कविता - गद्य कविता



कविता : तिमी

थोत्रो टिनको बट्टामा
हाम्रो जीवन थापी हिंड्ने तिमी
पाप्रा पाप्रामा रंग टुक्रिएको
थाङने झोलामा
हाम्रो जीवन बोकि हिंड्ने तिमी ।

प्रत्येक बिहानिको सिंदुरे लालीसँग

सुरु हुन्छ तिम्रो जीवनको दिनचर्या

थरथर थरथर थरथराउँदै शरीर 

साँढे पाँचफिट अग्लो 

आफू जस्तै लौरोमा जीवन अड्याएर

बग्छौ निरन्तर बगि रहन्छौ तिमी 


वात्सल्यको घेरामा बन्दी

आफ्नो अभिशप्त जीवन गुनगुनाउँदै

विरक्तिलो विरसिलो उराठ

अनुहारमा अनुदित

लाचार आमाकी प्रतिबिम्ब तिमी

अभिशप्त मरुभूमिको बगरमा

भविष्य हाम्रो च्याँखे थाप्दै हिंडछौ तिमी ।


तर ...तर कुनै मरुभूमिको

वाफिलो हावाको झोंकाले

उडाएका बालुवा छोप्न सक्दैनन् 

तिमिभित्र उर्लेका आशातित क्षितिज ।


तिमी पलपल क्षणक्षण

तिरस्कारको नदी पौडेर ओभानो पारी पुग्छौ

उपेक्षाको छालमा निरन्तर बहेरै पनि

आद्र आँखाको संघारमा अडेको

उत्कण्ठ आकांक्षामा बाँध हाल्दै

एक अन्जुली हाम्रो जीवन 

बचाउने सपना साँची रहेछौ तिमी ।


अशक्त कमजोर तिम्रो शरीर

कुनै सुनामीको छालले बगाउन सकेन

तिमिभित्रको प्रदिप्त वात्सल्यमय हृदय 

विपन्नताको डढेलोले खरानी बनाउन सकेन ।


घरिघरी अभावग्रस्त 

हाम्रो जीवनको बलेंसीमा

चिहाउन खोज्ने एक मुस्लो मृत्युलाई

साहसको उज्यालो रश्मिपुन्जले

परास्त पारी हामीलाई जीवन्त राख्ने

तिमी हाम्री आमा हौ

हाम्री जननी जन्मदात्री हौ ।।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329235 Times Visited.

Powered by: Exclusively Solution
Top
Content