बाल साहित्य - बालकथा



आज मेरो कथा सुनाउने पालो

प्रकाश, राधिका, दीपक, राम, दीपा र सीता छिमेकी हुन् । उनीहरु एउटै बिद्यालयको कक्षा ५ मा पढ्छन् । उनीहरुको बिद्यालय घरदेखि तेर्सै दश मिनेटको बाटोमा पर्छ । उनीहरु घरबाट बिद्यालय जाँदा सँगै जान्छन् । बिद्यालयबाट घर फर्कँदा पनि सँगै फर्कछन् ।

बिद्यालय जाँदा घर फर्कँदा पढाइ, खेलकुद र घर व्यवहारका कुरा गर्छन् । प्रत्येक शनिबार दुई बजे पछि डाँडाको चौतारीमा भेला हुन्छन् । कहिले स्थानीय खेलहरु मिलेर खेल्छन् । कहिले कथा कविता चुट्किला पालैपालो सुन्छन् र सुनाउँछन् । 

आज शनिबारको दिन । सबैले नुहाइधुवाइ गरे । घरको काम सघाए । खाजा खाएर चौतारीमा जम्मा भए ।

‘राधिकाले भनिन्, ‘आज मेरो कथा सुनाउने पालो ।’

सबैले सहमति जनाए र कथा सुन्न तयार भए ।

राधिकाले भनिन् ‘यो कथा मलाई मेरो हजुरबाले हिजो बेलुका सुनाउनु भएको हो । कथाको शिर्षक छ दलानमा गौंथलीले गँुड किन बनाउँछ ?’

धेरै पहिलेको कुरा हो । जङ्गलको नजिकै एउटा घर थियो । त्यस घरमा चरुमती नाम गरेकी नौ बर्षकी केटी, हजुरबा र हजुरआमासँग बस्थिन् । हजुरबा र हजुरआमा बृद्ध भैसकेका थिए । चरुमतीको बुबा आमा उनी तीन बर्षको हुँदै बर्षाको भेलमा परी परलोक हुनुभएको थियो । हजुरबा र हजुरआमाले धेरै माया गरेर चरुमतीलाई हुर्काउनुभयो ।

चरुमती स्वर्गकी अप्सरा जस्तै अति राम्री थिइन् । उनी चराचुरुङ्गी अति मन पराउँथिन् । चराचुरुङ्गीको भाषा बुझ्ने उनको अचम्मको गुण थियो । उनी चराचुरुङ्गीसँगै खेल्थिन् । दुःखसुख बाँड्थिन् ।

चरुमतीको घर नजिकै एउटा लाकुरीको रुख थियो । त्यस रुखमा झिँजामिजाको गुँड बनाएर एक जोडी गौंथली बस्थे । तिनै गौंथलीलीको भालेपोथी उनको सबै भन्दा नजिकका साथी थिए ।

हिउँदको जाडो सकिएको थियो । गर्मी शुरु भैसकेको थियो । चरुमतीको हजुरबा र हजुरआमा निकै बिरामी पर्नु भयो । पाँच दिन भइसक्यो ठीक भएन । झन्झन् गाह्रो हुँदै गयो । चरुमती आत्तिएर रुन कराउन थालिन् । उनी रोएको सुनेर गौंथलीका भालेपोथी नजिकै आए । ‘किन रोएको तिमीलाई के भयो ?’ भनेर सोधे ।

‘मेरो हजुरबा र हजुरआमा निकै बिरामी हुनुहुन्छ । पाँच दिन भैसक्यो झन्झन् साह्रो भए जस्तो छ । कृपया हजुरबा हजुरआमालाई बचाउन सहयोग गरन । नत्र म बर्बाद हुनेछु ।’ 

गौंथलीका भालेपोथी दुबै घरको ढोकामाआएर चिहाई चिहाई बुढाबुढीलाई हेरे अनि उडेर गए । 

एक घण्टाको बीचमा दुई पटक चुच्चामा च्यापेर जडीबुटी ल्याएर चरुमतीलाई दिए ।

चरुमतीले त्यस जडीबुटीलाई झोल बनाएर खुवाइन् । दुई तीन दिनसम्म गौंथलीले औषधि ल्याइदिए । त्यो औषधि खाएर हजुरबा हजुरआमाको रोग निको भयो । चरुमती गौंथलीदेखि निकै खुशी भइन् र धेरै धन्यवाद दिइन् । गाँैथलीले ल्याएको औषधि खाएर रोग निको भएको कुरा हजुरबा र हजुरआमालाई पनि सुनाइन् । हजुरबा र हजुरआमा पनि गौंथलीदेखि निकै खुशी हुनुभयो र धेरै आशीर्वाद दिनुभयो ।

जेठ महिना थियो । एक दिन साँझपख एक्कासी कालोनीलो भएर बादल उठ्यो । बेस्करी हुरी बतास चल्न थाल्यो । रुखका हाँगा भाँचिए । घरका छानाहरु उडायो ।

केही बेरपछि हुरी बतास रोकियो । गाँंैथलीहरु रुखको वरिपरि घुम्न थाले । गुँडमा दुईवटा बचेरा थिए । दुवै बचेरासहित गँुड उडाएको थियो । गौँथली टाढा टाढासम्म पुगे बचेरा खोजे । कही पाउन सकेनन् । दुवै गौँथली चरुमतीको आँगनको डिलमा बसेर बिलौना गरीगरी रुन थाले । चरुमतीलाई गौंथली प्रति दया लाग्यो । चरुमतीले गौंथलीलाई सम्झाइ बुझाइ गरिन् । हेर दैवको खेल यस्तै हुन्छ । पीर नगर । म तिमीहरुलाई सहयोग गर्छु भन्दै एउटा पेरुङ्गोमा घुस्यान राखिन् । बिरालो मलसाँप्रोलोले नभेट्ने गरी पेरुङ्गोलाई दलानमा झुन्ड्याइन् ।  

‘आज तिमीहरु हाम्रो पाहुना भयौ, ल यो चारा खाऊ’ भनेर चामल दिइन् । बस्ने ठाउँ देखाइन् । गाँंैथलीहरु पेरुङ्गोमा बसेर रात बिताए । 

भोलिपल्ट चरुमतीले गौंथलीलाई त्यही दलानमा घर बनाउने सल्लाह दिइन् । माटो मुछेर सहयोग गरिन् । गौंथलीले चुच्चोमा माटो लाँदै दलानको एक ठाउँमा थोपर्दै गर्न थाले । तिन दिनमै आफुले चाहे जस्तो घर बनाए र बस्न थाले । चरुमतीदेखि गौंथलीहरु धेरै खुशी भए । चरुमतीको सहयोगको प्रशंंसा गरे । चरुमतीको नाम अमर रहोस् भनेर आशीर्वाद दिए । त्यस बेलादेखि अहिलेसम्म गौँथलीले मानिसको घरको दलानमा गुँड बनाएर बस्दै आए । 

सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुण्ठ जाला भन्ने बेलामा खरखर्ती आइजाला ।

राधिकाले कथा शुरु गरेदेखि अन्त्य गर्ने बेलासम्म सबैले रमाइलो मान्दै ध्यान दिएर सुने ।

अन्तमा रमाइलो कथा सुनाएकोमा राधिकालाई धन्यवाद दिए । 

अर्को शनिबार चुट्कीला भन्ने पालो बाँडेर सबै घरतिर लागे ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329262 Times Visited.

Powered by: Exclusively Solution
Top
Content