कविता - गद्य कविता



गद्य कविता : बदला

जीवनसङ्ग
एक सास जिन्दगी मागेको थिएँ
ऊ मेरो मुटुमा
ईश्वरीको वरदानझैँ
तथास्तु भएर झुल्केघाम भई ।

जिन्दगीलाई टालाटुली-बटुल्दै

बल्ल जीवन बन्न खोजेको थियो 

खै के मिल्दैन वा मिलेन !!

एक निर्मोही कामूक साँझले 

उसको बिहेको धनाढ्य सूचना

मेरो गरिबीको मुहारमा 

औकातको हद म्याद टाँसेर गयो ।


समयले बिरहको सहनाई गाउँदै

मेरै छातीको आङ्गन टेक्दै 

उसको बिहेको जन्ती हिँड्यो !!


उसले 

बिनासूचना, बिनाआरोप

हाम्रो सम्बन्धको लालपूर्जामा आगो लगाई ।


उसले 

बिनाअभियोग, बिनागुनासो

हाम्रो प्रेमको अस्तित्वमा दागबत्ती दिएर गई ।


उसले 

बिनाकारण, बिनाबिद्रोह

हाम्रो मायाको शान्तिसम्झौता भङ्ग गरी ।


नरोई कटे-मेरा रङ्गीन भ्यालेन्टाइन बिहान

नदुखी जले-मेरा प्रेमिल न्यु इयर दिन

नरोई बिते - मेरा बासन्ती विवाहपञ्चमी साँझ

नसुती ढले-मेरा नवरात्र कामिनी रात 

र, नबाँची निभे-मेरो अक्षतृतीया जीवन !


एकदिन 

समयले मेरो साहसी जीवनलाई 

दयाले शङ्ख फुक्ने निर्णय सुनायो ।


मैले पनि 

उसलाई कुनै सूचना दिइनँ ।

हिसाब किताब बराबर-

उसले मलाई जन्तीमा बोलाइन

मैले पनि उसलाई मेरो मलामीमा बोलाइनँ ।


ए चिताको आगो-

भनिदिनू उसलाई 

म उसित रिसाएको छैन !!

रिसाएको मान्छेले

यसरी 

शान्त, स्नीग्ध

हाँसीहाँसी 

दनदनी आगो पिउँदैन नि !!


भक्तपुर 

ashutoshg56@gmail.com



Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360320 Times Visited.

Powered by: Exclusively Solution
Top
Content