विधा परिचय / पाठशाला - कथाको भेदहरु



कथा, लघुकथा र झिल्को कथा (फ्ल्यास स्टोरि) बिचका केही भेदहरु

कथामा कथालाई पाँच समयखण्डमा भाग लगाउन सकिन्छ ।
१. कथाको उठान
२. संघर्षारम्भ
३. सङ्घर्ष चरम
४. संघर्षह्रास
५. समापन

१. उठान : यहाँ कथाको विषय, पात्रलाई प्रवेश गराईन्छ । 

२. संघर्षारम्भ : यस अवस्थामा घटनाहरू, चरित्रको सङ्घर्ष, तर्क, चरित्र चित्रण आदिबाट कथालाई अघि बढाइन्छ ।  

३. सङ्घर्ष चरम : यस बिन्दुमा कथाले विषयलाई पुष्टि गरिसकेको हुन्छ, चरित्र निर्माण गरिसकेको हुन्छ, घटनाहरूलाई रोपाण गरिसकेको हुन्छ ।

४. संघर्षह्रास : सङ्घर्ष चरमका असरहरु, कथाको मर्म, लेखले औँल्याउन खोजेको समस्याहरू र दिन खोजेका सन्देशहरु बयान गरिन्छ ।

५. समापन : घटना, पात्र तथा चरित्रको अवसान र कथाको मुख्य सन्देश यहाँ प्रस्तुत गरिन्छ ।


लघुकथाको प्राविधिक पक्ष पनि यही नै हो तर वाक्य गठन, घटना, पात्र र चरित्र चित्रणलाई होसियारीपूर्वक संक्षेपमा वर्णन गरिएको हुन्छ ।


लघुकथाको निम्न तत्वहरुले यसलाई कथा भन्दा पृथक् बनाएको हुन्छ ।


१. यो आकारमा कथा भन्दा सानो हुन्छ । शब्दका आधारमा भन्दा अधिकतम ३०० शब्द र समयको आधारमा भन्दा एउटा चुरोट या कफि पिउने समय भित्र पढिसकिने हुन्छ । 

२. कथामा प्रस्तुत गरिने कालखण्ड भन्दा पनि छोटो कालखण्ड हुन्छ ।

३. कथामाझैँ लामो पृष्ठभूमि हुँदेन ।

४. अधिकतम तीन या सो भन्दा पनि कम पात्र हुन्छन् ।

४. अनावश्यक तर्क र तथ्य हुँदैनन् ।

५. कथामाझैँ यसमा लामा वाक्य हुँदैनन्, अनावश्यक बयान हुँदैनन्, घटना, पात्र र सम्वादले कथा बोल्दछ ।  

६. वाचकले (न्यारेटर) को भूमिका न्यून हुन्छ । 

७. कथामाझै लामो र बोझिलो कथानक हुँदैन ।  

८. लघुकथाको प्राण गति भएकोले कथालाई गति दिन छोटा वाक्य गठन हुन्छ । 

९. विषयलाई लिएर कुनै भ्रम हुँदैन र कथाले शीर्षकलाई पुष्टि गर्दछ ।

१०. कथानक बर्णात्मक या विवरणात्मक हुँदैनन् ।

११. सामान्यतया सम्बाद सामान्य भूतकालमा लेखिन्छ, चलचित्रका पटकथा जस्तो लेखिन्नन् । 

१२. लघुकथाको महत्वपूण तत्व कुरा भनेको यसको अन्त्य नै हो जहाँ अचुक र असरदार झटका (पन्च) दिइन्छ । पन्चले पाठकको मस्तिष्कमा गहिरो असर पार्दछ, कथाको सन्देशको आयु बढाउँछ र पाठकले कथालाई कालन्तर सम्म सम्झन्छ ।

झिल्को कथा : शब्द या वाक्यको आधारमा एक या दुई लामा वाक्यमा गठित, अधिकतम ३० सेकेण्डभित्र पढन सकिने कथा भन्न सकिन्छ ।

कथाको प्राविधिक पक्षलाई चतुरतापूर्वक वाक्यले नै पुष्टि गर्दछ । कथा या लघुकथामाझैँ पृष्ठभूमिको आवश्यकता पर्दैन् । पृष्ठभूमि, पात्र र घटनालाई पहिलो वाक्यमा नै सूक्ष्म रूपमा दर्शाउँदै दोस्रो वाक्यमा पन्च सहित कथाको अन्त्य गरिन्छ ।फ्ल्यास स्टोरिका दुई नमुना

मत्स्यन्याय

"के भयो ?"

"कमजोर थिएँ, लुटिएँ ।"

"अब !"

"प्रतीक्षामा छु, आफूभन्दा कमजोरको ।"

सदन

सबै ब्वाँसाहरु आपसमा ङ्यारङ्यार ङुरङुर गर्दै ओडारभित्र छिरे र चुपचाप मासु खान थाले, मान्छेको ।


नोट : बिपुल सिजापती को बिचार लघुकथाको कुनो बाट साभार गरिएको हो ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329252 Times Visited.

Powered by: Exclusively Solution
Top
Content