विधा परिचय / पाठशाला - विधा परिचय / पाठशाला : इता दोष



विधा परिचय / पाठशाला : इता दोष

एउटै खालका शब्दमा एउटै प्रत्यय लाग्दा मूल शब्दमा अनुप्रास नमिल्नु इता दोष हो । काफियामा हुने प्रमुख दोष मध्येमा यो दोषलाई लिइन्छ । शव्द संरचनाको आधारमा निर्क्यौल गरिने यो दोषलाई अरूज शास्त्रले मिहिन तरिकाले विश्लेषण गरेको छ । अरूजमा इता दोषलाई ‘गजलको मतलामा लिइएका काफियाका शब्दहरू नै आनुप्रसिक छैनन् तर आनुप्रासिक भएको भ्रम पैदा गर्छन् भने त्यस्तो दोषलाई इता दोष’ भनेर व्याख्या गरेको पाइन्छ ।

उदाहरण १ 

कतै मनको बाधा उठाएर आएँ 

कतै मन तगारो बनाएर आएँ

माथिको मतला शेरमा इता दोष छ । उठाएर र बनाएर मा सामान्यतया: हेर्दा समतुकान्तता देखिन्छ । प्रत्यय एर हटाइदिने हो भने उठा र बना आपसमा स्वरकाफिया पनि हुन् । त्यसो भए कहाँ बितल पऱ्यो त ?

यसमा समस्या प्रत्ययको पहिचानमा छ । माथिका शब्दजोडामा प्रत्यय ‘एर’ नभई ‘आएर’ हो । जब आएर छुट्याइन्छ त्यहाँ मूल शब्द उठ् र बन् बाँकी रहन्छन् । ती दुई शब्द सानुप्रासिक छैनन् । मूल शब्द सानुप्रासिक नभएपनि प्रत्ययले त्यो भ्रम पार्नु नै इतादोष हो ।

केही उदाहरणहरूमा रहेर छलफल गरौं । 

१. गर्, मर् झर् छर् जस्ता शब्द मूल शब्द हुन् । यिनीहरू सानुप्रासिक हुनाले काफिया हुन सक्छन् । यिनीहरूका एकै खालका व्युत्पन्न शब्दहरू गर्छ, मर्छ, झर्छ, छर्छ अर्थात गर्ला, मर्ला, झर्ला, छर्ला जस्ता शब्दहरू पनि आपसमा हमकाफिया हुन सक्ने भए । कस्, बस्, खस्, घस् हरू पनि मूल शब्द हुन् । यिनीहरू सानुप्रासिक हुनाले काफिया हुन सक्छन् । यिनीहरूका एकै खालका व्युत्पन्न शब्दहरू कस्छ, बस्छ, खस्छ, घस्छ अर्थात कस्ला, बस्ला, खस्ला, घस्ला जस्ता शब्दहरू पनि आपसमा हमकाफिया हुन सक्ने भए । 

२. गर् र खस् दुबै मूल शब्दहरू हुन् । यिनीहरूका हर्फे रवी फरक छन् । मूल शब्दको रूपमा यिनीहरू सानुप्रासिक छैनन् । यी मूल शब्दबाट बनेका व्युत्पन्न शब्दहरू गर्छ/खस्छ, गर्ला/खस्ला, गरौंला/खसौंला, गरायो/खसायो आदि आपसमा अनुप्रासिक हुनसक्छन् तर यी हम काफिया हुन सक्दैनन् । यदि हमकाफियाको रूपमा यिनलाई लिइयो भने त्यो अवस्थालाई इता दोष भनिन्छ । माथिको उदाहरणमा बनाएर र उठाएर यस्तै शब्दहरू हुन् । 

३. नेपाली भाषाका कैयौं क्रियापदका मूल शब्दहरू (धातु) हरू फरक फरक स्वर प्रकृतिका छन् । तिनीहरूका हर्फे रवी बिल्कुल फरक छन् । तर तिनका व्युत्पन्न शब्दहरू सानुप्रासिकहुन्छन् । जगायो/बगायो, गयो/भयो जस्ता शब्दहरू हेर्दा निर्दोष देखिएपनि तिनीहरूको हर्फे रवी वा हर्फे रवीपूर्वको स्वरमा भएको अन्तरले गर्दा दोषपूर्ण मानिन्छन् । 

४. कैयौं नयाँ शब्दहरू सन्धी र समासमा दुई वा दुई भन्दा बढी मूल शब्दहरू गाँसिएर बन्छन् । यसप्रकारका शब्दहरूमा दुई थरी मूल शब्द भएकोले हर्फे रवी लिन अलिक सहज हुनजान्छ । रातैदिन र सातैदिन मा रात/सात को त हर्फे रवी हुन्छ, दिन तहलिली रदीफको रूपमा रहन्छ । रातैदिन र एकैछिनमा दिन र छिन को न हर्फे रवी हुन्छ । 

इतादोषलाई बुझ्नको लागि शब्दको मूल र व्युत्पन्न स्वरूपलाई बुझ्नु आवश्यक हुन्छ ।

इतादोष पनि दुई प्रकारका छन् । 

क) ईता ए खफी (सूक्ष्म)

हमकाफियामा भएका व्युत्पन्न शब्दहरू सानुप्रासिक छन्, ईता दोष स्पष्ट देखिदैन, केबल प्रत्यय, सन्धी वा समास लाई छुट्याएर हेर्दा मात्र पत्ता लाग्ने गर्छ भने त्यस्तो खालको काफिया दोषलाई ईता ए खफी भनिन्छ । लगाऊ र भगाऊ मा ईता ए खफी छ । प्रायजसो प्रत्ययबाट आफ्नो स्वभाविक रूपमा परिवर्तन भएका (विशिष्ट सन्धी) र बहुब्रिही समासबाट व्युत्पन्न भएका शब्दहरूमा यस प्रकारका समस्याहरू देखिने गर्दछन् । ईता ए खफीलाई इत ए खफी पनि भनेको पाइन्छ । 

इत ए खफी हुनसक्ने अवस्था निम्नानुसार छन् । 

अ. काफिया नै नहुने अवस्थाको भ्रम : कुनै कुनै अवस्थामा सुन्दा काफिया भए जस्तो लागे पनि वास्तवमा त्यहाँ कुनै काफिया हुँदैन । 

उदाहरण २)


लिफाफामा रैछ मेरो नाम फेरि

छ मेरै पालो हुने बदनाम फेरि

यहाँ नाम र बदनाम काफिया जस्ता लाग्छन् । नाम मूल शब्दहो भने बदनाम व्युत्पन्न शब्द हो । यसलाई टुक्राउँदा बद+नाम हुन्छ । अब नाम रदीफको एउटा भाग बन्न पुग्छ । जब नाम रदीफ हुन्छ भने काफिया खै त ! काफिया बिना गजल हुन सक्दैन । यसैले यहाँ दोष भयो । यसका अन्य उदाहरणहरूमा भावना/सम्भावना, कामना/शुभकामना, जल/गंगाजल, मन/दोमन, मान/सम्मान आदि हुन सक्छन् । 

आ. सन्धीका कारण हुने भ्रम : सन्धीको माध्यमबाट व्युत्पन्न भएका कतिपय शब्दहरूमा अनुप्रासिकता नभएपनि अनुप्रासिकता देखिने भ्रम हुन्छ । 

उदाहरण ३)


जस्तो मेरो ईमान छ

तिम्रो उस्तै अभिमान छ

उदाहरण ४)

कठै भन्दै उही सँधियार आयो

थिएँ भोको खाजा हतियार आयो

यहाँ सँधियार र हतियार काफिया जस्ता लाग्छन् । सँधियार र हतियार दुबै व्युत्पन्न शब्द हुन् । दुबै शब्द इयार शब्दको योगबाट योजित (व्युत्पन्न) हुन् । दुबैमा इयार साझा छ । इयार हटाउँदा साँध र हात बच्छ । ती दुई अनुप्रसिक नहुनाले काफियामा दोष भयो । परिच्छेद/बिच्छेद, सदाचार/दुराचार, वर्गाकार/निराकार आदि । सन्धी हुँदा समीपवर्ती वर्णहरूमा नै परिवर्तन आई आनुप्रासिक देखिएर मूल शब्दकै भ्रम पैदा गर्ने शब्दहरूमा इता ए खफीको सम्भावना रहन्छ । 

इ. मतला भन्दा बाहिरका अन्य शेरमा हुने भ्रम : मतलामा हम काफिया निर्दोष भएपनि कहिले काहीँ मतलाका काफियाले फराकिलो ठाउँ नछाडिदिँदा अन्य शेरका काफियामा समस्या उत्पन्न हुनजान्छ । मतलामा बिमान र सम्मान काफिया छन् भने तिनीहरू निर्दोष हुनजान्छन् । तर अरू शेरमा कतै मान काफिया लिइयो भने त्यो बेला फेरि काफिया दोष हुनजान्छ । बरु विमान वा सम्मान नै दोहोरिएर आउँदा पनि कुनै दोष मानिँदैन ।

ख) ईता ए जली (स्थूल)

हमकाफियामा भएका व्युत्पन्न शब्दहरू अनुप्रसिक त छन्, तर प्रत्यय, सन्धी वा समास लाई नछुट्याउँदै स्पष्ट देखिने गर्छन् भने त्यस्तो खालको काफिया दोषलाई ईता ए जली भनिन्छ । 

ईता ए जली हुनसक्ने पनि विभिन्न अवस्थाहरू छन । 

अ. भ्रमपूर्ण काफिया : घरभरि र बनभरि शब्दहरू मूल शब्द हैनन् न त व्युत्पन्न । यी दुबैमा नामयोगी भरि जोडिएको छ । यी शब्दहरू समास वा सन्धीबाट बनेका व्युत्पन्न शब्द पनि हैनन् । यिनीहरूको मूलमा जोडिएको भरि हटाउँदा बित्तिकै त्यहाँ घर र बन रहन्छ । जुन काफिया हैनन् । रातमा/साथमा, बोल्छ/सोच्छ, देख्ला/हेर्ला आदि शब्दहरूमा क्रमश: मा, छ, ला हटाउँदा जे बच्छ, ती पनि काफियायोग्य छैनन् । त्यसैले यस्ता शब्दलाई हमकाफिया बनाउँदा ईता दोष हुन जान्छ । 

आ. समासयुक्त काफिया : चन्द्रमुखी र सूर्यमुखी समास शब्दहरू हुन् । यी दुबै व्युत्पन्नमा मुखी शब्द जोडिएर समास बनेको हो । बिग्रह गरी मुखी हटाउँदा बित्तिकै चन्द्र र सूर्य रहन्छन । यी हमकाफिया हुन सम्भव छैन । उपकार/सरोकार, खरदार/इज्जतदार, लेफटिस्ट/राइटिस्ट, नागमणि/चिन्तामणि आदिमा जोडिएका शब्द स्पष्ट चिनिन्छन् र बिग्रह गर्दा एउटा शब्द पुरै साझा भइ रदीफ बन्छ भने बाँकी शब्दहरू काफिया बन्ने हैसियत राख्दैनन् । 

इ. प्रत्यययुक्त काफिया : समान प्रत्यय लागेका प्राय: शब्दहरू अनुप्रासिक हुने गर्छन् । तर जोडिएको प्रत्यय हटाउँदा बाँकी रहने मूल शब्द काफिया योग्य छैनन् भने ती ब्युत्पन्न शब्दपनि काफिया बन्ने हैसियत राख्दैनन् । लाएँ/सजाएँ, देखिएको/खोजिएको, सोचेर/भोगेर, हराउनु/उडाउनु, पायो/लगायो, शब्दार्थ/व्यङ्गार्थ आदि शब्दहरूमा पनि इतादोष देखिन्छ ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327303 Times Visited.

Powered by: Exclusively Solution
Top
Content