कथा - कथा



कथा : कुञ्जला

उ त्यो भालुको दाम पाँच सयदेखि एक हजारसम्म । चोकमा बस्ने केटाहरूमध्ये एउटाले कौतूहलता रोप्यो । तैँले कसरी थाहा पाइस ? अर्को उत्सुक भयो जान्न । थाहा भैहाल्छ नि कुन ठूलो कुरा हो र ? गजक्क पर्यो अघिल्लो केटो ।

“भनेपछि कहिलेकाहीँ मूल्य चुकाइसकेको जस्तो छ नि साथीले । क्या हो एक्लैएक्लै ? भएन है यस्तो । चाख्नलाई हामी पनि छौं ।” अर्को पछिल्लो आवाज ।


“हाम्रो टोलमा पनि भालु बस्न आएकी ? यसो आँखालाई रमाइलो हुने भो । समय काट्ने विषय पनि हुने भो ।” नयाँ आवाज सुनियो निक्कै उत्साहको ।


मैले आफ्नो आँखा आवाज आएतिर पुर्याएँ । आफ्नै टोलका भाइहरू, कोही कलेज पढ्ने, कोही स्कुल पढ्ने । छक्क परेर उनीहरूलाई हेरें र उनीहरूले देखाएको महिलालाई । भर्खर भर्खर माथिल्लो घरमा डेरा बस्न आएकी दुई सन्तानकी आमा कुञ्जला बहिनी ।


कुञ्जलाको लागि प्रयोग भएको भालु शब्दले मभित्र निक्कै हलचल मच्चायो । मेरो मनभित्र अनेक विचार परेड खेल्न थाले । मैले यदाकदा सुनेकी थिएँ भालु उपनाम वेश्याको लागि प्रयोग गरिन्छ ।


साँच्चै कुञ्जला वेश्या हो ? जसको मासुको दाम आफ्नै टोलका युवाहरू लगाइरहेछन् । साँच्चै नै कुञ्जला वेश्या भए उसको मोल लगाउने यी युवाहरू साधु हुन त ? आफ्नै टोलका सोझा सरल देखिने भाइहरूको कुरा सुनेर, उनीहरूको मानसिकता पढेर, म अति विस्मित भएँ । आज कठिन र सामान्य जीवन बाँचेर भोलिका लागि आफू हिंड्ने उज्यालो गोरेटो आफैं खन्नुपर्नेहरूको ताल यस्तो छ भने अझ अत्यधिक वैभव र सम्पन्नताबीच हुर्केर भविष्यप्रति निश्चिन्त वर्गका युवाहरूका मानसिकता कस्तो होला ? उनीहरूका कुराले मलाई रिङ्ग्यायो ।


अनाहकमा नै मैले सोच्ने विषय बन्यो उनीहरूले बोलेका शब्द । चिन्तन गर्ने आधार बन्यो । अचम्म छ मान्छेको स्वभाव । हिँडन नपर्ने बाटोको कोसै नसोध्नु भन्ने उखानलाई पन्छाउँदै कोस गन्न अग्रसर बन्छ मानिस । म पनि त्यही वर्गमा दरिएँ । ती माथिका संवाद अनि कुञ्जलाले पाएका उपाधि दुवैसँग मेरो कुनै सरोकार छैन र केही छ पनि वास्तवमा ।


मेरो टोलका युवाहरूको विसङ्गतिपूर्ण सस्ता कुरा र मेरै टोलमा बस्न आएकी एउटी वेश्या । यिनै दुई प्रसङ्ग वा विषय काफी छन मभित्रका संवेदनशील मनलाई सोचमग्न बनाउन । आजको यो विसङ्गतिपूर्ण युवा जमातलाई पछ्याएर यसभन्दा पछिल्ला पिढीहरू पनि त्यस्तै बन्न सक्ने संभावनाले चिन्तित हुन्छु म । एकाएक मेरो आँखाहरू ठोक्किन पुग्छन हरेकपल्ट मैले देख्न पुगेको वात्सल्य र ममताले भरिपूर्ण एउटी आमा कुञ्जला, भालु ... वेश्यामा ? म आज विस्मित छु , अत्याधिक विस्मित ।


म चलचित्रका दृश्यजस्तै देख्न थाल्छु । कुञ्जलाले घाममा राखेर आफ्ना सन्तानलाई नुहाइदिएको, तेल घसेको दृश्य । अत्यन्त मुग्धभासमा को खाई , को खाई गर्दै उनीहरूलाई खुवाएको । ममतामयी आमा । एउटी कर्तव्यपरायण आमा । एउटी चिन्तनशील आमा । हो, मेरो दृृष्टिमा एउटी परिपक्व योग्य आमा कुञ्जला । कागको हुलमा बकुल्लोजस्तो एक्लो हुन्छ मेरो दृष्टिकोण कुञ्जलाप्रति । जब मेरो टोलका मान्छेका लागि कहिले घृणाको पात्र, कहिले उपहासको पात्र, कहिले तिरस्कारको पात्र बनेकी छिन कुञ्जला । उनीप्रति सकारात्मक भाव राख्ने कोही मान्छे मैले भेट्न नसक्दा म चाहिँ सोच्न बाध्य हुन्छु । गरिबी, असहायपन र बेसहारा हुनुको परिणाम त हो । तर म टोलमा कुनै एक व्यक्तिसँग पनि यस्तो कुरा गरेर आफू एकलकाटे बन्न चाहन्न ।


सबैको उपेक्षापूर्ण व्यवहारले अब म देख्न मात्र होइन, कुञ्जलाको अनभिज्ञतामा उसलाई नियालेर हेर्न चाहन्छु । उसको गतिविधि जाँच्न थाल्छु । अरू त सामान्य छ । उसको पहिरन र शृङ्गार अलि भिन्न छ । परम्परागत शैलीलाई पन्छाएर उत्तराधुनिकतालाई बढी अङ्गालेको जुन मातृत्वधर्म निभाइसकेकी नारीका लागि अलि असुहाउँदिलो ।


ऊ हरेक दिन भडकिलो पहिरनमा अत्याधिक शृङ्गार गरेर दिउँसो निस्कन्छे डेराबाट । उसका बच्चा स्याहार्न उसकी आमा आएकी छिन् । दिउँसो हिडेको देखे पनि फर्केको मैले कहिले देखिनँ । भोलिपल्ट बिहान हिजो दिउँसाको मान्छे नै होइन जस्ती भएर मातृबोधको सागरमा चुर्लुम्म आफूलाई डुबाएकी हुन्छे । कसरी उसलाई अरूको नजरमा आफ्नो नजर मिलाएर हेरूँ म ? मात्र उसको पहिरन र शृङ्गारले ? अहँ म सक्दिन । दिँदैन मेरो नैतिकताले यसो गर्न । म त्यति सस्तो मानसिकता बोक्दिन । कसैको अस्मितमप्रति विनाप्रयोजन धज्जी उडाउने ।


“गई है हिरोइन बनेर चीजको व्यापार गर्न । नकचरी, लाज शरम रत्तिभर छैन । हेर न कसरी कम्मर मर्काउँदै हिंडेकी !” दिउँसो भातभान्सा घरधन्दाबाट फुर्सत पाएर केहीक्षण सुस्ताउन बसेका टोलका भद्र महिला टोलिमा शुरुहुन्छ कुन्जला - चर्चा ।


“कम्मर मर्काको कुरा गर्नुहुन्छ । वहाँ के के मर्काउनु र सुर्काउनु पर्छ होला । विनाबाबुका दुई सन्तान जन्माउने नकचरी आइमाई । हरेक रात मधुरात्री मनाउने निर्लज्जा । उसलाई कम्मर मर्काउनु कुन ठूलो कुरा भयो र ?” निक्कै जान्ने भएर बोलिन् एकजना ।


“आधारातमा टन्न छाला व्यापारबाट कमाएको रूपैयाँ लिएर फर्किन्छे रे । छिः कस्तीलाई दिएका घर बहालमा । मुख हेर्दा पनि पाप लाग्ने । अस्ति हाँस्न खोज्दै थिई थुइया गरेर भुइँमा थुकिदिएँ । त्यस्ती वेश्यासँग पनि हाँस्छु म ? आफ्नै हँसाइको बेइज्जत ।” अर्की झन के कम कुञ्जलाको खोइरोमा फूलबुट्टा भरी । गाउँभरि चलिरह्यो कुञ्जला पुराण ।


म झसङ्ग भएँ । हाँस्ने मात्र होइन । मबाट त यसो एक दुई वाक्य दोहोरो बोल्ने काम पनि भइसक्यो कुञ्जलासँग । मेरो छोरासँग बोल्छे र त्यसमा जोडेर मसँग पनि । मेरो सानो छोरालाई ममतातुल्य स्वरले बाबु भन्दै बोलाउने महिलालाई म कसरी उपेक्षाभावले नबोलूँ ? म बोलेकी छु ऊसँग । तर भद्र महिला टोलीको कुराले लाग्दैछ, म ऊसँग बोलेर मैले ठूलो पाप पो गरेछु कि ? म अन्योलग्रस्त बन्छु क्षणभर ।


भद्रमहिला टोलिले नानाभाँतिका उपयुुक्त अनुपयुक्त कुरा गरिरहेका छन उसका विरुद्धमा ।मैले देख्ने गरेकी ममतालु आमाभित्र के साँच्चै एक बेस्या लुकेकी छे त ? मेरो मन यो कुरा स्विकार्दैन । कुनैकुनै बेलामा उ अस्वस्थजस्तो देखापर्थी,निरीह।यस्तो बेला म सोच्न पुग्छु ऊ बिरामी रहिछ। तर अरु कहाँ तेसो भन्छन र ?


“वेश्याले पैसा असुलेपछि नखरा देखाई होली । पाइछ भाउ । कुटाई खाएर चल्न नसक्ने भइछ । अब वेश्याले दुई चार दिन कमाउन नसक्ने भई । कस्ताकस्ता मान्छे पसे टोलमा । यस्तो हुँदासम्म रत्तिभर लाज छैन । कस्ती मुर्दा रहिछे ।”


हुन पनि कुञ्जला बस्न आएदेखि ऊ विरामी भएको पाँचौ पटक हो यो । अघिल्लो चार पटकभन्दा यो पटक ऊ थलिएकी मात्र होइन उसको अनुहार र पाखुराभरि नीलडाम छ । मेरो मन उसलाई हेर्दै प्रश्नचिन्ह उठाउँछ । के साँच्चै कुञ्जलाले कुटाई नै खाएकी हो त ? मेरो जिज्ञासाहरूले सीमा उलङ्घन गरेका छन् । म उनीहरूलाई रोक्न छेक्न असमर्थ छु । एकदिन दिउँसो घाममा गुन्द्री ओछ्याएर पल्टिरहेकी कुञ्जला छेउ पुग्छु म ।


“बहिनीको मुहारमा, जिउमा के भएको ? लड्यौ कि कसो ?” आफ्नो कौतुहलता आखिर छताछुल्ल पारेर उसको अगाडि पोखाई छाड्छु म ।


बोल्दिन ऊ । नजर घ्वाप्प घोप्ट्याउँछे भुइँमा । निकैबेर प्रतीक्षा गर्छु । उसलाई गहिरो नजरले नियालेकी छु । ऊ अप्ठ्यारो स्थितिमा छट्पटाइरहेकी छे ।


“किन नबोलेकी कुञ्जला ? भन्न मिल्दैन ? कि टोलका अरू महिला जस्तै ठानेकी मलाई पनि ? जसले जे सोचे पनि र वास्तविकता जे भएपनि, मैले तिमीलाई एउटी ममतालु आमाको रूपमा देखेकी छु । मेरो नजरमा तिमीप्रति रत्तिभर घृणा छैन कुञ्जला । भनन के भो तिमीलाई ?” मैले भावनामा बहेर धेरै बोलेँ सायद । कुञ्जला केही नबोली मनको छट्पटी र पीडाहरू रोक्ने व्यर्थको प्रयासमा तल्लिन देखिई । मेरो प्रश्नले साह्रै दयनीय बन्यो उसको अवस्था । आफैंलाई धिक्कार्न पुगेँ म । व्यर्थै कसैलाई पीडा दिएँ । व्यर्थै छट्पटी । अप्ठ्यारो परिस्थितिबीच जवाफ नै नखोजेर उठेर जाने उपक्रममा लागेँ म ।


तर अचम्म ... ज्वरोले रन्किरहेको उसको हातले मलाई च्याप्प समात्यो । आँखै आँखाले बस्ने याचना गर्यो। म यन्त्रवत् तानिएर बसेँ । हेरेँ नियालेर आँखामा, अथाह पीडाहरू छन् भित्र । मन त्यसै कटक्क भयो । सकिन थप कर गरेर केही सोध्ने दुस्साहस गर्न । चुपचाप पर्खेँ उसैका आवाजहरू । उसैका शब्दहरू । सायद केही भन्लिन् ।


“दिदी ! मलाई थाहा छ । यो टोलभरि कसैको नजर र सोच मप्रति सकारात्मक छैन , तपाइँबाहेक । म सुन्न पुग्छु मेरा लागि बोलिएका ती उपेक्षायुक्त बोलीहरू । घायल बन्छ मन । तर फर्केर दुई शब्द विरोधमा बोल्ने बाटो मेरो छैन । म ज्यादै पीडित त यो बेला बन्छु जब मेरा महत्वाकांक्षी र स्वार्थी लोग्नेबाट जन्मेका मेरा नाजायज सन्तानलाई बिना बावुका सँज्ञा दिएर नाजायज बनाइन्छ । तँपाईको मप्रतिका सकारात्मक र घृणारहित दृष्टिमाथि भरोसा गर्दै आज म तपाइँको सामु निसङ्कोच स्वीकार्छु कि म शरीरको व्यापार गर्ने, शरीर बेचेर खाने नारी हुँ । जसलाई समाज वेश्या भन्ने गर्छ ।” ऊ निरीहबाट कठोर बन्न पुगी । सायद एउटी नारी स्वयम् आफूलाई वेश्या घोषित गर्दा मानसिक द्वन्द्वका कारण यस्ती हुँदी हो ।


उसका पीडाजन्य आँखामा उत्तेजना र आक्रोसले विद्रोहका भाव झल्किए । अलिकति स्वास फुल्यो उसको । अलिकति थकित देखिई । म सामु आफ्नो पेशाको खुल्ला स्वीकारोक्तिले सायद आफू केही हल्का पनि भएकी थिई । र आफ्नै मनको उहापोहमा केही विरक्तिएकी थिई । उसका व्यथित मुहारबाट विद्रोहका झिल्का कर्कलाको पातको पानीजस्तै टिलपिल गर्दै हरायो । ऊ फेरि व्यथाको सागरमा डुब्न पुगी । म के भनुँ उसलाई ? शब्दको अभावमा मौन भएँ। मबाट प्रतिक्रियास्वरुप केही शब्द नपाएपछी ऊ आफै बोल्न थाली ।


“हो दिदी म हरेक दिन ग्राहकको खोजी गर्दै अन्य सामानसरह मोलतोलमा आफ्नै शरीर बेच्छु । ग्राहकले तिरेको पैसामा तोकिएको समयभित्र मेरो शरीरका अङ्गबाट पैसा असुल्छन् । कोही सन्तुष्ट हुन्छन् र कोही असन्तुष्ट । असुन्तष्ट व्यक्तिबाट पाइने परिणाम आज तपाई देखिरहनु भएको छ । मेरो असक्ततता, मेरो शरीर र अनुहारभरि डाम । हो दिदी! मैले निर्लज्जता भन्दा तल झरेर दिन नसकेको सन्तुष्टिको परिणाम हो यो ।” कुञ्जला सलले मुख छोपेर साह्रै दयनीय भावमा सुक्सुकाई निकैबेर ।


म वेश्या हुँ भनेर खुल्ला स्वीकार्ने एउटी नारीलाई मैले घृणाको दृष्टिले हेर्न सकिन । मेरो मनको कुनै कुनामा पनि उसका लागि रत्तिभर पनि घृणा सल्केन । उसको निरीहता, उसको अन्तरव्यथा, अनि उसको व्यथित मानसिकताले बरु मभित्र ऊसप्रति सहानुभुतिको मात्रा बढायो । मेरो आफ्नै सोच्ने बाँच्ने शैली छ । म कुञ्जलालाई देख्नभन्दा पहिला पनि सोच्ने गर्थेँ । मान्छे रहरैले वेश्या हुँदैनन् कोही । मान्छेलाई विविध समस्या, प्रतिकुल वातावरण र समयको कुचक्रले धकेल्छ यो नर्कमा,। जहाँ एक पटक जाकिएपछि उम्कन गाह्रो छ । मान्छे पटकपटक जिउँदो मृत्यु मरेर पनि त्यसमा बाँचिरहन्छ । यस्तो सोचाइ बोकेकी मैले कसरी घृणा र उपेक्षाको नजरले हेर्न सक्छु निरीह व्यथित कुञ्जलालाई ?


“कुञ्जला ! तिमी किन रोएकी नरोऊ । सबै समयको खेल हो बहिनी । समय हामीभन्दा बलवान छ । समयले हामीलाई परिचालन गरेअनुसार हामी चल्नुपर्छ । त्यसमा कोही कता कोही कता पुगिन्छ । तिमी सायद नपुग्नु पर्ने ठाउँमा पुग्यौ । रूनु त कुनै समस्याको सामाधान पक्कै होइन । “बस् यति नै सान्त्वनाका शब्दहरू बोल्न सकेँ ।


उसले आँसु पुछी र मलाई कृतज्ञभावले चिहाई र फेरि मनको पोको खोल्न थाली । “दिदी ! तपाईँले जस्तै समय सँगसँगै मान्छेलाई र मान्छेको बाध्यता विवशताहरूलाई अरूले पनि बुझिदिए मलाई बाँच्न कति सजिलो हुन्थ्यो होला । कोही पनि रहरले वेश्या हुँदैनन् । आफू अपमानित भएर बाँच्ने कसैको आकांक्षा हुँदैन। दिदी ! हरेक नारी सम्भब भएसम्म आफू महान र सच्चरित्रवान् भएर बाँच्न चाहँन्छनि । सम्मानित र मर्यादित बन्न को नखोज्दी होला? तर मान्छेले चाहेको कहिले सधैं पूरा भएको छ र ? जीवन भोग्ने क्रमको अनुभवमा मलाई लाग्छ दिदी! मान्छेले गर्न चाहेको गर्न नपाउने र गर्न नचाहेको गर्न पर्ने हुन्छ । मलाई त लाग्छ सङ्घर्ष त हो नै जीवन, साथमा सम्झौता पनि उत्तिकै हो । किनकि, पाइला पाइलामा अगाडि आइपरेका अप्ठ्याराहरूसँग सम्झौता गर्दै अगाडि बढ्नुपर्छ ।


कति सारयुक्त कुरा । कति तर्कसङ्गत कुरा । म नतमस्तक भई स्वीकार्छु उसका हरेक वास्तविक कुराहरूलाई ।


“हो कुञ्जला ! हो, तिम्रो कुरा शतप्रतिशत ठीक छ । तिमी जस्ती नारी कसरी यो दलदलमा फस्यौ ? त्यो चाहिं मेरो लागि कौतुहलको विषय बनेको छ । के तिमी मलाई भन्छ्यौ आफ्नो विगत ? कर चाहिँ गर्दिन अब म । स्वेच्छाले भन्यौ भने सुन्छु नत्र होस् भैगो ।” ऊ अलि सहज बनेकीले मैले यो कुरा भने“ । असजिलोपन त छँदैछ । अनावश्यक अर्काको विगत जान्न खोजेकोमा । ऊ एकछिन् चुप लाग्छे र कतै हेर्छे । सोचेँ टाढा अस्पष्ट आकृति देख्दै होली आफ्नो लोग्ने भनाउँदाको र ऊ खोल्छे विगतको गाँठो ।


“आमाबुबाले रोजेको केटासँग नै विवाह भएको थियो मेरो । धेरै कुमारी बैंस बोकेर लोग्नेको अङ्गालोमा पुगेकी म । विडम्बना नै त भन्नुपर्ला दिदी ! सपनाका महलहरू चकनाचुर भए भग्नावशेष मात्र बाँकी रह्यो । लोग्ने आफैंमा निकम्मा थियो तासे र जँड्याहा । उसलाई सुधार्ने क्रममा नै दुई बच्चा भए । खाने मुख सँगसँगै अभाव बढ्यो । त्यसको परिपूर्तिका लागि लोग्नेको बुद्धिमा भएको विकल्प मेरो शरीर मात्र थियो । मेरो अनिच्छा र विरोधमा पनि पटकपटक लोग्नेले मेरो शरीरको दुरूपयोग गरी मेरो कमाइमा मोज गर्यो । त्यस्तो हुँदा मैले साह्रै नै आफू र आफ्नो कौमार्यको बेइज्जत महसुस गरेँ । मनमा विद्रोह जन्म्यो । किन आफ्नो देहको व्यापार गरेर हुतिहारा लोग्नेलाई पालुँ ? अन्यायले चरमसीमा छोएपछि मेरा ग्राहकहरू नै लगाएर कुटाएँ र खेदाएँ आफ्नो सामीप्यबाट । थाहा छैन अहिले ऊ कहाँ छ ।”


ऊ एकछिन् सुस्ताई विगतका ती तीता सम्झनाहरूमा हराई । उसका अनुहारमा विभिन्न भावहरू क्रमबद्ध भएर दौडिरहेका छन। लाग्थ्यो ऊ अहिले आफैंमा छैन । म द्विविधामा परेँ । उसलाई उसबाट हराउन दिइरहुँ कि घच्घच्याएर यथार्थको धरातलमा अवतरण गराउँ ?


“कुञ्जला ! कता हराएकी ? मेरो मुखबाट स्वतः निस्क्यो । ऊ फिस्स हाँसी । कस्तो कस्तो वैराग्यपूर्ण हाँसो । त्यसको प्रभावले मलाई असजिलोपनको घेराभित्र बाँध्यो । म आफैंमा खुम्चिएँ ।


“दिदी ! मलाई लोग्नेले डोर्याएको बाटो आजसम्म अङ्गालेकी छु । त्यसैलाई धरातल बनाएर उभिएकी छु । हुन त यो छोडेर अरू काम गर्न नखोजेकी पनि होइन । एक असहाय निरीह महिलालाई लुछ्न, चाट्न र भोग्न चाहनेहरूका लोभी नयनहरू जताततै छरपस्टिएको मात्र पाएँ । पञ्जाहरू फैलिएको मात्र पाएँ । अनि मनमा एउटा निर्णय लिन बाध्य भएँ । लुछाउनु नै छ, चटाउनु नै छ, भोगाउनु नै छ भने सित्तैमा किन ?


यसैलाई बाँच्ने आधार किन नबनाउँ ? लिएँ यही निर्णय । ठीक होइन गलत लिएँ त्यो थाहा छ । थाहा भएर पनि लिन बाध्य भएँ परिस्थितिले गर्दा । आफू एक्ली थिइन । नाबालक केटाकेटी थिए साथमा, थिए आर्थिक अभावग्रस्त असक्त आमाबावु । जसको एकमात्र सहारा र बाँच्ने आधार म थिएँ ।”


ऊ चुप लागि अनुहार नियालेँ । उसको अनुहारमा छाएका शब्दले व्यक्त गर्न नसकिने पीडाका भावहरू, व्यथाका छालहरू थिए । जसलाई देखेर मेरो मन एक तमासले पिरोलियो ।


“दिदी ! बाँच्न र बचाउन मैले अङ्गालेको काम समाजको नजरमा घृणित र तिरस्कृत छ । हामी साह्रै तुच्छ मानिन्छौं समाजमा । एउटा अछुत रोग जस्तो । हामीलाई हेर्ने नजरमा तिखो वाण हुन्छ । हामीमाथि बर्साइने शब्दहरू तीक्त र विषालु हुन्छन् । हामीलाई गरिने व्यवहारहरू साह्रै निकृष्ट हुन्छन् । हामी यो सब सहन बाध्य छौं । विवश छौं । किनकि हामी लाचार छौं ।” बोल्दाबोल्दै कुञ्जलाको अनुहारका पिडाजन्य भावहरू परिवर्तित भएर विद्रोहभाव फैलन थाल्छ । म उसलाई अवाक् भएर हेरिरहन्छु ।


“हामीलाई घृणा गरेजस्तै, हामीलाई पैसामा भोग्न आउने, चाट्न आउने यही समाजका गन्यमान्य–सभ्यसम्पन्नवर्गका कामुक पुरूषहरूलाई कोही घृणा गर्दैनन् ? को अछुतो छ दिदी हामीलाई भोग्नबाट ? सोह्र वर्षे युुवादेखि असी वर्षे बृद्धसम्म लालयित छन । निम्नवर्गका साधारण व्यक्तिदेखि उच्च ओहदाका सम्भ्रान्त व्यक्तिसम्म सुरिएर, खरिएर आउँछन हाम्रो शरीरको मजा लुट्न । हामी आफ्ना अभाव र आवश्यकता परिपूर्तिका लागि उनीहरूको फालेका केही नोटहरू बटुलेर उनीहरूलाई स्वतन्त्र रूपले आफ्नो शरीर सुम्पन्छौं । भोको ब्वाँसोले शिकार भेट्टाएजस्तै हाम्रो शरीरसँग खेल्छन् ती कामुक सम्भ्रान्त पुरूषहरू । तर जब हामी लुटाउने र लुट्ने दुवै पक्ष समाजमा पुग्छौं उनीहरू असल चरित्रका बन्छन् हामी खराब चरित्रका । उनीहरू श्रद्धाका पात्र बन्छन् हामी घृणाका । यही फरक छ दिदी समाजको हेर्ने दृष्टिकोणमा ।”


ऊ उत्तेजित बन्छे । विद्राही भाव देखिन्छ ऊभित्र । उसको स्वास फुल्छ । केहीवेर सुस्ताउँछे । लामोलामो स्वास फाल्छे । मलाई लाग्छ सकिएको छैन उसका मनमा गुम्सिएका कुराहरू । म पर्खन्छु केहीबेर ।


“दिदी ! समाजमा देख्दा सम्भ्रान्त देखिने पुरूष भित्रबाट कत्ति क्रुर र यौनपिपासु हुन्छ भनेर साध्य छैन । त्यस्तो संसर्ग गर्दा अध्याधिक पीडा हुन्छ हामीलाई । तिनीहरू पैसा तिरेपछि साह्रै क्रुर बन्छन् । नतिजा हेर्नुस मलाई । अस्तिको रात एउटाले मलाई यस्तो जाडोमा नाङ्गो त बनायो बनायो, एउटा उत्तेजक गीतमा नाङ्गै नाच भन्यो । मैले मानिन र त्यही कर गर्ने र नमान्ने क्रममा त्यो हिंस्रक बन्यो र मेरो यो गति भयो । मलाई समाज सहानुभूतिको नजरले होइन, अति घृणाको नजरले हेर्छ । तर त्यो राक्षस प्रवृतिको यौनपिपासु भद्र भएर समाजमा घुम्दैछ । यो समाजले हामीप्रति गरेको अन्याय होइन त दिदी ! हामीले चोरेर ढाँटेर खाएका होइनौं । शारीरिक सँगसँगै मानसिक आघात पुर्याएर बाँचेका हामी के अलिकति सहानुभूतिका हकदार छैनौं समाजमा ? एक शब्द मीठो बोली र एकानजर स्नेहयुक्त हेराइका लायक छैनौं हामी ?”


उसले गहिरो प्रश्न मेरासामु तेस्र्याई । म के जवाफ दिउँ उसलाई ? ऊ माथि कुन शब्दले सहानुभूति पोखूँ ? अनि आत्मीयता खन्याऊँ ? म शब्द अभावमा अवाक्य छु । वेश्यावृत्ति आफैंमा नराम्रो पेशा होला तर वेश्यावृत्ति अप्नाउन बाध्य बनाउने तत्व के आफैंमा नराम्रो र अपराधयुक्त काम होइन र ? कुञ्जलालाई आज घृणा गर्छन् । तिरस्कार गर्छन् । व्यङ्ग्य कस्छन् । थुक्छन्, धिक्कार्छन् । हरेकरात उसलाई भोग्ने व्यक्तिहरूलाई कोही केही गर्दैनन् । साँच्चै यो कस्तो विडम्बना । के समाज एक पक्षीय भएन र ? एकतर्फी भएन र ? सजायको हकदार, घृणा र तिरस्कारको हकदार दुवै हुनुपर्ने तर हाम्रो यो पितृसतात्मक समाजमा त्यस्तो कहाँ छ र ?


तर कुञ्जलालाई समाजको नजरले हेर्न सक्दिन । मैले महसुस गरेकी छु । ऊभित्रकी त्यो नारीलाई जो हरेक रात अनैतिक कार्यमा घायल हुन्छे र जिउँदै मरेतुल्य बन्छे । मैले देखेकी छु ऊभित्रकी कर्तव्यपरायण आमा जसले आफू गिरेर सन्तानलाई उठाउने प्रण गरेकी छे । आफू हररात जिउँदो मृत्यु मरेर सन्तानलाई बचाउने तपस्या गरेकी छे । अनि उसभित्र देखेकी छु अभिभावकप्रतिको त्यो दायित्वबोध जुन हररात आफू गुमेर पनि बचाउन प्रयासरत छे ।


कुञ्जला वेश्या हो समाजको नजरमा । तर मेरो नजरमा ऊ एउटी महान नारी हो । समाजको नजरमा ऊ घृणा र तिरस्कारकी पात्र हो तर मेरो नजरमा ऊ श्रद्धेय छे । समाज उसमाथि व्यङ्ग्य कस्छन् तर म उसँग सम्मानजनक व्यवहार गर्छु । सहानुभूति राख्छु ऊप्रति बोल्छु । किनकि मैले देखेकी छु उभित्रकी त्याग र तपस्याले भरिपूर्ण नारी । मैले भेटेकी छु उभित्रको दायित्वबोधले ओतपोत छोरी र मैले पाएकी छु ऊभित्रको कर्तव्यपरायण ममतामयी आमा । अनि त म समाजको भन्दा भिन्दै दृष्टिले नियाल्छु कुञ्जलालाई । एउटा प्रश्न सोध्न मन लागेको छ कुञ्जलालाई घृणा गर्ने समाजलाई । किन वेश्या भनेर उपेक्षा गर्छन् उसलाई ? कसैले किन सोध्दैनन तँ किन वेश्या भइस् कुञ्जला ? 

०००

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247240 Times Visited.

Powered by: Exclusively Solution
Top
Content