको दस्सा तिमीहरुले 
कहिले भोग्न नपरोस् र मलाई 
जस्तै छेउको सियो माझैमा 
घुमेर तिमीहरुलाई कहिले नआओस् 
किनकी हामी तिम्रा बाबा आमा हौँ !
हो, 
आज मालाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला  .....!
आज मैले टेकेका पाइलाका हरेक 
डोबहरु म सम्झन्छु र डोबहरुले मलाई सम्झन्छ,
मैले बनाएका गोठहरुले मलाई 
सम्झन्छ र म ती गोठहरु र मैले गाडेका 
आँगनको बीचको मीयो खामो सम्झन्छु 
अनि गह्रा खेत बारी कान्लाले मलाई 
सम्झन्छ र म तिनीहरुलाई सम्झी धुरु 
धुरु रुई बस्छु तर मेरा आफन्तहरुले 
कसैले मलाई संझीदैन तर 
म उनीहरुलाई सम्झी बस्छु,
यहीत रैछ बूढ़यौली भनेको, जसरी मैले 
बच्चामा मेरा छोरानातिहरुलाई ताते ताते 
गराए आज मालाई ताते ताते 
गराओस् तर खै .....?
मनमनै प्रश्नको पहाड़ चुल्याई बस्छु,
मनमनै प्रश्नको पहाड़ चुल्याई बस्छु ,

हो ,
आज मलाई याद आयो ,
मेरो बाउले भनेको कुरा ,
ए माइला ....
तर मेरो छोराबुहारी र 
नातानातिनीहरुलाई कहिले 
बूढयौलीमा मलाई जस्तो 
याद आउन न परोस् 
आज मलाई याद आयो,
मेरो बाउले भनेको कुरा !

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329254 Times Visited.

Powered by: Exclusively Solution
Top
Content