कविता - गद्य कविता



गद्य कविता : हरियो पासपोर्ट

मेरो आँगनमा उभिएको गोब्रे सल्लाको बोट
कहिल्यै सुक्दैन,
बरू ऊ नियालिरहन्छ मान्छेको हरेक नियति
जहिल्यै हरियो बनेर प्रोथाउँछ,
बाबा त्यही प्रोथो हेरेर
हातमा हरियो पासपोर्ट बोकेर विदेशिएको छोरालाई सम्झिन्छन्

ऊ सानो छदा त्यही प्रोथासँग लुकामारी खेल्थ्यो 

त्यही अल्झिएको छ छोराको स्मृति 

आमा खन्याउँथिइन् मातृवासल्य 

उनका सपनाहरू छरिएका छन् 

त्यही हरियो पासपोर्टसँग ,


छोराको जवनी पोखिएको छ 

उसकी श्रीमतीको जवानी चाहना 

त्यहीनेर पोखिएको छ 

उसको नौंगेडी र तिलहरी लाउने सपना 

भर्खरै जन्मेकी छोरी फूलमायालाई

डाँडामाथिका जून जस्ता 

बुढा बाबाआमाको काखमा छोडेर हिडेको छ


भोलि धरतीमा खस्ने घामहरू

सुनौला बनाउने आशमा 

आमाका चाउरिएर पलेटी परेका ओठमा

अलिकति मुस्कान उमार्न 

बाबाका खिइएका काँधमा टेको दिन हिडेको छ!


हरियो पासपोर्टभरी

जिन्दगीका हरिया सपनाहरू छरिएका छन्

भर्खरै प्रोथाएकी फूलमायाको आङ्गमा 

नयाँ नाना हालिदिन उसको बाबु विदेशिएको छ

सबैका रङ्गीन सपनाहरू 

उसँगै हिडेका छन् ,

उसँगै टाँसिएका छन् !


थाहा छैन 

ती सपनाहरू उसँगै रातो बाकसमा 

कैद बनेर आउने हुन?

जिन्दगीसँगै सुख्खा त्यही सड्ने हुन

या साँच्चै रङ्गीन बनेर घरभित्र भित्रीने हुन?

नियालिरहेछ आँगनमा उभिएको गोब्रे सल्लोको बोट!२०७४ साउन २० शुक्रबार

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329270 Times Visited.

Powered by: Exclusively Solution
Top
Content